बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

फोन गरेर अरूलाई तनाव दिनुको साटो के गर्ने ?

आइतबार, ३० असार २०८१, १४ : ३१
आइतबार, ३० असार २०८१

सञ्चारमाध्यमले गर्दा अचेल संसार साँघुरो भएको छ । आफ्नो वा अरू कसैको भौतिक उपस्थितिबिना  सूचनाका भरमा कामकाज सम्पन्न हुन्छन् । पानी, बत्ती, फोन या अरू जुनसुकै सेवाको पनि बिल तिर्न कतै जानैपर्दैन । सोफामा बसेर काम फत्ते हुन्छ । परदेशमा भएका वा आफूसँग नभएका सन्तान वा बाबुआमाको हालखबर बुझ्न पनि समय कुर्नुपर्दैन । 

अहिले सञ्चार जगतको विकास र विस्तार हेर्दा १५–२० वर्षअघि समाज कसरी चलेको थियो होला भन्ने लाग्छ । अहिले सञ्चारको विकासले राम्रो कामलाई सजिलो मात्र बनाएको छैन, मोबाइल फोनले स–सानादेखि ठुलठुला खुराफाती पनि बढेको पाइन्छ । सामान्य घटनाका विषयमा भन्नुपर्दा— आफू भएको ठाउँ सही नबताएर अन्तै बताउने, आमाबाबु वा श्रीमान्–श्रीमतीलाई ढाँट्नेदेखि जिउ–धनकै असुरक्षासम्मका उदाहरण प्रशस्त सुनिन्छन् । विज्ञान र प्रविधिले संसार सानो मात्र होइन, भारी पनि भएको छ; सुरक्षित मात्र होइन, असुरक्षित पनि भएको छ । 

आजकल स–साना बच्चाबच्चा मात्र होइन, ठुला मान्छे पनि सामाजिक सञ्जालमा धेरै समय बिताउने गरेको सुनिन्छ र देखिन्छ पनि । कोही गृहिणी भन्छन्— सबैजना बाहिर निस्केपछि म प्रवचन, भजन सुन्दै निदाउँछु । यस्ता कुरा सुन्दा अचम्म पनि लाग्छ, प्रवचन सुन्ने निदाउनलाई हो र ? बिरामी भए, निद्रा नलाग्ने रोग भए सङ्गीत थेरापी हुन सक्छ, तर सञ्चोमान्छे दिउँसै निदाउन किन सुन्नुपर्‍योे । प्रवचन सुनेर शास्त्रीय र आध्यात्मिक कुरा बुझेर, मनन गरेर आफूलाई सकारात्मक परिवर्तन गर्न, प्रतिभावान बन्न पो सक्नुपर्छ । निदाउन त पक्कै होइन नि ! 

प्रवचनका सिलसिलामा कसैका केही भनाइ आउला, योग ध्यान गर, रिसराग नगर, सहनशील बन, अर्काको ईर्ष्या नगर, आफू प्रतिभाशाली बन भन्ने । ती सबै कुरा सुन्ने, कण्ठ पार्ने अनि केही नगर्ने गर्नु बुद्धिमानी त भएन । यो त ऋषिले चरालाई अर्ती दिएको कथाजस्तै भयो । एउटा जङ्गलमा एकजना ऋषिको कुटी रहेछ । शान्त वातावरण भएकाले कुटीनजिक चराहरू नित्य आउने नै भए । एउटा सिकारीले चारो हाली जाल फालेर तीन चराहरू बटुलेर लैजाँदो रहेछ । धेरै दिन त्यो दृश्य देखिसकेपछि ऋषिले चराहरू जम्मा पारेर भनेछन्, ‘सिकारी आउँछ, चारो हाल्छ, त्यतिबेला तिमीहरू खान नजानू ।’ यो कुरा सबैले कण्ठ पारेछन् र भन्दै हिँडेछन् । 

चराहरूले गरेको हल्ला त्यो कुरा सिकारीले पनि सुनेछ । लौ ! अब बित्यास प-योे भन्ने लागेछ । तैपनि यो कुरा कुनै चराले सुनेका छैनन् कि भनेर सिकारीले चारो फालेछ । ‘सिकारी आउँछ, चारो फाल्छ, तिमीहरू नजानू है नजानू’ भन्दै सबै चरा चारो खान गएछन्, सबै जाल भित्र परेछन् । ऋषिले सिकाएको कुरा कण्ठ पार्नुको के अर्थ भयो ? कतै हामी पनि त्यसै गरिरहेका त छैनौँ ?

कसैको बानी हुन्छ, आफूलाई बोर भयो रे भनेर अरूलाई फोन गर्ने । अर्काको के काम छ, कसो छ, घन्टौँ भुलाइदिन खोज्ने ! आफूले लाएका, खाएकादेखि दुनियाँ सप्रेका र बिग्रेका कुरा गरेर बस्ने । बिग्रेको राजनीतिका कुरा, आफू राम्रो भएको बखान गरेर समय नष्ट गर्ने । कहिलेकाहीँ त त्यस्ता कुरा नसुनौँ भने पनि मातेको भन्ने दर्जा पाइने । सुनौँ भने समय बर्बाद । त्यसमा झन् आफूभन्दा ठुलाले गरेका छन् भने मर्यादाका कुरा पनि गाँसिएर आउन सक्छन् ।

आजकल धेरैका छोराछोरी विदेशमा छन् । नेपालमा आमाबाबु एक्ला छन् । सबै देशमा समय एउटै हुँदैन । कतै दिन–रात नै फरक पर्छ भने कतै केही घण्टा वरपर हुन्छ । जतिबेला पनि र रातको समयमा निद्रा लागेन, याद आयो भनेर फोन गरिदिने बानी पनि सुनिन्छ कोही आमाबाबुको । विदेशतिर नेपालमा जस्तो अफिसमा काम गर्दा व्यक्तिगत फोन उठाउनुलाई राम्रो मानिँदैन । आवश्यक नै परेमा मेसेज गर्ने प्रचलन हुन्छ भनिन्छ । 

मुख्य कुरा बेलुका खाना खाइसकेपछि अत्यन्त जरुरी भएमा बाहेक फोन कसैलाई नगरौँ । खाना खाएपछि सामाजिक सञ्जाल हेर्न मोबाइल चलाउने गल्ती नगरौँ । कुनै दिन ओछ्यानमा पल्टेपछि सधैँ निद्रा आउने समय टर्‍यो भने हात र गोडाका नङहरू थिच्ने सूक्ष्म व्यायाम ओछ्यानमै बसेर गर्न सकिन्छ ।

आफू विदेशमा रहँदा र आमाबाबु नेपालमा हुँदा छोराछोरीलाई पिर परेकै हुन्छ । राति फोन किन आयो होला ? भनेर मेसो मिलाएर फोन ग¥यो, काम कुरा केही छैन । उसलाई त्यतिबेला झ्याउ मात्रै हुन सक्छ । यस्तो धेरैपटक हुँदै गएमा साँच्चै चाहिएका बेला फोन नउठ्ने र कलब्याक पनि नआउने हुन सक्छ । 

हाम्रो समाजमा अरूलाई काम लगाउन सजिलो पनि छ । आफ्ना छोराछोरी घर छैनन् तर छिमेकी वा आफन्तका त छन्, उनीहरूलाई फोन गर्‍यो— आज फोनमा फोटो आएन, आएर बनाइदे; आवाज आएन आएर मिलाइदे; बिजुली वा पानीको बिल तिरिदे; यो गर्दे, त्यो गर्दे । हुन त समाजमा बसेपछि यस्ता सहयोग गरिदिनैप¥यो तर बुढाबुढीले फोन गरेपछि के दुःख दिन लागे भन्ने हुन जान्छ । कहिलेकाहीँ फोन उठाउने, सुरुसुरुमा सहयोग गर्नेले पनि पछिपछि टेरपुच्छर लाउँदैनन् । फेरि दोहार्‍ेयाएर फोन गर्दा बिर्सें, भ्याइनँ, अब भोलि–पर्सि आउँछु भन्छन् तर आउँदैनन् । कहिलेकाहीँ साँच्चैँ सम्पर्क वा भेट नगरी नहुने बेलामा न फोन उठ्छ, न कोही आउँछ । अनि हामीले कक्षा ४ को किताबमा पढेको कालुको कथा हुन सक्छ— साँच्चिकै बाघ आएर भेडाबाख्रा खाँदा कोही गाउँले आउँदैनन् । 

के गर्दा ठिक होला ? 

अबदेखि सानातिना कामका लागि आफन्त वा छिमेकीका बच्चालाई दुःख नदिऊँ । पुस्तान्तरणसँगै सोच–विचार फरक हुन्छ । आजकल मोबाइल मर्मतका सानादेखि ठुलासम्म पसल प्रशस्तै छन् । त्यहीँ जाने, फोनमा आफूलाई परेको समस्या बताउने, तुरुन्तै बनाइदिन्छन् । उनको पनि व्यवसाय चल्छ । आफ्नो पनि काम बन्छ । पानी, बत्तीको पैसा फोनबाट तिर्न नसके वा सम्बन्धित कार्यालयमा जान अनुकूल नभए घरघरै गएर पैसा र बिल जम्मा पारेर तिरिदिने व्यवसायी पनि छँदै छन् । तिनैलाई लगाऊँ । 

अब कुरा आउँछ, दिक्क लाग्दा र रातमा निद्रा नपर्दाको कुरा । रातमा निद्रा नपर्दा झन् अर्को राम्रो काम गर्न सकिन्छ– त्यो हो ध्यान । पहिलो कुरा त बिहान छिटो उठ्ने ब्रह्म मुहूर्तमा एक–डेढ घण्टा योगाभ्यास गर्ने बानी गरे निद्रा नलाग्ने भन्ने हुँदैन । तैपनि यो पञ्चमहाभूतले बनेको शरीर सधैँ एकनास नहुन सक्छ । निद्रा नलाग्दा किन निद्रा लागेन भनी सोच्न थालेपछि हाम्रो स्नायु प्रणालीले सबै सेलमा त्यही सूचना पठाउँछ रे । सबै सेलले अब ननिदाउने अर्थात् जागा भएर बस्ने जानकारी पाएपछि निद्रादेवीलाई आह्वान गर्ने नै भएनन् ।

मुख्य कुरा बेलुका खाना खाइसकेपछि अत्यन्त जरुरी भएमा बाहेक फोन कसैलाई नगरौँ । खाना खाएपछि सामाजिक सञ्जाल हेर्न मोबाइल चलाउने गल्ती नगरौँ । कुनै दिन ओछ्यानमा पल्टेपछि सधैँ निद्रा आउने समय ट¥यो भने हात र गोडाका नङहरू थिच्ने सूक्ष्म व्यायाम ओछ्यानमै बसेर गर्न सकिन्छ । यो व्यायाम गर्न हरेक नङको छेउछेउमा तीन–चार पटक र अगाडि पछाडि तीन–चार पटक थिच्नुपर्छ । यस कार्यलाई दाहिने गोडाको बुढीऔँलाबाट सुरु गरेर कान्छी औँलासम्म पुर्‍याउने । यस्तै बायाँ गोडाको पनि र दुवै हातको पनि बुढी औँलाबाट सुरु गरेर कान्छी औँलामा पुर्‍याएर पूरा गरौँ । औँलाको व्यायाम सकेपछि एक हातले अर्को हातका पाँचै औँलालाई तीन–चार पटक च्याप्प–च्याप्प समात्ने । 

यसरी सूक्ष्म व्यायाम सकेपछि श्वासभित्र आएको, बाहिर गएको थाहा पाउँदै स्थिर बस्ने । यसरी श्वासको याद गरेको दुई–चार मिनेटमै श्वास मन्द–मन्द हुँदै गएर श्वास फेरेको नफेरेको नै थाहा नभएकोजस्तो हुन्छ । त्यसपछि निदाए सुषुप्तिमा पुगिन्छ, ननिदाए ध्यान भइहाल्यो । चार–पाँच घण्टा निदाएको भन्दा आधा घण्टाको ध्यानको प्रभाव कैयौँ गुना बढी लाभदायक हुन्छ भनिन्छ । 

यसैगरी कहिलेकाहीँ दिउँसोमा दिक्क लाग्न सक्छ, एक्लै हुँदा नै प्रायः दिक्क लाग्ने गर्छ । त्यतिबेला पनि माथि भनेजस्तै गरेर श्वासलाई याद गर्दै ध्यानमा जाने बानी गर्न सके साथी भएका बेलाभन्दा नभएका बेला रमाइलो र आनन्द हुन्छ । ध्यानमा रस बसेपछि हरेक दिन केही समय एक्लै हुन पाए पनि हुन्थ्योजस्तो लाग्न थाल्छ । त्यसमाथि पनि ध्यानको अभ्यास बढ्दै गएपछि हरक्षण श्वासको अनुभव हुँदै जान्छ । श्वासमा ध्यान गएपछि मनमा विचारको बाढी पनि चल्दैन । 

गौतम बुद्धको ध्यान पद्धति पनि आनापाना अर्थात् श्वासलाई नियाल्ने विधि नै हो भनिन्छ । उहाँ भन्नुहुन्थ्यो रे— खाना नभएको बेलामा वा भोक लाग्दा म व्रत बस्छु । व्रत बसेको भन्ने बुझिसकेपछि शरीरको प्रणालीले खाना खोज्दैन । अनि खानामा ध्यान जाँदैन र भोक पनि लाग्दैन । यसै गरी रातमा निद्रा नलागे ध्यान बस्छु । यो समयमा कसैले छेकबार गर्न सक्दैन । तुरुन्तै आफैँभित्रको साथी, आत्मासँग प्रेम हुन्छ र आनन्द हुन्छ । 

त्यसैले अब हामी कसैलाई पनि प्रवचन सुनेर, शब्द कण्ठ गरेर मात्र जीवनमा केही हुँदैन । किताबहरू पनि पढौँ । सुनेका, पढेका कुरालाई मनन गर्दै नित्य अभ्यासबाट आफ्नो अनुभवमा आएपछि बल्ल त्यो ज्ञान बन्छ । कलियुगमा मान्छेको आयु १०० वर्ष भनिन्छ । सय वर्ष भनेको ३६ हजार ५०० दिन त हो । त्यसमाथि पनि सबैजना पूरा आयु बाँचिन्छ नै भन्ने छैन । सामान्यतया ८०–८५ वर्षको हाराहारीमा शरीर शान्त हुने गरेको पाइन्छ । त्यसैले हाम्रो जीवनमा पाएका सबै दिनलाई ऊर्जामय बनाउने प्रयास गरौँ । बिनाउपलब्धि समय कटेर नजाओस् । 

(लेखका पण्डित  जीवन विज्ञान प्रतिष्ठानकी प्रशिक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यवदना घिमिरे पण्डित
सूर्यवदना घिमिरे पण्डित
लेखकबाट थप