शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

के स्वर्ण पदक पुरै सुनले बनेको हुन्छ ? यस्तो छ पदकसम्बन्धी मापदण्ड

आइतबार, ३० असार २०८१, १५ : ५१
आइतबार, ३० असार २०८१

काठमाडौँ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको आगामी संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुँदैछ । ओलम्पिक खेलकुद यो ३३औँ संस्करण हो । पेरिस ओलम्पिक सन् २०२४ को जुलाई २६ देखि अगस्त ११ तारिखसम्म चल्नेछ ।

यस पटक ओलम्पिकमा १० हजार ६ सयभन्दा बढी खेलाडीले सहभागी हुनेछन् । पेरिस ओलम्पिकमा विभिन्न ३२ खेलका तीन सय २९ स्पर्धा समावेश गरिएको छ । अर्थात्, पेरिस ओलम्पिकमा तीन सय २९ वटा स्वर्ण पदकका लागि खेलाडीबिच घम्साघम्सी हुनेछ ।

विश्वभरका खेलाडीहरूले ओलम्पिकमा सहभागिता मात्रलाई पनि निकै ठुलो उपलब्धिका रूपमा लिने गर्छन् । त्यसमाथि ओलम्पिकमा जितेको पदकको त झनै ठुलो महत्त्व हुने नै भयो । ओलम्पिकमा प्रदान गरिने पदकको बारेमा तपाईँलाई कत्तिको जानकारी छ ?

के ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीलाई प्रदान गरिने पदक पुरै सुनले बनेको हुन्छ ? अनि रजत पदक पुरै चाँदीले बनेको हुन्छ त ? खासमा ओलम्पिकमा विजेता खेलाडीलाई प्रदान गरिने स्वर्ण पदक पुरै सुनले बनेको हुँदैन ।

ओलम्पिकमा प्रदान गरिने पदकको विषयमा पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले छुट्टै मापदण्ड र नियम बनाएको हुन्छ । ओलम्पिकमा प्रदान गरिने स्वर्ण पदक पुरै सुनले बनेको नभए पनि त्यो पदकमा सुनको मात्रा भने हुन्छ ।

खासमा, ओलम्पिक खेलकुदमा प्रदान गरिने स्वर्ण पदक तयार पार्दा ९२.५ प्रतिशत चाँदीको प्रयोग गरिएको हुन्छ । त्यसमा सुनको जलप चढाइएको हुन्छ । स्वर्ण पदकमा कम्तीमा ६ ग्राम सुनको प्रयोग भने गर्नैपर्ने हुन्छ ।

सन् १९१२ को ओलम्पिक स्विडेनको स्टकहोम सहरमा आयोजना गरिएको थियो । ओलम्पिकको त्यो पाँचौँ संस्करण थियो । सबैभन्दा पछिल्लो पटक त्यही ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीलाई पुरै सुनले बनेको पदक प्रदान गरिएको थियो ।

आईओसीको नियमअनुसार, ओलम्पिक विजेतालाई प्रदान गरिने पदकको व्यास कम्तीमा ६० मिलिमिटर र मोटाई तीन मिलिमिटर हुनु पर्छ ।

यसैगरी ओलम्पिकमा दोस्रो स्थान हासिल गर्ने खेलाडीलाई प्रदान गरिने रजत पदक भने पूर्ण रूपमा चाँदीबाट बनाइएको हुन्छ । तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई प्रदान गरिने कांस्य पदक तामाबाट बनाइएको हुन्छ । कांस्य पदकमा केही मात्रामा जिंकको पनि प्रयोग गरिएको हुन्छ । स्वर्ण र रजतभन्दा कांस्य पदक केही हल्का हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप