कोलम्बियाका रोड्रिगुएज सर्वोत्कृष्ट खेलाडी र अर्जेन्टिनाका मार्टिनेज सर्वाधिक गोलकर्ता

काठमाडौँ । विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता कोपा–अमेरिकाको ४८औँ संस्करण सकिएको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार सम्पन्न फाइनलमा लियोनल मेस्सीको कप्तानमा रहेको अर्जेन्टिनाले अतिरिक्त ससमयमा कोलम्बियालाई १–० गोलले हरायो ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय (११२औँ मिनेट) मा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले निर्णायक गोल गरेका थिए । उक्त जितसँगै अर्जेन्टिना सबैभन्दा बढी कोपा–अमेरिकाको उपाधि जित्ने राष्ट्र पनि बनेको छ ।
अर्जेन्टिनाले जितेको यो १६औँ कोपा–अमेरिका उपाधि हो । उरुग्वेले भने हालसम्म १५ पटक कोपा–अमेरिकाको उपाधि हात पारेको छ । ४८औँ संस्करणमा कोलम्बियाका जेम्स रोड्रिगुएज सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
अर्जेन्टिनाका लाउटारो मार्टिनेजले ‘गोल्डेन बुट’ अवार्ड जिते । उनले प्रतियोगिता अवधिभर सर्वाधिक पाँच गोल गरे । उनले समूहगत चरणमा क्यानडा, चिली र पेरुविरुद्ध एक–एक गोल गरेका थिए । उनले क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध पनि गोल गरेका थिए ।
सेमिफाइनलमा गोल गर्न नसकेका मार्टिनेजले फाइनलमा भने कोलम्बियाविरुद्ध गोल गरेका थिए । सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा भेनेजुएलाका सालोमोन रोन्डन दोस्रो स्थानमा रहे । उनले कुल तीन गोल गरेका थिए ।
प्रतियोगितामा विभिन्न टोलीका १३ जना खेलाडीले दुई–दुई गोल गरे । यसका अतिरिक्त विभिन्न टोलीका ३५ खेलाडीले एक–एक गोल गरे । प्रतियोगितामा एउटा मात्र आत्मघाती गोल भयो । त्यो गोल इक्वेडरविरुद्धको खेलमा जमैकाका कासी पाल्मरबाट भएको थियो ।
यसैगरी ४८औँ संस्करणमा अर्जेन्टिनाका एमिलियानो मार्टिनेजले सर्वोत्कृष्ट गोलरक्षकको अवार्ड पाए । अर्जेन्टिनालाई उपाधि चुमाउन उनको प्रदर्शन उत्कृष्ट रह्यो । ‘फेयर प्ले’ अवार्ड भने कोलम्बियन टोलीले पायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध