‘राई बन्ने कि राउटे ?’
निनाम लोवात्ती कुलुङ
आजभोलि राई भन्न, भनिन चाहनेहरूबीच मधुरो स्वरमा छलफल हुने गरेको सुनिन्छ ‘राई बन्ने कि राउटे ?’ यो बहस सङ्ख्याको आधारमा राजनीति गर्ने खासगरी जातीय स्वपहिचानभन्दा पनि भोट बैङ्कका लागि राजनीति गर्नेहरूका लागि वास्तमै चाखलाग्दो विषय हुन गएको छ । त्यसमाथि कानुनी रूपमा नामको पछाडि ‘राई’ लेख्न नपाउँदा (२०२१ सालको भूमिसुधार ऐन आउनुअघि र २०२८÷०२९ देखि २०३४÷०३५ तिर पूर्वमा लागू नहुँदासम्म) सम्म ओल्लो किराँत, माझ किराँत र पल्लो किराँतको ओल्लो भेग (अरूणपूर्वको धनकुटा, सङ्खुवासभालगायत क्षेत्रमा) त्यो बेलाका रैतीहरूलाई खासगरी किराँती मूलका रैती (अहिले चलेको भाषामा भन्नु पर्दा सर्वसाधारण नागरिक) हरूलाई नामको पछाडि ‘राई’ लेख्न पाए आफू पनि जिम्मावाल, तालुकवाला ‘राई’ जस्तै ठूलो मान्छे होइन्थ्यो भन्ने लालसा थियो । यसले गर्दा पनि भूमिसुधार ऐनसँगै आएका व्यक्ति, परिवारका नाममा जग्गा–जमिन दर्ता गर्ने, लालपुर्जा लिने, दिने क्रममा ढाक्रे, रैतीहरूले पनि आफ्नो नामको पछाडि ‘राई’ लेख्न चाहे । तर जिम्मावाल, तालुकवाला ‘राई’हरूले ‘असलियतमा त म पो ‘राई’ हुँ, सरकारलाई कर तिरेर ‘राई’ भएको छु । यिनीहरू कसरी ‘राई’ हुन् ? यिनीहरू त मेरो ढाक्रे हुन्, रैती हुन् । यिनीहरूलाई म मरीगए पनि ‘राई’ लेख्न दिन्न भनी अड्डी कसेका थिए । तर, ती जिम्मावाल, तालुकवाला ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’हरूले भूमिसुधार ऐन आएसँगै आफूले पाएको हकअधिकार अथवा एक किसिमले भनौं भने आफ्नो हैकम पनि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’सँगै उन्मूलन भएको धेरैपछि मात्रै थाहा पाए । त्यति मात्रै होइन, त्यसपछि स्थानीयस्तरमा शक्तिशाली रहेका जिम्मावाल, तालुकवाला ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’हरूको हातबाट जग्गा–जमिन (किपट) खोस्नुका साथै उनीहरूले स्थानीय स्तरमै छिनोफानो गर्न पाउने गरी पाएको पञ्चखतबाहेकका नियाँ– निसाफ गर्ने अधिकारसमेत खोसियो ।
जे होस्, यसरी २०२१ सालमा भूमिसुधार ऐन आउनुअघि जिम्मावाल, तालुकवाला ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’हरूको हातमा रहेको जग्गा–जमिनको हकअधिकार खोसिएपछि जग्गा–जमिन व्यक्ति, परिवारको नाममा दर्ता गर्ने, लालपुर्जा लिनेदिने क्रम सुरु भयो । यसरी जग्गा–जमिन व्यक्ति, परिवारको नाममा दर्ता गर्ने, लालपुर्जा लिने, दिने क्रममा धेरै ठाउँमा व्यक्ति रैतीहरूको नामको पछाडि के लेख्ने ? अन्यौल र विवाद भयो । खासगरी यो लफडा किराँती क्षेत्रमा बढी भएको थियो । किनभने २०२१ सालमा आएको भूमिसुधार ऐनअघि स्वयम् ‘राई’ पदवी, पगरी पाएका व्यक्तिहरूले पनि हालका प्रधानमन्त्रीहरूले जस्तै नामका अगाडि नै ‘राई’ भनी लेख्थे भने ती ठूला भनिएका राईहरूले पनि रैतीहरूको जस्तै आप्mनो नामको पडाडि बल्ल ज्यमी, जिमी लेखेको पुरानो कागजपत्रहरूमा देखिन्छ, भेटिन्छ । यसबारेमा सन् २००७ मा भएको विश्व आदिवासी दिवसको अवसरमा काठमाडौँको मल्ल होटलमा भएको छलफलको क्रममा यो पङ्क्तिकारले वास्तवमा ‘राई’ नेपालको कुनै जात वा जाति नभएर विगतमा (नेपालको भगौलिक एकीकरणपछि) शासकहरूले दिएको पदवी पगरी मात्रै हो । तर, हाल त्यही ‘राई’ पदवी पगरीलाई नै जाति मान्दा २८ भन्दा बढी किराँतीहरूको पहिचान लोप भएर जान लागेको छ भनी प्mलोरबाट कुरो उठाएको थियो । त्यसपछि खाना खाने ब्रेकको समयमा डा. शिव राई (जो माओवादीको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्य पनि भए) ले यो पङ्क्तिकारको छेउमै आएर भनेका थिए– “भाइले सारै राम्रो प्रश्न उठाउनुभयो । म पनि भोजपुरको ठूलो राईको छोरा हुँ । म सानो छँदा हाम्रो घरमा विभिन्न झैझगडा छिन्न, घरायसी राजीनामा लेख्न, बन्धकी तमसुक लेख्न रैतीहरू आउँथे । म नै त्यस्ता घरायसी राजीनामाको कागज, बन्धकी तमसुक, झैझगडाको मिलापत्र (लेख्नुपर्ने भए नत्र झैझगडा आपस्तमा कागज नगरी नै मिलाउँथे) लेख्थेँ । त्यसबापत गच्छेअुसार आना, सुका, मोहर, कसैकसैले एक रुपियाँ पनि दिन्थे । भूमिसुधार ऐन आएपछि ऐनसँगै आएको व्यक्ति, परिवारको नाममा जग्गा–जमिन दर्ता गर्ने, लालपुर्जा लिने, दिने क्रममा ढाक्रे, रैतीहरूले नामको पछाडि ‘राई’ लेख्न चाहे भने मेरो बाबुले कुनै हालतमा ढाक्रे, रैतीलाई ‘राई’ लेख्न नदिने भए ! केही सीप नलागेपछि पञ्च–भलादमीहरू भेला भएर पाँच, छ दिनसम्म छलफल गरे । अन्ततः केही सीप नलागेपछि मेरो ‘राई’ बाबु गले । रैतीहरूको ठूलो जित भयो । अर्थात् अब रैतीहरू पनि ‘राई’ भए ।” यसरी भूमिसुधार ऐन आउनुअघिसम्म रैती भएकाहरू पनि भूमिसुधार ऐन आएसँगै ठूला ‘राई’ भए ! भनी बताएका थिए ।
त्यसैले राई भन्नाले सुरुदेखि नै नेपालको कुनै जात वा जाति जनाउँथेन भन्ने थाहा नभएका जातजातिहरूले राई भन्ने शब्दले जाति नै जनाउँछ भन्ने भ्रम रहनुमा कुनै आश्चार्य भएन । तर, विगतमा राई जे भए पनि अहिले राईले नै चिनियौँ । त्यसैले अब राई नै हुनुपर्छ, फुटेर किन राउटे हुने ? भन्नेहरूले भने आफैप्रति निर्मम हुँदै एक पटक इतिहासतिर फर्कनैपर्छ । किनभने पृथ्वीनारायण शाह र उनका सन्तानले नेपालको भगौलिक एकीकरण गरेपछि केन्द्रमा रहेका शाह, राणा शासकहरूले पूर्वमा रहेको एउटै किराँत भूगोललाई फुटाएर तीन टुक्रामा विभाजन गरेर ओल्लो किराँत, माझ किराँत र पल्लो किराँत बनाए । ओल्लो किराँतका स्थानीयस्तरका प्रभावशाली किराँती अर्थात् सुनुवार (कोइँच) लाई मुखिया’, माझ किराँतका प्रभावशाली किराँतीहरू जस्तै कुलुङ, साम्पाङ, बान्तावा, चाम्लिङ आदिलाई ‘राई’, पल्लो किराँतका लिम्बु र लाप्चालाई ‘सुब्बा’, याक्खालाई ‘देवान’ र तराईका थारुलाई ‘चौधराई’ दिइयो । पछि यी पदवीहरू थकाली, क्षत्री, बाहुन, मगर, गुरुङ, दनुवार, माझी, मधेसी, मुसलमान लगायतले पनि पाएको देखिन्छ । जस्तै हाल नेकपा एमालेमा केन्द्रीय सचिव रहेका पृथ्वी सुब्बा गुरुङ, २०६४ मा बाँके क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका तत्कालीन संविधानसभा सदस्य मोहमद इस्तियाक राई, सोलुखुम्बुका छत्रध्वोज बस्नेत, शिवबहादुर बस्नेत, कृष्णबहादुर बस्नेत, ओखलढुङ्गाका टेकमानध्वोज कार्की, तेजप्रसाद कोइराला (हाल उनको निधन भैसकेको छ), सङ्खुवासभाका दुर्गामणि देवान (उनलाई काठमाडाँैमै भेट्न सकिन्छ । जो राईको जेठो छोरो भएको नाताले २०४५ मा आप्mनो असली राई बाबुको निधनपछि २०५१÷०५२ सम्म राई भएका थिए । यसरी हेर्दा राजाको जेठो छोरो नै राजा भए जस्तै राईको जेठो छोरो नै राई हुन्थे ।) भुटानका गर्जबहादुर गुरुङ, बेलायतका बाली राई जिम्बाबेका प्रधानमन्त्री मोर्गान सुभाङ्गी राई, मङ्गोलियाका पूर्वप्रधानमन्त्री जस राई आदिलाई उदाहरणका रूपमा लिन सकिन्छ ।
मुख्य कुरो राईको इतिहास हेर्ने हो भने, नेपालको भगौलिक एकीकरण भन्दाअघि जान सकिँदैन । यो भनेको लगभग दुई सय ५० वर्ष मात्रै हो । भाषाशास्त्री, मानवशास्त्रीहरूका अनुसार एउटा जाति वा भाषाको उत्पत्ति हुन कम्तीमा पनि हजार, १२ सय वर्ष लाग्छ ।
त्यसैले ठूलो सङ्ख्या तर मातृभाषा, ऐतिहासिक भूगोल, मौलिक धर्म, संस्कार, संस्कृति, भेषभुषा र पहिचानविहीन ‘राई बन्ने कि, सानो सङ्ख्या भए पनि पहचिानसहित राउटे वा कुसुन्डा बन्ने ?’ हालसम्म जानेर वा नजानेर राईकरणको मारमा परेका किराँतीहरूबीच अझै पनि व्यापक रूपमा बहस र छलफल गर्न ढिला भएको छैन । किनभने २०६८ को राष्ट्रिय जनगणनाको नतिजाले पनि देखाइसकेको छ, कथित् राई अर्थात् ठूलो सङ्ख्यामै रहन चाहने राई सर, राइनी म्याडमहरूको हालत के हुँदैछ ? किनभने, २०५८ मा भएको राष्ट्रिय जनगणनामा ६ लाख ३५ हजार एक सय ५१ जना रहेको राईको जनसङ्ख्या २०६८ मा एक प्रतिशत मात्रै बढेको मान्ने हो भने पनि पौने ७ लाख चानचुन हुनुपर्ने हो । तर उल्टै १५ हजार एक सय ४७ जना घटेर ६ लाख २० हजार चारजनामा झरेको छ । किन झ¥यो ? त्यस्तै भाषाको सवालमा पनि २०५८ को जनगणनामा ३ लाख ७१ हजार चानचुन राईभाषी रहेको मा २०६८ मा १ लाख ५९ हजार एक सय १४ जनामा किन झरेको हो ? हो, यो प्रश्नका लागि पनि ‘ठूलै हुने तर, राई नै हुने’ मानसिकता बनाएका, राईको नाममा लाहुरेहरूबाट मनग्गे चन्दा असुल्ने र विदेशी डोनरहरूबाट सक्दो डलर ल्याएर खाने केही राईवाला सर, म्याडमहरूले बेला छँदै सोच्ने हो कि ? किनभने राईवाला सर, म्याडमहरूले नचाहँदा नचाहँदै र अनेक तिकडम गर्दागर्दै पनि २०६८ को राष्ट्रिय जनगाणनामा १. कुलुङ–२८,६१३ । २. नाछिरिङ–७,१५४ । ३. याम्फु–६,९३३ । ४. चाम्लिङ– ६,६६८ । ५. आठपहरिया–५९७७ । ६. बान्तावा–४,६०४ । ७. थुलुङ–३,५३५ । ८. मेवाहाङ–३,१०० । ९. बायुङ÷बाहिङ–३,०९६ । १०. साम्पाङ–१,६८१ । ११. खालिङ–१,५७१ । १२. लोहोरुङ–१,१५३ जातिहरू अलग्गै जातिको रूपमा आएका छन् । त्यस्तै भाषाको हकमा २०६८ को जनगणनामा १. आठपहरिया–५,५३० । २. बेल्हारे–५९९ । ३. फाङ्दुवाली–२९० अलग्गै र नयाँ भाषाका रूपमा आएको छ । त्यसअघि २०५८ को जनगणनामै कुलुङ, बाहिङ, चाम्लिङ, साम्पाङ, तिलुङ, याम्फु, लोहोरुङ, मेवाहाङ, खालिङ, थुलुङ, नाछिरिङलगायत भाषाहरू अलग्गै भाषाका रूपमा आसकेको छ ।
स्रोत ः केन्द्रीय तथ्याङ्क विभाग
स्वपहिचानको कुरो गर्दा राउटेभन्दा पनि कम सङ्ख्यामा रहेको कुसुन्डा जातिबारे त कमैलाई थाहा होला । किनभने, २०५५÷०५६ सालतिर तनहुँ जिल्लामा एकजना राजा मामा अर्थात् कुसुन्डा कान्छा भन्ने मान्छे अर्थात् कुसुन्डा जाति भेटियो भनी हल्लाखल्ला भयो । उनको वंशवृद्धि गर्न सजातीय बेहुली नभेटिएपछि काभ्रे जिल्लाको इन्द्रमाया तामाङसँग विवाह गरियो । स्मरण रहोस्, सरकारले कुसुन्डा कान्छा अर्थात् ‘राजा मामा’को लागि तनहुँमा घरसमेत बनाइदिएको छ । तर, उनले पनि ‘ठूलै हुन्छु, राई नै हुन्छु ।’ भनेको भए (हुन त धेरै जसो कुसुन्डाहरू हैजालगायतका असाध्य रोग लागेर भन्दा पनि ठूला जात ठकुरी, क्षत्री आदि भएर सकिएको भन्ने भनाइ रहेको छ) सायदै सरकारले उनको विवाह गर्ने र घर बनाइदिने जिम्मा लिन्थ्यो होला । त्यसैले फेरि पनि ‘राई हुने कि राउटे ?’ भन्ने विषयमा राई पदवी, पगरी हो भन्ने जानीबुझी राई जातै हो । जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, नागरिकताको तीनपुस्ते, स्कुल पढेको प्रमाणपत्र, पेन्सनपट्टामा समेत राई छ, भन्ने अनि कथित् राई जातिको वकालत गर्ने राई यायोक्खा नामक गैर सरकारी संस्था (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६) का हर्ताकर्ता राई सर, राइनी म्याडमहरूले मात्रै नभएर राई के हो ? भनेर बुभ्mन बाँकी रहेका वा नबुझेका कुलुङ, बाहिङ, चाम्लिङ, साम्पाङ, तिलुङ, याम्फु, लोहोरुङ, मेवाहाङ, खालिङ, थुलुङ, कोयु, बान्तावा, जेरो, पुमा, ओम्बुले, वाम्बुलेलगायत अगुवाहरूले एक पटक आत्मालाई साक्षी राखेर सोच विचार गर्नोस् है । ऐतिहासिक भूगोल र जातीय स्वपहिचानविहीन ‘राई’ बन्ने कि, सङ्ख्या सानो भए पनि ऐतिहासिक भूगोल र जातीय स्वपहिचानसहितको ‘कुसुन्डा’, ‘राउटे’, ‘हायु’ ‘बोटे’ आदि बन्ने ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट
-
कीर्तिपुरमा स्वतन्त्रमध्ये कसलाई सहयोग गर्ने निर्णयमा पुग्न सकेन रास्वपा