बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
कथा

मनको उचाइ

शनिबार, २९ असार २०८१, १२ : ५१
शनिबार, २९ असार २०८१

‘हल्ला गर्छस् लङ्गडे ?’

चट्याङ सरहको स्वर एकाएक चड्क्यो । त्योे स्वर ज्ञानुका कानका जाली डाम्दै भुइँ, भित्ता र सिलिङमा थुरिएर शून्यमा अलप भयो । वचन बिरानो थिएन । तर त्यसको मार पहिलोपटक भन्दा कम घातक भएन । अस्तव्यस्त कक्षाकोठामा केटाकेटीको घुइँचो थियो । तैपनि तिरष्कारको तीर आफूतिरै ताकिएको हो भन्नेमा ज्ञानुलाई एकरत्ती शङ्का भएन । कक्षामा लङ्गडो उही मात्र थियो । सरका वचनसँगै सहपाठीका खिसिट्युरी भरिएका नजर ज्ञानुतिर एकोहोरिए । उसलाई यसो हेरूँ–हेरूँ लाग्यो । तर अपमानको पहरोले यति साह्रो ङ्याकेको थियो कि उसले मुन्टो उठाउनै सकेन । 

कोठा पलभर चकमन्न भयो । ज्ञानुका आहत कानमा उही वचनको गुञ्जन मडारिइरह्यो– लङ्गडे ! एक आज्ञाकारी चेलाले सरको वचन दोहोर्‍यायोे– लङ्गडे ! त्योे स्वर आनन्दी हाँसोमा घोलिएको थियो । कोठा फेरि साम्सुम्म भयो । अनि करकापको आदेशमा मौनधारण गर्न उभ्याइएका केटाकेटीका माझमा झैँ कक्षामा एउटा हाँसो उम्लेर पाखियो । 

कक्षा शान्त भयो । पञ्च नेताले भाषण छाँटेझैँ गरी परमानन्द सर पढाउन थाले । सरले ज्ञानगुनका कुरा फर्माइरहे । केटाकेटीहरूले कल्याङ–कुलुङ गरिरहे, तर ज्ञानु ! उसको घाइते अन्तरमा उही निठुरी वचनको प्रतिध्वनि गुञ्जिरहेको थियो– लङ्गडे ! लङ्गडे ! लङ्गडे !

कक्षामा परमानन्द सर अनौठो मुद्रामा उभिएका थिए । उनले घोप्टे हत्केलाले कक्षालाई शान्त हुन सान गरे । तर, कक्षा उल्टै उत्ताउलिएर हाँस्यो । ज्ञानुलाई लाग्यो, कोठाभरिका डसाहा आँखा उसको खोटो खुट्टोमा टाँसिएका छन् । उसको खुट्टो भारी भयो । उसले खुट्टो डेस्कमुनि लुकाउन खोज्यो । उसले उग्र ताडनामा परेको अनुहार डेस्कमा घोप्ट्यायो । अपमानको करौँतीले उसको हृदय रेटिरहेको थियो । 

कक्षा शान्त भयो । पञ्च नेताले भाषण छाँटेझैँ गरी परमानन्द सर पढाउन थाले । सरले ज्ञानगुनका कुरा फर्माइरहे । केटाकेटीहरूले कल्याङ–कुलुङ गरिरहे, तर ज्ञानु ! उसको घाइते अन्तरमा उही निठुरी वचनको प्रतिध्वनि गुञ्जिरहेको थियो– लङ्गडे ! लङ्गडे ! लङ्गडे ! उसको हतास मुन्टो लत्रेको लत्रेई थियो । अपमानको करौँतीले उसको हृदय रेटिइरहेकै थियो । उसको हद अभागी खुट्टो लाटो, एकदमै लाटो भएको थियो ।

परमानन्द सर स्वास्थ्य शिक्षा पढाइरहेका थिए । कुनैकुनै केटोकेटी खोटा अङ्ग लिएर जन्मिन्छन् । उनको भाषण यहाँनेर आइपुग्यो । उनले प्रश्न गरे— आखिर यस्तो किन हुन्छ ? अहो ! सरले मलाई नै पो सोध्ने हुन् कि ? केटाकेटी डराउँदै डल्लो परे । प्रश्नको झम्टाइबाट जोगिन शङ्खे किराले झैँ तिनले आफैँभित्र मुन्टा लुकाउन खोजे । कक्षामा त्रासमय सन्नाटा छायो । परमानन्दले एकजना विद्यार्थीलाई पक्राउ गरेर सोधे— ‘भन्, कसैको अङ्ग जन्मजात किन खोटो हुन्छ ?’ विद्यार्थी अकमकायो । सरले दोस्रो सिकारमाथि झम्टा मारे– ‘तँ भन्, किन हुन्छ ?’ जवाफ तैपनि आएन । कक्षा झनै आतङ्कित भयो, मानौँ परमानन्द सर भोको चितुवा हुन् । तिनले कुनै पनि बेला कसैमाथि झम्टा मार्न सक्छन् ।

‘तैँ भन् ए लङ्गडे !’ डेस्कमा अनुहार घोप्ट्याएर मौन बिलौना गरिरहेको ज्ञानुतिर सरको चोर औँलो उठ्यो– ‘ल भन्, कोही किन जन्मजात लङ्गडो हुन्छ ?’

‘किन रुन्छस् ?’ ज्ञानुनजिकै गएर परमानन्दले सम्झाए, ‘लाटा, जे छ त्योेभन्दा तँ किन मन दुखाउँछस् ? भो, नरो । ख्यालख्याललाई पनि तँ साँच्चासाँच्ची ठान्ने, मुला !’

ज्ञानु झस्क्यो । उसले सरलाई पुलुक्क हेर्‍यो । आँसुको छिपछिपे कुवामा उसका आँखा डुबेका थिए । उसका असहाय दृष्टिले मानौँ भनिरहेका थिए– मेरा खुट्टाले तपाईंको के बिगारेको छ, सर ? खुट्टो खोटो छ त दुःख मैले पाएको छु । यसले तपाईंको के बिगारेको छ ? के ? के ? उसको व्यथा, उसको आक्रोश, उसको मौन बिलौना पग्लेर आँसुको लहरमा बग्योे ।

कक्षाको पछिल्लो कुनोबाट उत्ताउलो हाँसोको पर्रा छुट्यो । त्योे हाँसो एकबाट अर्कोमा सल्क्योे; अर्कोबाट अर्कोमा, अनि अर्कोबाट झन् अर्कोमा । हाँसोको तलाउमा कक्षा डुब्यो । ज्ञानुले डेस्कको बिटमा छाती अड्यायो र अनुहार फेरि घोप्टो पार्‍यो । परम् अनुभवी परमानन्द सरले कक्षालाई शान्त तुल्याउन खोज्दा कक्षा झन् उत्ताउलिएर हाँस्यो । परमानन्द सरको निर्मम प्रश्न भद्दा हाँसोको लहरमा अलप भयो ।

‘किन रुन्छस् ?’ ज्ञानुनजिकै गएर परमानन्दले सम्झाए, ‘लाटा, जे छ त्योेभन्दा तँ किन मन दुखाउँछस् ? भो, नरो । ख्यालख्याललाई पनि तँ साँच्चासाँच्ची ठान्ने, मुला !’ सरको स्वरमा अहिले सहानुभूतिको रमरम भाव झल्क्यो । ज्ञानुको आहत चित्त झन्झन् चिरियो । अनि ऊ घुँक्क–घुँक्क रोयो ।

परमानन्द कक्षाबाट बाहिर गए ।

परमानन्द सरको पनि आफ्नै खालको कथा थियो । जेथो त उति धेरै थिएन, तैपनि उनी गाउँका मुखियाका छोरा थिए । जानीजानी कसैको मन दुखाउने उनको मनसुवा नहुँदो हो । तर परम्पराको दबाब, कुलधर्मको पाखण्ड र पढेलेखेको परिवेशले उनलाई जस्तो साँचोमा ढाल्यो, उनका मनको रूप र आकार एवं उनको मनोविज्ञान र संस्कार त्यस्तै बन्यो । उनका वचनको छुरीले ज्ञानुको चित्त सधैँ चिरिन्थ्यो । तर, उसको चित्त चिरिँदाको पीडाले उनको चित्तलाई लेस मात्र पनि चिर्न सक्दैनथ्यो ।

‘उठ् ज्ञानु !’ सहपाठी किरणले ज्ञानुको पाखुरो समातेर भन्यो, ‘आ... किन पीर मान्छस् ? त्यल्ले भन्यो त के नापियो ? नरो, नरो । त्योे दुष्ट त्यस्तै छ, ज्ञानु । नाउँ भने सर, बोलीको भने ठेगान छैन ।’ 

परमानन्द शाही ‘नयाँ शिक्षा’को सिङ–जुरो पलाएका बेलाका नामी सर थिए । सिकाइ मनोविज्ञानमा उनी पारङ्गत मानिन्थे, जसबापत उनी भत्ता खान्थे । सभा–सम्मेलनमा उनी विशेषज्ञको नाताले भाषण गर्दै भन्थे— गुरुले बालबालिकाको कलिलो मनोविज्ञान बुझेर शिक्षा दिनुपर्छ, प्रजातान्त्रिक पाराले, मुक्त वातावरणमा, आनन्ददायी तरिकाले । त्यस्ता तत्त्वज्ञानी परमानन्द ऊ बेला गाउँमा ‘नयाँ शिक्षा’को बग्गी तान्ने अस्सली बयल नै थिए ।

छुट्टीको घन्टी बज्यो । सिक्रीको बन्धनबाट फुक्का भएका उहिलेका दासदासीहरूझैँ केटाकेटीहरू डेस्क नाघ्दै, उफ्रिँदै, ठेलमठेल गर्दै उल्लासमय होहल्लासाथ बाहिर निस्के । तर ज्ञानु ! ज्ञानु मूक मूर्तिझैँ त्यहीँ घोप्टिरह्योे, झोँक्राइरह्यो । हिँड्नु पर्‍योे कि उसलाई खुट्टाको सम्झना भइहाल्थ्यो । खुट्टाको सम्झना भयो कि लङ्गडोपनाको कटु वास्तविकताले उसको हृदय चसक्क घोँच्थ्यो । अनि त्यसमाथि मनोविज्ञानविद् परमानन्द सरको निर्मम प्रहार ! 

‘उठ् ज्ञानु !’ सहपाठी किरणले ज्ञानुको पाखुरो समातेर भन्यो, ‘आ... किन पीर मान्छस् ? त्यल्ले भन्यो त के नापियो ? नरो, नरो । त्योे दुष्ट त्यस्तै छ, ज्ञानु । नाउँ भने सर, बोलीको भने ठेगान छैन ।’ 

ज्ञानु उठ्यो । किरणको कुममा अनुहार रखेर ऊ सुँक्कसुँक्क रोयो ।

‘किरण !’ घायल स्वरमा ज्ञानुले भन्यो, ‘मैले त्यसको के बिगार्‍या छु र त्योे घरीघरी मलाई रेटिरहन्छ ? किन किरण ? किन ? किन ? किन ?’

‘भो, बिर्सिदे त्यसका कुरा ।’ 

किरणले उसलाई तान्यो । विद्यालय सुनसान भइसकेको थियो । खुट्टो सार्दैपिच्छे ज्ञानुका कानमा उही हियाउने र मन्द गतिमा मार्ने वचन गुन्जिरह्यो– लङ्गडे ! लङ्गडे ! लङ्गडे ! 

०००

पहिले ज्ञानु कक्षामा अघिल्लो बेन्चीमा बस्थ्यो । अब ऊ सबैभन्दा पछाडि वा बिचमा लुक्न थाल्यो । परमानन्दका मनोविज्ञानविद् नजर हुनुसम्म तिखा थिए । बेन्चीमुनि लुक्दा पनि ज्ञानु सरका आँखाको लखेटाइबाट जोगिन सकेन । धर्मान्ध जीवले आफ्नो परम् प्रिय तोत्र जपेझैँ परमानन्दका जिब्राबाट उही वचन निस्किरहन्थ्यो– लङ्गडे ! उनी आदतको सिकार थिए, ज्ञानु उनको आदतको सिकार बन्न अभिशप्त भयो । गुरुको तोत्रमय वचनसँगै चेलाहरूको स्वरलहरी कक्षामा छताछुल्ल हुन्थ्यो । अनि अरु सबैजसो हाँस्थे, ज्ञानु रुन्थ्यो ।

ज्ञानुको खुट्टो त खोटो थियो नै, मनोविज्ञानविद् परमानन्द सरको ? कतै उनका दिमागको एउटा तार पो छिनेको हो कि ! ज्ञानुले मनमनै ठहर गर्‍योे– सरका दिमागको एउटा तार पक्का पनि छिनेको हुनुपर्छ । नत्र... नत्र... ज्ञानु कक्षामा देखा पर्न छाड्यो । र, सँगसँगै कक्षाको हाँसोको मुहान पनि सुक्यो । परमानन्द सरका आँखा सिकारको खोजीमा कक्षाका कुनाकानी चहार्न पुग्थे । अनि उनको तलतले मुखबाट उदास उद्गार प्रकट हुन्थ्योे– हँ ! आज पनि लङ्गडे आएन ?

०००

‘आमा !’ आमाको थकित काखमा व्यथित शिर राखेर ज्ञानुले मनको बह पोख्यो, ‘तिमीले मलाई, किन... ।’ उसको गलो निसासियो । आँसुको कुवामा डुबेका उसका आँखा आमाका आँसुकै कुवामा डुबेका आँखामा स्थिर भए । 

‘तिमीले... ।’ उसका ओठबाट अस्फुट स्वर निस्क्यो, ‘आमा ! तिमीले मलाई किन लङ्गडो... ?’ उसका आँखामा प्रश्नहरूको लहर उठ्यो– किन ? किन ? किन ?

आमाको छातीमा उसको मुन्टो यसरी दबियो मानौँ ऊ त्यहीँ बिलाउन चाहन्छ ।

‘छोरा !’ छोराको कपाल मुसार्दै आमाले सम्झाइन्, ‘मेरो बाबु ! कुन आमालाई खोटो सन्तान जन्माउने रहर हुँदो हो र मेरो राजा ? मैले सक्ने मात्र भए... ।’ उनको दिल यति साह्रो निसासियो, भन्न खोजेको कुरा उनले भन्नै सकिनन् ।’ मैले सक्ने मात्र भए म... म आफ्नै हातले आफ्नो खुट्टो काटेर तँलाई लाइदिन्थे, बाबु ! अनि तेरो साटो म... तैँले खप्नुपरेको सबै खिसिट्युरी म आफैँ खप्थेँ । तर...तर...’ आमाका आँसुका थोपा छोराको कपालमा तपतप खसे ।

‘पापीहरू जेसुकै भनून् मेरो ज्ञानु !’ सम्हालिँदै आमाले फकाइन्, ‘तैँले इस्कुल जान छोड्नु हुँदैन । तैँले भोलिदेखि नै जानुपर्छ । भन्, तँ जान्छस् हैन ?’

‘तैँले जानैपर्छ, बाबु ! तेरी अभागी आमाका आँसु हेरेर तैँले... तैँले जानैपर्छ । मेरो लागि, तेरो भोलिका लागि ।’

‘नाइँ, म त्याँ जान्नँ । म जान्नँ, जान्नँ, म त्याँ जाँदै जान्नँ ।’

‘मेरो जलेको छातीमा तँ किन अगुल्टो झोस्छस्, मेरा ज्ञानी छोरा ?’ 

‘परमानन्द सरले मलाई... आमा ! त्यल्ले मलाई हियाउँछ ।’ सुदूर डाँडाको धमिलो आकाशतिर शून्य दृष्टि बराल्दै ज्ञानुले औडाहा पोख्यो । ‘त्यल्ले मलाई होच्याउँछ र अरुलाई हँसाउँछ । म लुक्न खोज्छु आमा, मलाई खोजीखोजी त्यल्ले झम्टिन्छ । आज पनि, भोलि पनि, पर्सि पनि । बरु म... ।’ बाह्र वर्षको अबोध बालक त्यो उमेरमा एकदमै नचिताइने अनिष्ट चिताइरहेको थियो, ‘बरु म... बरु... ।’

‘तैँले जानैपर्छ, बाबु ! तेरी अभागी आमाका आँसु हेरेर तैँले... तैँले जानैपर्छ । मेरो लागि, तेरो भोलिका लागि ।’

‘त्याँ मलाई मार्छन्, आमा । त्याँ मलाई चिमोटेर मार्छन्, कुल्चेर मार्छन् ।’

‘छोरा ! तँ हलो जोतेर पेट पाल्न सक्दैनस् । तँ भारी बोकेर जिन्दगी गुजार्न सक्दैनस् । अलिकति पढिस् र यसो क्यै इलम पाइस् भने... ।’ 

‘आमा ! बरु जन्मिने बित्तिकै तिमीले मलाई... ।’ 

छोराका बचन आमाका नशामा शूल भएर दगुरे । त्यो रात सपनामा आमाले छोरालाई उसको जन्मको कथा सुनाइन् । ‘छोरा ! दोजिया छँदा तेरा बा रक्सी धोकेर मलाई भकुर्थे । सके मेरो त्यै चोटले गर्दा होला तँ खोटो जन्मिस् । अनिकालको साल थियो त्योे । सके तँ पेटमै भोकले छिनेर खोटो जन्मिस् । सके तेरो र मेरो पुर्पुरै खोटो होला । रगत छाद्ने व्यथाले तेरा बा खसे । अनि घरको सिङ्गो बोझ तेरी आमाको निम्छरो थाप्लोमा पर्‍यो । बाबु, खाई नखाई बनीबुतो गरेर मैले तँलाई इस्कुल पठाएँ । तँ चैनले हाँसेको हेर्ने मेरो कत्रो सपना थियो, छोरा ! तर आज... यतिका बात र घात बेहोर्नुपर्ने मैले के अपराध गरेकी छु, मेरा छोरा ? के ? के ? के ?

०००

ज्ञानुको बस्तीमा अपाङ्गहरूको छुट्टै इस्कुल खुल्यो । इस्कुलसँगको ज्ञानुको पुरानो डर ताजै थियो । उसले परमानन्द सरलाई झलझली सम्झ्यो । अनि उसको अन्तरमा उही निर्मम वचनको प्रतिध्वनि गुञ्जिन थाल्यो– लङ्गडे ! लङ्गडे ! लङ्गडे ! आमाले उसलाई इस्कुल जान गर्नु कर गरिन् । जान्नँ–जान्नँ भन्दाभन्दै एक दिन उसले भन्यो, ‘ल भैगो त, एक दिन गइहेर्छु ।’

यसरी ज्ञानु फेरि इस्कुल गयो । उसले त्यहाँ केही कुरा नौलोजस्तो, तैबिसेक सहजजस्तो देख्यो । खुसीको कुरा, मनोविज्ञानविद् परमानन्द सर त्यहाँ थिएनन् । त्यहाँ पढ्ने सबै चेलाचेलीहरू ऊजस्तै अपाङ्ग थिए– कोही कुनै अङ्ग, कोही कुनै अङ्ग खोटा भएका । सके अभागीहरूमाझ उभिँदा अभागीहरूलाई थोरैतिनो त्राणको अनुभव हुँदो हो । ज्ञानुलाई नभन्दै त्यस्तै भयो । उसले त्यहाँ विचित्रको चमत्कार देख्यो । त्यहाँ एकाध गुरुहरू पनि चेलाचेलीहरूझैँ अपाङ्ग थिए । त्योे रोमाञ्चक आविष्कारले ज्ञानुको आँट र आत्मसम्मानको भावनालाई एक बित्ता माथि उचालिदियो । ऊ नयाँ इस्कुलमा निकै रत्तियो । त्यहाँ उसले निर्जीव र निरस अक्षर गन्ने काम मात्र गरेन, सानातिना इलम सिक्ने काम पनि गर्‍यो । 

एक दिन ज्ञानु आफ्नोे गाउँदेखि एकाध घन्टाको बाटोमा पर्ने सानो सहर गएको थियो । ऊ सडकछेउको चिया पसलमा चियाको सुर्पो तान्न थाल्यो ।

ज्ञानुका धेरैजसो अपाङ्ग सहपाठीहरू एकअर्कालाई सहृदयी दृष्टिले हेर्थे । ती आपसमा सरसहयोग गर्थे, ती दुःख साटासाट गर्थे । ज्ञानुलाई लाग्यो, यो ठुलो संसारमा ऊ र ऊजस्ताको पनि एउटा सानो संसार त रहेछ बा । त्योे उसको जीवनको सानदार आविष्कार थियो । त्योे आविष्कार रोमाञ्चक त थियो नै, आनन्ददायी पनि थियो त्यो । तर त्यो सानो संसारबाट बाहिर निस्कनासाथ तिरष्कारपूर्ण आँखाहरू आफूमाथि झ्वाम्मै ओइरिएझैँ लाग्थ्यो उसलाई । अनि परमानन्दको छाया जगतैभरि फिँजिएको पो कि भन्ने आशङ्काले उसलाई सताउँथ्यो । जगत्को चाल बुझ्दै जाँदा मान्छे–मान्छे बिचको नातामा कतै केही कुरा नमिलेको उसलाई आभास भयो । तर कहाँ, के, कसरी नमिलेको हो उसको अबोध चित्तले कसरी पो ठहर गर्न सकोस् र ?

आठ–दश वर्ष बितेर गए ।

एक दिन ज्ञानु आफ्नोे गाउँदेखि एकाध घन्टाको बाटोमा पर्ने सानो सहर गएको थियो । ऊ सडकछेउको चिया पसलमा चियाको सुर्पो तान्न थाल्यो । ऊसँग उसकी जीवनसाथी पनि थिई, उसैगरी चियाको सुर्पो तानिरहेकी । ज्ञानुले चेत पायो, उसको छेउमा बसेको सज्जन घरीघरी घुरीघुरीकन उसलाई हेरिरहेछ । होइन, त्यसरी त्यसले किन हेरिरहेछ ? ज्ञानु चनाखो भयो । कौतुक भरिएका उसका आँखा त्यस सज्जनका राता कत्ला जमेका आँखासँग जुध्न पुगे । ज्ञानुको आङ सिरिङ्ग भयो । त्योे मानिसका आँखाबाट विषको धारोजस्तो केही सञ्चार भइरहेको हो कि ? को हो त्यो मानिस ?

‘अहो !’ कौतुकमय दृष्टिले ज्ञानुलाई हेर्दै त्यो सज्जनले मुख फोर्‍योे, ‘ज्ञानु ! तिमी त अर्कै मान्छे पो भएछौ । बाबु ! तिमी त फेरिएछौ ।’

‘म ?’ रमरम क्रोध र गर्व मिसिएको स्वरमा ज्ञानुले भन्यो, ‘म के अर्कै मान्छे हुनु र सर ? म उही हुँ र उस्तै छु । अनि तपाईंका आँखा पनि त उस्तै होलान् । आखिर के फेरिनु छ र ?’

‘हैन, हैन, तिमी फेरिएछौ, ‘हडबडाउँदै परमानन्द सरले भने, ‘तिमी ऊ बेलाको ज्ञानु होइनौ ।’ उनले ज्ञानुलाई तालुदेखि पाउसम्म मिहीन ढङ्गले जाँचे । ज्ञानुका गोडामा छालाका जुत्ता थिए– एउटा लाम्चो, अर्को डल्लो । अनि उसको छेउमा उसकी मायालु थिई, उसकै इस्कुलमा पढेकी, बढेकी र ऊसँग मायापिर्ती बसेकी ।

‘हैन, हैन, ‘ मलुवा व्यङ्ग्य मिसिएको स्वरमा ज्ञानुले दोहोर्‍यायोे, ‘मेरो खुट्टो उस्तै छ । खुट्टो हेर्ने सरका आँखा पनि त उस्तै होलान् ।’

परमानन्दको चाउरी परेको अनुहारमा पछुतोको पातलो छाया उत्र्यो ।

‘अचेल के इलममा छौ, ज्ञानु ?’ परमानन्द सरले सालीन स्वरमा सोधे ।

‘सिलाइ–बुनाइको इलम गर्छु, सर !’

