बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
अर्थ

यी हुन् चीन र भारतमा सबैभन्दा धेरै निर्यात हुने वस्तु

चीनतर्फको ५७.७ प्रतिशतले बढ्यो, भारततर्फ ४.५ प्रतिशतले खुम्चियो
शनिबार, २९ असार २०८१, १५ : ३०
शनिबार, २९ असार २०८१

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा चीनतर्फको निर्यात बढेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । साउनदेखि जेठ महिनासम्मको अवधिमा चीनतर्फको निर्यात बढेको राष्ट्र बैङ्कले जानकारी दिएको हो ।

तथ्याङ्क अनुसार भारततर्फको निर्यात भने खुम्चिएको छ । नेपालको समग्र आयात–निर्यात नै खुम्चिँदा भारततर्फको निर्यात ४.५ प्रतिशतले र चीनतर्फको निर्यात ५७.७ प्रतिशतले बढेको हो । चीनतर्फ चालू वर्षको ११ महिनाको अवधिमा २ अर्ब ४० करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

यो गत आर्थिक वर्ष २०७९/८० को ११ महिनाको तुलनामा ५७.७ प्रतिशतले बढी हो । सो अवधिमा चीनतर्फ १ अर्ब ५२ करोड रुपैयाँको निर्यात भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ७६ करोड रुपैयाँको निर्यात भएको थियो ।

चीनतर्फ सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा तयारी गार्मेन्ट, छालाका वस्तु, रुद्राक्ष, टेन्ड स्किन, चिया र वुलन कार्पेट छन् । यस अवधिमा १४ करोड ९२ लाख रुपैयाँको तयारी गार्मेन्ट निर्यात हुँदा १ करोड ४७ लाखको तयारी छालाका वस्तु निर्यात भएको छ ।

यसबाहेक २ करोड ६१ लाख रुपैयाँको रुद्राक्ष निर्यात हुँदा ३८ करोड रुपैयाँको वुलन कार्पेट निर्यात भएको राष्ट्र बैङ्कले जनाएको छ । भारततर्फ ४.५ प्रतिशतले खुम्चिए पनि चालू वर्षको ११ महिनामा ९४ अर्ब ५१ करोड रुपैयाँको निर्यात भएको छ ।

नेपालबाट भारततर्फ प्लास्टिक, पोलिस्टार यार्न, तयारी गार्मेन्ट, रोसिन, जुत्ता र चप्पल, छाला, भटमासको तेल, चिया, टेक्सटायल, टुथपेस्ट, तरकारी, तार र जस्तापाता निर्यात हुँदै आइरहेको छ । यस अवधिमा भारततर्फ १० अर्ब ६९ करोड रुपैयाँको जस्तापाता निर्यात भएको छ ।

यसपछि ८ अर्ब ३५ करोड रुपैयाँको पोलिस्टार यार्न (धागो), २ अर्ब ६७ करोड रुपैयाँको चिया, २ अर्ब ३१ करोडको टेक्सटायल, १ अर्ब ७० करोडको थ्रेड (धागो) १ अर्ब १३ करोडको जुत्ता–चप्पल लगायतका वस्तु निर्यात भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप