शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

ललित मेमोरियल युथ लिग फुटबल : उद्घाटन खेलमा एनआरटीले चर्च ब्वाइजलाई हरायो

आइतबार, ३० असार २०८१, १६ : ४१
आइतबार, ३० असार २०८१

काठमाडौँ । ललित मेमोरियल एन्फा यू–१८ युथ लिग फुटबल प्रतियोगिताको आइतबार सम्पन्न पहिलो खेलमा न्यु रोड टिम (एनआरटी) यू–१८ टोलीले जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलिएको खेलमा एनआरटीले चर्च ब्वाइज युनाइटेड यू–१८ टोलीलाई २–१ गोलले पराजित गरेको हो ।

खेलको पहिलो हाफमै लिएको अग्रता जोगाउन नसक्दा चर्च ब्वाइजले पराजय भोग्नु परेको थियो । खेल सुरु भएको ३६ औँ मिनेटमा चर्च ब्वाइजका लागि अमनबहादुर तामाङले गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा चर्च ब्वाइज अगाडि रह्यो । खेलको दोस्रो हाफमा लयमा फर्किएको एनआरटीले लगातार दुई गोल फर्काउँदै नतिजा आफ्नो पक्षमा पारेको थियो ।

एनआरटीका लागि दुबै गोल कप्तान विज्ञान खड्काले गरेका थिए । उनले निर्धारित समयको ५५ औँ मिनेटमा पहिलो गोल गरेका थिए । उनले दोस्रो गोल भने ८० औँ मिनेटमा पेनाल्टीमार्फत गरेका थिए । सोही योगदानका कारण उनी प्लेयर अफ दी म्याच पनि घोषित भए ।

त्यसअघि स्टार हस्पिटलका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन समारोहमा आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज बिक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा, महासचि किरण राईलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा कुल १२ वटा टोलीको सहभागिता रहेको छ । एनआरटी र चर्च ब्वाइजका अतिरिक्त एपीएफ क्लब र खुमलटार फुटबल क्लब पनि प्रतियोगितामा सहभागी छन् । यसैगरी, प्रतियोगितामा जाउलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रिस्टार क्लब र त्रिभुवन आर्मी क्लबको पनि सहभागी छन् ।

दोहोरो राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा प्रत्येक क्लबले एक–अर्कासँग दुई–दुई खेल खेल्ने आयोजक अखिल नेपाल फुटबल संघले जनाएको छ । लिग तालिकाको पहिलो स्थानमा रहने क्लब च्याम्पियन बन्नेछ । प्रतियोगिताको विजेता क्लबले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउने छ ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले पनि जनही १५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप