बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय
भानु जयन्ती

पूर्ण कदका भानुभक्त

शनिबार, २९ असार २०८१, १७ : ०१
शनिबार, २९ असार २०८१

भानु अर्थात् सूर्य ! नेपाली जातीय धुकधुकीमा बसेका उज्याला नक्षत्र । भानुभक्त समय हुन् । समयको गति हुन् । उनले बाँचेको समयलाई ‘आदि’ आयु दिएका छन्, विद्वान्हरूले । त्यही आदि आयुको कथाभित्र समकालीनता र सीमाहीनताका अनेक तर्कसहित विचारहरू बन्दै गएका छन् । नेपाली जीवनशैली र संस्कृतिको अभिन्न अङ्ग बनेर उदाएका भानु अक्षरको उज्यालो हुन्, उज्यालोको एउटा विशेषता के पनि हो भने यो परिवेश सापेक्ष हुन्छ, त्यसैले सबैतिर एकैपटक उज्यालोको वर्षा हुन्छ भन्यौँ भने त्यो प्राकृतिक सत्य हुँदैन । 

एउटा विशिष्ट कालखण्ड भानुभक्तका कारणले बाँचेको छ । समयले मानिसलाई बचाउँछ भन्नु सामान्य मानिसका लागि होला, तर भानुभक्तजस्ता युगले डोर्‍याएका व्यक्तित्वले समयलाई आफूभित्र बचाएका हुन्छन् । आफू बाँचेको समयलाई आफ्नै सिर्जनाको सुईमा अड्काइदिएका छन् भानुभक्तले र हामी आज ती सुईहरू हुँदै बारम्बार इतिहासको परिक्रमा गरिरहेछौँ । 

निबन्धकार भैरव अर्यालको तर्कझैँ इतिहास टाउकै टाउकाको माला हो तर कतिकति टाउकाका बिचबाट उठेको एउटा मूल टाउकामा युगले फन्को मारिरहेको हुन्छ । आज दुई सय वर्षपछि पनि हाम्रो युगले भानुभक्तको समयलाई फन्को मारिरहेछ । भानुको लयले जीवन गाँसेर राखेको छ र त्यही लय जब जब नेपाली प्रकृतिझैँ सविस्तार फुक्छ, भानुमय चेतना नेपालीको आत्मसूत्र भएर फैलन्छ । आज विश्वव्यापी भएर पैmलिएको नेपाली भाषामा भानुको उपस्थिति इतिहासको पुनरागमन नै हो । इतिहासको परिक्रमा हो । आज भानुमा नेपाल छ, तर भानुभक्त नेपालमा मात्र सीमित छैनन् । सायद कविवर माधव घिमिरेले भनेझैँ एउटै मात्र चोखो मायाको गीतले थोरैमा पनि तृप्ति दिन्छ । वरपीपलको छायाजस्तो सबैलाई हुने गीत विश्वमैत्रीको गीतलाई जित्ने हुन्छ । भानुभक्तको रामायण यस्तै गीति चेतनाको विश्वव्यापी र कालातीत अनुभूतिले बनेको छ । यो सौन्दर्य अविभाजित बन्दै छ । अहिले नेपाली हृदय र नेपाली जातीय चेतना बिउँझिरहेको समय छ । यो सौन्दर्य आदिमा सीमित हुन सक्दैन अब । यो अनादिदेखिको सौन्दर्यको खोजमा निस्कने मार्ग बन्नुपर्छ । हाम्रा आदिवासी चेतनामा पुग्न भानु–चेतनाको उदय हुनुपर्छ, भानुको अर्थगत सम्बन्धले विस्तारित हुनुपर्छ, यसले नेपालको जातीय सौन्दर्यको विशालतातिर फर्किने उदात्त चिन्तनको विकास गर्नुपर्छ । भानुको सीमितताभित्र उनको विशालतालाई कुण्ठित बनाउनु हाम्रो चेतनामा तुवाँलो लाग्नु हुन सक्छ । कमजोरीसहितका भानु हाम्रा समयका मात्र उपज होइनन्, भानुपूर्वका अपरिभाषित समयका पदचिह्नहरू पूर्ण थिएनन् र भानु हुँदै हामीसम्म आइपुगेको समयको गतिमा चल्नेहरूले पनि आफ्नो समयको सर्वोच्चतालाई मात्र देख्न सकिरहेका होलान्, न्यूनतातिर फर्किन अब विगतका कमजोरीबाट सिकेर समदृष्टि चम्काउनुपर्छ, न कि दोषीनामा करार गरी आफ्नो मात्र श्रेष्ठता देखाउनमा । 

एक दिन त्रिभुवन विश्वविद्यालयमा दर्शनशास्त्रको अध्ययनका क्रममा भानुभक्तको ‘वधूशिक्षा’को चर्चा चलेको थियो । ‘वधूशिक्षा’का श्लोकहरू व्याख्या गर्ने क्रममा हाम्रा अनुहार निकै आक्रामक पनि देखिए होलान् भानुभक्तप्रति । गुरु मुसुमुसु हाँसिरहनुभयो । धेरैका धेरै थरीका तर्कबिच हामीले समकालिक अध्ययनको मार्ग पक्रियौँ ।

समय केवल घडीले मात्र नाप्दैन । भानुभक्त घडी र समय दुवै बोकेर उभिएका छन् अर्थात् राम र गीतामा भानुको मौलिक अर्थ छ । ‘वधूशिक्षा’मा समय घन्टाघरभन्दा माथि उभिएको देख्छु । यही ‘वधूशिक्षा’को वरिपरि चिनिएको सामाजिक चौतारीबाट म अलिकति उज्यालो बोकेर यता सहर पसेँ २०४५ सालतिर । मेरो पहिलो अलकापुरी यात्रामा रानीपोखरी नै पहिलो झलक बनेको थियो । मेरा चपलाहरू भने अबला थिएनन् । यही फरक थियो भानुभक्तले बाँचेको समय र मैले बाँचेको समयमा ।

म भानुभक्तले भ्रमण गरेको कान्तिपुरमा उनीभन्दा झन्डै १५० वर्षपछि टेक्न आइपुगेँ होला । पुरानो बसपार्कतिरबाट जमलस्थित ट्याम्पो पार्क खोज्दै गर्दा मेरो जम्काभेट बागबजारको मुखैबाट निस्किएर रत्नपार्क हुँदै समूह–समूहमा मिलेर रानीपोखरीको पूर्वी किनारतिर लम्किरहेका सुन्दरीहरूसँग हुन पुगेथ्यो । पद्मकन्या क्याम्पसको गेरु रङको साडीमा नेपाली सभ्यताको चहक थियो, लवाइको कुशल कालिगडीले मेरो आँखालाई खुब तानेको थियो, र मैले पहिलोपटक कान्तिपुरमा शिक्षाको ज्योति बोकेर हिँडिरहेका चपलाहरूबाटै मेरो गन्तव्य फेला पार्न सहयोग लिएकी थिएँ । त्यसपछिको अन्तर्यात्रामा मैले रानीपोखरीलाई यही घन्टाघरको छेउबाट धेरैपटक स्वयंवर गरिसकेकी छु, घुमिसकेकी छु, पुस्तकहरूको घडाबाट भावको अभिषेक छर्केकी छु । पश्चिमपट्टिको भानुको स्मारक अद्र्धकदमा वर्षौंदेखि देखिरहेकी छु । मभित्रको भानु सधैँ पूर्णकदको छ, सधैँ स्वच्छ छ । वर्तमानको तुवाँलोले मभित्रको भानुलाई छोप्न सक्दैन । भाव र लय नै मेरा लागि भानु हो । त्यसैले भानु इतिहासको विशिष्ट समय हो । त्यो भानु जब किरण भएर सर्वाधिक तीव्र गतिमा ओर्लन्छ, तब धर्ती सबैतिर एकताको सुगन्धले मगमगाउँछ । म वर्तमानको एक छोटो अनुक्रिया र अनुमापक । मभन्दा अघि हजारौँ माइलको सरथ यात्रा छ भानुको । प्रकाशभन्दा छिटो गतिमा हृदयलाई जोड्ने भानु ग्रहण लाग्दैमा कहाँ मेटिन्छन् र ! भानुको भानुत्व घाँसी कुवाबाट चोखो पानी उवाएर विश्वभर बर्सिएको छ । कैयौँ राजमार्गहरू इतिहासबाट हराएका र हराउँदै गएका छन्, तर भानुको ‘घाँसी कुवा’ बेनाम सडकको किनारामा पनि घाँसी कुवाकै नाममा रहिरहनेछ । त्यसो भए भानुभक्तभन्दा शक्तिशाली समय अरू हुन सक्ला त ! समयलाई चिनाउने सर्वशक्तिमान् भानुको एक अंशमा भानुभक्तका भावहरू तरङ्गित छन् ।

‘भानुभक्त’ समय हो । जन्मको तिथिमितिले पनि देशभक्त समय । उनको आवश्यकता थियो देशलाई त्यसबेला र जुन आजपर्यन्त  संस्कृति बनेर रहेको छ । उनी नेपालीका हृदयमा चोट लागेको समयमा जन्मिएँ । उनको जन्मसँगै जन्मियो देशभक्तिको अर्को स्वरूप । रामराज्यको परिकल्पना पनि सँगसँगै जन्मियो सायद । त्यसैले १८७१ साल एउटा विक्रम संवत् मात्र कहाँ रह्यो र हामी नेपालीका लागि ! उनको हुर्काइ र भोगाइ सुगौली–साँझभन्दा कम कठिन थिएनन् । तर पनि भाव र भाषाले धोएको उनको संवेदना मेची र महाकाली जोड्ने पुल बन्यो । उनी आफैँ चाहिँ जीवन–सङ्घर्षको भागदौडमा कतिपटक टुक्रिए र कतिपटक भाँचिए । भूपीको कवितामा रातरातभर साँगुरो चोकमा उफ्रिएर टोक्ने उपियाँले भानुका जीवनमा पनि बासैपिच्छे कतिकति रगत पसिना सोसे । 

कमजोरीसहितका भानु हाम्रा समयका मात्र उपज होइनन्, भानुपूर्वका अपरिभाषित समयका पदचिह्नहरू पूर्ण थिएनन् र भानु हुँदै हामीसम्म आइपुगेको समयको गतिमा चल्नेहरूले पनि आफ्नो समयको सर्वोच्चतालाई मात्र देख्न सकिरहेका होलान्, न्यूनतातिर फर्किन अब विगतका कमजोरीबाट सिकेर समदृष्टि चम्काउनुपर्छ, न कि दोषीनामा करार गरी आफ्नो मात्र श्रेष्ठता देखाउनमा ।

भानुभक्तले भोगेको समय एक पक्षबाट क्रान्तिको अवसान भएको समय थियो  । दाउपेच र प्रतिशोधको समयमा समाजले लिने दिशा सायद भ्रमित हुन सक्थ्यो । के थाहा ? युद्ध र पराजयको मनस्थितिमा जनजनका वैयक्तिक दृष्टिकोणहरू हाबी भइदिए भने... । यस्तो विषम परिस्थितिमा भानुभक्तको भाषिक कलाले एउटा नयाँ मार्ग खोलिदियो । मृत्युका पाँचै मुख खुलेका बेला सच्चा सहयात्री भएर आए जीवनदायी शक्ति लिएका भानुभक्त । उनलाई कहाँ रसिक भएर बाँच्ने जीवनको छुट थियो र ! तर हरेक पीडामा, अपमानमा, हारमा र हैरानीमा उनले नेपाली भाषाको साथ छाडेनन् । सच्चा प्रेमी भएर उकाली, ओराली, गाउँसहर अनि मैदान र पहाडमा एक आवाज पुर्‍याए । उनका लयले नेपालीको खडेरीले आँत रसाउन थाल्यो । वसन्तको मध्याह्नमा घना जङ्गलको बिचबाट एउटा गोठालाले यही लय छेडेको सुनिन्थ्यो । अर्को पहाडबाट त्यही लयको प्रतिध्वनि बिउँझन थाल्थ्यो । तराईको मैदानमा धानका बालाजस्तै लस्कर लाग्न थाले रामायणका श्लोकहरू । जनकपुर रामायणको नेपाली भाकाले गुञ्जियो । यसरी हृदयको आगा निभाउने श्लोकहरूको भाषिक अनुवाद बन्यो । जाति र सम्प्रदायभन्दा माथि उठेको यसको सांस्कृतिक महिमामा हिमाल झन् चुलियो, तराईको फाँट झन् लहलह भयो र पहाडको वरपीपलको मित्रताको सुसेली अझै मिठो र कसिलो गरी सुसेल्न थाल्यो । भानुभक्तको कलमले नेपालीका उबडखाबड मुटु सम्याएको इतिहास भानुभक्तले जन्माएको समय हो, उनैले हुर्काएको समय हो । उनैले भण्डार गरेको खेती हो । आज हामी त्यही भण्डार खोल्दै छौँ, भाषाका पोटिला दानाहरू खन्याउँदै छौँ । हाम्रा मनका मझेरीहरूमा र त्यो हिउँदको घामजस्तै हिउँदको पानीजस्तै स्वच्छ अस्तित्वलाई हृदयमै लगाइरहेछौँ बारबार ।

भानुभक्त असारमा जन्मिए । उर्वर असारको अन्तिम दिनतिर मनसुनझैँ उनको आगमन । प्रकृतिको विरासत चुँदी रम्घा । बारबार मस्र्याङ्दीले आधारातमा सुसेलेर बोलायो सायद उनलाई । उनी संस्कारले हिन्दु थिए, कर्मले मानवता बन्यो उनको धर्म । सम्झन्छु— एक दिन त्रिभुवन विश्वविद्यालयमा दर्शनशास्त्रको अध्ययनका क्रममा भानुभक्तको ‘वधूशिक्षा’को चर्चा चलेको थियो । ‘वधूशिक्षा’का श्लोकहरू व्याख्या गर्ने क्रममा हाम्रा अनुहार निकै आक्रामक पनि देखिए होलान् भानुभक्तप्रति । गुरु मुसुमुसु हाँसिरहनुभयो । धेरैका धेरै थरीका तर्कबिच हामीले समकालिक अध्ययनको मार्ग पक्रियौँ । सामूहिक अध्ययनपत्र बनायौँ र प्रस्तुति गर्‍यौँ । वास्तवमा भानुभक्तका अन्य रचनाभन्दा ‘वधूशिक्षा’ निकै विवादास्पद किसिमले व्याख्या हुँदै आएको कृति पनि हो । तर त्यसमा सूक्ष्म अध्ययनबाट हामीले नयाँ मार्ग भेटेका थियौँ । यस कृतिको विश्लेषणका लागि समाजशास्त्रीय अध्ययन आवश्यक छ भन्ने हाम्रो निष्कर्ष रहेको छ ।

भानुभक्त प्रत्येक नेपालीको धड्कन भएका छन् । भारतीय नेपाली मनमा उनी जातीय र सांस्कृतिक एकताका आदि आवाज मानिन्छन् । आदि उद्घोषक मानिन्छन् । उनका स्मारक उभ्याएर त्यहाँका नेपालीभाषीले एउटा सिङ्गो युग उभ्याएका छन् । त्यहाँ नेपाली भाषा छ, भाषाभित्र भाव छ, भावभित्र सारा नेपाली एक हौँ भन्ने सांस्कृतिक अर्थ छ । यही एकता नै नेपाली सभ्यताको आदि स्वरूप हो । वर्तमानको खिचातानी र वैचारिक द्वन्द्वमा आ–आफ्ना स्वार्थ होलान् तर भानुभक्तको भाषिक कलामा हृदयलाई जोड्ने मानवतावादी सन्देशबाहेक कुनै अरू स्वार्थ अद्यापि भेटिएको छैन । त्यसैले ‘भानुभक्तको रामायण’ तुलसीदासको रामायणको अनुवाद मात्र हो भन्न हाम्रो मनले हामीलाई स्वीकृति दिँदैन । मनले स्वीकृति नदिएका कुरा गरेर हामीले आफ्नो जातिको अपमान गर्ने अधिकार हामीलाई छैन !

तनहुँको प्रकृतिमा उम्रिएको नेपाली माटोको बास्ना भानुभक्तले नै चिने र त्यसलाई छन्दको सुगन्धमा मिसाएर प्रत्येक नेपालीको मुटुमा भरिदिए । उनको यही शक्ति पहिचान गरी मोतीराम भट्टले उनका सारा कृतिहरू खोजीखोजी हाम्रा सामु राखिदिए । उनको जीवनी लेखेर आदि भानुलाई अनादि भानुहरूका लागि बाटो खोलिदिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाले उनलाई ‘शुक्रतारा सुन्दर हाम्रा, नेपाली हे प्रथम ध्वनि’ भनेर काव्यिक अभिवादन गरे । जजसले भानुभक्तका बारेमा सङ्कीर्ण विचार राखे, तिनले देवकोटाको स्मारक पनि भत्काए, महाकवि विद्यापतिलाई पनि उभिन दिएनन् र वास्तवमा तिनले आफ्नै अस्तित्व ढाले । कुनै ढुङ्गामा मात्र सीमित हुने अस्तित्व होइनन् यी सुनामहरू । यिनका अमरतालाई यिनकै ढलेको शरीरले त समाप्त गर्न सकेन भने पत्थरको मूर्ति ढाल्नु त मुढे बलको प्रदर्शनी मात्र न हो ! यो कुरा बोध गर्नलाई पनि सायद एकपटक मूर्ति ढालिनुपथ्र्यो कि ! यो हामी नेपाली समुदायबिचको सीमा पनि हो, आफैँभित्रको अनन्य भावलाई बुझ्न हामी आफैँभित्र संशय गरिदिन्छौँ । हामी नेपाली एक हौँ, हामी त्यो भावले सिञ्चित छौँ, राजनीतिले हामीलाई अझै शक्तिशाली बनाओस्, हाम्रो सहयात्रालाई समावेशी बनाओस् । भानुका किरणहरू नै उनको सिर्जना शक्ति हो । ती रङहरूमा हाम्रो साझा सम्मिलन रहिरहोस् ।

भानुभक्त हाम्रा गुरु हुन् । उनले पारिवारिक जीवनको महत्त्व ‘रामायण’बाटै सिकाए । सामाजिक जीवनको मर्यादालाई यसैबाट बुझाए । राजनीति भनेको राजाको नीति भइरहेको हाम्रो मुलुकमा राजनीति राज्यको नीति हो, राजाको होइन भन्ने ज्ञान पनि उनले ‘रामायण’बाटै दिए । उनले नेपाली शैलीमा अनुवाद गरेको भावले नेपाली घरघरमा, व्यक्तिव्यक्तिमा बन्धुत्वको वर्षा गराउन सक्नु वास्तवमा उनको गुरुकर्म नै त हो ! त्यसैले भानुभक्तको गुरुत्व नेपाली संस्कृतिको पाठशालामा अत्यन्त स्तुत्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. गीता त्रिपाठी
डा. गीता त्रिपाठी
लेखकबाट थप