‘विषादी जनस्वास्थ्यको मुद्दा नै बनेको छैन’
विषादीयुक्त खाद्यपदार्थको सेवनले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्ने स्थापित छ, तर हाम्रो सन्दर्भमा विषादीका कारण यो यो रोग लाग्यो भन्ने अनुसन्धानबाट प्रमाणित भइसकेको छैन । हामीले यसबारे अनुसन्धान गर्न सकेका छैनौँ, किनभने हामीकहाँ विषादीको मुद्दा जनस्वास्थ्यको मुद्दा नै बनेको छैन । अहिले पनि यो कृषिको मात्रै मुद्दा बन्न सकेको छ । यो कृषिको मात्रै होइन, स्वास्थ्यको पनि मुद्दा बन्नुपर्छ भनेर हामीले १० वर्षदेखि पहल गरिरहेका छौँ ।
अन्य देशमा भएका अध्ययनका आधारमा हामीकहाँ विषादीले असर गर्छ भन्ने अनुमान गरिएको छ । हो, अरु देशले गरेका अध्ययन–अनुसन्धान अनुसार विषादीका कारण मानव स्वास्थ्यमा विभिन्न असर पर्न सक्छन् । हामीले एउटा अनुसन्धान गरेका थियौँ । जस अनुसार गर्भवती महिलाले विषादीयुक्त खाद्यवस्तु सेवन गरेमा कम तौल भएको बच्चा जन्मिने देखिएको थियो । यस्तै, अन्य देशले गरेको अध्ययनका आधारमा विषादीयुक्त खाद्य पदार्थको सेवनले क्यान्सर समेत गराउन सक्छ ।
नेपालमा विभिन्न रोग बढ्दै जानु विषादीकै असर हो कि भनेर अनुमान लगाउन सकिन्छ । किड्नी फेलिअर, मिर्गौलासम्बन्धी रोगहरूमा पनि विषादीको असर हुन सक्छ । नेपालमा अहिले किड्नी फेलिअरको संख्या बढेको पाइएको छ । त्यस कारण यी रोगमा विषादीको असर छ कि भनेर अध्ययन हुनुपर्छ ।
विषादीयुक्त खाद्यपदार्थको सेवनले दीर्घकालीन असर पार्छ, तर ‘फुड पोइजनिङ’ हुँदा तत्काल तत्काल असर देखिन्छ । यद्यपि कुनै विषादीको असर लामो समयपछि देखिन्छ, लामो समयसम्म विषादीयुक्त खाद्यपदार्थ सेवन गरियो भने असर बिस्तारै देखिन सक्छ । यस कारण हामीले विषादीबारे सतर्कता अपनाउँदैनौँ, तुरुन्तै असर देखिने भए हामीले सतर्कता अपनाउने थियौँ होला ।
एउटा उदाहरण दिन्छु, पहिला नेपालमा लामखुट्टे मार्ने पाउडर ‘डीडीटी’ व्यापक प्रयोग हुन्थ्यो । यो विषादीको प्रयोगले बाहिर मुलुकमा एकदमै नकारात्मक असर देखिएको थियो, तर नेपालमा यसको असर देखिएको थिएन । नेपालमा सो विषादीले पारेको प्रभावबारे अनुसन्धान हुन नसकेर असर परेको थिएन । पछि यसलाई नेपालमा २०५७ चैत २७ गते प्रतिबन्ध लगाइयो ।
अहिले पनि विषादीको असरबारे हामी आफैँले अध्ययन गर्न नसके पनि बाहिरी मुलुकमा भइरहेको अध्ययनका आधारमा सतर्कता अपनाउनुपर्छ । विषादीका कारणले क्यान्सर, रगतसम्बन्धी रोग ल्याउन सक्छ । नसा, छाला र श्वासप्रश्वाससँग सम्बन्धित रोग ल्याउन सक्छ । विषादीका बहुआयामिक असर छन् । विषादीको असर लामो समय पर्दा वंशाणुगत रोग बन्ने खतरा रहन्छ अर्थात् अर्को पुस्तालाई समेत प्रभाव पार्ने हुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले विषादीको वर्गीकरण गरेको छ— ज्यादै विषालु विषादीलाई रातो, विषालु विषादीलाई पहेँलो, मध्यम विषालु विषादीलाई निलो र अपेक्षाकृत सुरक्षित विषादीलाई हरियो रङले सङ्केत गरिएको छ ।
रातो तहको विषादी अत्यन्तै खतरनाक अवस्था हो । निलो तहको विषादीले असर गर्छ तर कम मात्रै गर्छ । भनाइको मतलब सबै विषादीलाई एउटै वर्गमा राख्न मिल्दैन । विषादीले असर गर्छ नै तर कम वा बढी हुन्छ । विषादी बढी डोजमा प्रयोग गरिएमा वा सुरक्षित रूपमा प्रयोग हुन सकेन भने असर गर्छ । सुरक्षित रूपमा प्रयोग गर्न नजानेमा औषधीले पनि असर गर्छ नै त्यस्तै हो विषादी पनि ।
कृषि क्षेत्रमा विषादीको विषयलाई नीतिगत रूपमा सुधार गरिएको छ, तर पनि कार्यक्रमकै तहमा पुग्न सकेको छैन । साथै नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसक्दा हामीकहाँ कतिपय प्रतिबन्धित विषादी प्रयोग भइरहेका हुन सक्छन् ।
अर्कोतिर सुरक्षित भनिएका विषादी अत्यधिक प्रयोग भएका छन्, हाम्रा लागि यो हानिकारक हो । यसको नियन्त्रण छैन । हाम्रोमा विषादी कति हदसम्म प्रयोग भएको छ भन्ने लेखाजोखै छैन । प्रयोगशालाबाट पनि परीक्षण हुन सकेको अवस्था छैन ।
कृषि उत्पादन, तरकारी, फलफूल आदिमा कति मात्रामा विषादी प्रयोग भइरहेको छ भनेर परीक्षण कमै मात्र भएको छ । यसले गर्दा हामी जोखिममा छौँ । विषादी प्रयोग हुनेबित्तिकै तरकारी फलफूल बजारमा आउँछ, यसलाई आँखाले छुट्ट्याउन सकिँदैन । ल्याबको परीक्षण नै गर्नुपर्छ र यो प्रभावकारी हुन सकेको छैन ।
(जनस्वास्थ्यविद् डा. वन्तसँग रातोपाटीकर्मी सरिता थारूले गरेको संवादमा आधारित ।)