आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

मनसुन भित्रिएपछि कास्कीमा १४ जनाको मृत्यु, ६ घर पूर्ण क्षति

आइतबार, ३० असार २०८१, १३ : २६
आइतबार, ३० असार २०८१

पोखरा । मनसुन भित्रिएपछि कास्कीमा १४ जनाको मृत्यु भएको छ । असार महिनाको लगभग १५ दिनको अवधिमा उनीहरूको पहिरोमा पुरिएर मृत्यु भएको हो । गत बिहीबार मात्रै ११ जनाको ज्यान गएको छ । पोखरा १९ पुरुन्चौरको तल्लाकोट ठाँटीमा एकै परिवारका ६ सहित ७ जनाको मृत्यु भएको छ । 

स्थानीय कुलबहादुर परियारको घर पुरिँदा उनीसहित श्रीमती मनकुमारी, आमा लक्षिमा, छोरीहरू प्रशना र प्रभा तथा ज्वाइँ अस्मित परियारको मृत्यु भएको छ । पहिरोका कारण छिमेकी राधिका परियारको पनि ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै, पोखरा ३२ चैनपुरमा पहिरोले आरती ओझाको घर पुरिँदा छोरीहरू १८ वर्षीय अनिता र ११ वर्षीय अनुस्कासँगै दाइको छोरा ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भयो ।

मादी ११ तल्लो ताप्लेमा पहिरोमा पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङको मृत्यु भएको छ । यसअघि असार १२ गते पोखरा २७ आरुपाटामा ३ वर्षका अनमोल सुनारको पहिरोमा पुरिएर मृत्यु भएको छ भने सोही दिन मादी ५ मा १३ वर्षकी आयुष्मा रानाभाटको मृत्यु भएको छ ।

असार २५ गते पोखरा २७ सहेलीका २२ वर्षीय भीमबहादुर थापाको पनि पहिरोकै कारण मृत्यु भएको हो । हालसम्म विपद्‌बाट ६ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार यस अवधिमा जिल्लाभर ४ वटा बाढी, २४ वटा पहिरो, ६ वटा डुबान र ३ वटा कटान भएको छ । 

कास्कीमा बाढी र पहिरोले ६ वटा घर पूर्ण क्षति भएको छ । १० घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप