प्रधानमन्त्री ओली : पहिलोपटक कांग्रेससँग टकराव, चौथोपटक कांग्रेसकै आड
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक मुलुकको कार्यकारी प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेससहितका दलको सहयोग र समर्थनमा अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत गुमाएपछि ओलीलाई प्रधानमन्त्री बन्न बाटो खुलेको थियो ।
७३ वर्षीय ओली पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्री निर्वाचित भएका थिए । तत्कालीन व्यवस्थापिका संसद्मार्फत प्रधानमन्त्री बन्दा उनले ५९७ सदस्यमध्ये ३३८ मत प्राप्त गरेका थिए । त्यसबेला प्रधानमन्त्रीमा ओलीको उम्मेदवारीलाई एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरमलगायत साना दलले समर्थन गरेका थिए ।
संविधान निर्माणका बेला प्रमुख दलहरुबिच आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएको थियो । तर, संविधान जारी भएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पद छाड्न मानेनन् । कांग्रेसले धोका दिएपछि ओली माओवादी केन्द्र लगायत दलहरुको समर्थनमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।
त्यसैगरी ओली २०७४ फागुन ३ गते दोस्रो पटक नेपालको प्रधानमन्त्री नियुक्त भएका थिए । उनले २०७४ फागुन २७ मा २७५ सदस्यीय प्रतिनिधि सभाबाट २०८ मतसहित विश्वासको मत प्राप्त गरेका थिए ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले २०७५ जेठ ३ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरी ओलीको गठबन्धन सरकारलाई बहुमतमा परिणत गर्दै सदनमा दुई तिहाइ बहुमत दिलाएको थियो ।
तर, नेकपामा आएको खटपटपछि पार्टी एकता खारेज हुनका साथै एमालेसमेत विभाजन भएपछि ओली सत्ताबाट बाहिरिएका थिए ।
त्यसपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई २०७८ वैशाख ३० मा तेस्रो पटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । त्यसबेला अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी निर्धारित समय सीमाभित्र राख्न असमर्थ रहेपछि ओली नै प्रधानमन्त्री बनेका थिए ।
२०७८ जेठ ८ मा मध्यरातमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटनपछि ओली सरकार नयाँ निर्वाचन सम्पन्न नभएसम्म अन्तरिम सरकारमा परिणत भएको थियो । मध्यावधि निर्वाचन कात्तिक २६ र २०७८ मङ्सिर ३ का लागि तय गरिएको थियो तर सर्वोच्चले त्यसलाई उल्टाएको थियो ।
२०७८ असार २८ मा विपक्षी गठबन्धनले दायर गरेको प्रतिनिधि सभा विघटन विरुद्धको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा भङ्ग गर्ने निर्णय गैरकानुनी भएको उल्लेख गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
प्रधानमन्त्रीबाट हटेपछि ओली २०७८ मङ्सिर १० गते चितवनमा भएको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमार्फत अध्यक्षमा पुनः निर्वाचित भएका थिए । गत २०७९ को निर्वाचनमा ओली झापाबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
- को हुन् ओली ?
२०२२ सालमा कम्युनिस्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०२८ सालको झापा आन्दोलनका प्रमुख अगुवामध्येका एक थिए उनी । सोही वर्ष जेल परेका ओली तत्कालीन नेकपा (माले)को संस्थापकमध्येका एक थिए ।
पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षका क्रममा ओलीले २०३० देखि २०४४ सम्म १४ वर्ष जेल जीवन बिताएका थिए । २०४४ मा जेलमुक्त भएपछि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)को केन्द्रीय समिति सदस्य र २०५४ सम्म लुम्बिनी अञ्चलको इन्चार्ज बनेका ओली २०४६ पछिको आमनिर्वाचन २०४८ मा झापा–६ बाट प्रतिनिधि सभामा पहिलो पटक निर्वाचित भएका थिए ।
२०४८ सालमा नेकपा (एमाले)को विदेश सम्बन्ध विभागको प्रमुख नियुक्त भएका ओली २०५१ मा पुनः सांसदमा निर्वाचित हुन पुगे । मनमोहन अधिकारीको अल्पमतको नौ महिने सरकारमा गृहमन्त्री बनेका उनी २०५६ मा झापा निर्वाचन क्षेत्र २ र ६ बाट पुनः निर्वाचित भए ।
ओली २०६२ सालमा गिरिजाप्रसाद कोइराला सरकारको अन्तरिम सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नियुक्त भएका उनी झापा–७ बाट २०६४ सालको संविधानसभा निर्वाचनमा भने पराजित हुन पुगे । २०६५ मा नेकपा (एमाले)को आठौँ महाधिवेशन हुँदा अध्यक्षको पदका लागि चुनाव लडेका उनी झलनाथ खनालसँग पराजित बनेका थिए ।
त्यसको ५ वर्षपछि झापा–७ बाट २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका ओली २०७० माघ २१ मा नेकपा (एमाले) संसदीय दलको नेता बनेका थिए ।
त्यसबेला ओलीले संसदीय दलको नेताका रूपमा पार्टी अध्यक्ष खनाललाई २३ मतान्तरले पराजित गरेका थिए । त्यसपछि ओलीको शक्ति पार्टीभित्र पनि बढ्दै गयो । उनी २०७१ मा भएको पार्टीको नवौँ महाधिवेशनमा नेकपा (एमाले)को अध्यक्षमा निर्वाचित भए भने दोस्रो पटक २०७८ मा पुनः अध्यक्षमा निर्वाचित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न मेडिकल व्यवसायी संघको माग
-
किन राजनीतिक किनारामा पुर्याइए भीम रावल ?
-
राखेपमा ८ जना सदस्य नियुक्त
-
सुनिल पौडलको भ्रष्टाचार मुद्दामा विशेषले मगायो सिंगापुरको बैंकको विवरण
-
बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
-
संघका ३ र प्रदेशको एक सचिवको पदस्थापन गर्ने बागमती सरकारको निर्णय