पशुपतिनाथमा बृहत् कोटीहोम महायज्ञ आयोजना हुँदै
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १ गतेदेखि बृहत् कोटीहोम महायज्ञ हुँदैछ । मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा हुने लागेको एक महिने कोटीहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।
महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजक समितिका खेमराज रेग्मीले जानकारी दिए । यसैगरी महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथावाचिका देवी प्रतिभालगायतले कथावाचन गर्नेछन् ।
विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रूपमा नियमित हवन,भन्दा बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, ज्येष्ठ नागरिकको सम्मान, ताण्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन हुने फाउण्डेशनले जनाएको छ ।
गङ्गामाई रथयात्रा सम्पन्न
पशुपतिनाथ क्षेत्रमा आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन पानी माग्दै गरिने गङ्गामाई रथयात्रा आज सम्पन्न भएको छ । पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गामाईको विशेष पूजा आराधनासहित दिव्य रथयात्रा गर्ने परम्परा रहेअनुसार आज गङ्गामाई रथयात्रा गरिएको थियो ।
पाशुपत क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गाको दिव्य रथयात्रा तथा विशेष अर्चना उपासना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।
उनले भने, “असारमा गरिने यो जात्रापछि सहकाल हुने भएकाले प्राचीनकालदेखि यसलाई निरन्तरता दिइँदै आएको छ । यो जात्रामा राज्यबाट हर्षबढाइँका लागि गुरुज्यूको पल्टनले सलामीसमेत प्रदान गर्ने प्राचीन परम्परा छ ।”
गङ्गामाई जात्राको प्रतीकका रुपमा यसलाई अहिले पनि पशुपति क्षेत्र विकास कोषले निरन्तरता दिँदै आएको र पाशुपत क्षेत्र शाक्त सम्प्रदायको समेत उपासनास्थल भएको विकास कोषले जनाएको छ ।
गङ्गालाई स्वर्गबाट पृथ्वीमा उतारेको विश्वास रहेको एवं पशुपति क्षेत्रमा यो जात्रा गरेपछि देशभर वर्षा भई खेतीपाती लगाउन सकिने मान्यतासमेत रहेको विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए ।
भगवान् पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको माता गङ्गाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको देवमार्गमा परिक्रमा गराइएको थियो । रथयात्रामा स्थानीयवासीका साथै देशविदेशबाट आएका भक्तजनको सहभागिता थियो ।
गङ्गामाई रथयात्रा पशुपतिनाथको बज्रघरबाट सुरु गर्ने परम्पराअनुसार आज उक्त रथ वनकाली क्षेत्र हुँदै गौशलासहित जयबागेश्वरी हुँदै पुनः पशुपतिनाथमा ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाललाई धरहरामा निःशुल्क पार्किङ सुविधा
-
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
तीन किलो सुन तस्करी प्रकरण : राजस्वलाई खबर गर्ने विशेष ब्युरोका असई निलम्बित
-
प्रधानमन्त्रीको चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरूसँग छलफल
-
पहिलो दिनको अक्सनबाट कुन खेलाडी कति रकममा कुन क्लबमा आबद्ध भए ?
-
बिहेको अफवाहबिच मनिष मल्होत्राको घरमा किन पुगे तमन्ना–विजय ?