युगजन्य सीमासहित कसरी सम्झने भानुभक्तलाई ?
भानुभक्त आचार्यका बारेमा प्रशस्त लेखिएको छ । उनको काव्यिक एवं भाषिक योगदानका बारेमा समान दृष्टिकोणहरू भने छैनन् । उनलाई प्रदान गरिएको ‘आदिकवि’, ‘जातीय कवि’, ‘सांस्कृतिक एकताका प्रतीक’ जस्ता सम्मानलाई लिएर झन् गम्भीर विवादहरू हुँदै आएका छन् । उनको योगदानका बारेमा विभिन्न दृष्टिकोणका आधारमा भएका विमर्शले उनलाई अझ गहिरो गरी बुझ्न सहयोग नै पुर्याएका छन् ।
केही निषेधात्मक दृष्टिकोणलाई छाडिदिने हो भने उनीबारे गरिएका विमर्श अर्थपूर्ण नै छन् । उनी नेपाली साहित्यका बिर्सनै नसकिने र पन्छाउनै नमिल्ने व्यक्तित्व हुन् । उनको व्यक्तित्व र योगदानको समुचित मूल्याङ्कनका निम्ति उनी बाँचेको समय र उनको दृष्टिकोणलाई नियाल्नुपर्छ । लेखनलाई यी दुवै कुराले गम्भीर रूपमा प्रभावित गर्छन् ।
- तत्कालीन परिस्थिति
वि.सं १८७१ मा तनहुँको रम्घामा भानुभक्त जन्मिएका थिए । मध्यम वर्गीय ब्राह्मण परिवारमा उनको जन्म भएको थियो । त्यस बेलाको समाज आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक रूपमा सामन्तवादी थियो । समाज विभिन्न वर्गमा बाँडिएको थियो । उच्च वर्ग सम्पन्न र सुखी थियो । निम्न वर्गको जीवन सबै दृष्टिले कष्टकर थियो । मुलुकको सम्पत्तिको धेरै ठुलो अंशमा उच्च वर्गको अधिकार थियो । राजनीतिक रूपमा निरङ्कुश शासन व्यवस्था थियो । राजारानी र भाइभारदारका बिचमा चल्ने शक्ति सङ्घर्षका कारण मुलुकमा राजनीतिक स्थिरता थिएन र बेलाबखत मुलुकको भविष्यलाई दीर्घकालीन रूपमा असर गर्ने रक्तपातपूर्ण घटनाहरू घट्थे । सुगौलीसन्धिपछि नेपाली शासन प्रशासनमा अङ्ग्रेजहरूको दख्खल बढ्न सुरु गरेको थियो । अङ्ग्रेजसँगको पराजय र सुगौलीसन्धिले नेपालीको आत्मसम्मानमा गहिरो चोट लागेको थियो ।
१९१९ मा रचिएको बधूशिक्षामा १९१० को मुलुकी ऐनमा सतीप्रथा सम्बन्धमा गरिएको आंशिक नियन्त्रणको प्रभावसम्म परेको देखिन्न । सतीप्रथाको विरोध पृथ्वीनारायण शाहकै पालादेखि हुन थालेको थियो ।
समाज मूलतः वर्णाश्रम व्यवस्थामा आधारित थियो । शासकहरू यसका समर्थक र संरक्षक थिए । शासनको आधार जातीय पनि थियो । जातका आधारमा दण्ड सजाय दिइन्थ्यो । सामन्तवादी संस्कृति बलियो थियो । हिन्दु, बौद्ध, जैन, वैष्णव आदि जस्ता धर्महरू अस्तित्वमा थिए । हिन्दु धर्मको प्रभाव बढी थियो । बौद्ध, जैन र वैष्णव धर्महरू तुलनात्मक रूपमा सुधारवादी थिए । आदिवासी जनजातिका आफ्नै किसिमका धर्म एवं संस्कृति थिए । मुलुकमा सती प्रथा एवं कमाराकमारी प्रथा विद्यमान थियो । दलित एवं नारीहरू सांस्कृतिक एवं जातीय रूपमा सबैभन्दा बढी उत्पीडित थिए । १९०३ को रक्तपातपूर्ण कोतपर्वपछि मुलुकको राजनीतिक तस्बिर नै बदलियो र जङ्गबहादुरको उदय भयो ।
कठोर राजनीतिक परिस्थिति, निरङ्कुश शासन, डरलाग्दो सामाजिक–सांस्कृतिक पछौटेपन र उत्पीडिनका बिचमा अन्यायको प्रतिवाद तथा सुधारका निम्ति आवाजहरू उठेको पाइन्छ । रघुनाथ पोखर्याल र वाणीविलास जस्ता साहित्यकारहरूले खुलेरै अङ्ग्रेजका विरुद्ध आवाज उठाएका थिए । अङ्ग्रेजसँगको युद्धमा पराजित भए पनि भीमसेन थापा नेपालको गुमेको भूभाग प्राप्तिका निम्ति सक्रिय थिए । जोसमनी सम्प्रदायका कविहरू अन्धविश्वास, जातपात, छुवाछुत, रुढिवाद आदिका आलोचक थिए । उनीहरूका रचनामा सुधार र परिवर्तनका आकाङ्क्षाहरूले अभिव्यक्ति पाएका छन् । सतीप्रथाको विरोध बढ्दै गएका कारण १९१० को मुलुकी ऐनमा यसमाथि आंशिक नियन्त्रण गरिएको थियो । उत्पीडित वर्गले स्वस्फूर्त रूपमा ठाउँठाउँमा आफूमाथि भएको उत्पीडनको प्रतिवाद गर्थे । सामन्तवादी आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक संरचनाभित्र नेपाली समाज सुधार र परिवर्तनका निम्ति आफ्नै ढङ्गले गतिशील थियो । भानुभक्त यही स्थितिका बिचबाट साहित्य सिर्जनामा सक्रिय भएका थिए ।
- भानुभक्तको जीवनदृष्टि
भानुभक्तको जीवनदृष्टिको निर्माण पारिवारिक एवं तत्कालीन परिवेशबाट भएको थियो । आध्यात्मिक जीवनदृष्टि उनले परिवारबाटै प्राप्त गरेका थिए । साहित्यिक संस्कार पनि उनलाई परिवारबाटै प्राप्त भएको थियो । जीवनमा केही गरेर नाम राख्नुपर्छ भन्ने भावनाको विकासमा पनि परिवार र समाजको भूमिका थियो । धार्मिक, आध्यात्मिक एवं पुरानो चिन्तन भएको परिवारका कारण उनको जीवनदृष्टिको निर्माण पनि त्यसै अनुरूप भयो । हिन्दु धर्म–संस्कृतिबाट संस्कारित र निर्देशित परिवारका कारण जातीय एवं लैङ्गिक विभेदप्रति उनी सकारात्मक रहे । अन्धविश्वास र रुढिहरूप्रति आलोचनात्मक हुन सकेनन् ।
उनी नारीमाथिको उत्पीडनको आलोचक थिएनन् । स्रष्टा तटस्थ रहेर रचिएको रचनाका रूपमा बधूशिक्षालाई लिन सकिन्नँ । यो भानुभक्तको नारीप्रतिको दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने रचना हो ।
जीवनमा सयौँ ठक्कर खाँदा पनि उनमा आलोचनात्मक चेतनाको अपेक्षित विकास हुन सकेन । गृहस्थ उनी विचारका दृष्टिले हिन्दु धर्म–संस्कृतिका आम अनुयायी जस्तै रहे । राजनीतिक एवं विषम सामाजिक–सांस्कृतिक स्थितिको सामान्य सुधारवादी आलोचना पनि उनीबाट हुन सकेन । जगतलाई मिथ्या र ब्रह्मलाई सत्य ठान्ने उनको जीवनदृष्टिले उनलाई सुधारवादी हुनबाट रोक्यो र उनले समाज जस्तो छ, त्यसैलाई उचित ठहर्याए । यसै अनुरूप उनले रचनाहरूको सिर्जना गरे ।
- भानुभक्तका रचनामा समाज
‘बधूशिक्षा’ र उनका केही फुटकर रचनाहरूलाई छाडिदिने हो भने उनका अन्य रचनाहरू आध्यात्मिक दृष्टिकोणलाई केन्द्रमा राखेर रचिएका छन् । रामायण, प्रश्नोत्तर, भक्तमाला, रामगीता आध्यात्मिक दृष्टिकोणलाई केन्द्रमा राख्ने मौलिक र अनुदित कृतिहरू हुन् । अध्यात्म रामायणको अनुवाद भए पनि भानुभक्तीय रामायण मौलिक लाग्छ । भ्रातृप्रेम, पितृप्रेम, कर्तव्य–अकर्तव्य, सदाचार आदि जस्ता विषय रहे पनि रामायण आध्यात्मिक जीवनदृष्टिलाई केन्द्रमा राखेको रचना हो ।
रामायणको रचना उनले जीवनमा पुण्य कमाउने र रामको आदर्शलाई स्थापित गर्ने गरी गरेका थिए । रामायणको रचना तत्कालीन सत्ताको प्रतीकात्मक प्रतिवाद थिएन, भानुभक्तको आध्यात्मिक कवि हृदय र जीवनदृष्टिको परिणाम थियो । उनका यस प्रकारका रचनामा तत्कालीन समाज कहीँ पनि बोल्दैन ।
त्यसबेलाको समाजको नारीप्रतिको दृष्टिकोण बधूशिक्षामा अभिव्यक्त भएको छ । भानुभक्तको नारीप्रतिको दृष्टिकोण पनि त्यही थियो । उनी नारीमाथिको उत्पीडनको आलोचक थिएनन् । स्रष्टा तटस्थ रहेर रचिएको रचनाका रूपमा बधूशिक्षालाई लिन सकिन्नँ । यो भानुभक्तको नारीप्रतिको दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने रचना हो । यस रचनाका माध्यमबाट तत्कालीन समाज नारीप्रति कस्तो धारणा राख्थ्यो र व्यवहार गथ्र्यो भनेर थाहा पाउन सकिन्छ । नारीप्रति समाज एवं कविको अनुदारवादी दृष्टिकोणले यस कवितामा अभिव्यक्ति पाएको छ । हेरौँ कविताका केही पङ्क्तिहरू ः
सौताको रिस गर्नु पा छ बहुत् एकै दुवैका पति
मर्दामा पनि जानुपर्छ जसले मिलेर सङ्गै सती ।
०००
हाँस्नु छैन कदापि नारीहरूले बेश्या हुन्या हाँस्दछन्
बेश्या लौ नहोउन् तथापि घरको काम् ती सबै नास्दछन् ।
स्वामीका चरणबिन्द युगको जल् भक्तिले पान् गरुन्
निर्मल देह गराउनकन ऊ जल् केही शरीरमा छरुन् ।
नेपाली साहित्यको आधुनिक कालको आरम्भसँगै विशेष रूपमा उनको चर्चा गर्न सुरु गरियो । भानुभक्तलाई माथि उठाउन र उनको महत्त्वलाई बढाइचढाइ स्थापित गर्न दार्जिलिङका साहित्यकारहरूको ठुलो भूमिका छ ।
माथिका कविताका पंक्तिहरूबाट भानुभक्तको नारीप्रतिको धारणा छर्लङ्ग हुन्छ । उनी बहुपति प्रथा एवं सती प्रथाका मात्र समर्थक थिएनन्, नारीहरू पुरुषको दासीका रूपमा रहनुपर्छ भन्ने धारणा पनि राख्थे । १९१९ मा रचिएको बधूशिक्षामा १९१० को मुलुकी ऐनमा सतीप्रथा सम्बन्धमा गरिएको आंशिक नियन्त्रणको प्रभावसम्म परेको देखिन्न । सतीप्रथाको विरोध पृथ्वीनारायण शाहकै पालादेखि हुन थालेको थियो । बढ्दै गरेको विरोधकै कारण जङ्गबहादुर आंशिक नियन्त्रण गर्न तयार भएका थिए । भानुभक्त १९१० भन्दा धेरै अघिदेखि काठमाडौँ जान सुरु गरेका थिए । जङ्गबहादुरको प्रयासदेखि उनी अपरिचित थिएनन्, तर यसको थोरै प्रभाव पनि उनमा परेन ।
‘रोज् रोज् दर्शन पाउँछु’ उनको अर्को महत्त्वपूर्ण फुटकर कविता हो । हेरौँ उनका यस कविताका केही पंक्तिहरू :
रोज् रोज् दर्शन पाउँछु चरणको ताप छैन मन्मा कछू
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु ।
लामखुट्टे उपियाँ उडुस सँगि छन् इन्कै लहडमा बसी
लामखुट्टेहरू गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी ।
...
बिन्ती डिट्ठा बिचारीसित म कति गरुँ चुप् रहन्छन् नबोली
बोल्छन् त ख्याल् गर्या झैँ अनि पछि दिन् दिन् भन्दछन् भोलि भोली ।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।
यस कविताले त्यस बेलाको प्रशासनको तस्बिरलाई हाम्रा अगाडि राख्छ । कवितामा भानुभक्तले प्रशासनको चरित्रमाथि तिखो व्यङ्ग्य गरेका छन् । मुद्दा खप्दा खप्दा हैरान परेका उनले कुमारीचोकमा थुनिएपछिको अनुभूतिलाई कवितामा अभिव्यक्ति दिएका छन् । कवितामा व्यक्त अनुभूति सजीव छ तर यो आलोचनात्मक विवेकभन्दा बढी आफूले खप्नुपरेको पीडासँग सम्बन्धित छ । आलोचनात्मक टिप्पणी उनको आलोचनात्मक विवेकको अंशका रूपमा हुन्थ्यो भने उनका अन्य रचनामा पनि यसले अभिव्यक्ति पाउँथ्यो । समाजको तस्बिर अङ्कनका दृष्टिले उनका रचना समृद्ध छैनन् । बालाजु र कान्तिपुरी जस्ता रचनामा प्रकृतिप्रेम र देशभक्तिको भावना पाइन्छ तर यो यदुनाथ पोखर्यालको साम्राज्यवाद विरोधी चेतनासम्म उक्लन सकेको छैन ।
- काव्यिक एवं भाषिक योगदान
नेपाली भाषाको विकासमा भानुभक्तका रचनाहरूको योगदान रहेको छ । रामायणको सरल र सरस भाषाले नेपाली भाषाको विकासमा योगदान दिएको हो । संस्कृतको अध्यात्म रामायणलाई नेपालीमा अनुवाद गरेर उनले महत्त्वपूर्ण कार्य गरेका हुन् । यसबाट उनको नेपाली भाषाप्रतिको प्रेम झल्कन्छ । संस्कृतका ठाउँमा नेपाली भाषालाई रोज्नु त्यसबेला ठुलै कुरा थियो । तर उनको भाषिक योगदानलाई निकै बढाइचढाइ गरिँदै पनि आइएको छ । पहिलो कुरो नेपाली भाषामा पहिल्यैदेखि रचनाहरू रचिदै आइएको थियो । नेपाली भाषा बोलचालको भाषाका रूपमा विस्तारित हुँदै थियो । प्राथमिककालीन कतिपय कविका रचनामा मिठो नेपालीको प्रयोग पाइन्छ । अर्को कुरो भानुभक्तको रामायणको प्रकाशन धेरैपछि मात्र भएको हो । उनको मृत्यु भएको धेरैपछि मात्र यसको प्रकाशन भएको थियो । मोतीराम भट्टले सर्वप्रथम उनीबारे कलम चलाएका थिए । त्यसपछि नै लोकले उनीबारे जानकारी पाएको हो । रामायणको प्रकाशन भएको धेरै पछिसम्म यसको पठन व्यापक थिएन ।
नेपाली साहित्यको आधुनिक कालको आरम्भसँगै विशेष रूपमा उनको चर्चा गर्न सुरु गरियो । भानुभक्तलाई माथि उठाउन र उनको महत्त्वलाई बढाइचढाइ स्थापित गर्न दार्जिलिङका साहित्यकारहरूको ठुलो भूमिका छ । १९९७ तिर दार्जिलिङबाट भानु स्मारक ग्रन्थको प्रकाशन यस दिशाको महत्त्वपूर्ण पाइलो थियो । यो प्र्रयास पहिचानसँग बढी जोडिएको थियो । भानुभक्त सम्बन्धी अतिशयोक्तिपूर्ण विचारहरू यसका परिणाम पनि थिए । यसपछि मात्र नेपालमा भानुभक्तको योगदानका बारेमा गम्भीर चर्चा हुन थाल्यो । भित्र र बाहिरका सबैजसो प्रयासहरू उनको देवत्वकरणमा केन्द्रित थिए । यसको मूलमा हिन्दु धर्म–संस्कृति अनुरूप नेपाली समाजको पुनः निर्माण थियो । रामायण यसका निम्ति उपयुक्त रचना थियो । यसका पछि सांस्कृतिक एवं भाषिक एकरूपीकरणका अभीष्टहरू पनि थिए । भारतीय नेपालीका निम्ति भानुभक्त जातीय एवं सांस्कृतिक पहिचानका आधार थिए ।
भानुभक्तका सम्बन्धमा समालोचक रामकृष्ण शर्माका विचारहरू महत्त्वपूर्ण छन् । एकातिर उनले भानुभक्तलाई देवता बनाउने कुराको आलोचना गरे भने अर्कातिर भाषाका क्षेत्रमा उनको योगदानलाई लिएर गरिएको बढाइचढाइलाई यथार्थ बिर्सिएको भनेर टिप्पणी गरे । उनले धेरैपछि प्रकाशनमा आएको रामायणले नेपाली भाषामा दिएको योगदानको अतिशयोक्तिपूर्ण व्याख्यामाथि टिप्पणी गर्दै नेपाली भाषाको विकास र विस्तारमा नेपालीभाषी वक्ताहरूको भूमिकालाई उच्च महत्त्व दिएका छन् । उनले रामायण समातेको भानुभक्तको तस्बिर र बिर्खे टोपीको सत्यतामाथि पनि प्रश्न उठाएका छन् । भाषाका सन्दर्भमा भानुभक्तको योगदानलाई बढाइचढाइ गरिएकै हो र आज पनि गरिँदै छ । उनलाई भाषिक र सांस्कृतिक एकताका प्रतीकका रूपमा सचेतन रूपमै प्रस्तुत गरिएको थियो ।
उनका कृतिहरू कलात्मक मूल्यका दृष्टिले आफ्ना समकालीन स्रष्टाका तुलनामा राम्रा छन् । उनका फुटकर रचनाहरू नै यसका उदाहरण हुन् ।
उनलाई सांस्कृतिक, राष्ट्रिय एवं जातीय एकताको प्रतीकका रूपमा उल्लेख गर्नु तर्कसङ्गत देखिँदैन । न ऐतिहासिक रूपले न त वस्तुगत रूपले नै यसलाई सही ठहर्याउन सकिन्छ । यो नेपाललाई एक खास किसिमको सांस्कृतिक साँचोमा ढाल्ने गरी निर्माण गरिएको भाष्य थियो । यस्तो भाष्यको प्रासङ्गिकता सकिएको छ । बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक नेपाली समाजमा कसैलाई राष्ट्रिय वा सांस्कृतिक एकताका प्र्रतीकका रूपमा उभ्याउँदा उसले गरेको कार्य त्यस अनुरूपको हो कि होइन भनेर हेर्नुपर्छ । भानुभक्तको योगदान यस अनुरूप देखिँदैन । उनी प्राथमिककालीन रामभक्ति धाराका महत्त्वपूर्ण कवि हुन् र यसै रूपमा हेर्दा उनीमाथि न्याय हुन्छ । आदिकविको पगरी पनि विवादमा आएको विषय हो । उनीभन्दा पहिला नेपाली भाषामा कविता लेख्ने कविहरू भएकाले उनलाई दिएको सम्मानमा विवाद आएको हो । नामका अगाडि आदिकवि राखेर मात्रै भानुभक्तको सम्मान बढ्ने पनि होइन ।
उनका कृतिहरू कलात्मक मूल्यका दृष्टिले आफ्ना समकालीन स्रष्टाका तुलनामा राम्रा छन् । उनका फुटकर रचनाहरू नै यसका उदाहरण हुन् । कृतिका रूपमा रामायणलाई अघि सार्न सकिन्छ । सरल र सरस नेपाली भाषामा लेखिएका उनका रचनाहरू कलात्मक मूल्यका दृष्टिले राम्रा छन् । रचनाहरू शिल्पविधान, सौन्दर्यचेत एवं काव्यात्मक प्रस्तुतिका दृष्टिले उच्च पाइन्छन् । इन्द्रीय संवेद्यता उनका कतिपय रचनाहरूको विशेषता हो । त्यस बेलाको समयमा उभिएर हेर्दा भानुभक्तको कलाचेत माथिल्लो स्तरको लाग्छ । भानुभक्त र उनीभन्दा अघिका स्रष्टाहरूका रचना हुँदै नेपाली काव्य कविता यहाँसम्म आइपुगेको हो । वर्तमान अतीतसँग जोडिन्छ । भानुभक्त हाम्रो काव्य इतिहासका एक महत्त्वपूर्ण व्यक्तित्व हुन् तर उनका युगजन्य सीमाहरू पनि छन् । हामीले उनलाई उनका सीमाहरूसहित बुझ्नुपर्छ र उनलाई अनावश्यक रूपमा बढाइचढाइ गरेर प्रस्तुत गर्ने प्रवृत्तिको आलोचना गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म