लेदोसहितको बाढी नआए खोजी गर्न सहज हुन्थ्यो : सशस्त्र प्रहरी

काठमाडौँ । सशस्त्र प्रहरी बलले चितवनको नारायणगढ—मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशूलीमा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ ।
शुक्रबार बिहान चितवनको नारायणगढ-मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशूली नदीमा बेपत्ता यात्रुसहित दुई वटा बस बेपत्ता भएका थिए । जसमा जसमा ६० भन्दा बढी यात्रुहरु रहेको बताइएको छ । यद्यपि यकिन हुन अझै सकेको छैन । बसमा टिकट काटेर आउने बाहेकका यात्रुहरू पनि रहेको हुनसक्ने अनुमान छ ।
शुक्रबार बिहानबाटै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धार तथा बेपत्ताको खोजी कार्य जारी राखे पनि आशातीत परिणाम प्राप्त गर्न सकेको छैन । जसकारण सरकारप्रति आम नागरिकहरू रुष्ट छन् । सरकारले बेपत्ता नागरिकहरूको खोजी कार्यमा तदारुकता नदेखाएको गुनासो आम नागरिकको छ ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले त्रिशूली नदी यहाँबाट बुझेको र त्यहाँ भएको परिस्थितिमा धेरै फरक रहेको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अहिले नदीमा लेदोसहितको बाढी आइरहेकाले पानी धमिलो हुँदा बेपत्ताहरूको खोजी कार्य प्रभावित बनिरहेको बताए ।
उनले धमिलो पानी र लेदोसहितको बाढीले सुरक्षा निकायले आशातीत परिणाम दिन नसकेको बताए। ४/५ वटा शवहरू करिब ५५/६० किलोमिटरको फरकमा फेला परेको र बसको अझै पत्ता नलागेको बताए ।
उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तीन वटै सुरक्षा निकायसँग भएको उच्चतम प्रविधिको प्रयोग गरेर खोज्ने काम भइरहेको जानकारी दिए । लेदो कम हुने र पानी केही मात्रामा संग्लिएको खण्डमा भने गोताखोर टोली नदीमा जान सक्ने र ड्रोन क्यामेरा प्रयोगबाट खोज्न सक्ने अवस्था आउने बताए ।
रिबन मेथड, अन्डर वाटर ड्रोन र सोनार डिभाइस तीन वटै उपायको प्रयोग गरेर बेपत्ताको खोजी भइरहेको बताए । उनले विदेशबाट गोताखोर टोली ल्याएर खोज्दा परिणाम आउने भन्ने कुरा नेपालको परिवेशमा मेल नखाने बताए ।
विदेशमा समुन्द्रमा खोज्ने गोताखोर टोली र नेपालमा त्रिशूली लगायतका नदीमा खोज्ने कुरा फरक हुने बताए । उनले गोताखोर टोलीले प्रयोग गर्ने सामग्रीहरु एउटै हुने भन्दै विदेशको गोताखोर टोली आउँदैमा नतिजा निस्किहाल्ने भन्ने नहुने जिकिर गरे । नेपालकै गोताखोर टोलीले छिटै बेपत्ताहरूको खोजी गर्ने आश रहेको उनको भनाई छ ।
उनले भने, ‘सशस्त्र प्रहरी बलसँग भएको ३७ हजार १५३ हालको जनशक्तिमध्ये करिब २२ सय जनशक्ति विपद् उद्धारसँग सम्बन्धित तालिमप्राप्त जनशक्ति रहेको छ । त्यसको अलावा अरू हामीसँग भएको जनशक्ति १७ हजार ७२० जना प्रत्यक्ष रूपमा परिचालित भएका छन् । त्रिशूली नदी हामीले यहाँबाट हेरेको र त्यहाँको परिस्थिति धेरै फरक छ । त्यसमाथि अहिलेका त्रिशूली जहाँ लेदोसहितको बाढी छ । त्यस कारणले पनि हामीसँग भएका हाम्रा जनशक्तिले जुन किसिमले नतिजा दिन सक्नुपर्ने हो, त्यो नतिजा निस्किन सकेको छैन । त्यसमा हामी पनि दुःखी छौँ । सशस्त्र प्रहरी बलसँग भएको जनशक्तिले ती उद्धार कार्यहरू सम्पन्न गर्न सक्छ भन्ने आम जनसमुदायको अपेक्षा थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन