बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

आज गलतलाई गलत भन्न सक्ने, सहीलाई सही भन्न सक्ने जमात देख्दिनँ : न्यायाधीश राउत

शनिबार, २९ असार २०८१, १४ : २६
शनिबार, २९ असार २०८१

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको कार्यक्रममा बोल्दै राउतले न्यायपालिकालाई लयमा फर्काउन राज्यको चौथो अङ्गको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै इतिहासमा सुनौलो अक्षरले लेखिने पनि बताएका हुन् । 

उनले नेतृत्व भ्रष्ट र घृणित भए सबै ठाउँमा विकृति बढ्दै जाने उल्लेख गर्दै सो समयमा पत्रकारको कलमले समाचार नलेखे मुलुकले ठुलो मूल्य चुकाउने बताए । उनले अहिले सामाजिक सञ्जाल व्यक्तिको चरित्र हत्या गर्ने माध्यम बनेको भन्दै नियमनको आवश्यकता औँल्याए । लोकतन्त्रको मर्म मर्ने गरी अदालती रिपोर्टिङ गर्न नहुने पनि न्यायाधीश राउतको भनाइ छ । 

उनले भने, ‘आज सामाजिक सञ्जालमा मान्छेलाई खुइल्याउने काम, मान्छेको चरित्र हत्या गर्ने काम पेसा बनेको छ । कसले रोक्छ ? कसरी रोक्ने ? यसमा छलफल हुनुपर्छ । तपाईँहरूको रिपोर्टिङमा तपाईँहरूले हेक्का राख्नुपर्ने कुरा लिबरल डेमोक्रेसीको मान्यताहरु कहिले पनि मर्ने गरी कोर्ट रिपोर्टिङ हुनुहुँदैन । लिबरल डेमोक्रेसीको मूल्य बहुत ठुलो कुरा हो । यो जोगाउन एउटा पत्रकारले हात काटेर दिनुपर्छ । एउटा न्यायाधीशले आफ्नो विवेकलाई कहिल्यै बन्धक राख्नै हुँदैन । त्यसैले आजका दिनमा गलतलाई गलत भन्न सक्ने, सहीलाई सही भन्न सक्ने म आज पनि त्यो जमात देख्दिन । अघि उहाँले भन्नुभयो नि त्यो कुम जोड्ने कुरा त्यहीँ छ । कुम जोड्ने बित्तिकै मोलाइजा जागिहाल्छ, जब मोलाइजा जाग्छ तब ‘बास्’ अब कुरा बुझिहाल्नुस् । त्यति बेला राज्यको चौथो अङ्गको फ्लेभरहरू त्यसको सुगन्ध तपाईंले फैलाउन सक्नुपर्छ । आज निहित स्वार्थहरूको लागि अदालतको हुर्मत लिँदै गर्दा अदालतको प्रतिरक्षाको लागि को उभिएको छ ? आज न्यायपालिका लयमा फर्काउनमा राज्यको चौथो अङ्गको योगदान अविस्मरणीय छ र इतिहासमा सुनौलो अक्षरले लेखिन्छ । न्यायालय लयमा फर्किँदाखेरी यो परिवेशलाई आज यो लयमा फर्काउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ । यदि नेतृत्व भ्रष्ट, घृणित भयो भने कसैको केही लाग्दैन । त्यति बेला कलम लेख्नबाट हटाउनु भयो मुलुकले ठुलो मूल्य चुकाउँछ ।’

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले कानुन क्षेत्रको पत्रकारितालाई अरू पत्रकारिता भन्दा विशेष रूपमा हेर्न आवश्यक रहेको बताए । उनले विभिन्न देशहरूले पनि कानुन क्षेत्रको पत्रकारितालाई अरू पत्रकारिता भन्दा विशेष रूपमा हेरेको उल्लेख गर्दै अदालत संवेदनशील स्थान भएको जिकिर गरे । 

 न्यायाधीशहरू र अदालतका कर्मचारीहरूले प्रतिवाद गर्न नसक्ने भन्दै न्यायालय र सञ्चारकर्मीहरूबिच मर्म बुझ्ने भावना गाँसिन आवश्यक रहेको उनको भनाई थियो । उनले पछिल्लो समय अदालतको रिपोर्टिङ प्रसारणका साधनहरूमा उल्लेख्य परिवर्तन आएको भन्दै ‘न्यु मिडिया’लाई पनि नराम्रो दृष्टिकोणबाट हेर्न नहुने बताए । सबैको पहुँचमा सूचना पुग्ने कुरा दुःखको विषय हुन नसक्ने न्यायाधीश फुयाँलको भनाइ छ ।  

