सेयर बजारमा किन फर्कियो उत्साह ?
काठमाडौँ । यही असार १७ गते राति १२ बजे दुई प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठनको सम्झौता गरे । त्यसअघि नै यी दुई राजनीतिक दलबिचको सहकार्यबाट सरकार गठन हुने खबर बाहिरिइसकेको थियो ।
प्रमुख दुई राजनीतिक दलले बलियो सरकार गठन गर्ने खबर छरपस्ट भएपछि असार १७ गतेदेखि नै सेयर बजारमा त्यसको प्रभाव देखिन थाल्यो । असार १७ गते सेयर बजारमा १६ अङ्कको वृद्धि आएको थियो ।
यसपछि असार १८ गते ४७ अङ्क, असार १९ गते ३.७९ अङ्क र २० गते १५.४७ अङ्कको वृद्धि सेयर बजारमा देखियो । असार १७ गतेयता कारोबार भएको १० कारोबार दिनमध्ये ९ कारोबार दिन परिसूचक बढेको छ ।
यसबिचमा असार २४ गते ४.६२ अङ्कले घट्नुबाहेक अन्य कुनै पनि दिन नेप्सेमा गिरावट आएको छैन । असार १६ गते २०३७ अङ्कमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२५७ अङ्क पुगिसकेको छ । यो पछिल्लो १० कारोबार दिनमा आएको २२० अङ्कको वृद्धि हो ।
लगातार सेयर बजार परिसूचक बढ्न थालेपछि पछिल्लो एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । २०८० कै साउन पहिलो साता २२ सय अङ्कको बिन्दु नाघेको थियो । त्यसयता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२ सय अङ्कभन्दा तल रुमल्लिइरहेर २०८० मङ्सिर २० गते परिसूचक १८ सय ४० मा झरेको थियो ।
सेयर बजारमा देखिएको एक वर्षको यो अन्योल चिर्न दुई ठुला राजनीतिक दलको सहकार्य सम्झौताले सहयोग पुर्याएको देखिन्छ । लगानीकर्ताहरूकै अनुसार लगानीकर्ताको मनोबल बढाउन कांग्रेस र एमालेको सत्ता साझेदारी गर्ने सम्झौताले उल्लेख्य बल पुर्याएको छ ।
लगानीकर्ता छोटेलाल रौनियारका अनुसार दुई ठुला राजनीतिक दलको सत्ता साझेदारीको सम्झौताले लगानीकर्ता उत्साहित बनेका छन् । नेपाली कांग्रेस र एमाले मिल्दा बलियो सरकार बन्ने रौनियारको भनाई छ । ‘पुँजीबजारलाई अर्थतन्त्रको ऐना भनिन्छ,’ रौनियार भन्छन्, ‘अर्थतन्त्रको ऐनाकारुपमा रहेको पुँजीबजारले बलियो र स्थायी सरकार खोज्छ ।’ दुई राजनीतिक दलबिच भएको सम्झौताले स्थायित्वतर्फ सङ्केत गर्ने लगानीकर्ताको विश्वास छ । सोहीकारण पनि लगानीकर्ताको आत्मविश्वास फर्किएको बताइन्छ ।
लगानीकर्ता ताराप्रसाद फुलेल भने घट्दो ब्याजदर, बढ्दो तरलतासँगै सकारात्मक मौद्रिक नीति आउने लगानीकर्ताको आङ्कलन भएकाले पुँजीबजार बढेको बताउँछन् । ‘एमाले नेतृत्वको सरकारमा अर्थ मन्त्रालय पनि एमालेकै भागमा परेको छ,’ फुलेल भन्छन्, ‘नेपाल राष्ट्र बैंकका गभर्नरलाई एमालेनिकट नै भनिन्छ । अर्थ मन्त्रालय र केन्द्रीय बैंकबिच सहकार्य हुने भएकाले लचिलो मौद्रिक नीति आउने अपेक्षा छ ।’
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कले १२ महिनाको आयात धान्न सक्ने विदेशी मुद्राको सञ्चिति रहेको देखाएको छ । यस्तै वाणिज्य बैंकहरुमा ६ खर्ब रुपैयाँ हाराहारीको तरलता (लगानीयोग्य रकम) छ । यसबाहेक बैंक ब्याजदरसमेत निरन्तर एकल अङ्कमा आइपुगेको छ । यिनै कारणले पनि सेयर बजार बढाउनका लागि महत्त्वपूर्ण भूमिका खेलेको हो ।
‘जसको पालामा गभर्नर बन्नुभएको हो, उहाँ नै पुनः प्रधानमन्त्री बन्दा गर्भनरले सहयोग गर्नुहुन्छ भन्ने मनोभाव बजारमा देखिएको छ,’ पूर्व बैंकर अनलराज भट्टराईले भने, ‘राजनीतिकरुपमा हुनुपर्ने सबै सुधारका काम सक्किइसक्यो । अब आर्थिक सुधार नै गर्ने हो ।’ यही मनोभाव लगानीकर्तामा समेत देखिन्छ ।
स्थायी सरकार आएपछि आवश्यक्ताअनुसार नीतिगत फेरबदल गर्न सक्छ । बलियो सरकारले कानुन संशोधनदेखि सबैजसो काम गर्न सक्छ । यसबाहेक बैंकहरुको ब्याजदर २८ महिनायताकै न्यून छ । ठुला बैंकको बेसरेट ७ प्रतिशतमा आइसकेको छ । अहिले ‘फिक्सड डिपोजिट’को कस्ट पनि घट्दै गएको छ ।
यसलाई सकारात्मक सूचकमा रूपमा लिन सकिन्छ । यस्तै विदेशी मुद्राको सञ्चिति समेत १२ महिनाको आयात धान्न सक्ने स्थितिमा छ । राजश्व लक्ष्यको तुलनामा न्यून मात्रामा उठे पनि यसबाहेक अन्य सूचक सकारात्मक लिन सकिन्छ । ‘वित्तीय छुट दिनचाँही सरकारलाई समस्या छ,’ भट्टराईले भने, ‘कर प्रणालीमा सामान्य परिवर्तन भए पनि पूर्ण छुट दिन सक्ने स्थिति छैन ।’
आर्थिक विकासका लागि चाहिने सबै आधार तयार भइसकेको जानकारहरू बताउँछन् । नीतिगत सुधार हुन्छ भन्न अनुमान गर्न सक्ने अवस्था आउँछ । केन्द्रीय बैंकमाथि अनुगमन गरिरहेका आईएमएफ र विश्व बैंक लगायतले पनि लचिलो मौद्रिक नीति बनाए हुन्छ भनिसकेका छन् । यसबाहेक सेयर बजार र निजी क्षेत्र मैत्री व्यक्तिकारुपमा चिनिने विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का भएको छ । यही कारणले पनि सेयर बजारमा उत्साह छाएको बुझ्न सकिन्छ ।
‘कोभिडको समयमा अपनाइएका नीतिलाई परिवर्तन गर्दै जाने मौका राष्ट्र बैंकलाई पनि आएको छ,’ रौनियार भन्छन् । अब बन्ने नयाँ सरकारले कर्जाको भुक्तानीमा आएको दबाबलाई व्यवस्थापन गर्नुपर्छ । बैंकको पुँजी पुर्याउन ‘बफर क्यापिटल’ वा ‘रिस्क क्यापिटल’मा समेत सहजीकरण गर्नुपर्छ । यी कामहरू सहजै गर्न सक्ने भएकाले लगानीकर्ता नयाँ बन्ने सरकारसँग विश्वस्त बनेको बताइन्छ ।
- बढ्यो कारोबार
नेप्से परिसूचक बढ्न थालेपछि कारोबार रकम समेत बढ्न थालेको छ । असार १७ गते परिसूचक बढे पनि २ अर्ब ९९ करोड रुपैयाँ आसपासको सेयर किनबेच भएको थियो । त्यसअघि दैनिक ३ अर्बदेखि ४ अर्ब रुपैयाँ हाराहारीमा सेयर किनबेच भइरहेको थियो । तर दुई ठुला राजनीतिक दलबिच सत्ता साझेदारीको सम्झौतापछि कारोबार रकममा समेत उत्साह देखिन थालेको छ ।
असार १७ गते करिब ३ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भइरहेकामा ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको छ । आजको कारोबार ७ अर्ब ६२ करोड रुपैयाँभन्दा माथि पुगेको छ । यसबाहेकका अन्य कारोबार दिनमा दैनिक ५ अर्बदेखि ६ अर्ब रुपैयाँ आसपासको सेयर कारोबार भइरहेको छ ।