धेरै दल भएको कारण मुलुकमा राजनीतिक अस्थिरता भयो : एमाले नेता पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले धेरै दल भएको कारण मुलुकमा राजनीतिक अस्थिरता भएको टिप्पणी गरेका छन् । मुलुकलाई स्थायित्व दिनको लागि पनि कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेको उनको स्पष्टोक्ति थियो ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले दुई दलबिच भएको सहमति हिजोबाट कार्यान्वयन सुरु भइसकेकोले अब बाँकी सहमतिका बुँदाहरू पनि बिस्तारै कार्यान्वयन हुने दाबी गरे । उनले भने,‘जति धेरै दल त्यति धेरै वैदेशिक हस्तक्षेप भयो, जति धेरै दल भयो त्यति धेरै भ्रष्टाचार र कुशासन भयो, जति धेरै दल त्यति धेरै सामाजिक न्याय मर्ने स्थिति भएको छ । त्यसैले अहिले हामीले दुई दलीय ध्रुवीकरणको कुरा गरेका छौँ । त्यो ध्रुवीकरणले आउँदो निर्वाचनमा एउटा दलले बहुमत ल्याउनुपर्छ । र अर्को दल प्रतिपक्षमा हुने स्थिति हुनुपर्छ । त्यसो भयो भने नेपालको राजनीतिक हस्तक्षेप अन्त्य हुन्छ ।’
उनले कांग्रेस र एमालेबिच चौथो पटक संयुक्त सरकार बन्न लागेको भन्दै जनता र नागरिक समाजमा देखिएको आशंका हटाउनेगरि अब बन्ने सरकारले काम गर्ने दाबी गरे । उनले कांग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन गर्दा देशमा ठुला ठुला परिवर्तन भएको र सत्ता नै परिवर्तन भएको इतिहास स्मरण गराए ।
मुलुकमा अप्ठ्यारो पर्दा कांग्रेसले कम्युनिस्टसँग सहकार्य गरेको इतिहास रहेको भन्दै यसपटक पनि अप्ठ्यारो पर्दा कांग्रेसले आफूहरूसँग सहकार्य गर्न लागेको उनको भनाई छ । हिजो तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि दललाई प्रयोग गरेको र व्यवस्था नै खान खोजेपछि कांग्रेस र कम्युनिस्ट मिलेर अघि बढेको पनि बताए ।
उनले आफूहरूले कांग्रेस र माओवादीको गठबन्धन तोड्नको लागि नीति नै बनाएको र त्यसमा दुई पटक सफल भएको सुनाए । उनले आफूहरू देशमा दुई दलीय ध्रुवीकरण हुनुपर्छ भनेर वकालत गरेकोले कांग्रेस र माओवादीको गठबन्धन तोड्न सफलता हासिल गर्नु ठुलो उपलब्धि भएको बताए ।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएर फर्किएपछि एमालेलाई सरकारबाट बाहिर निकाल्न लागिपरेको र त्यसको लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरेको सुइँको पाएपछि आफ्नो अध्यक्ष ओलीले देउवासँग सत्ता–सहकार्यको वार्ता गरेको दाबी गरे । उनले कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमति सार्वजनिक हुने स्पष्ट पारे । उनले दुई दलले देश र जनताको हितको लागि ७ बुँदे सहमति गरेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७५३ वटै पालिकामा स्थानीय युवा परिषद् गठन गर्न माग
-
अस्ट्रेलिया र इंग्ल्यान्डबिचको खेलमा भारतीय राष्ट्रिय गान बजेपछि...
-
अशोक राई नेतृत्वको जसपाले स्थापना गर्यो पार्टी कार्यालय
-
प्रकृति लम्सालको मृत्यु प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता
-
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद
-
झापामा सुनचाँदी र नगद चोरी