उनले भने, ‘अरू देशहरूले पनि कुनै न कुनै रूपले कानुन क्षेत्रको पत्रकारितालाई अरू पत्रकारिता भन्दा विशेष रूपले हेरेको हुन्छ । यो कोर्ट अलि सेन्सेटिभ ठाउँ हो । न्यायाधीशहरू र अदालतका कर्मचारीहरू यस्तो ठाउँका हुन्, जसले प्रतिवाद गर्न सक्दैनन् । पार्लियामेन्टका व्यक्तिको बारेमा समाचार आयो भने प्रतिवाद गर्न सक्नुहुन्छ । उहाँहरूले प्रेस नै बोलाउनु हुन्छ, छलफल गर्नुहुन्छ । हामी त्यो प्रतिवाद गर्न सक्दैनौँ । कि त कोर्ट प्रशासनले गर्दछ, बुझेर गरे गर्छ नत्र कर्मचारी र न्यायाधीशको हातमा केही हुँदैन । यसमा त्यो बुझ बुझारथ हुनुपर्छ । हामी कानुन क्षेत्रमा काम गर्ने पत्रकार र अदालतको बिचमा यो समन्वय हुनुपर्छ । पछिल्लो समय अदालतको रिपोर्टिङ प्रसारणका साधनहरूमा परिवर्तन आएको छ । प्रिन्ट मिडिया मात्रै थियो, एक जमानामा, अहिले इलेकट्रोनिक मिडियाहरू आएका छन् । अहिले सबैका हातहातमा मिडिया छ । यो एक खालको खुसीको कुरा हो । यसमा वास्तवमा दुःख मान्नुपर्ने कुरा छैन ।’

नेपाल बार एसोसिएसनकी महासचिव अञ्जिता खनालले अदालती भाषालाई ठिक ढङ्गबाट सम्प्रेषण गर्न आवश्यक रहेको बताइन् । उनले अरूको नक्कल गरेर समाचार प्रकाशन गर्दा र अदालती भाषा नबुझ्दा अनर्थ लाग्ने भएकाले अदालती भाषाको बारेमा सही ज्ञान लिन आवश्यक रहेको बताइन् । उनले सञ्चारमाध्यमले सत्यतथ्य समाचार नागरिकहरूसमक्ष पुर्‍याउँदा नै समाज सही बाटोमा जाने धारणा राखिन् ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अदालतको चरित्र, अदालतको संरचना, अदालतको प्रकृति र काम बुझेर पत्रकारिता भएमात्रै देशका लागि फाइदा हुने बताए । उनले अदालतले आफैँ आफ्नो बारेमा बोल्न नसक्ने भएकाले सञ्चारमाध्यमले अदालतको मर्म बुझेर समाचार प्रकाशन एवं प्रसारण गर्नुपर्ने जिकिर गरे । 

उनले भने, ‘अदालतको चरित्र, अदालतको संरचना, अदालतको प्रकृति र काम बुझेर पत्रकारिता हुन सक्यो भने देशका लागि फाइदा छ । समाजका लागि फाइदा छ । अदालतको लागि मात्रै फाइदा हुँदैन । अदालतले आफैँ आफ्नो बारेमा बोल्दैन । बोल्ने चरित्र र नेचर होइन । अदालतले फैसला र आदेशमार्फत बोल्ने हो । त्यो फैसला र आदेश आफ्नो बारेमा हुँदैन । अदालतको स्वतन्त्रता बचाउनको लागि प्रेसको अहम् दायित्व हुन्छ । अरू मानिसहरूको झुन्ड आएर पनि अदालतको बारेमा बोलिदिने होइन । मिडियाले स्वच्छ तरिकाले रिपोर्टिङ गरेर अदालतका कुरा ल्याउनुपर्छ । स्वतन्त्र र सक्षम न्यायपालिकाका लागि प्रेस सहयात्री हो ।’

कार्यक्रममा बोल्दै अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेले पत्रकारको जिम्मेवारी आम नागरिक, पाठक, दर्शक र श्रोताप्रति उत्तरदायी हुनु रहेको बताए । उनले टेलिफोन निर्भर पत्रकारिताले आत्मविश्वासका साथ समाचार लेख्न नसकिरहेको अहिलेको परिवेशलाई अन्त्य गर्न आवश्यक भएको बताए । उनले पत्रकारहरू डिजिटल माध्यमका कारण बढी सुविधाभोगी भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप