बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय
पशु स्वास्थ्य

‘खोरेत रोग मानिसमा सर्छ तर महामारीको रूप लिँदैन’

आइतबार, ३० असार २०८१, १४ : ४३
आइतबार, ३० असार २०८१

काठमाडौँ । नेपालका पशुवस्तुहरूमा वर्षभरि नै देखिने सरुवा रोग हो खोरेत । यो रोग बाह्रै महिना देखिन्छ तर पशुवस्तुहरूको बढी ओसार पसार हुने सिजनमा बढी सङ्क्रमण फैलिने पशु चिकित्सक बताउँछन् ।

चालु आर्थिक वर्षमात्र २७ जिल्लामा खोरेत रोगको सङ्क्रमण देखा परेको छ । छोटो समयभित्र खोरेत विषाणुले पशुलाई रोगी तुल्याउन सक्छ ।

खोरेत रोगबारे केन्द्रित रहेर खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशाला प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. कृष्णराज पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • खोरेत रोग भनेको कस्तो रोग हो ?

खोरेत रोग खुरफट्टा जनावरहरू गाई, भैँसी, भेडा, बाख्रा, बंगुरजस्ता घरपालुवा जनावर र जङ्गली जनावरहरू मृग, हरिण प्रजातिहरू, बँदेलहरूमा एक किसिमको अत्यन्तै छिटो फैलने र मुख्य गरी पशुहरूमा अत्यधिक मात्रामा ज्वरो आउने, र्‍याल काढ्ने, दुध उत्पादन घटाउने, हिँड्डुल गर्न गाह्रो हुने, खोच्याउने जस्ता लक्षणहरू देखाउने र धेरै छिटो लामो दुरीसम्म फैलिनसक्ने सीमाविहीनको रोग हो ।

खोरेत रोग खासगरी खुरफट्टा जनावरमा लाग्ने रोग हो । गाई, भैँसी, भेडा, बाख्रा, बंगुरमा यो रोग लाग्छ । यी पाँच किसिमका पशुमा यो रोग देखिन्छ ।
  • अहिले नेपालमा खोरेत रोगको अवस्था कस्तो छ ?

नेपालको परिप्रेक्ष्यमा हेर्‍यौँ भने यो आर्थिक वर्षमा नेपालमा २७ वटा जिल्लामा खोरेत रोग देखिएको अवस्था छ । चालु आर्थिक वर्ष मुख्य गरी बागमती प्रदेशमा बढी सङ्क्रमण देखिएको छ । बागमती प्रदेशको लगभग अधिकांश जिल्लामा यसको सङ्क्रमण देखिएको छ ।

खासगरी पहिलो पटक यो वर्ष चितवनमा यो रोग देखिएको थियो । यस्तै, काठमाडौँ, सिन्धुली लगायत बागमती प्रदेशका जिल्लामा देखिएका थियो । यसैगरी कोशी प्रदेशको मोरङ, ओखलढुंगा लगायतका जिल्लामा देखा परेको थियो । यस्तै, लुम्बिनी प्रदेशको कपिवस्तुमा पनि देखा परेको थियो । यसरी हामीले हेर्‍यौँ भने गण्डकी प्रदेशमा तनहुँ, कास्की जिल्लामा देखा परेको थियो । विभिन्न ठाउँमा अझै देखिएको अवस्था छ ।

  • खोरेत रोगको लक्षण के–कस्ता हुन्छन् ?

खोरेत रोग खासगरी खुरफट्टा जनावरमा लाग्ने रोग हो । गाई, भैँसी, भेडा, बाख्रा, बंगुरमा यो रोग लाग्छ । यी पाँच किसिमका पशुमा यो रोग देखिन्छ । मुख्य लक्षण भनेकै पशुमा अत्यधिक ज्वरो आउनु हो । ज्वरो आइसकेपछि बिस्तारै सङ्क्रमित पशुले र्‍याल निकाल्छ । र्‍यालको मात्रा बढ्दै जान्छ र एकदमै लस्सादार र्‍याल मुखबाट भुइँसम्म झुन्डिएको देखिन्छ ।

बिस्तारै मुखमा घाउ आउन थाल्छ र मुखको बाहिरी तथा भित्री भागमा सानासाना पानीका फोकाजस्ता घाउ देखिन्छन् । क्रमशः त्यो पानीका फोका फुट्ने, घाउ बन्ने लक्षण देखिन्छ । बिस्तारै यी घाउ बढ्दै जान्छन् । घाउले गर्दा पशुले खाना खान मन नगर्ने, खाना खान नसक्ने जस्ता लक्षण देखा पर्दछ ।

krishna-raj-pandey

पशुका खुट्टामा पनि घाउ देखा पर्न थाल्छ । खुट्टाका खुरहरू फाटेको हुन्छ । त्यो भागमा घाउ देखा पर्छ । बिस्तारै ती घाउ बढ्दै जाने हुन्छ । सो घाउमा किरा पर्ने र सङ्क्रमित पशु खुट्टा खोच्याएर हिँड्ने गर्छन् । दुहुना पशु छन् भने दुध उत्पादन एकदमै घट्छ । यस रोगले गर्दा दुध उत्पादन घटेर किसानलाई आर्थिक क्षति पुर्‍याउँछ ।

पशुहरूले खान छोड्यो, ज्वरो आएर पशुहरू ढल्यो, नाकहरू सुक्खा देखियो, र्‍यालहरू निकालिरह्यो र मुख, खुट्टामा घाउ देखियो, दुहुना पशुवस्तुले दुध धेरै घटाएको छ भने खोरेत रोग हो कि भनेर शङ्का गर्न सकिन्छ ।

  • खोरेत रोग कसरी सर्छ ?

खोरेत रोग सर्ने माध्यम धेरै छन् । विशेष गरी खोरेत रोग अति सुक्ष्म जीवाणु हो, जसलाई हामी ‘पिकोर्ना’ भन्छौँ । जनावरहरूमा लाग्ने रोगको कारकमध्ये सबैभन्दा सानो भाइरस हो ।  यसमा धेरै प्रकारका भाइरस हुन्छन् । सानो भाइरस भएको हुँदा यसको ‘मोमेन्ट’ अत्यधिक छिटो हुन्छ । यो हावाबाट फैलिन्छ । हावाबाट जमिनको सतहमा ६० किलोमिटर प्रतिघण्टा हावाको बहावसँगै–सँगै यो रोगको कीटाणुहरू पनि वातावरणमा फैलिन्छ ।

पशुमा रोग लागिहालेमा हामीले गर्ने भनेको सहयोगात्मक उपचार हो । खोरेत रोगको लक्षण अनुसार उपचार गर्नुपर्छ । खोरेत रोग भाइरसजन्य भएकाले यो रोगको ठ्याक्कै औषधि उपचार भन्ने हुँदैन ।

अर्को माध्यम भनेको रोगी पशुवस्तुको ओसारपसार हो । खोरेत रोग लागेको रोगी पशुवस्तुको ओसारपसार भयो भने यो सर्छ । रोगी पशुवस्तुलाई हिँडाएर अथवा सवारी साधनमा लैजाँदा वा ढुवानी गर्दा यो रोगको कीटाणु पनिसँगै जान्छ र रोग फैलिन्छ । यतिमात्रै नभई रोगी पशुहरूबाट निस्कने पशुजन्य पदार्थ जस्तै, दुधजन्य पदार्थ, मासुजन्य पदार्थहरूको ओसार पसारले पनि एक ठाउँबाट अर्को ठाउँमा यो रोग फैलने गरेको छ । पशुको ओसारपसार र हावाबाटै यो रोग सर्छ ।

  • खोरेत रोग मानिसमा सर्छ ?

खोरेत रोग सामान्य किसिमको ‘जुनोटिक’ रोग हो । जनावरबाट मानिसमा सर्ने रोगलाई ‘जुनोटिक’ रोग भनिन्छ । यो रोग एकदमै महामारी प्रकृतिको होइन । मान्छेमा धेरै देखिएको छैन । मान्छेमा सर्छ तर मान्छेमा धेरै असर देखिँदैन । यो रोग लाग्दा मान्छेमा कहिलेकाहीँ मुखमा विभिन्न घाउ आउने सामान्य लक्षण देखिन सक्छ तर अन्य प्रकारको जुनोटिक रोगजस्तो मान्छेको मृत्यु नै गराउने वा महामारी ल्याउने हुँदैन । मान्छेमा सर्न सक्ने जुनोटिक रोग हो तर न्यून मात्रामा यसको असर देखिन्छ ।  

  • खोरेत रोग लागे कसरी उपचार गर्ने ?

पशुमा रोग लागिहालेमा हामीले गर्ने भनेको सहयोगात्मक उपचार हो । खोरेत रोगको लक्षण अनुसार उपचार गर्नुपर्छ । खोरेत रोग भाइरसजन्य भएकाले यो रोगको ठ्याक्कै औषधि उपचार भन्ने हुँदैन । यसको मुख्य औषधि उपचार भनेकै रोकथाम विधि हो । रोग आउनै नदिन ‘प्रिभेन्टिभ मेजर’हरू अपनाउने हो । अब रोग लागिसकेपछि सहयोगात्मक उपचार भनेको ज्वरो अत्यधिक हुन्छ, ज्वरो घटाउने औषधि खुवाउनुपर्छ । मुख र खुट्टामा घाउ हुन्छ । त्यो घाउको सरसफाइ गर्ने, ड्रेसिङ गर्ने । मुखको घाउका लागि फिटकिरी पानीले सफा गर्दा एकदम राम्रो हुन्छ । खुट्टाका घाउहरूमा हामीले फिटकिरी पानी अथवा बेटाडिन पानीले सफा गर्न सक्छौँ । खुट्टाका घाउहरूमा निलोतुथोले पनि सफा गर्न सक्छौँ । गोठ सरसफाइ गरिराख्नुपर्ने हुन्छ ।

मुख्य भनेको ज्वरो घटाउने, खाना रुचाउने औषधि दिने हो । घाउको सरसफाइ गर्ने, किरा परेको छ भने किरा मार्ने औषधि प्रयोग गर्ने नै हो ।

  • खोरेत रोग कसरी रोकथाम गर्न सकिन्छ ?

खोरेत रोग आउनै नदिन रोकथाम नै उत्तम उपाय हो । जसका लागि रोग लाग्नै नदिन पशुहरूमा खोरेतविरुद्धको खोप लगाउनुपर्छ । तीनै तहका सरकारी निकायबाट खोरेतविरुद्ध काम भइरहेको अवस्था छ । हरेक वर्ष ६० लाख डोज खोरेतविरुद्धको भ्याक्सिन लगाइने गरिन्छ । सँगसँगै ६० लाख डोजले मात्रै पुग्दैन, पशुवस्तु (गाई, भैँसी, बंगुर, भेडा, बाख्रा)मा यो खोप अझै अपुग देखिन्छ । खोपका लागि प्राथमिकतामा गाई र भैँसीलाई राखिएको छ । किनकि यसले दुध उत्पादन हुने भएकाले डेरी क्षेत्रलाई प्रोत्साहनका लागि पनि यसलाई प्राथमिकतामा राखिएको हो । तर पनि योसँगै भेडा, बाख्रा र बंगुरमा पनि लगाउने गरिन्छ । यी जनावरमा खोरेतविरुद्ध खोप लगाएन भने रोग नियन्त्रण गर्न मुस्किल हुन्छ ।

  • खोरेत रोगको कुनै सिजन हुन्छ ?

धेरैजसो पशुको ओसारपसार गर्दा यो रोग देखापर्छ । नेपालको परिवेशमा दसैँ–तिहारजस्ता पर्वको समयमा यो रोग बढी देखा पर्छ । यो सिजनमा पशुवस्तुहरूको मासु प्रयोजनका लागि बढी मात्रामा ओसार–पसार हुन्छ । धेरै ठाउँमा पशु बिरामी हुन्छ । असोज–कार्तिक महिनामा यो देखा पर्छ । फाट्टफुट्ट रूपमा वर्षभर नै देखापर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप