गौरवशाली इतिहास बोकेको अर्जेन्टिना, अप्रत्यासित नतिजा निकाल्न खप्पिस कोलम्बिया
- सोमबारको खेल
- अर्जेन्टिनाविरुद्ध कोलम्बिया (बिहान ५ः४५ बजे)
सर्वाधिक पाँचपटकको विश्वकप विजेता ब्राजिल र उरुग्वेजस्ता टोलीलाई स्तब्ध बनाउन सक्षम कोलम्बियालाई फाइनलमा अर्जेन्टिनाले कमजोर आँक्ने प्रयास गर्ने छैन । केवल विगतको तथ्याङ्कमा अल्झिएर फाइनलमा कोलम्बियालाई कमजोर सम्झने भुल गर्नु अर्जेन्टिनाका लागि इतिहासकै सबैभन्दा ठुलो त्रुटी हुनेछ । हालसम्म २५ खेलमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ । कोलम्बियाले भने केवल नौ खेलमा अर्जेन्टिनालाई हराएको छ । यी दुई राष्ट्रबिचको आठ खेल बराबरीमा सकिएको छ ।
काठमाडौँ । विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता ‘कोपा–अमेरिका’ को फाइनल खेल सोमबार अर्जेन्टिना र कोलम्बियाबिच खेलिँदैछ । फाइनल खेल अमेरिकाको मियामीस्थित होर्ड रक स्टेडियममा खेलिने छ । खेल नेपाली समय अनुसार बिहान ५ः४५ बजे सुरु हुनेछ ।
फाइनलमा भिड्न लागेका अर्जेन्टिना र कोलम्बिया दुई फरक इतिहास बोकेका टोली हुन् । विश्व फुटबलमा कोलम्बियाको तुलनामा अर्जेन्टिनाको इतिहास निकै गौरवशाली देखिन्छ । अर्जेन्टिना कोपा–अमेरिकामात्र होइन, विश्वकप फुटबलमा समेत दबदबा राख्ने राष्ट्र हो ।
अर्कोतिर, विश्व फुटबलमा कोलम्बियाको सहभागिताको इतिहास लामो भए पनि उपलब्धिका हिसाबले भने तुलनात्मक रूपमा कमजोर देखिन्छ । कोपा–अमेरिकामै पनि कोलम्बियाले हालसम्म एकपटक मात्र उपाधि चुम्न सकेको छ ।
विश्व फुटबल महासंघको पछिल्लो वरीयतामा अर्जेन्टिना पहिलो स्थानमा आसीन छ । कोलम्बिया भने फिफा वरीयताको १२औँ स्थानमा छ । कोपा–अमेरिकाको जारी ४८औँ संस्करणमा भने कोलम्बियाको प्रदर्शन निकै स्तरीय देखिन्छ ।
जारी कोपा–अमेरिकाको समूहगत चरणमा अर्जेन्टिनाले आफूले खेलेको तीनवटै खेलमा जित हात पारेको थियो । अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा क्यानडालाई नै २–० गोलले हराएको थियो । अर्जेन्टिनाले दोस्रो खेलमा चिलीमाथि १–० गोलको जित हात पारेको थियो ।
आफ्नो तेस्रो खेलमा अर्जेन्टिनी टोलीले पेरुमाथि २–० गोलको जित हात पारेको थियो । समूहगत चरणको खेलमा अर्जेन्टिनाले कुल पाँच गोल गरेको थियो भने एक गोल पनि खाएको थिएन । अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो ।
निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा भएको थियो । त्यसपछि अर्जेन्टिनाले सेमिफाइनल खेलमा क्यानडालाई २–० गोलले पराजित गरेको थियो । जारी कोपा–अमेरिकामा अर्जेन्टिनाले हालसम्म एक गोलमात्र खाएको छ ।
अर्कोतिर, कोलम्बिया भने समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । कोलम्बियाले तीनमध्ये दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको थियो । कोलम्बियाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई २–१ गोलले हराएको थियो ।
कोलम्बियाले दोस्रो खेलमा कोस्टा रिकालाई ३–० गोलले पराजित गरेको थियो । तेस्रो खेलमा भने कोलम्बियाले बलियो प्रतिद्वन्द्वी ब्राजिललाई १–१ गोलको बराबरीमा रोकेको थियो । समूहगत चरणमा कोलम्बियाले ६ गोल गरेको थियो भने केवल दुई गोल खाएको थियो ।
प्रतियोगिताको क्वार्टरफाइनलमा कोलम्बियाले पानामालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । सेमिफाइनल खेलमा भने कोलम्बियाले आफूभन्दा निकै बलियो प्रतिद्वन्द्वी उरुग्वेलाई १–० गोलले पराजित गरेको थियो ।
जारी प्रतियोगितामा कोलम्बियाले विपक्षीको पोस्टमा १२ गोल गरिसकेको छ भने केवल दुई गोल खाएको छ । इतिहासले कमजोर टोलीको रूपमा व्याख्या गरे पनि कोलम्बियाको वर्तमान भने निकै प्रभावशाली देखिन्छ ।
समूहगत चरणमा ब्राजिलजस्तो बलियो टोलीलाई बराबरीमा रोक्न सफल कोलम्बियाले सेमिफाइनलमा पनि उरुग्वेजस्तो शक्तिशाली प्रतिद्वन्द्वीलाई पराजयको स्वाद चखाएको थियो । स्मरण रहोस्, उरुग्वे सबैभन्दा बढी कोपा–अमेरिकाको उपाधि चुम्ने राष्ट्र हो ।
उरुग्वे र अर्जेन्टिनाले हालसम्म १५–१५ पटक कोपा–अमेरिकाको उपाधि जितिसकेका छन् । यसका अतिरिक्त उरुग्वे दुईपटकको विश्वकप विजेता पनि हो । उरुग्वेले सन् १९३० र सन् १९५० मा विश्वकपको उपाधि उचालेको थियो ।
पक्कै पनि सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिल र उरुग्वेजस्ता टोलीलाई स्तब्ध बनाउन सक्षम कोलम्बियालाई फाइनलमा अर्जेन्टिनाले कमजोर आँक्ने प्रयास गर्ने छैन । केवल विगतको तथ्याङ्कमा अल्झिएर फाइनलमा कोलम्बियालाई कमजोर सम्झने भुल गर्नु अर्जेन्टिनाका लागि इतिहासकै सबैभन्दा ठुलो त्रुटि हुनेछ ।
कोपा–अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो । कोपा–अमेरिकामा अर्जेन्टिनाको यो ४४औँ सहभागिता हो । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक उपाधि पनि चुमिसकेको छ ।
अर्जेन्टिनी टोलीले सन् १९२१ मा पहिलो पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो । अन्तिम पटक भने अर्जेन्टिना सन् २०२१ मा च्याम्पियन बनेको थियो । यसका अतिरिक्त अर्जेन्टिना १४ पटक उप–विजेता पनि बनेको छ ।
अर्जेन्टिना फिफा विश्वकपको साबिक विजेता पनि हो । अर्जेन्टिनाले हालसम्म तीनपटक विश्वकपको उपाधि उचालिसकेको छ । समकालीन विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले पछिल्लो पटक सन् २०२२ मा सम्पन्न कतार विश्वकपको उपाधि चुमेको थियो ।
यसको विपरीत कोलम्बियाले हालसम्म एकपटक मात्र कोपा–अमेरिकाको उपाधि उचाल्न सकेको छ । कोलम्बियाले सन् २००१ मा कोपा–अमेरिकाको उपाधि जितेको थियो । त्यतिबेला घरेलु मैदानमा खेलिएको फाइनलमा कोलम्बियाले मेक्सिकोलाई १–० गोलले हराएको थियो ।
कोलम्बिया सन् १९७५ मा पनि फाइनलसम्म पुगेको थियो । यसका अतिरिक्त कोलम्बिया पाँचपटक तेस्रो र दुईपटक चौथो भएको थियो । कोपा–अमेरिकामा कोलम्बियाको यो २४औँ सहभागिता हो । कोलमिबयाले सन् १९४५ मा पहिलो पटक कोपा–अमेरिका खेलेको थियो । विश्वकपमा पनि हालसम्म कोलम्बियाले लोभलाग्दो प्रदर्शन गर्न सकेको छैन ।
अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना र कोलम्बियाबिच हालसम्म ४२ पटक भिडन्त भइसकेको छ । त्यसमध्ये २५ खेलमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ । कोलम्बियाले भने केवल नौ खेलमा अर्जेन्टिनालाई हराएको छ । यी दुई राष्ट्रबिचको आठ खेल बराबरीमा सकिएको छ ।
विश्व फुटबलमा कोलम्बिया र अर्जेन्टिना निकै पुराना प्रतिद्वन्द्वी हुन् । सन् १९४५ को फेब्रुअरी ७ मा यी दुई टोलीबिच पहिलो पटक भिडन्त भएको थियो । त्यो खेलमा अर्जेन्टिनाले कोलम्बियालाई ९–१ गोलको विशाल अन्तरले हराएको थियो ।
त्यो खेल पनि कोपा–अमेरिका अन्तर्गत नै खेलिएको थियो । यी दुई टोलीबिचको खेलमा सबैभन्दा ठुलो अन्तरको हार–जित पनि त्यही थियो । सन् २०२२ को फेब्रुअरी १ तारिखमा पछिल्लो पटक यी दुई टोली आमने–सामने भएका थिए । त्यो खेलमा पनि अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले हराएको थियो ।
जारी कोपा–अमेरिकामा अर्जेन्टिनाका लाउटारो मार्टिनेज सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा आसीन छन् । उनले टोलीका लागि चार गोल गरिसकेको छन् । अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले पनि दुई गोल गरेका छन् ।
कोपा–अमेरिकाको जारी संस्करणमा अर्जेन्टिना लियोनल स्कोलोनीको प्रमुख प्रशिक्षकत्वमा रहेको छ । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी टोलीमा लुकास मार्टिनेज, फ्रान्को अर्मानी (गोलरक्षक), गोन्जालो मोन्टियल, जर्मन पेजेल्ला, रोड्रिगो डी पल, जुलियन अल्भारेज, एन्जल डी मारिया, क्रिस्टियन रोमेरो, निकोलस गोन्जालेज, निकोलस ओटामेन्डीलगायतका प्रभावशाली खेलाडी छन् ।
यसैगरी जारी कोपा–अमेरिकामा कोलम्बियाका जोन कोर्डोबा, लुइस डियाज, ड्यानियल मुनोज र जेफर्सन लेर्माले दुई–दुई गोल गरेका छन् । कोपा–अमेरिकाको ४८औँ संस्करणमा कोलम्बियाको टोली नेस्त्रो लोरेन्जोको प्रमुख प्रशिक्षकत्वमा रहेको छ ।
कोलम्बियाको टोलीमा जेम्स रोड्रिग्वेज (कप्तान), डेभिड ओस्पिना (गोलरक्षक), कार्लोस क्वेस्टा, जोन लुकुमी, रिचर्ड रियोस, लुइस डियाज, मिगुएल बोर्जा, एरी मिना, जोन डुरान, जोन मोजिका लगायतका प्रभावशाली खेलाडी सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सकले मृत घोषणा गरेका व्यक्तिले जब हात हल्लाए...
-
‘काठमाडौँ महानगरपालिकाले प्रदेश सरकारलाई राजश्वबाट उठेको ४० प्रतिशत रकम दिएन’
-
६ महिनापछि पहिलो पटक समाजवादी मोर्चाको बैठक आलोकनगरमा
-
जय ट्रफी फाइनल : भीम सार्कीको अर्धशतक, आर्मीलाई पहिलो इनिङ्समा ३७ रनको अग्रता
-
बङ्गलादेशको सर्वोच्च अदालतले पूर्व प्रम जियालाई दियो सफाइ
-
रविका वकिलको दलिल : धरौटी माग्दा अन्याय हुन्छ, तारेखमा बसेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्छ