बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग भदौमा

काठमाडौँ । बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग आगामी भदौमा हुने भएको छ । खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले बागमती प्रदेशभित्रका १३ जिल्लाबिच लिग सञ्चालन गर्न लागिएको काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए ।
बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग आयोजनाका लागि काठमाडौँ जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघबिच सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले हस्ताक्षर गरेका थिए ।
जिल्ला समन्वय समितिको संयोजन, काठमाडौँ जिल्लाका ११ वटै पालिकाको आयोजना र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालन हुने लिगबाट खेलाडीको वरीयता निर्धारण पनि गरिने भएको छ । ‘बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग हरेक तीन÷तीन महिनामा सञ्चालन हुनेछ । पहिलो लिग भदौ, दोस्रो मङ्सिर, तेस्रो फागुन र चौथो लिग जेठमा आयोजना हुनेछ’, प्रमुख बुढाथोकीले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘लिग सञ्चालनका लागि काठमाडौँ जिल्लाका ११ वटै पालिकाको पनि प्रत्यक्ष सहभागिता र सहयोग रहनेछ ।’
लिगमा पुरुषमा पाँच तथा महिलामा पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तल समूहमा प्रतिस्पर्धा हुनेछ । लिगमा पहिलो हुनेले १० अङ्क, दोस्रोले सात अङ्क र तेस्रो हुनेले तीन अङ्क पाउने छन् । हरेक लिगका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई अर्को लिगमा खान, बस्न र यातायातलगायतका खर्च आयोजकले बेहोर्ने बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले जानकारी दिए । लिगभरिको प्रदर्शनका आधारमा उत्कृष्ट हुने खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ । हरेक पटकको लिग सञ्चालनका लागि पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रमुख बुढाथोकीले बताए । कार्यक्रममा बागमती प्रदेशका सांसद किरण थापा र जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ति पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो