आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
सिमलताल पहिरो

बेपत्ता बस र यात्रुको खोजी गोलाघाटसम्म केन्द्रित

५ जनाको शव फेला, ६० अझै बेपत्ता
आइतबार, ३० असार २०८१, १७ : २४
आइतबार, ३० असार २०८१

काठमाडौँ । त्रिशूलीमा खसेर बेपत्ता दुई वटा डिलक्स बस र यात्रुको खोजी ३० किलोमिटर सम्म केन्द्रित गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट गोलाघाटसम्म खोज केन्द्रित गरिएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताए । नारायणी र राप्ती नदी भेट हुने स्थान गोलाघाट चितवनको भरतपुर नगरपालिका–२८ मा पर्छ ।

डीआईजी केसी भन्छन्– ‘गोलाघाटबाट अगाडी पूर्वी नवलपरासी र नवलपरासी पश्चिमको त्रिवेणीमा पनि सम्बन्धित जिल्लाका प्रहरीलाई खोज्न भनिएको छ ।’  शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा दुई वटा डिलक्स बस खसेका थिए ।

काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र एन्जल वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् ।

अहिलेसम्म ५ जनाको शव फेला परेको छ । मृत भेटिएका पाँचै जनाको सनाखत भएको छ । मृत फेला पर्नेमा विकास परियार, रामकुमार माझी, ऋषिपाल शाह, जयप्रकश ठाकुर र सजाद अन्सारी छन् । उनीहरूको शव भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–७ मा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।

३७ वर्षीय जयप्रकाश ठाकुर भारत बिहारका हुन् । उनी प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा सवार थिए । ३० वर्षीय सजाद अन्सारी भारत बेतियाका हुन् । अन्सारी प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा सवार थिए ।

२२ वर्षका विकास परियार चितवनको माडी नगरपालिका–१ का स्थानीय हुन्, उनी एन्जल डिलक्समा सवार थिए । १९ वर्षका रामकुमार माझी सर्लाहीको बरहथवा–३ का स्थानीय भएको उनका आफन्तले सनाखत गरेका छन् । भारतको बिहार सितामणि घर भएका २८ वर्षीय ऋषिपल शाह गणपति डिलक्समा सवार थिए ।

चुम्बक, ड्रोन र क्यामेराको प्रयोग

त्रिशूली नदीको उच्च बहावका कारण खोजी असहज भएको सुरक्षा अधिकारीहरू बताउँछन् । बेपत्ता बस खोज्न १७ जना गोताखोर परिचालन गरिएको छ । सेनाका ८ जना गोताखोर घटनास्थलमा परिचालन गरिएको सैनिक प्रवक्ता (सहायक रथी) गौरवकुमार केसीले रातोपाटीलाई बताए ।

सशस्त्र प्रहरीका ९ जना गोताखोरले बेपत्ता बस खोजिरहेका छन् । डिलक्स बसको खोजीमा चुम्बक, वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । शनिबारदेखि सशस्त्रका गोताखोरले पाइपलाइन इन्फेक्सन मार्फत सेनार क्यामेराको प्रयोग गरेर खोजी कार्य थालेका हुन् ।

सुरक्षा निकायसँग भएका डुङ्गा र त्रिशूली रिभर साइडको प्राइभेट डुङ्गा पनि खोजीमा परिचालन गरिएको डीआईजी विष्णु केसीले बताए । उनले भने– ‘पानीभित्र हेर्ने लेजर प्रविधिबाट सेना र सशस्त्रले गाडी हराएको ३ किलोटरसम्मको दुरीमा खोजी तीव्र बनाएका छन् ।’

खोचका कारण सबै स्थानमा गोताखोर जान सक्ने अवस्था नभएको डीआईजी केसीले बताए । चितवनस्थित चनौली, सिमलताल, देवघाट, गोलाघाट र पुल्चोकमा सशस्त्रका १ सय ४९ जना परिचालन गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

६० पुग्यो बेपत्ताको सङ्ख्या

बस दुर्घटनामा परेर बेपत्ता हुनेको सङ्ख्या ६० जना पुगेको डीआईजी केसीले जानकारी दिए । उनका अनुसार एन्जल डिलक्समा २७ यात्रु र गणपति डिलक्समा ३८ जना सवार रहेको भेटिएको छ । डीआईजी केसी भन्छन्– ‘बिच बाटोमा यात्रु चढेर कुल यात्रु सङ्ख्या बढेको रहेछ ।’ पाँच जनाको शव भेटिएसँगै थप ६० जनाको अवस्था अझै अज्ञात छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप