मङ्गलबार, ०४ मङ्सिर २०८१
ताजा लोकप्रिय
खानपान

सामान्य व्यक्तिदेखि जटिल समस्याका बिरामीले के खाने, कति खाने ?

सोमबार, ३१ असार २०८१, १० : १३
सोमबार, ३१ असार २०८१

काठमाडौँ । सामान्यतया एउटा मानिसले दिनमा कति खाना खाने भनेर आकलन गर्न मुस्किल नै पर्छ । व्यस्त जीवनशैली र अव्यवस्थित खानपानका कारणले स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् । सामान्य व्यक्तिभन्दा पनि बिरामी व्यक्तिले के खाने, के नखाने र कसरी खाने भन्ने विषय निकै जटिल हुन्छ ।

पोषणविद्हरूका अनुसार सामान्य व्यक्तिले दिनमा ७०.६ ग्राम प्रोटिन भएको १८२२.५ क्यालोरी खाना खानु सन्तुलित भोजन मानिन्छ ।

पोषणविद् सन्जिला श्रेष्ठका अनुसार सामान्य व्यक्तिले सन्तुलित भोजनका लागि बिहानको खाजादेखि रातिको खानासमेत गरी दिनमा ७०.६ ग्राम प्रोटिन र १८२२.५ क्यालोरी खाना खानुपर्छ । बिहानको खाजामा १८ ग्राम प्रोटिनसहित गरी ३६० क्यालोरी खाना आवश्यक हुने उनको भनाइ छ । जसका लागि १३० मिलीलिटर दुध (एक गिलास), एउटा ‘मल्टीग्रेन’को ब्रेड र एउटा अण्डा गरी ‘एग स्यान्डविच’का साथै २५ ग्राम चना खान सकिने उनले बताइन् ।

sanjila shrestha

यस्तै, खानामा सामान्य मान्छेले २१ ग्राम प्रोटिन र ५६० क्यालोरीका लागि भेज खाना खान सकिने श्रेष्ठले बताइन् । जसमा १८० ग्राम भात, चिनीरहित दही १३० ग्राम (१ कचौरा), पकाएको दाल ९० ग्राम (एक कचौरा), हरियो तरकारी २०० ग्राम (एक कचौरा) खान सकिने उनको भनाइ छ । उनका अनुसार यी खाना तयार गर्दा १० मिलिलिटर (एमएल) तेल प्रयोग गर्नु पर्दछ ।

दिउँसोको खाजामा सामान्य व्यक्तिले फलफूल ८० ग्राम र सुप गरी ८५ क्यालोरी खान सकिने श्रेष्ठले बताइन् । खाजामा २५ ग्रामको पिठो, ५० ग्राम तरकारी र २५ ग्राम पनिरको भेज रोल एउटा, एउटा अण्डाको अम्लेट खान सकिने उनले जानकारी दिइन् । यी खानेकुरा तयार गर्दा १० एमएल तेल प्रयोग गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार यसबाट ९.६ ग्राम प्रोटिन र २५७.५ क्यालोरी ऊर्जा पाउन सकिन्छ ।

सामान्य व्यक्तिले रातिको खानामा दुई मिडियम साइज अर्थात् ६० ग्रामको रोटी, ९० ग्राम पकाएको दाल, ६० ग्राम मासु, मिक्स तरकारी करिब १०० ग्राम, हरियो तरकारी १०० ग्राम खान उपयुक्त हुने उनको भनाइ छ । यी खाना तयार गर्दा १० एमएल तेलको प्रयोग गर्न सकिने पोषणविद् श्रेष्ठले बताइन् ।

  • धेरै प्रोटिनका लागि कस्तो खाना खाने ?

सामान्यतया अप्रेसन गरेका बिरामीदेखि लिएर घाउ भएकालाई धेरै प्रोटिनको आवश्यकता पर्दछ । बढी प्रोटिनयुक्त खाना भन्ने बित्तिकै चना, अण्डा बढी मात्रामा खानुपर्छ भन्ने मानसिकता छ । प्रोटिन आवश्यक पर्ने तर अण्डा, चना खानसक्ने आर्थिक अवस्था नभएकाहरूका लागि खानाको सन्तुलन मिलाउन सके अन्य खाद्यान्नबाट पनि प्रोटिन प्राप्त गर्न सकिने पोषणविद् सुजना बास्तोलाको तर्क छ ।

sujana bastola

प्रोटिनका लागि चना र अण्डामात्रै नभइ विभिन्न गेडागुडी मिसाएर, टुसा उमारेर खान सकिने उनले बताइन् । ‘दुध हालेको चिया पनि थोरै चिनी राखेर खान सकिन्छ । थोरै मासु खाने तर त्यसको सट्टामा च्याउ पनि खान सकिन्छ,’ उनले भनिन्, ‘प्रोटिनका लागि मःम पनि खान सकिन्छ तर ६ पिसमात्रै मःम खाँदा पनि शरीरका लागि पर्याप्त मात्रामा प्रोटिन हुन्छ ।’

पोषणविद् बास्तोलाका अनुसार फलफूलको सलाद खान सकिन्छ । ‘हाइप्रोटिनका लागि सोयाबिन खान सकिन्छ । सोयाबिन र मासुमा उस्तै प्रोटिन पाइन्छ,’ उनले भनिन्, ‘मासुको सट्टामा सोयाबिन खान सकिन्छ । सुत्ने समयमा एक गिलास दुध खान सकिन्छ ।’ सामान्य मान्छेले पनि दिनमा एउटा अण्डा, फलफूल र एक गिलास दुध खानुपर्ने उनको भनाइ छ ।

धेरै प्रोटिन प्राप्त गर्न पोषणविज्ञले दिएको सुझाव अनुसार बिहानको खाजामा एक गिलास दुध अर्थात् १३० एमएल, २ वटा फ्रेन्चफ्राई टोस्टमा एउटा अण्डा, विभिन्न गेडागुडी २५ ग्राम खान सकिने बास्तोलाले बताइन् । यी खाना तयार गर्न १० एमएल तेलमात्रै प्रयोग गर्न उनको सुझाव छ । यी खानाबाट २० ग्राम प्रोटिन र ४४० क्यालोरी ऊर्जा पाइने उनले बताइन् ।

पोषणविद् बास्तोलाका अनुसार बिहानको खानामा कुखुराको मासुसहितको भोजन लिन सकिन्छ । जसमा १२० ग्राम भात, ९० ग्राम पकाएको दाल, ६० ग्राम मासु, २०० ग्राम हरियो तरकारीलाई १० एमएल तेल प्रयोग गरी पकाउन सकिन्छ । यी खानाबाट २४ ग्राम प्रोटिन र ४८० क्यालोरी पाउन सकिने उनको भनाइ छ ।

दिउँसोको प्रारम्भिक खाजामा १०० ग्राम फलफूल र चिकेन सुप खान सकिने पोषणविद् बताउँछन् । यसबाट ५ ग्राम प्रोटिन र २४० क्यालोरी प्राप्त हुने उनीहरूको भनाइ छ । खाजामा भने चिकेन मःम, अचार, सलाद लगायत खान सकिन्छ । यसबाट ६.४ ग्राम प्रोटिन र ४९२ क्यालोरीको प्राप्त हुन्छ ।

यस्तै, रातिको खानामा २ वटा रोटी, ९० ग्राम पकाएको दाल, मिक्स तरकारी १०० ग्राम, २५ ग्राम सोयाविनको तरकारी लगायत खाना खान सकिने पोषणविद् बताउँछन् । यस्तै, धेरै प्रोटिनका लागि बेड समयमा १३० एमएल दुध पिउन सकिन्छ । यसबाट ४ ग्राम प्रोटिन र ८० क्यालोरी प्राप्त हुने पोषणविदको भनाइ छ ।

  • मधुमेहका बिरामीले दैनिक कति खाने ?

पोषणविद्का अनुसार मधुमेह अर्थात् सुगरका बिरामीले दैनिक ६४.१ ग्राम प्रोटिन र १७६५ क्यालोरी खाना खानु पर्दछ । मधुमेहका बिरामीले कार्बोहाइड्रेड खानु हुँदैन भनेर आलु र भात प्रायः खान छोडेका हुन्छन् । तर त्यसको सट्टामा अरू खाद्यान्न खान सकिने पोषणविद्हरू बताउँछन् । ‘खानामा ननस्टर्च तरकारीहरू खान मिल्दैन, जस्तो कि आलु, हरियो केराउ र बकुल्ला सिमीमा अत्यधिक कर्बोहाइड्रेड हुन्छ,’ पोषणविद् सन्जिला श्रेष्ठले भनिन्, ‘पाकेको फर्सी, सखरखण्ड, पिँडालु, आलु, सेतो चामलमा बढी कर्बोहाइड्रेड पाइन्छ । यस्ता खानेकुरा सुगरका बिरामीले खानु हुँदैन ।

sanjila shrestha

सुगरका बिरामीले समोसा बनाएर पनि खान सक्छन् । समोसा बनाउँदा आलुको सट्टामा टोफु, पनिर, उसिनेको इस्कुस र अरू हरियो तरकारी राख्न सकिन्छ । समोसा बनाउँदा मैदाको सट्टा गहुँको पिठो प्रयोग गर्न सकिन्छ ।

पोषणविद् सन्जिला श्रेष्ठका अनुसार मधुमेहका बिरामीले बिहानको खाजामा १३० एमएल दुध, २५ ग्राम ओट्स, ८० ग्राम किबी र आधा केरा, नट्स ५ ग्राम मिसाएर खान सकिन्छ । योसँगै एउटा अण्डा उसिनेर खान सकिन्छ ।

बिहानको खानामा चिकेन खाना र दही खान सकिन्छ । जसका लागि चिनी नभएको १३० ग्राम दही, ९० ग्राम पकाएको दाल, मासु ६० ग्राम, हरियो तरकारी २०० ग्राम खान सकिन्छ । यी खान पकाउन १० एमएल तेल प्रयोग गर्न सकिन्छ । यी खानाबाट ५६० क्यालोरी प्राप्त हुन्छ ।

दिउँसोको हल्का खाजा खाँदा १०० ग्राम फलफूल र सुप खान सकिन्छ । यो खाजामा १२५ क्यालोरी पाइन्छ । खाजामा तरकारी मिक्स १०० ग्राम र २५ ग्राम टोफु प्रयोग भएको गहुँको पिठो प्रयोग गरिएको समोसा खान सकिन्छ । योसँगै अचार, सलाद लगायत खाजा सुगरका बिरामीले २०० क्यालोरी प्राप्त गर्छन् ।

साँझको खानाका दैनिक रूपमा मधुमेहका बिरामीले २ वटा रोटी, पकाएको दाल ९० ग्राम, मिक्स तरकारी १०० ग्राम, हरियो तरकारी १०० ग्रामलाई १० एमएल तेलको प्रयोग गरी पकाएर खान सक्छन् । यो खानामा १५ ग्राम प्रोटिन र ४८० क्यालोरी प्राप्त हुन्छ । सुगरका बिरामीले सुत्ने बेलामा १३० एमएल दुध पिउन सकिने पोषणविद्को सुझाव छ ।

  • मिर्गौलाका बिरामीले कति खाना खाने ?

मिर्गौला (किड्नी)मा समस्या भएका बिरामीलाई दैनिक ५० ग्राम प्रोटिन र १३६० क्यालोरी आवश्यक पर्दछ । किड्नीमा समस्या देखिएको तर डाइलासिसमा नभएका बिरामीका लागि सो क्यालोरी र प्रोटिन आवश्यक पर्दछ । पोषणविद् अनुपमा पौडेलका अनुसार डाइलासिस गर्ने र मिर्गौला प्रत्यारोपण गरेका बिरामीको अवस्था अनुसार फरकफरक खाना खानु पर्दछ । ‘किड्नीमा समस्या भएका बिरामीलाई पोटासियम कम खानुपर्ने हुन्छ, जसका लागि हरियो तरकारीहरू उसिनेर पानी छान्ने र तरकारीमात्रै खानुपर्ने हुन्छ,’ उनले भनिन्, ‘फलफूल र सलाद बिरामीको अवस्था हेरेर दिनुपर्छ ।’

anupama poudel

मिर्गौलामा समस्या मात्रै देखिएको बिरामीले दैनिक रूपमा बिहानको खाजामा साबुदानाको खिर र एउटा अण्डा खान सकिन्छ । यसबाट १० ग्राम प्रोटिन र २४० क्यालोरी प्राप्त हुन्छ ।

यस्तै, मिर्गौला समस्या देखिएका बिरामीले दैनिक रूपमा बिहानको खाना भेज खानु पर्दछ । जसका लागि १८० ग्राम भात, पकाएको ९० ग्राम दाल, २०० ग्राम तरकारी खानु पर्दछ । यो खाना तयार गर्दा १० एमएल तेल प्रयोग गर्न सकिन्छ । यस बापत २८० क्यालोरी र १७ ग्राम प्रोटिन पाउन सकिन्छ ।

मिर्गौलामा समस्या भएकाले दिउँसो हल्का खाजामा १०० ग्राम फलफूल र सुप खान सकिन्छ । यसबाट १६० क्यालोरी पाउन सकिन्छ । यस्तै, खाजामा प्यान केक र मिक्स तरकारी खान सकिन्छ । यसबाट १६० क्यालोरी र ४ ग्राम प्रोटिन पाउन सकिन्छ ।

यस्तै, किड्नीका बिरामीले रातिको खानामा २ वटा रोटी, पकाएको ९० ग्राम दाल, मिक्स तरकारी १०० ग्राम खान सकिन्छ । यी खाना तयार गर्दा करिब १० एमएल तेलमात्रै प्रयोग गर्नु पर्दछ । यी खानाबाट ४०० क्यालोरी र १५ ग्राम प्रोटिन प्राप्त हुन्छ ।

  • मिर्गौला प्रत्यारोपण गर्ने र मिर्गौला दाताले दैनिक कति खाना खाने ?

मिर्गौला प्रत्यारोपण निको हुन सामान्यतया करिब ६ महिना लाग्न सक्छ । यो समयमा खानामा विशेष ध्यान दिनुपर्ने पोषणविद्हरूको भनाइ छ । करिब आधा वर्ष अवधिसम्म मिर्गौला प्रत्यारोपण गर्ने बिरामी र मिर्गौला दातालाई खानाका माध्यमबाट सङ्क्रमण हुनसक्ने भएकाले फलफूल उसिनेर वा उसिन्न नमिल्ने फलफूलहरू तातो पानीमा केही बेर डुबाएर खानुपर्ने हुन्छ । उनीहरूका लागि सन्तुलित भोजनमा विशेष ध्यान दिनुपर्ने इन्टर्न पोषणविद् अंकिता ताम्राकारले बताइन् । ‘मिर्गौला प्रत्यारोपण गरिसकेपछि खानामा क्यालोरी र प्रोटिन बढाउनु पर्ने हुन्छ । यसो गर्दा बिरामी छिटो निको हुन्छ,’ उनले भनिन् ।

ankita tamrakar

बिरामीले धेरै प्रोटिन खानुपर्ने हुन्छ । त्यसकारण दैनिक २ वटा अण्डा (पहेँलो भागसहित) खानु पर्दछ । अन्य चार वटा अण्डा पहेँलो भागविना खान सकिन्छ । अण्डाको पहेँलो भाग खाँदा बिरामीको कोलस्टोर बढ्न सक्छ । सकेसम्म चिल्लो कम खान पोषणविद् सुझाव दिन्छन् ।

यस्तै, सागमा पोटासियम बढी हुन्छ त्यसैले साग उसिनेर पानी निचोरेर खानुपर्ने हुन्छ । यस्तै, अन्य तरकारी पनि पोटासियमको मात्रा अनुसार उसिनेर खानुपर्ने हुन्छ ।

मिर्गौला प्रत्यारोपण गराएका बिरामी र दाताले दैनिक रूपमा बिहानको खाजामा २ वटा सादा ब्रेड र जाम, उसिनेको १६० ग्राम स्याउ, एउटा अण्डामा ७५ ग्राम हरियो तरकारी मिश्रित गरी पकाएर खान सकिन्छ । यी खाना तयार गर्दा ५ एमएलमात्रै तेल प्रयोग गर्नु पर्दछ । यसबाट ४६० क्यालोरी र १० ग्राम प्रोटिन प्राप्त हुन्छ ।

बिहान भेज खाना खानु पर्दछ । जसका लागि १८० ग्राम भात, ९० ग्राम पकाएको दाल, आलु नहालेको १०० ग्राम तरकारी र १० ग्राम तिलको अचार खान सकिन्छ । यी खाना तयार गर्दा १५ एमएल तेल प्रयोग गर्न सकिन्छ । यस प्रकारको खानाबाट ५२० क्यालोरी, १२ ग्राम प्रोटिन पाउन सकिन्छ ।

यस्तै, दिउँसो प्रारम्भिक खाजामा उसिनेको ३०० ग्रामको स्याउ र ७५ ग्राम तरकारीको सुप खान सकिन्छ । यस बापत १८० क्यालोरी प्राप्त गर्न सकिन्छ । यस्तै, खाजामा अण्डा सेवाईको पुलाउ खान सकिन्छ । जसका लागि ७५ ग्राम सेवाई, १५० ग्राम हरियो तरकारी, चार वटा अण्डाको पहेँलो भाग हटाएर ५ एमएल तेलमा पकाउन सकिन्छ । यसबाट ४०० क्यालोरी र १८ ग्राम प्रोटिन पाउन सकिन्छ ।

यस्तै, रातिको खाना भेज हुनु पर्दछ । जसमा १८० ग्राम भात, ९० ग्राम पकाएको दाल, आलु नहालेको तरकारी १०० ग्राम, ६० ग्राम चिकेन र २० ग्राम तिलको अचार खान सकिन्छ । यो खाना तयार गर्दा १० एमएल तेल प्रयोग गर्नुपर्ने हुन्छ । सुत्ने बेला १३० एमएल दुध पिउन सकिन्छ ।

manoj bhattarai

यस्तै, स्वस्थ व्यक्तिले ‘डाइट ब्यालेन्स’ गर्नका लागि बढीभन्दा बढी तरकारी र फलफूल खानुपर्छ । यस अतिरिक्त दाल, गेडागुडी तथा कार्बोहाड्रेड पाइने खाद्यवस्तुको उपभोग गर्नु पर्ने पोषणविद् मनोज भट्टराईले बताए । ‘फलफूल तथा तरकारीमा भिटामिन, मिनरल्स र फाइबर बढी पाइने भएकाले तरकारी र फलफूलको सेवन बढी गर्नु पर्दछ,’ उनले भने, ‘फाइबरले सुगर कन्ट्रोल गर्न सहयोग गर्दछ ।’

(यो सामग्री ललितपुरस्थित किष्ट अस्पतालमा असार ३१ गते आयोजित ‘फुड एण्ड न्युट्रिसन अवेरनेस एक्जिविसन’ मा भेटिएका पोषणविद्सँग गरिएको कुराकानीमा आधारित रहेर तयार गरिएको हो ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप