एकल महिलालाई बालबच्चा हुर्काउनै कठिनाइ
टीकापुर । टीकापुर नगरपालिकाकी पार्वती सञ्यालका दुई बच्चा छन् । श्रीमान् निधनभएपछि उनले निकै कठिनाइ गरेर बालबच्चा स्याहारिरहेकी छन् । ज्यालादारी गरेर बालबच्चा हुकाइ, पढाइ रहेकी पार्वतीलाई छोराछोरीको भविष्यको निकै चिन्ता छ । “छोरी अहिले १० कक्षामा पढ्छिन्, छोरीको धेरै पढ्ने इच्छा छ”, उनले भनिन्, “मेरो कमाइ छैन । छोरीलाई शिक्षा दिन सक्दिन कि भन्ने पीरले सताउँछ । यस्तो बेला सरकारले हेरिदेओस् भन्ने चाहना छ ।”
टीकापुर–३ कटानपुरकी रामपति चौधरीले तीन नातिनातिना पालेर बस्नुभएको छ । रामपतिका छोरा कुलतमा फसेपछि बुहारीले अर्को विवाह गरेर गइन् । छोराबुहारीले नस्याहारेपछि एकल रहेकी रामपतिले सामाजिक सुरक्षा भत्ताले बच्चाको भोक मेटाइरहेकी छन् । “म आफू पनि एकल महिला, श्रीमान् बितेको धेरै भयो”, उनी भनिन्, “छोरो कुलतमा फसेर मानसिक रूपमा पनि कमजोर छ । तीन बच्चा मेरै जिम्मेवारीमा छन् । मलाई यिनको पेट भर्नै समस्या छ । कसरी अरू आवश्यकता पूरा गरौँ ?”
टीकापुर –६ का जोगी परियारका पनि छोराबुहारी बेपत्ता छन् । ज्येष्ठ नागरिक जोगीका दम्पतीले नातिनातिना स्याहारी रहेका छन् । “भारत कमाउन गएको छोरो उतै हरायो, बुहारी पनि कता गइन् थाहा भएन”, उनले भने, “हामी ८० वर्ष आसपासका बूढाबूढी सामाजिक सुरक्षा भत्ताले यी बच्चालाई लालनपालन गरिरहेका छौँ । साह्रै गाह्रो छ हामीलाई ।”
टीकापुर–६ नारायणपुरकी चिन्कीदेवी चौधरीका श्रीमान् बितेको ११ वर्ष भयो । उनका दुई छोरा छन् । दुवै छोरा बिरामी छन् । पहिलो बच्चालाई सिकलसेल एनेमियाको समस्या छ । दोस्रो बच्चालाई पनि नियमित रगत चढाउनुपर्छ । “सानो बच्चा एक वर्षको हुँदा श्रीमान् बित्नुभयो, त्यसपछि दुःखका दिन सुरु भए”, उनले भनिन्, “१४ वर्षको छोरालाई सिकलसेल एनेमिया छ । उपचारमा आउजाउ गर्न, अस्पताल बस्न, बच्चालाई पोसिलो खुवाउन सकेको छैन ।”
चिन्कीदेवी स्थानीय सरकारले बस्ने घर बनाइदिनुपर्ने, अत्यावश्यक पर्ने सरसामान, बच्चाको उपचार र शिक्षामा सघाउनुपर्ने माग गर्छन् । “कहिलेकाहीँ यस्तो सङ्घर्ष गर्न सक्दिनकी जस्तो लाग्छ, श्रीमान् बितेपछि एक वर्षको बच्चा छोडेर इँटाभट्टामा काम गरेर बच्चाको भोक मेटाए”, उनले भने, “हरेक महिना बच्चा बिरामी हुन्छन् । नियमित काम गर्न पनि मिलेको छैन ।”
टीकापुर–५ की जानकी रेग्मी पनि एकल महिला हुन् । जग्गा जमिनसमेत नभएकी जानकीले दुई छोराछोरीलाई मजदुरी गरेरै पालिरहेकी छन् । “सधैँ काम पाइँदैन, काम नपाएपछि घरमा अन्न हुँदैन”, उनी भन्छिन्, “कहिलेकाहीँ बिरामी हुँदा काम काममा जान सकिँदैन, त्यो बेला घर चल्दैन । समस्या हुन्छ ।”
आइतबार यस्ता अभिभावक नभएका, एकल महिलाले पालिरहेका, विपन्न भएकै कारण विद्यालयमा समस्या रहेका बालबालिकालाई टीकापुर नगरपालिकाले शैक्षिक सामग्री सहयोग गरेको छ । विद्यार्थीलाई झोला, शैक्षिक सामग्री, दुई थान पोसाक वितरण गरिएको हो । वडास्तरीय बाल अधिकार समितिको सिफारिसमा २५ जना विपन्न बालबालिकालाई अध्ययनमा सघाउन सहयोग गरिएको बताइएको छ ।
बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले शैक्षिक सामग्रीले शैक्षिक क्रियाकलापमा सहयोग पुग्ने बताए । “विपन्नलाई धेरै राहत हुन्छ, कतिपय बालबालिका कापी, कलम र लत्ताकपडा नभएर पनि नियमित हुन सकेका हुँदैनन्”, उनले भने, “त्यस्ता बालबालिका नियमित विद्यालय आउने अपेक्षा गरिएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीयको विरोधले रेलमार्ग निर्माणको काम रोकियो
-
१२ बजे, १२ समाचार : सरकारले खोस्यो १३ स्थानीय तहका हाकिमको जिम्मेवारीदेखि कांग्रेस सांसद गुरुङलाई पुरानै भ्रष्टाचारले फसादसम्म
-
चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
-
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
-
भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते