बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

लेटर ग्रेडिङ निर्देशिका संशोधन गर्दा बोर्डलाई पत्तै दिइएन : अध्यक्ष शर्मा

शनिबार, २९ असार २०८१, २१ : ५०
शनिबार, २९ असार २०८१

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डसँगको छलफल र सहमतिबिनै लेटर ग्रेडिङ निर्देशिका संशोधन गरिएको तथ्य खुलासा भएको छ । प्रिन्सिपल्स एसोसिएसन नेपाल (पान) ले आज आयोजना गरेको एसइईको नतिजा तथा सुधारका पक्ष विषयक छलफल कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सो खुलासा गरेका हुन् ।

‘निर्देशिका संशोधन गर्न बोर्डसँग सहमति भएको थिएन,’ उनले भने, ‘कतिपय निर्णय शिक्षा मन्त्रालयले गर्न सक्छ । त्यसै व्यवस्थाअनुसार मन्त्रालयले संशोधन गर्ने निर्णय गरेको हो । नेपाल सरकारले गरेको निर्णयलाई राष्ट्रिय परीक्षा बोर्डले कार्यान्वयन गर्नुपर्छ ।’

उनले जनचाहनाका कारण मन्त्रालयले त्यस्तो निर्णय गरेको हुनसक्ने बताउँदै त्यसका विरुद्ध प्रतिवाद गर्ने परिस्थितिमा बोर्ड नभएको स्पष्ट गरे । २०८० सालको एसइईको नतिजा खराब भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरी जतिसुकै विषयमा ननग्रेडेड प्राप्त गरेकाले ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरेको थियो ।

बोर्डका अध्यक्ष डा.शर्माले नीति परिवर्तन भइरहेको स्विकार्दै नीति निश्चित समयसम्म रहनुपर्ने बताए । कक्षा १० को परीक्षा आवश्यक हो वा होइन भन्ने जिज्ञासामा उनले परीक्षा आवश्यक रहेको तर मोडालिटी बनाउनुपर्ने बताए ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले शिक्षक बुद्धिजीवी हुन् वा बुद्धुजीवी हुन् भन्दै थपे, ‘अब पनि शिक्षकले पुगेन, भएन भन्ने थाङ्ने कुरा गरिरहने होइन । शिक्षक बुद्धिजीवी हुन् । उनले धेरै तरिकाबाट सिकाइ सुधार्ने अभ्यास थाल्नुपर्छ ।’ उनले तागत भएको मानिसमा शिक्षक पर्दछ भन्दै शिक्षकले प्रयास गरे पनि जस नपाएको बताए ।

‘प्रश्न बनाउने पनि शिक्षक हुन् । उत्तरपुस्तिका परीक्षण गर्ने पनि शिक्षक हुन् । पास पनि शिक्षकले बनाएका हुन् । फेल पनि शिक्षकले गरेका हुन्,’ उनले भने, ‘विद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालयले फेल गरेको होइन, शिक्षकले गरेका हुन् । त्यसो भए किन फेल गरेको भनेर शिक्षकले शिक्षकलाई किन प्रश्न गर्ने ? त्यसैले फेल हामीले गराएको हामीले हो भनौँ । स्विकारौँ । नीतिलाई मात्र दोष नदिऔँ, नियतलाई पनि दिऔँ ।”

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले उत्तरपुस्तिका पुनर्योग जस्तै पुनः परीक्षणको पनि व्यवस्था हुनुपर्ने माग गरे । उनले मन्त्री फेरिएपिच्छे शिक्षा नीति फेरिने प्रवृत्ति रहेको उल्लेख गर्दै नीतिमा त्रुटि हुँदा समस्या भएको बताए ।

काठमाडौँ महानगरपालिकाका सहरी विकास आयोजना सदस्य शैलेन्द्र झाले सामुदायिक विद्यालयप्रति विश्वास भएर कामपाले लगानी वृद्धि गरेको बताए । कामपाले पूरक परीक्षाको तयारी कक्षा सञ्चालन गरेको र त्यसमा ५० प्रतिशत परीक्षार्थी उपस्थित नभएको गुनासो गर्दै ती अनुपस्थित परीक्षार्थीका कारण चिन्ता थपिएको बताए ।

पद्मकन्या माविका प्रधानाध्यापक रिता तिवारीले अनुत्तीर्ण हुनुमा शिक्षक मात्र कारक नभएको तर्क गर्दै विद्यार्थीको अवस्थाका बारेमा पनि विश्लेषण गर्नु जरुरी भएको बताइन् । उनले हरेक दिन परामर्श दिनुपर्ने खालका विद्यार्थी सामुदायिक विद्यालयमा रहेको बताउँदै सबै पक्ष उत्तिकै जिम्मेवार रहेको बताइन् ।

शिक्षा विकास तथा समन्वय एकाइ ललितपुरका प्रमुख निमप्रकाश राठौरले अचेलका विद्यार्थी शिक्षकभन्दा निकै चलाख भएको बताउँदै अब शिक्षकले परम्परागत विधिबाट पठनपाठन गरेर नहुने बताए । 

पानका अध्यक्ष सुदाम गौतमले अब शिक्षकले जिम्मेवारीका पनि कुरा गर्नुपर्ने बताए । विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले नतिजा सुधारमा विद्यालय जिम्मेवार र उत्तरदायी बन्न सक्नुपर्ने सुझाव दिए । सो कार्यक्रममा सहजीकरण शिक्षा पत्रकार प्रकृति अधिकारीले गरेका थिए ।

कार्यक्रममा २०८० सालको एसइईमा देशभरिमा सबैभन्दा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल काठमाडौँको विश्व निकेतन मावि र ज्ञानोदय माविलाई सम्मान गरिएको थियो । त्यस्तै उपत्यकाबाट काठमाडौँको श्रम राष्ट्रिय मावि, ललितपुरको त्रिपद्म मावि र भक्तपुरको मेघा माविलाई पनि सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप