बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
युरो २०२४

स्पेन चौथोपटक युरोपियन च्याम्पियन, इंग्ल्यान्ड फेरि उपविजेतामै सीमित

सोमबार, ३१ असार २०८१, ०२ : ४२
सोमबार, ३१ असार २०८१

म्युनिख । स्पेनले रेकर्ड चौथोपटक युरोकपको उपाधि जित्न सफल भएको छ । सोमबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डलाई हराउँदै स्पेनले युरो २०२४ को उपाधि उचालेको हो ।

खेल स्पेनले २–१ ले आफ्नो पक्षमा पार्‍यो । निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा मिकेल ओयार्जाबालले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए । मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए ।

यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुवातमा नै लामिन यामालको पासमा निको विलियम्सले स्पेनलाई अग्रता दिलाए । ७३ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।

227c0c2a-a9fe-439a-a170-cb2e2a14b578

स्पेनले युरोकपकाे उपाधि जितेको यो कीर्तिमानी चौथोपटक हो । स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा तत्कालीन सोभियत संघलाई २–१ गोलले हराएको थियो ।

d7cea551-301e-4a66-a50d-af6d7cea93ff

त्यसपछि स्पेनले सन् २००८ मा दोस्रो पटक युरोकपको उपाधि चुमेको थियो । त्यतिबेला स्पेनले फाइनलमा जर्मनीलाई १–० गोलले पराजित गरेको थियो ।

त्यसलगत्तै स्पेनले सन् २०१२ मा पनि युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा इटालीलाई ४–० गोलले हराएको थियो । स्पेन लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो ।

276ae6e9-4f44-4193-8f01-604c51b3e4bd

यता इंग्ल्यान्ड भने फेरि एकपटक युरोकपको उपाधि जित्नबाट वञ्चित बनेको छ। इंग्ल्यान्ड युरोकपको साबिक उप–विजेता पनि थियो । इंग्ल्यान्डको टोली सन् २०२० मा सम्पन्न युरोकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो । 

  • स्पेनको अपराजित यात्रा

जारी युरोकपमा स्पेनले आफूले खेलका सबै सात खेलमा जित हात गर्‍यो । स्पेन आफ्नो समूहको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । समूह ‘बी’ मा परेको स्पेनले तीनवटै खेलमा जित हात पारेको थियो । स्पेनले आफ्नो पहिलो खेलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो ।

आफ्नो दोस्रो खेलमा स्पेनले साबिक विजेता इटालीमाथि १–० गोलको रोमाञ्चक जित हात पारेको थियो । तेस्रो खेलमा भने स्पेनले अल्बानियालाई १–० गोलले पराजित गरेको थियो । समूहगत चरणमा स्पेनले पाँच गोल गर्‍यो भने एक गोल पनि खाएन ।

16dc80fe-b999-4916-a38c-82d4e7482f21

यसैगरी, स्पेनले प्रि–क्वार्टरफाइनल खेलमा जर्जियालाई ४–१ गोलले हराएको थियो । क्वार्टरफाइनल खेलमा भने स्पेनले प्रभावशाली प्रतिद्वन्द्वी जर्मनीलाई उसैको घरेलु मैदानमा अतिरिक्त समयमा २–१ गोलले पराजित गरेको थियो । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ गोलले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप