हेटौँडा अस्पतालका १३० कर्मचारी कटौती
हेटौँडा । हेटौँडा अस्पतालमा कार्यरत १३० जना कर्मचारी कटौती गरिएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले हेटौँडा अस्पतालमा कार्यरत १३० जना कर्मचारी कटौती गरेको हो ।
मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै अस्पतालमा कार्यरत १३० जना करारका कर्मचारीहरू कटौती गरेको हो । मन्त्रालयले अस्पतालमा गत २०८० असोजमा नियुक्ति लिएर काम गर्दै आएका उनीहरूको करार अवधि नवीकरण नगर्ने निर्णय गरेसँगै उनीहरू स्वतः कटौतीमा परेका हुन् ।
मन्त्रालयले हेटौँडा अस्पतालका लागि चालु आर्थिक वर्षमा नियुक्त गरिएको १३० जना प्रशासनिक र प्राविधिक जनशक्तिको करार अवधि थप नगर्ने निर्णय गरेको हो । मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्हाल्दै आएका बखत असार २७ मा निर्णय गर्दै मन्त्रालय र मातहत कार्यालयमा चालू आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत दरबन्दीमा कार्यरत कर्मचारीको असार मसान्त पश्चात् करार अवधि थप नगर्ने भएको हो । सो निर्णयअनुसार हेटौँडा अस्पतालमा कार्यरत १३० जना जनशक्ति कटौती हुने भएको छ ।
सो निर्णयअनुसार हेटौँडा अस्पतालले पनि सूचना जारी गर्दै म्याद थप नहुने जनाएको छ । १३० कर्मचारी कटौती हुने भएसँगै अस्पतालमा जनशक्तिको चरम अभाव हुने निश्चित भएको छ । अस्पतालको सेवा विस्तार र गुणस्तर वृद्धिका लागि चालू आर्थिक वर्षमा मन्त्रालय र लोकसेवा आयोगसँगको समन्वयमा विज्ञापन गरी ती कर्मचारीहरू नियुक्त गरेको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले जानकारी दिए ।
उनका अनुसार अस्पतालको सेवा प्रवाह प्रभावित हुनेगरी मन्त्रालयले उक्त निर्णय गरेको हो । १३० कर्मचारी कटौती हुँदा साउन १ गतेबाट अस्पतालको सबै तहको सेवा प्रवाह प्रभावित हुने उनको भनाई छ । १३० जना कर्मचारी मध्ये ८० प्रतिशत कर्मचारी प्राविधिक रहेको उनले बताए । अस्पतालको सेवा विस्तार पछि गुणस्तर वृद्धिका लागि सो कर्मचारी खटाइएको थियो ।
हरेक वर्ष उही समस्या
गत वर्ष पनि अस्पतालको १४४ कर्मचारी कटौती गरिएको थियो । प्रदेश सरकारले बजेट कटौती गरेको र कर्मचारीलाई तलब भत्ता उपलब्ध गराउन नसकिने भन्दै प्राविधिक र प्रशासनिक १४४ कर्मचारी हटाउने निर्णय भएको थियो ।
प्रदेश सरकारले सो कर्मचारीको तलब भत्ताको बजेट सोझै अस्पतालमा पठाएसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक वर्ष २०७९/०८० मा भर्ना गरेको सो कर्मचारीहरू हटाइएको थियो । सो कर्मचारी हटाएर चालु आर्थिक वर्षको २ महिना अस्पतालको सेवा प्रभावित बनेको थियो ।
अस्पतालको सेवा थप प्रभावित हुन नदिन हटाइएका १४४ कर्मचारीमध्ये अधिकांशले २ महिना स्वयंसेवकको रुपमा काम गरेका थिए । २०८० को साउन र भदौ महिनामा उनीहरुले विना तलब काम गरेका थिए । असोजमा हेटौँडा अस्पताल तर्फबाट दैनिक ज्यालादारीमा नियुक्ति लिएपछि मात्र उनीहरुले तलब पाएका थिए ।
यता मन्त्रालयले सो कर्मचारीहरूको भर्ना प्रक्रिया प्रतिष्ठानबाट हटाएर अस्पतालमा नै कायम गरेको थियो । असोज अन्तिम सातामा मन्त्रालयबाट निर्धारित १४४ मध्ये १३० कर्मचारीका लागि अस्पतालबाट भर्ना खुल्ला गरी नियुक्त गरिएको थियो । नियुक्ति लिएको ९ महिनाको अवधि मन्त्रालय पुनः सो कर्मचारीहरू हटाएको हो ।
दुई दिनमा विज्ञापन गर्न सचिवको निर्देशन
चालू आर्थिक वर्षमा नै नियुक्त गरेको कर्मचारी हटाउने निर्णय गराएका मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले २ दिनभित्र पुनः नयाँ विज्ञापन खुल्ला गर्ने निर्देशन दिएका छन् । उनले अस्पतालको स्थायी दरबन्दी अनुसारको रिक्त दरबन्दी विवरण तयार गरी मन्त्रालयबाट सहमति लिन तथा विज्ञापन गर्न निर्देशन दिएका हुन् ।
उनले मन्त्रालयको आधिकारिक भाइबर म्यासेज ग्रुपमार्फत आज भोलिमा नै दरबन्दी विवरण तयार गरेर नयाँ भर्ना खुल्ला गर्न निर्देशन दिएका हुन् । उनको निर्देशन पश्चात् अस्पताल प्रशासन र व्यवस्थापन समिति दबाबमा परेको छ ।
व्यवस्थापन समितिका अध्यक्ष प्रसाईंका अनुसार नयाँ भर्ना प्रक्रिया थाल्न आन्तरिक तयारीमा नै न्यूनतम एक महिनाको अवधि लाग्छ । चालू आर्थिक वर्षमा मात्र मन्त्रालयले भने अनुसार नै विज्ञापन गरेर नियुक्त गरेको कर्मचारी हटाएर आज भोलि नै नयाँ भर्ना प्रक्रिया थाल्न निर्देशन दिनु उपयुक्त नभएको उनको भनाई छ ।
लोक सेवाबाट भर्ना खुल्ला गरेर कर्मचारी पठाउन छोडेर मन्त्रालय सेवा प्रभावलाई बाधा पुग्नेगरी ८/९ महिनामा नै करारका कर्मचारी हटाउने र नयाँ भर्ना प्रक्रिया थाल्ने काममा लागेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनले गर्यो प्रधानमन्त्री ओली भ्रमणको औपचारिक घोषणा
-
गोकुलगंगा गाउँपालिका- ४ का वडाअध्यक्षको दुर्घटनामा मृत्यु
-
लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट
-
रामेछापमा फोर्स गाडी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु
-
कोशी प्रदेश सरकारले माओवादीका पालामा ल्याएको बजेट पुनरावलोकन गर्ने
-
वरुणको नक्कली भ्याट प्रकरण : सञ्चालकहरूले स्वीकारेका थिए कर छली