शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रचण्डको दिनचर्या

निजी निवासमा प्रचण्डका दुई दिन : भूमिका फेरियो, सक्रियता उस्तै

आइतबार, ३० असार २०८१, १५ : १३
आइतबार, ३० असार २०८१

काठमाडौँ । कामचलाउ प्रधानमन्त्रीको हैसियतमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी निवास बालुवाटार छाडिसकेका छन् ।

प्रतिनिधि सभामा शुक्रबार विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्रीको सरकारी निवास छाडेर प्रचण्ड निजी निवास खुमलटार फर्किएका थिए । २०७९ साल पुस १३ गते बालुवाटार सरेका प्रचण्ड ५६२ दिनको बसाइपछि आफ्नै निवास फर्किएका हुन् ।

निजी निवास फर्किएको ४८ घण्टासम्म प्रचण्ड औपचारिक कार्यक्रममा गएनन् । सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट शुक्रबार नै बिदा भइसेकाले आइतबार उनी सिंहदरबार पनि गएनन् । उनको सचिवालयका सदस्यहरूले समेत सिंहदरबार छाडिसकेका छन् ।

यद्यपि कामचलाउ सरकारका प्रधानमन्त्री भएकाले नियमित काम निवासबाटै गरिराखेको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । ‘कामचलाउ सरकारका प्रधानमन्त्री भएकाले अनिवार्य रूपमा गर्नैपर्ने काम उहाँले गरिरहनुभएको छ,’ आचार्यले भने, ‘सुरक्षा निकायका तीन वटै प्रमुखलाई बोलाएर बाढीपहिरोको अपडेट लिइराख्नुभएको छ । साथै निर्देशन दिने र सहजीकरण गर्ने काम गरिरहनुभएको छ ।’

नयाँ प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण नभएसम्म नियमित काम जारी रहने आचार्यको भनाइ छ । उनका अनुसार प्रचण्डको भूमिका फेरिए पनि निवासमा बिहानैदेखि राज्यका प्रमुख व्यक्तित्व, पार्टीका नेता, कार्यकर्ताहरू, शुभचिन्तक तथा शुभेच्छुकसँग भेटघाट गरिरहेका छन् ।

‘बाहिर उहाँ(प्रचण्ड)को औपचारिक कार्यक्रम केही राखिएको छैन । निवासमै बसेर बिहानदेखि बेलुकासम्म राज्यका प्रमुख व्यक्तिहरू, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभ चिन्तकहरूसँगको भेटघाटमै व्यस्त हुनुहुन्छ’, आचार्यले भने ।

प्रचण्डले बिहान तीन वटा सुरक्षा अङ्गका प्रमुखलाई निवासमै बोलाएर सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका थिए । सबै उपाय अबलम्बन गरी खोजी कार्यलाई अझै तीव्रता दिन उनले निर्देशनसमेत दिएका थिए ।

चितवनको सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले कर्मचारीतन्त्र र सुरक्षा निकायलाई अविचलित र अविच्छिन्न रूपमा जनताको सेवामा लागिपर्न आग्रह गरेका थिए ।

संसदबाट आफूलाई विश्वासको मत नपाउने निश्चित भएको थाहा हुँदाहुँदै पनि प्रचण्डले संविधानले दिएको अधिकार प्रयोग गरी शुक्रबार सदनमा प्रस्ताव पेस गरेका थिए । तर २७५ सदस्यीय प्रतिनिधि सभामा कुल २५८ सांसद मतदान प्रक्रियामा सहभागी थिए । विश्वासको मतको पक्षमा कुल ६३ जनाले मतदान गरेका थिए । विपक्षमा  १९४ जना र तटस्थ १ जनाले मत दिएका थिए ।

राष्ट्रपतिसँग केहीबेर छलफल गरेपछि प्रचण्ड सिधै खुमलटार पुगेका थिए । निवासमा पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुकसँग बेलुका साढे सात बजेसम्म रहेका उनले केहीबेर सम्बोधन गरे । बेलुकाको खानापछि उनी नियमितजस्तै १० बजे सुतेको सचिवालयले बताएको छ ।

शनिबार र आइतबार निवासमै आराम गरेकाले बाहिरका औपचारिक कार्यक्रम नराखिएको आचार्यले बताए । तर दुई दिनमा को–कोसँग कुन–कुन समयमा भेटघाट गरे भन्ने विषयमा सचिवालयले सूची उपलब्ध गराएको छैन ।

फेरिएको भूमिका

प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा रहँदा नियमित साढे चार बजे उठ्ने र राति १०÷११ बजेसम्म काममा व्यस्त हुने गरेको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उनी दैनिक बिहान एक घण्टा नियमित व्यायाम (दौडने, पिटी खेल्ने) लगायतका काम गर्थे । ६ः३० बजे तयार भएर करिब ३ घण्टासम्म उनले राजनीतिक भेटघाटका लागि समय निकाल्थे ।

त्यसपछि उनी सिंहदरबार कार्यालयमा जाने गर्दथे । अत्यावश्यक बाहेक सरकारको काममा समस्या नहोस् भनेर उनले पार्टी र सार्वजनिक कार्यक्रम प्रायःजसो शनिबार राख्ने गरेको संयोजक आचार्यले बताए । भेटघाट लगायतका काम बेलुका ९ बजेसम्म हुने गरेको उनको भनाइ छ । बिहानको खाना १० बजेदेखि ११ बजेभित्र र बेलुकाको खाना ९ बजेतिर हुने गरेको उनले सुनाए ।

‘सरकारमा हुँदा उहाँको पहिलो प्राथमिकता सरकारी काम हुन्थ्यो । देश सञ्चालन गर्ने, निर्देशन दिने, कानुन कार्यान्वयन गर्ने काम हुन्थ्यो । पार्टीका क्याडरहरूलाई सकेसम्म निकै कम भेट्नुहुन्थ्यो । पार्टीका मिटिङ भरसक शनिबार राख्ने वा अफिस समयभन्दा बाहिर राख्ने गर्नुहुन्थ्यो,’ संयोजक आचार्यले भने, ‘अब जिम्मेवारी फेरिएको छ । प्रमुख प्रतिपक्ष दलको नेताको भूमिकामा रहेकाले सरकारको काम कारबाहीलाई निगरानी गर्ने, संसदमा जनताको आवाजलाई प्राथमिकताका साथ उठाउने जिम्मेवारी आएको छ ।’

भूमिका फेरिए पनि प्रचण्डको कार्यव्यस्तता उस्तै रहेको आचार्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप