बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मधेसको शिक्षा किन कमजोर ?

शनिबार, २९ असार २०८१, २० : ०१
शनिबार, २९ असार २०८१

काठमाडौँ । मधेसको शिक्षाका बारेमा पछिल्लो समय विभिन्न बहस हुँदै आएको छ ।  एकथरीले मधेसीकै कारण त्यहाँको शिक्षा खस्किएको भनिरहेका छन् भने अर्कोथरीले राज्यसत्ताको गलत नियत र नीतिका कारण खस्किएको टिप्पणी गर्ने गरेका छन् । 

सोही क्रममा शनिवार इन्टेलेक्चुअल फाउन्डेसन नेपालले त्रिभुवन विश्वविद्यालयमा आयोजना गरेको ‘संविधान, शिक्षा, र मधेस’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले पनि मधेसको शिक्षाका बारेमा विभिन्न टिप्पणी गरे । 

अन्तरक्रियामा बोल्ने वक्ताहरूले मधेसका प्रायः स्कुलमा स्थानीय व्यक्तिहरू नै हेडमास्टर र शिक्षक हुने तैपनि शिक्षाको गुणस्तर खस्किएको टिप्पणी गरे । कतिपयले मधेसमाथि विभेद गरेका कारण त्यहाँको शिक्षा कमजोर भएको टिप्पणी गरे ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं प्रदेशसभाका पूर्व सदस्य बिक्की यादवले मधेसको शिक्षा राज्यको नीतिका कारण खस्किएको दाबी गरे । उनले भने, ‘सङ्घीय सरकारले प्रदेश गठन गरिदिएको छ तर त्यसलाई कुनै अधिकार दिएको छैन, प्रदेश सरकारको न आफ्नो शासन छ न प्रशासन छ न कुनै नीति अनि त्यहाँ शिक्षालाई कसरी सुधार गर्न सकिन्छ ।’

सङ्घीय सरकारले स्कुल शिक्षालाई आफ्नो मातहतमा राखेको बताउँदै उनले त्यसको दोषी मधेस कसरी हुन्छ भनी प्रश्न समेत गरे । उनले मधेसलाई हेर्ने दृष्टिकोण नै नराम्रो हुने गरेको बताउँदै त्यसैले पनि त्यहाँको शिक्षा र स्वास्थ्य बिग्रिँदै गएको दाबी गरे ।

अधिवक्ता प्रिति रमणले मधेसमा छोराछोरी माथिको विभेदका कारण शिक्षाको अवस्था कमजोर रहेको बताइन् ।  छोरालाई बोर्डिङ स्कुल र छोरीलाई सरकारी स्कुलमा पढाएका कारण मधेसको शिक्षाको गुणस्तर राम्रो नभएको उनले टिप्पणी गरिन् । मधेसको शिक्षामा सङ्ख्यात्मकमा भन्दा गुणात्मकमा ध्यान दिनुपर्ने बताउँदै उनले यसअघि देखिनै विद्यार्थी भर्नामा जोड दिइएको तर  गुणस्तरमा ध्यान नदिएको टिप्पणी गरिन् ।

तर मधेसी एकता समाज नेपाल संयोजक डा.बबी सिंहले भने नेपालमा शिक्षा खस्केको नभई राम्रो हुँदै गएको टिप्पणी गरिन् । ‘पहिला छोरीहरू स्कुल जाँदैनथे, अभिभावकले पटाउँदैनथे तर अहिले निजीदेखि सरकारीसम्मका स्कुलहरू छोरीबाट भरिभराउ छन्’ उनले भनिन् ।

उनले शिक्षा, कर्मचारीदेखि लिएर हरेक क्षेत्रमा मधेसले टप गर्दै आएको समेत दाबी गरिन्  । ‘यो शिक्षाकै कारणले भएको हो तर राज्यको पूर्वाग्रहीका कारण मधेसीहरूले स्थान पाएनन्’ उनको टिप्पणी थियो ।

फाउन्डेसनका अध्यक्ष डा.सूर्य यादवको सभापतित्वमा भएको कार्यक्रममा सामाजिक अभियन्ता बुद्धसेन चौधरीले मधेसको शिक्षाको गुणस्तर मधेसकै कारण कमजोर भएको टिप्पणी गरे । उनले भने, ‘म विभिन्न स्कुलमा गएर हेरेँ त्यहाँका कक्षाकोठामा छोराभन्दा छोरीहरू धेरै देखेँ, छोराहरू सबै बोर्डिङ स्कुलमा गएका छन्,  छोरीहरू सबै सरकारी स्कुलमा छन् ।’

उनले मधेसका प्रत्येक विद्यालयमा अहिले स्थानीय शिक्षकहरू भएको बताउँदै सबै शिक्षकहरू राजनीतिमा लागेको टिप्पणी गरे ।

सिराहाका शिक्षक दिलीप यादवले स्थानीय तहका कारण मधेसको शिक्षा कमजोर भएको टिप्पणी गरे । उनले भने, ‘स्कुलमा राजनीतिक हस्तक्षेप यति छ कि त्यहाँ चाहेर पनि शिक्षक तथा हेडमास्टरहरुले केही गर्न सक्दैनन्, मधेसको शिक्षा सुधार गर्नका लागि पहिलो स्थानीय तह सुध्रिनुपर्‍यो ।  शिक्षा सुधारका लागि राजनीतिकरण अन्त्य गर्नुपर्छ ।’

अर्की वक्ता रेणुका सिंहले मधेसका शिक्षकले पहाडमा पढाउँदा त्यहाँको शिक्षा गुणस्तर राम्रो भएको तर तिनै शिक्षकले मधेसमा पढाउँदा त्यहाँको शिक्षा कमजोर हुन्छ किन ? भन्दै प्रश्न गरिन् । उनले त्यसको मुख्य कारण राजनीति नै भएको बताइन् ।

मधेसको शिक्षाको गुणस्तर कमजोर हुनुको कारण त्यहाँका अभिभावक र शिक्षक नै भएको उनको भनाई थियो । उनले भनिन्, ‘परीक्षामा विद्यार्थीहरूलाई चिट कसरी चोरी गर्ने भनेर शिक्षकले नै सिकाउँछन् । ती विद्यार्थीका अभिभावक गर्व गर्छन् ।’

प्राध्यापक महेश चौधरी तथा अधिवक्ता डा.मोहम्मद रिजवानले पनि मधेसको शिक्षा सुधार गर्नका लागि मधेसमा हुने राजनीति नै दोषी भएको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप