बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

सुदूरपश्चिममा तीन राजनीतिक दलले मागे मुख्यमन्त्री सोडारीको राजीनामा

शनिबार, २९ असार २०८१, १३ : ०३
शनिबार, २९ असार २०८१

धनगढी । सुदूरपश्चिमका तीन राजनीतिक दलद्वारा मुख्यमन्त्री दीर्घबहादुर सोडारीको तत्काल राजीनामा माग गरेका छन् । नयाँ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले आज धनगढीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सोडारीको राजीनामा मागेका हुन् । 

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले भने, ‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसक्नुभएको छ । उहाँले विश्वासको मत लिन खोजे पनि पाउने अवस्था छैन । बजेट माथिको छलफल हुन सकेको छैन । अल्पमतको सरकारले केही ठुला निर्णयहरू पनि गर्न सक्दैन । त्यसैले उहाँलाई राजीनामा दिएर सरकार गठनको बाटो सहज पार्न आग्रह गर्दछौँ ।’ 

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा (शर्मा) प्रमुख सचेतक वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरी, पूर्वमन्त्री रामेश्वर चौधरी लगायतको सहभागिता थियो । केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

नयाँ गठबन्धन बनेपछि असार १ गते पेस भएको बजेटमाथिको छलफल हुन सकेको छैन । यसैबिच सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री सहितको सर्वदलीय बैठक बोलाएका थिए । तर सो बैठकको छलफल पनि अगाडि बढ्न नसकेको हो । अन्योलमा रहेको बजेटबारे छलफल गर्न बोलाइएको बैठकमा कांग्रेस र एमालेले अल्पमतको सरकारले तत्काल मार्ग प्रशस्त गर्न माग गरेपछि छलफलले सार्थक नपाउँदै टुङ्गिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप