बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

पुरातात्त्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग लिँदैनाै : महर्जन

शनिबार, २९ असार २०८१, १४ : ०६
शनिबार, २९ असार २०८१

पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्त्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने बताएका छन् । ललितपुरको सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माण गर्न आगामी कात्तिक ६ गतेदेखि १३ गतेसम्म हुने श्रीमद्भागवत् ज्ञान महायज्ञ (आध्यात्मिक महोत्सव) को सङ्कल्प सभाको उद्घाटन गर्दै प्रमुख महर्जनले मठमन्दिर, देवालय, शिवालयलगायत पुरातात्त्विक सम्पदा बनाउँदा महानगरको आन्तरिक स्रोतबाट खर्च गरिने जानकारी दिए ।

“सङ्घीय सरकारसँग खर्च लिएर पुरातात्त्विक शैलीको मठमन्दिर, देवालय, शिवालय निर्माण गर्दा प्रक्रिया लामो हुन्छ । ठेकेदारले पनि लिच्छविकालीन, मल्लकालीन मठमन्दिर, सम्पदाहरू पुरानै शैलीमा निर्माण गर्दैनन्”, उनले भने, “पाटन दरबारको भीमसेन मन्दिर, देगु तलेजु, बालकुमारीको बालकुमारी मन्दिर महानगरले उत्कृष्ट तरिकाले निर्माण गरेको छ । कुनै समस्या भएको छैन ।”

मठमन्दिर, देवालय, शिवालय निर्माणमा नेतृत्व राम्रो भयो भने खर्च अभाव नहुने भन्दै महर्जनले काम गर्ने जोश जाँगर र इच्छाशक्ति हुनुपर्नेमा जोड दिए । सुनाकोठीमा सञ्चालन हुने महायज्ञले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वको प्रचारप्रसार गर्नुका साथै आर्थिक सङ्कलनमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने उनको भनाइ छ । 

महायज्ञ सम्पन्न भएपछि मात्रै निर्माण सुरु हुनेगरी तालिका सार्वजनिक गर्नुपर्ने बताउँदै महानगर प्रमुख महर्जनले पुनः निर्माणका लागि खर्च अभाव नहुने प्रतिबद्धता व्यक्त गरे ।  “यो ठाउँ मुलुकको भ्रमण गर्नै पर्ने ठाउँ हो भनेर प्रचारप्रसार गर्न जरुरी छ । प्रभावकारी निर्माणका लागि सबैको सहयोग र सहकार्य आवश्यक छ”, उनले भने ।

महायज्ञका कथा वाचक प्रवीण पण्डित दीनबन्धु पोखरेलले आध्यात्मिक साधन गर्न नेपाल सर्वोच्च स्थल हो भन्नुहुँदै विश्वलाई आध्यात्मिक वादमार्फत शान्तिको सन्देश दिन यहाँका धार्मिक, ऐतिहासिक स्थलको विश्वमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

“आध्यात्मिक साधनाका लागि नेपाल सर्वोच्च स्थल हो । यहाँ विश्वले भ्रमण गर्नै पर्ने स्थान छन् । सांस्कृतिक हिसाबले ललितपुर उत्कृष्ट छ, सुनाकोठीको यो भृङ्गारेश्वर क्षेत्रलाई आध्यात्मिक पर्यटकीय नगरीका रूपमा अन्तर्राष्ट्रिय रुपमा विकास गराउनुपर्छ । महायज्ञका लागि विश्वास गरी शुभ अवसर प्रदान गर्नुभएकामा गौरवान्वित छु”, पण्डित पोखरेलले भने ।

ललितपुर–२७ का वडाध्यक्ष कृष्णहरि महर्जनले सुनाकोठीको महायज्ञ सञ्चालनबाट पहिचान उजागर हुने तथा ऐतिहासिक महत्त्व अझै बढी प्रचारप्रसार हुने धारणा राख्दै यसका लागि सबैले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्नुपर्ने बताए ।

प्राचीन कालमा निर्मित भृङ्गारेश्वर विसं १९९० को भूकम्पले भत्काएपछि पुरानो शैलीमा मन्दिर निर्माण भएको थिएन । उक्त मन्दिरलाई पुरानै शैलीमा निर्माण गर्न महानगरको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रक्रिया अघि बढेको छ ।

ऐतिहासिक सम्पदाका रूपमा रहेको भृङ्गारेश्वर महादेव मन्दिरको पुनः निर्माण गरेर यहाँका पूर्वाधारलाई थप व्यवस्थित बनाउनुपर्ने भृङ्गारेश्वर सुधार तथा बुद्ध सेवा समितिका अध्यक्ष रामचन्द्र महर्जनले बताए । उनका अनुसार यहाँ बालकुमारी त्रिपुरासुन्दरी, जगन्नाथ, गणेश र भृङ्गारेश्वर महादेव मन्दिरलगायत ऐतिहासिक सम्पदा रहेका छन् । विसं २०७२ को भूकम्पले क्षति गरेका कतिपय ऐतिहासिक संरचना भने पुनः निर्माण भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप