शैलुङमा अवरुद्ध विद्युत् सेवा एक हप्ता पछि सञ्चालन
रामेछाप । रमणीय पर्यटकीय स्थल शैलुङमा अवरुद्ध भएको विद्युत् सेवा एक हप्ता पछि सञ्चालनमा आएको छ ।
असार २१ गते परेको भीषण वर्षाले रुख र विद्युतकाे पोल ढलेर अवरुद्ध भएको विद्युत् सेवा स्थानीय समेतको प्रयासमा रुख पन्छाउने, पोल गाड्ने तथा तार तान्ने कार्यपछि शुक्रबारबाट सुचारु भएको छ । दोरम्बा विद्युत् स्वस्टेसनले समयमा काम नगर्दा एक हप्तासम्म स्थानीय अन्धकारमा थिए ।
विद्युत् सेवा अवरुद्ध हुँदा १ सय २० घर बढी उपभोक्ता तथा शैलुङ पुग्ने पर्यटकले समेत समस्या भोगेका थिए । विद्युत् सेवा सुचारु भएपनि शैलुङ जाने सडकको अवस्था अहिले पनि उस्तै छ । सोही वर्षाको कारण बिग्रिएको सडक मर्मत हुन सकेको छैन । सडक मर्मत नहुँदा सदरमुकाम मन्थली तथा काठमाडौँबाट शैलुङको आवागमन बन्द भएको छ ।
सडक अवरुद्ध हुँदा बिरामीलाई उपचार गर्न लैजान समेत समस्या भएको स्थानीय दावा साङ्बु शेर्पाले जानकारी दिए । यसको साथै शैलुङको कृषि उपज पनि स्थानीयले बजार पुर्याउन पाएका छैनन् ।
यसै वर्ष स्तरोन्नति गरिएको सडक बाढी पहिरोको कारण ठाउँ ठाउँमा भत्किएको छ भने ठाउँ ठाउँमा रुख ढलेर सडक अवरुद्ध भएको छ । सडक मर्मतको काम सुरु भएको छैन ।
शैलुङमात्रै होइन दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्र टोकरपुर जाने सडक समेत वर्षाको कारण जोखिमपूर्ण बनेको छ । दोरम्बाको अग्लेश्वरीदेखि टोकरपुर पुग्ने सडक यातायात साधन चल्नन सक्ने अवस्थामा पुगेको छ ।
सो सडक मर्मतको लागि स्थानीय दोरम्बा शैलुङ गाउँपालिकाले ६५ लाख बढी खर्च गरिसकेको छ । सडकमा ग्राभेल बिछ्याइएको भएपनि गुणस्तरीय काम नहुँदा अहिले सडक रोपाइँको लागि ठिक्क पारेको खेत जस्तै भएको स्थानीयको गुनासो छ ।
सडकको दुरावस्थाको कारण दोरम्बा, टोकरपुर, गौश्वारा, डडुवा लगायतका क्षेत्रबाट काठमाडौँ र सदरमुकाम मन्थली आऊ–जाऊ गर्न समेत समस्या भएको छ । यसकै सबैभन्दा ठुलो मारमा बिरामी तथा असक्त परेका छन् ।
सडक सहज नहुँदा गाउँपालिकाको केन्द्र टोकरपुरमा रहेको बैङ्कमा नगद अभाव भएको छ । सदरमुकामबाट बैङ्कसम्म पैसा लैजान सहज सडक नहुँदा रकम भुक्तानीमा समस्या भएको बैङ्कका कर्मचारीले बताएका छन् ।
अहिले सामाजिक सुरक्षा भत्ता वितरणको काम भइरहेको कारण बैङ्कलाई नगद भुक्तानीको चप छ । तर बैङ्कमा पर्याप्त नगद नहुँदा भुक्तानी दिन सकेको छैन । बैङ्कले भुक्तानी दिन नसक्दा सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाने कतिपय ज्येष्ठ नागरिक तथा अशक्त त्यतिकै फर्कने गरेका छन् ।