‘राम्रो !’ स्वरमा मिठास भए पनि परमानन्दको अनुहार उदास देखियो ।’ धेरै राम्रो ! आफ्नै खुट्टामा उभिएछौ ।’ सरले नाक निमोठे, कानको टुप्पो कन्याए, कन्सिरी मुसारे । अनि लामो सास फेरेर भने, ‘आफ्नोे चेलो आफ्नै विवेक र आफ्नै खुट्टाको बलले उभिएको देख्न पाउँदा गुरुलाई कति खुसी लाग्छ । ज्ञानु, तिमीलाई के थाहा ?’

ज्ञानु मुसुमुसु हाँस्यो । उसले परमानन्द सरलाई गौड गरेर हेर्‍यो । पहिले उनका गाला पुष्ट थिए, अहिले ख्याउटे भइसकेछन् । कपाल तिलचामले भइसकेछ । आँखामा गाढा उदासी भरिएछ । सरको अनुहारको रूप नियाल्दै जाँदा ज्ञानुका कानमा अतीतमा उसमाथि घरीघरी बज्रिएको कटु वचन गुन्ज्यो– लङ्गडे ! लङ्गडे ! लङ्गडे ! 

‘लङ्गडे आफ््ना खुट्टामा कसरी उभिन सक्छ र सर ?’ 

‘कुरो किन लुकाउँछौ, बाबु ?’ यसो भन्दा परमानन्दको स्वर खस्किएको थियो । निधार मुजा पारेर सम्झिन खोज्दै उनले भने, ‘कहाँ हो कुन्नि बिर्सें, अस्ति मैले तिमीलाई जुलुसमा देखेझैँ लाग्छ । को भन्न सक्छ, तिमी फेरिएका होइनौ भनेर ?’

‘लङ्गडे के टेकेर जुलुसमा कुदोस् र सर ?’

‘हो, त्योे जुलुसमा तिमी थियौ । पक्का तिमी...’ परमानन्दका झुस पलाएका कान राता भए । 

‘हो र सर ? आफ्नोे मानवीय गरिमाको खोजीमा निस्केको त्यस अभागीलाई सरले फेरि पनि ‘ए लङ्गडे’ भनेर डाक्नु भो कि ?’

परमानन्द सर लज्जित भए ।

ज्ञानुले परमानन्द सरको पनि चियाको पैसा तिर्‍यो । बाटो लाग्ने बेलामा उसले सरलाई आदरपूर्वक नमस्कार गर्‍यो । ज्ञानुको त्योे सज्जनता र सालीनता देखेर परमानन्द सर प्रसन्न भए । उनको ख्याउटे अनुहारमा विषादजस्तो, गर्वजस्तो मिश्रित भावना तैरियो । उनलाई नमस्कारको प्रत्युत्तर दिने हेक्कासम्म रहेन ।

ज्ञानु गयो । ऊसँगै नारिएर उसकी जोडी पनि गई । 

परमानन्द सरले एक टकले ती गएको दृश्य हेरे । उनको मनमा एउटा भावतरङ्ग खेल्यो– ज्ञाने बजिया नभन्दै अर्कै भएछ । चार अक्षर पढेछ, सीप सिकेछ, इलम सुरु गरेछ, ठिटी पट्याएछ । बजियाकी स्वास्नी पनि ख्याल राम्री होइन ! परमानन्द हेर्दै छन्, ज्ञानु ठम्ठम् आफ्नोे बाटो जाँदै छ । हेर्दाहेर्दै उनलाई लाग्यो– अहो ! लङ्गडे ज्ञानेले अचम्मसँग चोला फेरेछ । अचम्मसँग ! परमानन्द सरले आँखा चिम्ले । उनको कल्पनामा ज्ञानु अग्लो, झन् अग्लो हुँदै गयो र उनी आफूचाहिँ पुड्को, झन् पुड्को हुँदै गए ।

आँखा उघारेर लामो सास फेर्दा परमानन्द सरका आँखाबाट ज्ञानु ओझेल परिसकेको थियो ।

(२०४१) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप