‘काला कर्तुत बाहिर आउन थालेपछि नाङ्गिने डरले कांग्रेस–एमाले एक ठाउँमा’
सुर्खेत । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले प्रचण्ड नेतृत्वको सरकारले हिजोका काला कर्तुतमाथि निर्मम भएर अग्रसर हुँदा अत्तालिएर कांग्रेस–एमाले एक ठाउँमा आएको बताएका छन् । हिजो आफूहरूले गरेका काला कर्तुतको ढाकछोपका लागि नै उनीहरू मिलेको शाहीको भनाइ छ ।
शनिवार सुर्खेत विमानस्थलमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै शाहीले अहिलेको गठबन्धन बन्नुमा नेपालको भू–राजनीति पहिलो कारण रहेको बताए । ‘यो देश भूगोल रणनीतिक महत्वको छ । जसका कारण अन्तर्राष्ट्रिय शक्तिहरुले आफ्नो प्रभुत्व नेपालमा जमाउन चाहन्छन्,’ शाहीले भने, ‘त्यसका लागि आफ्नो असल पात्र वा दलाल चाहिएको छ र उनीहरुले बनाउँछन् । हरेक चुनावमा पनि बाह्य शक्तिले चलखेल गर्छ ।’
चलखेल गर्न सजिलो होस् भनेर नै नेपालमा स्पष्ट बहुमत कुनै पनि राजनीतिक दलको आउन नदिन बाह्य शक्तिले प्रभाव जमाउने गरेको शाहीको भनाइ छ । शाहीले अगाडि भने– ‘अहिले कांग्रेस–एमालेले अस्थिरता भएकाले स्थिरताका लागि हामी ठुला दलहरू मिलेका हौँ भनिरहेका छन् । स्थिरता त हिजो राजा, राणा, पञ्चायतकालमा पनि थियो । समग्र विकास, आर्थिक समृद्धि र सामाजिक न्यायको कुरामा देश कमजोर रह्यो । सीमित मान्छेहरू राज्यसत्ताको घेरामा थिए । सबैको नियत भनेको देश बनाउने नभई आफ्नो मुनाफातिर केन्द्रित रहे ।’
देशमा भएको सम्पूर्ण स्रोत उनीहरुले नै लुटेर नै खाएको र उद्योग धन्दाहरू पनि यिनीहरूले नै बेचेको आरोप शाहीले लगाए । यिनीहरू नयाँ अनुहार नभएको र यिनीहरूले हिजो यो देशमा के–के गरे भन्ने कुरा आम नागरिकलाई थाह भएको शाहीले बताए ।
‘यिनीहरू भनेका देश लुट्ने र लुटाउनेहरू नै हुन्,’ शाहीले भने, ‘कांग्रेस–एमाले मिल्यौँ भने त एकतन्त्रीय शासन गर्न सक्छौँ भन्ने यिनीहरूको लक्ष्य हो । नयाँ आएका शक्तिहरूले विगतमा उनीहरुले गरेका कमजोरीहरू उधिन्न थालेपछि अत्तालिएका हुन् ।’
कांग्रेस–एमालेले विगतमा गरेका कालो धन्दा, भ्रष्टाचार र अनियमितताका काण्डहरू खोलिन थालेपछि आफूहरू जनताको अगाडि नाङ्गिने डरले एक ठाउँमा आएको शाहीले बताए । ‘अस्थिरता उनीहरुले बाहिर देखाउने एजेन्डा हो, उनीहरूको मेन कुरा हिजो आफूहरूले गरेको कालो धन्दाको ढाकछोप गर्नका लागि मिलेका हुन्,’ उनले भने, ‘ढाकछोप गर्न सत्तामा जाने बाहेक अर्को विकल्प नभए पनि उनीहरुले यसो गरेका हुन् ।’
भुटानी शरणार्थी काण्डदेखि बेचन झा पक्राउ परिसकेपछि कांग्रेस–एमाले अत्तालिएको उनले बताए । ‘यदि पवित्र गठबन्धन थियो भने, वानेश्वर, सिंहदरबार वा कुनै पार्टी कार्यालयमा बसेर सम्झौताको छलफल गरेको हुन्थे नि,’ उनले भने, ‘उनीहरूको सम्झौता एक व्यापारीको घरमा भयो, यहिबाट प्रस्ट हुन्छ कि कांग्रेस–एमालेलाई मिलाउने को हो ?’ अहिलेको गठबन्धन अस्थिरताको अन्त्य हैन कि देशलाई फेरि निरङ्कुशतातर्फ लाद्ने नियतका साथ बनेको शाहीको आरोप छ ।
शाहीले केपी ओली गणतन्त्र र सङ्घीयता विरोधी भएको आरोप लगाए । ‘म मुख्यमन्त्री भएका बेला एक कार्यक्रममा ओलीले प्रदेश कहाँ सरकार हुन, यी एउटा प्रशासनिक निकाय हुन भनेर भने,’ शाहीले भने, ‘उनले सङ्घीयता स्वीकार नै गरेको अवस्था छैन । त्यसैले उनीहरुले गरेको सहमति भनेको प्रतिगमन फर्काउने र ०४७ फर्काउने छन् ।’
उनीहरू त्यही बाटोमा हिँडेपछि हिजो राजालाई नागार्जुनको जङ्गलमा पठाएजस्तै कांग्रेस–एमालेहरू पनि त्यही स्थितिमा पुग्ने छन् । सोही कुरालाई मध्यनजर गर्दै जनतालाई बुझाउने उद्देश्यसहित माओवादी जनतामाझ फर्कने शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
धरौटी बुझाएर रिहा भए रवि लामिछाने
-
भूकम्पीय जोखिम न्यूनीकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
-
नागरिक उन्मुक्तिका सांसद चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो
-
कार्यदलको बैठकमा जसपा नेपाल र नागरिक उन्मुक्ति किन ‘एब्सेन्ट’ ?
-
मन्धाना र प्रतिकाको रेकर्ड ब्याटिङ, भारतको कीर्तिमानी जित
-
सङ्खुवासभामा आगलागीबाट पाँच घर जले