बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
युरोकप फुटबलको फाइनल

चौथो उपाधि कुम्ल्याउने धुनमा स्पेन, पहिलो उपाधिको खोजीमा इङ्ल्यान्ड

आइतबार, ३० असार २०८१, १३ : ०८
आइतबार, ३० असार २०८१
  • सोमबारको खेल 
  • स्पेनविरुद्ध इङ्ल्यान्ड (बिहान ००ः४५ बजे)

(विश्व फुटबलमा इङ्ल्यान्ड र स्पेन निकै पुराना प्रतिद्वन्द्वी हुन् । यी दुई टोलीबिच हालसम्म २७ खेल खेलिएका छन् । त्यसमध्ये १४ खेलमा इङ्ल्यान्डले स्पेनलाई पराजित गरेको छ । १० खेलमा स्पेनले इङ्ल्यान्डलाई हराएको छ । यी दुई टोलीबिचको तीन खेल भने बराबरीमा सकिएको छ । यी दुई टोलीबिच पहिलो भिडन्त आजभन्दा ९५ वर्षअघि भएको थियो ।)

काठमाडौँ । विश्व फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोकपको उपाधि भिडन्त सोमबार राति जर्मनीको बर्लिनस्थित ओलम्पिया स्टेडियममा हुँदैछ । प्रतियोगिताको फाइनलमा विश्व फुटबलका दुई हस्ती स्पेन र इङ्ल्यान्डबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार बिहान ००ः४५ बजे सुरु हुनेछ ।  

युरोकपको १७औँ संस्करणमा यी दुवै टोली अपराजित रहँदै फाइनलसम्म पुगेकाले उपाधि भिडन्त पनि निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । फाइनलमा स्थान पक्का गर्ने क्रममा स्पेनले आफूले खेलेको ६ वटै खेलमा जित हात पारेको छ । 

जारी युरोकपमा स्पेन आफूले खेलका सबै खेलमा जित हात पार्ने एकमात्र टोली पनि हो । इङ्ल्यान्डले भने चार खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको छ । पछिल्लो समय यी दुवै टोलीको प्रदर्शन उत्कृष्ट देखिन्छ । 

  • दुवै टोलीको फाइनल यात्रा

स्पेन आफ्नो समूहको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । समूह ‘बी’ मा परेको स्पेनले तीनवटै खेलमा जित हात पारेको थियो । स्पेनले आफ्नो पहिलो खेलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो ।

spain-vs-italy

आफ्नो दोस्रो खेलमा स्पेनले साबिक विजेता इटालीमाथि १–० गोलको रोमाञ्चक जित हात पारेको थियो । तेस्रो खेलमा भने स्पेनले अल्बानियालाई १–० गोलले पराजित गरेको थियो । समूहगत चरणमा स्पेनले पाँच गोल गर्‍यो भने एक गोल पनि खाएन ।

यसैगरी इङ्ल्यान्ड समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । जारी युरोकपमा इङ्ल्यान्ड पनि हालसम्म अपराजित छ । इङ्ल्यान्डले समूहगत चरणको तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । 

इङ्ल्यान्डले पहिलो खेलमा सर्बियालाई १–० गोलले हराएको थियो । इङ्ल्यान्डको टोली आफ्नो दोस्रो खेलमा डेनमार्कसँग १–१ गोलको बराबरमिा र तेस्रो खेलमा स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिएको थियो । इङ्ल्यान्डले समूहगत चरणमा दुई गोल गरेको थियो भने एक गोल खाएको थियो ।

england vs serbia

यसैगरी, स्पेनले प्रि–क्वार्टरफाइनल खेलमा जर्जियालाई ४–१ गोलले हराएको थियो । क्वार्टरफाइनल खेलमा भने स्पेनले प्रभावशाली प्रतिद्वन्द्वी जर्मनीलाई उसैको घरेलु मैदानमा अतिरिक्त समयमा २–१ गोलले पराजित गरेको थियो । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ गोलले हराएको थियो । 

अर्कोतिर, प्रि–क्वार्टरफाइनल खेलमा इङ्ल्यान्डले स्लोभाकियालाई अतिरिक्त समयमा २–१ गोलले हराएको थियो । क्वार्टरफाइनल खेलमा भने ‘थ्रि लायन्स’ ले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गरेको थियो । 

निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा इङ्ल्यान्डले बाजी मार्‍यो । सेमिफाइनलमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई २–१ गोलले पाखा लगाएको थियो । समग्रमा आपसमा उपाधि भिडन्त पक्का गर्दासम्म यी दुवै टोलीको प्रदर्शन अब्बल देखिन्छ । 

  • स्पेन चौथो उपाधिको खोजीमा

युरोकपमा स्पेनको यो १२ औँ सहभागिता हो । स्पेनले सन् १९६४ मा पहिलो पटक युरोकपमा भाग लिएको थियो । युरोकपको त्यो दोस्रो संस्करण थियो । युरोकपको सबैभन्दा बढी संस्करणमा सहभागिता जनाउने राष्ट्रको सूचीमा जर्मनीपछि स्पेन दोस्रो स्थानमा पर्छ । 

स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा तत्कालीन सोभियत संघलाई २–१ गोलले हराएको थियो । त्यसपछि स्पेनले सन् २००८ मा दोस्रो पटक युरोकपको उपाधि चुमेको थियो । 

casillas-trophy

त्यतिबेला स्पेनले फाइनलमा जर्मनीलाई १–० गोलले पराजित गरेको थियो । त्यसलगत्तै स्पेनले सन् २०१२ मा पनि युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा इटालीलाई ४–० गोलले हराएको थियो । 

स्पेन लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो । यसका अतिरिक्त स्पेन सन् १९८४ मा पनि युरोकपको फाइनलमा पुगेको थियो । तर, त्यतिबेला फाइनलमा स्पेनको टोलीलाई फ्रान्सले २–० गोलले हराएको थियो । सग्रमा युरोकपमा स्पेनको यो पाँचौँ फाइनल यात्रा हो ।  

  • इङ्ल्यान्डको केवल दोस्रो फाइनल यात्रा

यसैगरी युरोकप फुटबलमा इङ्ल्यान्डको यो ११औँ सहभागिता हो । इङ्ल्यान्डले सन् १९६८ मा सम्पन्न तेस्रो संस्करणदेखि युरोकपमा सहभागिता जनाउन थालेको हो । पहिलो सहभागितामा इङ्ल्यान्ड तेस्रो भएको थियो । त्यतिबेला तेस्रो स्थानका लागि पनि भिडन्त गराइन्थ्यो । 

त्यतिबेला तेस्रो स्थानमा लागि भएको खेलमा इङ्ल्यान्डले तत्कालीन सोभियत सँघलाई २–० गोलले हराएको थियो । इङ्ल्यान्डले हालसम्म युरोकपको उपाधि भने जित्न सकेको छैन । इङ्ल्यान्ड युरोकपको साबिक उप–विजेता पनि हो । 

SEI_87159838

इङ्ल्यान्डको टोली सन् २०२० मा सम्पन्न युरोकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो । समग्रमा इङ्ल्यान्ड केवल दोस्रो पटक युरोकपको फाइनलमा पुगेको हो । यो तथ्याङ्कले भने इङ्ल्यान्डलाई स्पेनभन्दा केही कमजोर देखाउँछ । 

  • दुवै राष्ट्र विश्वकपको पूर्वविजेता

स्पेन र इङ्ल्यान्ड दुवै राष्ट्रले विश्वकपको उपाधि पनि जितिसकेका छन् । स्पेन र इङ्ल्यान्ड दुवैले एक–एक पटक विश्वकपको उपाधि चुमेका छन् । स्पेनिस टोलीले भने सन् २०१० मा विश्वकपको उपाधि उचालेको थियो । 

त्यतिबेला स्पेनले फाइनलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको थियो । त्यसदेखि बाहेक स्पेन विश्वकपको फाइनलमा पुग्न सकेको छैन । सन् १९५० मा एकपटक स्पेनको टोली विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो ।

world-cup-winners-spain_3047424

त्यतिबेला तेस्रो स्थानका लागि खेलाइएको खेलमा स्पेनको टोली स्विडेनसँग १–३ गोलले पराजित भएको थियो । स्पेनले एकपटक विश्वकपको आयोजना पनि गरेको छ । स्पेनले सन् १९८२ मा विश्वकपको सफल आयोजना गरेको थियो । सन् २०३० को विश्वकप भने स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । 

यसैगरी, इङ्ल्यान्डले स्पेनभन्दा अगाडि नै एकपटक विश्वकपको उपाधि चुमेको थियो । इङ्ल्यान्डको टोलीले सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो । त्यतिबेला इङ्ल्यान्डले फाइनलमा तत्कालीन पश्चिम जर्मनीलाई अतिरिक्त समयमा ४–२ गोलले हराएको थियो । 

त्यसदेखि बाहेक इङ्ल्यान्ड कहिल्यै विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन । सन् १९९० र सन् २०१८ मा भने इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । सन् १९९० मा तेस्रो स्थानका लागि भएको खेलमा इङ्ल्यान्डलाई इटालीले १–२ गोलले हराएको थियो ।

england-world-cup-winner

सन् २०१८ मा तेस्रो स्थानका लागि खेलाइएको खेलमा बेल्जियमले इङ्ल्यान्डलाई २–० गोलले पराजित गरेको थियो । इङ्ल्यान्डले हालसम्म एकपटक विश्वकपको आयोजना पनि गरेको छ । इङ्ल्यान्डले सन् १९६६ विश्वकपको सफल आयोजना गरेको थियो । 

  • छनोट चरणमा पनि दुवैको अब्बल प्रदर्शन

जारी युरोकपको छनोट प्रतियोगितामा पनि यी दुवै टोलीको प्रदर्शन उत्कृष्ट थियो । छनोट चरणको प्रतियोगितामा स्पेन र इङ्ल्यान्ड दुवै आ–आफ्नो समूहको विजेता बन्दै युरोकपमा उपस्थित भएका हुन् । 

छनोट प्रतियोगितामा स्पेनले आफूले खेलेको आठमध्ये सात खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । स्पेनले कुल २५ गोल गरेको थियो भने केवल पाँच गोल खाएको थियो । छनोट प्रतियोगितामा स्पेनका लागि जोसेलु र अल्भारो मोराटाले चार–चार गोल गरेका थिए । 

यसैगरी छनोट चरणमा इङ्ल्यान्डको टोली भने अपराजित रहेको थियो । छनोट चरणमा इङ्ल्यान्डले आफूले खेलेको आठमध्ये ६ खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । छनोट चरणमा इङ्ल्यान्डले कुल २२ गोल गरेको थियो भने केवल चार गोल खाएको थियो । छनोट चरणमा इङ्ल्यान्डका लागि ह्यारी केन एक्लैले आठ गोल गरेका थिए । 

  • फिफा वरीयतामा इङ्ल्यान्ड अगाडि

विश्व फुटबल महासंघ (फिफा)द्वारा जारी पछिल्लो वरीयतामा भने स्पेनभन्दा इङ्ल्यान्ड केही अगाडि देखिन्छ । पछिल्लो फिफा वरीयतामा इङ्ल्यान्ड पाँचौँ स्थानमा आसीन छ । स्पेन भने पछिल्लो फिफा वरीयताको आठौँ स्थानमा छ । 

  •  ९५ वर्षअघि पहिलो भिडन्त

विश्व फुटबलमा इङ्ल्यान्ड र स्पेन निकै पुराना प्रतिद्वन्द्वी हुन् । यी दुई टोलीबिच हालसम्म कुल २७ खेल खेलिएको छ । त्यसमध्ये १४ खेलमा इङ्ल्यान्डले स्पेनलाई पराजित गरेको छ । १० खेलमा भने स्पेनले इङ्ल्यान्डलाई हराएको छ । यी दुई टोलीबिचको तीन खेल भने बराबरीमा सकिएको छ । 

960x0

यी दुई टोलीबिच पहिलो भिडन्त आजभन्दा ९५ वर्षअघि भएको थियो । सन् १९२९ को मे १५ तारिखमा खेलिएको उक्त मैत्रीपूर्ण खेलमा स्पेनले इङ्ल्यान्डलाई ४–३ गोलले हराएको थियो । 

यी दुई टोलीबिच पछिल्लो भिडन्त भने सन् २०१८ को अक्टोबर १५ तारिखमा भएको थियो । त्यो खेलमा इङ्ल्यान्डले स्पेनलाई ३–२ गोलले पराजित गरेको थियो । 

  • निलम्बनमा छैनन् कुनै खेलाडी

जारी युरोकपको फाइनल खेलमा दुवै टोलीका सबै खेलाडी मैदानमा ओर्लन स्वतन्त्र छन् । अर्थात्, फाइनलअघि कुनै पनि खेलाडी प्रतिबन्धमा परेका छैनन् । यसअघि स्पेनका दुई खेलाडी सेमिफाइनलमा अनुपस्थित रहेका थिए । 

resize

डानी कार्भाहाल र रोविन ले नर्मान्डले दोहोरो पहेँलो कार्ड पाएका कारण सेमिफाइनल खेल गुमाएका थिए । डानी कार्भाजलले जर्मनीविरुद्धको क्वार्टरफाइनल खेलमा दुईवटा पहेँलो कार्ड पाएका थिए । रोविनले भने समूहगत चरणमा इटालीविरुद्ध पहिलो र क्वार्टरफाइनलमा जर्मनीविरुद्ध दोस्रो पहेँलो कार्ड पाएका थिए । 

सेमिफाइनलमा प्रतिबन्ध भोगिसकेका कारण यी दुवै खेलाडीले अब फाइनल खेल खेल्न पाउने छन् । फाइनलअघि इङ्ल्यान्डका खेलाडी पनि निलम्बनमुक्त छन् । यसअघि इङ्ल्यान्डका मार्क गुएहीले स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनल खेल गुमाएका थिए । 

  • फाइनलअघि सर्वाधिक गोल 

जारी युरोकप फुटबलको फाइनलअघि दुवै टोलीका एक–एक खेलाडीले टोलीका लागि तीन–तीन गोल गरिसकेका छन् । इङ्ल्यान्डका लागि कप्तान ह्यारी केनले तीन गोल गरेका छन् । स्पेनका लागि डानी ओल्मोले तीन गोल गरेका छन् । 

Spain-win-is-a-priority_d

केन र ओल्मो जारी युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीको दौडमा पनि छन् । यसका अतिरिक्त इङ्ल्यान्डका जुड बेलिङ्घमले पनि दुई गोल गरेका छन् । स्पेनका फाबियन रुइजले पनि टोलीका लागि दुई गोल गरिसकेका छन् । 

  • अल्भारो मोराटाविरुद्ध ह्यारी केन

१७औँ युरोकपमा स्पेनिस टोली लुइस डे ला फुएन्टको प्रशिक्षकत्वमा रहेको छ । स्पेनिस टोलीमा एट्लेटिको म्याड्रिडका अल्भारो मोराटा (कप्तान), रियल मड्रिडका नाचो र डानी कार्भाहाल, आर्सनलका डेभिड राया (गोलरक्षक), बार्सिलोनाका फेरन टोरेस, पेड्री, फर्मिन लोपेज र लामिन यामललगायतका प्रभावशाली खेलाडी छन् ।  

यसैगरी, इङ्ल्यान्डको टोली गारेथ साउथगेटको प्रमुख प्रशिक्षकत्वमा छ । टोलीमा एभर्टनका जोर्डन पिकफोर्ड (गोलरक्षक), म्यानचेस्टर सिटीका कायल वाकर, जोन स्टोन्स र फिल फोडेन, म्यानचेस्टर युनाइटेका लुक स, आर्सनलका बुकायो साका, लिभरपुलका ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड, बायर्न म्युनिखका ह्यारी केन (कप्तान), रियल म्याड्रिडका जुड बेलिङ्घम लगायतका खेलाडी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप