शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

डा. अम्बिका अर्यालका तीन कविता

शनिबार, २९ असार २०८१, १६ : ४०
शनिबार, २९ असार २०८१

१) भेडाका बथान
भेडाका आ–आफ्नै बथान छन्
कोही पूर्व ताक्छन्
कोही पश्चिम 
कोही उत्तर
कोही दक्षिण ।

आफ्नै दिशा सही छ
तिनका ढोँग बोल्छ ।

लालचका रास ताकेर दौडिरहेछन्
बथानमा टाउकेका पछिपछि दगुर्नेले
रहलपहलै भए पनि पाउने
उमार्छ आशा ।

पाइएला नपाइएला ?
रहला नरहला ठेगान के ?
देलान् नदेलान् ठेगान के ?
तैपनि आशामुखी पछ्याइदिन्छ ।

पछिल्तिर हुल देखेर भेडा नाइके
ताकेर लालचको आफ्नै गन्तव्य 
लम्किरहेछ ।

एक्लो
न यता न उता कतै नटाँसिने 
स्वाभिमानी भेडो
परबाट हेरिरहेछ
चारै दिशा पालैपालो ।

ठान्छ 
आखिर एक पेट खानु न हो
जीवन सकेपछि जाने दिशा पनि एकै हो
चारतिर किन छरिनु ?
खिचातानीमा किन रल्लिनु ?
नभएको पाइएला भन्ने आशामा
गोठै वरपरको खर्कको जोगाड गर्न छाडेर 
किन कुँद्दैछन् यी भेडा स्वभावका भेडाहरू ?

ऊ निश्चिन्त छ
सात पुस्तालाई पुग्ने सबथोक
यहीँ छ
कतै जानुछैन मलाई
विस्मातका प्याला रित्तिएपछि
घातका धोकाले अघाएपछि
ती पनि बुद्ध बनेर
मेरै धरातलमा फिर्नेछन्
इतिहास साक्षी छ
जुनै हुलका पछि लागे पनि
हात लाग्यो शून्य
केवल कुर्नुछ त्यो दिन
ती झैँ म
भेडो पनि त बन्नुछैन ।

२) नदेखाऊ प्रिय

प्यारी, हेर घाम लागेको
– खै म त मध्यरात देख्छु
आँखाका चालिसे बादल हटाएर हेर न
– तर पनि अनेक कालरात्रि देख्छु
हृदयले हेर मस्तिष्कले होइन
– तब त फुटेका हृदयमा दानवता देख्छु
मोतीका लहरमा मुस्कुराएर हेर
– रगतका आहालमा निचोरिएका मानवता देख्छु
 पोल्टोमा बाँधिएका मकैका दानाहरू
बन्दुकका नालमा उनिएको देख्छु
कालसँग जुध्न सक्ने मेरा सन्तानका शक्तिमाथि
डलरको दाइँमा भुस्याहाको नृत्य देख्छु
हृदय लुछिएका प्रेमीका पासमा
लम्पसार छोरीका सपना देख्छु
विश्वभर बारुदी धुवाँले धमिलिएर
फोक्सो गुमाएका सन्तानका साहस देख्छु
नाना र चाचाले कहिल्यै नअघाउने
सन्तानका भोकमा होमिएर
सिकार हुने आफ्नै हृदय देख्छु
यत्रतत्र केवल अन्धकार देख्छु
हेर्न सक्दिनँ भो यो वीभत्स रूप
बारम्बार नदेखाऊ प्रिय... । 

३) गोदोतको प्रतीक्षा

चाहे पानीघट्टझैँ
एकतमास घुमोस् जिन्दगी
या त नापोस् कदम 
धरातलमा जुका बनेर
कुरैका भारी 
मानवको जमघटमा
क्षणभरकै स्वार्थले 
दुखाएर बाँसका वय 
कातिदिन्छ 
खुकुरीका धारले चोया ।

कसिदिन्छ 
बारका साटाहरू
बाटिदिन्छ
पोयो फर्काइ फर्काइ
घाँटीमा कसिने दाम्लो ।

टाँगिदिन्छ
मूल बाटोमा 
षड्यन्त्रका डोरी
कुदेर एक्लै
भर्न खोज्दा 
पदोन्नतिका प्याला
थचारिन्छ
तिनै डोरीमा 
आफैँ अल्झिएर ।

रक्ताम्य मगज
उठाउन नसकी
नभेट्दै गुलिया फल
टिकट भेटेपछि 
अनन्तको उल्टै
अरू लडाएर 
आफू बढ्ने प्रयत्न
बनिदिन्छ गोदोतको प्रतीक्षा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अम्बिका अर्याल
डा. अम्बिका अर्याल
लेखकबाट थप