बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

लागु औषध दुर्व्यसनी नियन्त्रणमा परिवारको भूमिका महत्त्वपूर्ण : मेयर कोइराला

आइतबार, ३० असार २०८१, १९ : ४२
आइतबार, ३० असार २०८१

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले लागु औषध दुर्व्यसनी नियन्त्रणका लागि परिवारको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले रानीमा आयोजना गरेको ‘दुर्व्यसनी नियन्त्रणका लागि आमाहरू’ अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले दुर्व्यसनी नियन्त्रणका लागि परिवारसँगै आमाहरूको विशेष भूमिका हुने बताएका हुन् । 

उनले घरपरिवार सचेत भए परिवारका कोही पनि सदस्य दुर्व्यसनी नफस्ने दाबी गरे । ‘आफ्नो छोराछोरी कता जाँदैछन्, के गर्दैछन् भनेर चासो राख्ने गरेमा लागु औषधको दुर्व्यसनी नियन्त्रण गर्न सकिन्छ,’ उनले भने, ‘बाहिरबाट घर आएपछि छोराछोरीसँग गफ गर्ने, उनीहरूका समस्या सुनिदिने गर्नुपर्दछ । उनीहरूसँग घुलमिल हुनुपर्दछ । जसले गर्दा उनीहरूका समस्या बुझ्न सकिन्छ । विशेष गरी आमाहरूले छोराछोरीको बारेमा चासो राख्नुपर्दछ ।’ 

मेयर कोइरालाले कुनै पनि व्यक्ति रहरले दुर्व्यसनी नहुने जिकिर गरे । बाध्यता र विवशताका कारणले युवाहरू दुर्व्यसनीमा पर्ने गरेको उनको भनाइ थियो । लागु औषध नियन्त्रणका लागि महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको समेत मेयर कोइरालाले जानकारी दिए । उनले सीमावर्ती वडाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु बजेटको समेत व्यवस्था गरेको जानकारी दिए । मेयर कोइरालाले सीमावर्ती भारतीय बजारका औषधि पसललाई लागु औषध बिक्री गर्न नदिन भारतीय पक्षसित कुराकानी भइरहेको जिकिर गरे । 

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले समाजलाई बिरामी र रोगी हुनबाट जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए । प्रजिअ भट्टराईले दुर्व्यसनी छाडेर असल नागरिक बन्न सक्ने उनको धारणा थियो । 

प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले पारिवारिक कलह, असफलता, साथीभाइको गलत संगतलगायतले युवाहरू दुर्व्यसनीमा पर्ने गरेको बताए । उनले आमाहरू जिम्मेवार भएमा दुर्व्यसनीलाई न्यूनीकरण गर्न सकिने प्रस्ट पारे । 

वडा नम्बर १५ का अध्यक्ष प्रकाश साहले सीमावर्ती क्षेत्रमा हुने लागु औषधको ओसारपासर, बिक्री वितरण र सेवनलाई न्यूनीकरण गर्न सरोकारवाला निकायबिच सहकार्य हुनुपर्नेमा जोड दिए । उनले प्रयोगकर्तालाई मात्रै लक्षित गरेर कार्यक्रम सञ्चालन गर्दा अभियानले सार्थकता नपाउने विचार व्यक्त गरे । उनले प्रयोगकर्तासँगै बिक्रेता, ओसारपसारमा संलग्न व्यक्तिहरूसम्म अभियानलाई पुर्‍याउन सुझाव दिए । 

कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी भीम दाहालले लागु औषधको दुर्व्यसनीले समाजलाई भयावह बनाउँदै लगेको बताए । कोशी प्रदेशमा लागु औषध सेवन गर्ने ५३ प्रतिशत १६ देखि २५ वर्ष उमेर समूहका व्यक्तिहरू भएको उनले जानकारी दिए । उनले कोशी प्रदेशमा ४ हजार ५ सय महिलासहित मात्रै ३४ हजार दुर्व्यसनी रहेको तथ्याङ्क प्रस्तुत गरे । दुव्र्यसनीविरुद्ध आमाहरू अभियानअन्तर्गत १२४ वटा पालिकामा समूह गठन गरिसकेको उनले बताए । 

मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले लागु औषध सेवन गर्नेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको बताए । उहाँले चालु आर्थिक वर्ष २०८०÷८१ मा मोरङमा ३२५ वटा लागु औषधका मुद्दा दर्ता भएको जानकारी दिए । त्यसमध्ये २३४ वटा फछ्र्यौट भइसकेको उनको भनाइ थियो । त्यस्तै २६ महिलासहित ४३० जना पक्राउ गरिएको एसपी कार्कीले बताए । 

कार्कीले ५७८ ग्राम हिरोइन, २ हजार २२५ किलो गाँजा, ३ हजार १८३ एप्पुल, ५ हजार ६८ चक्की, ८१ दशमलव ४९० ग्राम चरेशसमेत बरामद गरेको जानकारी दिए । उनले प्रहरीको एक्लो प्रयासले मात्रै लागूपदार्थ नियन्त्रण गर्न गाह्रो भएकाले सबैको सहकार्य र समन्वयले नियन्त्रण गर्न सकिने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप