भानुभक्तले लेखेकै हुन् - ‘वेश्या हुन्या हाँस्तछन्’
हाँस्नु छैन कदापि नारीहरूले वेश्या हुन्या हाँस्तछन्
वेश्या लौ नहउन् तथापि घरको काम ती सबै नास्त छन् ।।
माथिका दुई हरफ सिलोक आदिकवि भानुभक्त आचार्यले १९१९ सालमा रचेको ‘वधूशिक्षा’मा प्रस्तावनाका तीन श्लोकपछिका १९औँ श्लोकमा सुरुका दुई चरणमा लेखेका हुन् । यसरी भानुभक्तले ‘वेश्या’ भनेर लेखेको सो श्लोक मोतीराम भट्ट, भानुभक्तकी नातिनी विष्णुमाया, नरनाथ आचार्य, शिवराज आचार्य, पनाति मुक्तिनाथ आचार्य, बाबुराम आचार्यलगायत हृदयचन्द्रसिंह प्रधानदेखि राजनारायण प्रधानसम्मले डोर्याउँदै आएका थिए ।
नेपाल सरकारको राष्ट्रिय अभिलेखालयमा सङ्ग्रहित ‘वधूशिक्षा’मा पनि ‘वेश्या’ नै लेखिएको कृति रहेको छ । तर भानुभक्तले नारीलाई ‘वेश्या’ भनेका थिएनन् ‘वैश्या’ भनेका थिए भन्ने आशयको ‘वैश्या’ शब्द राखिएको श्लोक परेको ‘वधूशिक्षा’ पनि प्रकाशनमा ल्याइएको छ । त्यति मात्र होइन, भानु प्रतिष्ठानले ‘भानुभक्त आचार्यको द्विशतवार्षिकी’लाई अवसर बनाएर २०७१ सालमा प्रकाशित भानुभक्तको कृति ‘वधूशिक्षा’ पनि भानुभक्तको मौलिक लेखन भनेर ‘वेश्या’लाई ‘वैश्या’ लेखेर प्रकाशित गरिएको छ । यस बेहोराले भानुभक्तका उक्त ‘वधूशिक्षा’का विषयमा अन्योल पार्ने प्रयास गरिएको छ ।
भानुजन्मस्थल विकास समितिबाट प्रकाशित ‘आदिकवि भानुभक्त : जीवनी र कविताको सम्परीक्षण’ (२०५८) मा व्रतराज आचार्यले भानुभक्तका वधूशिक्षाको खास ३५ श्लोकको पाठ प्रस्तुत गरी त्यसका २१औँ श्लोकमा पहिलो र दोस्रो हरफमा ‘वैश्या’ शब्दहरूको प्रयोग गरेको पाइयो । यसै किताबमा टिप्पणीहरू भन्ने भागमा छुट्टै टिप्पणी पनि छ । त्यस किताबका परिशिष्ट १ अन्तर्गत फोटोकपी (छायाचित्र) दिने सिलसिलामा व्रतराज आचार्यले यस्तो जिकिर समेत गरेका छन्— ‘भानुभक्तले वि.सं. १९१९ मा मित्र तारापतिका घरमा बास बस्दा रचना गरेको वधूशिक्षाको एउटा लेखोट भानु पुस्तकालय, चुँदी–रम्घामा सुरक्षित रहेको पाइन्छ । भानुभक्तका ठाहिँला बाबु गङ्गादत्तका सन्ततिहरूको घरबाट प्राप्त भएको चौडाइतर्फ ७ इन्च र लम्बाइतर्फत ५४ इन्च लामो सादा नेपाली कागजमा लेखिएको उक्त लेखोट परीक्षणबाट भानुभक्तकै हस्ताक्षर प्रमाणित भएको छ ।’
नचिनेको मान्छे बास बस्न आउनेबित्तिकै कुनै नारीले घरमा बास दिइनन् भने बास बस्न नपाउने पीडित कविले ‘उनी नरक जान लागेकी थिइन्’ भन्न नमिल्ने नै हो । वास्तवमा भानुभक्तले गजाधरकी पत्नीलाई अनाहकै सरापेका थिए कि आफ्नो त्यस रातको आपत् बखानेका थिए ?
यतिका वर्षपछि आएर भानुभक्तको यस मौलिक रचनालाई झन् विवादमा पार्ने उपर्युक्त पाठभेद दिई यसरी बटार्ने काम किन गरियो भन्ने प्राज्ञजगत्ले टिप्पणी गर्ने ठाउँ रहेको छ ।
मोतीराम भट्टका पालादेखि आजसम्म एक शताब्दी भई २५ वर्ष बढीसम्म छापिँदै आएको ‘वधूशिक्षा’को उक्त प्रासङ्गको ‘वेश्या’ शब्द ‘वैश्या’ हुँदै ‘वैश्यै’ र ‘वैश्या’ भई छापिएको देखियो । ‘वेश्या’ र ‘वैश्या’; ‘वैश्यै’ भन्नुमा कति अन्तर छ ? भानुभक्तका रचना सुनेर कण्ठ पार्ने सार्ने पनि चलन हुँदा पाठभेद त अरू किताबमा पनि छ । तर ‘वेश्या’, ‘वैश्या’ अनि ‘वैश्यै’मा त धेरै अन्तर पर्यो । यस्तो पाठ कसबाट ‘वधूशिक्षा’ लेखोट सार्दा गल्ती भयो ? भानुभक्तले आफ्नै हस्ताक्षरले यस्तो गम्भीर पाठभेद गरे त ? यसको वस्तुनिष्ठ गम्भीर निर्क्योल नेपाली प्राज्ञिक जगत्ले गर्नुपर्दैन त ? के भानुभक्तका रचनालाई अझैअझै पनि पाठभेद गरेर नै प्रस्तुत गर्नु न्यायोचित ठहर्ला ? यी हचुवाका भरमा प्रस्तुत गरिएका विवरणले भानुभक्तीय रचनामाथि ठुलै अन्याय गरिएको छ । जब भानुभक्तले लेखेकै छन्—
वेश्या लौ नहउन् तथापि घरको काम ती सबै नास्त छन् ।
नेपाली बृहत् शब्दकोशका अनुसार ‘परपुरुषलाई अभिचारको निमन्त्रणा दिने नारीलाई नै वेश्या भनिन्छ ।’ त्यस बेला घरभान्साको काम नारी जातिले मात्र गर्थे । तर यतिका वर्षपछि आएर ‘वेश्या’लाई ‘वैश्या’ र ‘वैश्यै’ भनेर कसरी, किन र कुन अर्थमा प्रस्तुत गरिएको हो ? यस लेखोटलाई भानुभक्तकै हस्ताक्षरमा भावसंशोधन हुने गरी बदलेर किन बिब्ल्याँटो पारिएको हो ? ‘वधूशिक्षा’मा मात्र पाठभेद गरिएको छैन; भानु प्रतिष्ठानद्वारा ‘भानुभक्तको रामायण’ भन्ने पुस्तक (२०७१) मा भानुभक्तका अन्य श्लोक पनि परम्परागत चलिआएका भन्दा भिन्न पाठ (पाठभेद) प्रकाशन गरिएको पाइन्छ ।
त्यस बेलाको नेपाली पुरुष समाजले नारीलाई पाउको धुलोसमान ठान्थ्यो । तत्कालीन परिस्थिति पनि त्यस्तै थियो । त्यस बेला समाजमा पत्नीहरू अर्धाङ्गिनीका रूपमा नभएर दासीका रूपमा पनि स्विकारिन्थे र पुरुषहरूले आफ्नो पुरुषत्व नारी शोषणमा पनि लगाएका थिए । भानुभक्तले कविताका लेखनका माध्यमबाट ‘वधूशिक्षा’मा पुरुष सत्ताप्रधान तत्कालीन नेपाली समाजको चित्रण गरेका थिए; त्यसैले उनले नारीले हाँस्नु हुँदैन भनेर कविता लेखेका हुन् ।
कान्तिपुरका चपलाहरूको गाथा गाउने उदार भानुभक्तले हाँस्ने नारीहरू वेश्या हुन्छन् या वेश्या नभए पनि तिनले घरको काम सबै नास्तछन् भनी लेखे । वास्तवमा त्यस बेलाको परिस्थितिमा नारीमा उत्ताउलोपन हुनुहुँदैन भनी नैतिक शिक्षा दिने अभिप्रायले उनले सामाजिक रूपरेखाको प्रतिविम्ब कवितामा सिर्जना गरेका थिए । ‘वधूशिक्षा’उपर भानुभक्त विषयक प्रथम विद्यावारिधि कविता लामा लेख्छिन्— ‘यसले (वधूशिक्षाले) रूढिवादी, अन्धविश्वासी समाजको पक्षलाई पनि छर्लङ्ग देखाएको छ ।’
समाजमा राम्रा र नराम्रा नारी–पुरुष हुन्छन् । तर नराम्रालाई नामै लिएर लेख्न पाइँदैन भन्ने कुरा आजको मूल्य–मान्यता हो ।
झोँक्किएका रिसाएका बेला भानुभक्तले लेखेका स–साना फुटकर कविताहरूमा पनि तत्कालीन समाजप्रति व्यङ्ग्य प्रस्फुटन हुन्थ्यो । एकपटक भानुभक्तले आफ्ना मित्र गजाधर सोतीका घरमा राति बास बस्न नपाएको झोँकमा कविता लेखेका थिए । त्यस बेलाको समाजमा पुरुषवर्ग नारीप्रति क्षमाशीलभन्दा बढी कठोर थियो भन्ने तथ्य भानुभक्तले लेखेको यस प्रसङ्गका कविताले पनि व्यक्त गर्छ । एकातिर ‘अतिथिदेवो भवः’को आदर्श र अर्कातिर बास पाउँला कि भनी आशा गरेको घरमा साँझमा बास बस्न नपाउँदा सिर्जित कठिनाइका चापमा परेका भानुभक्तले रिसाएरै यो कविता लेखे । तर पनि नचिनेको मान्छे बास बस्न आउनेबित्तिकै कुनै नारीले घरमा बास दिइनन् भने बास बस्न नपाउने पीडित कविले ‘उनी नरक जान लागेकी थिइन्’ भन्न नमिल्ने नै हो । वास्तवमा भानुभक्तले गजाधरकी पत्नीलाई अनाहकै सरापेका थिए कि आफ्नो त्यस रातको आपत् बखानेका थिए ?
समाजमा राम्रा र नराम्रा नारी–पुरुष हुन्छन् । तर नराम्रालाई नामै लिएर लेख्न पाइँदैन भन्ने कुरा आजको मूल्य–मान्यता हो । त्यतिखेर साँझपख घरमा आएका अतिथिलाई बास दिनुपर्छ भन्ने गृहस्थीको आदर्श प्रबल थियो । भानुभक्तले त्यही नैतिकता र आदर्श पनि लेखेका हुन् । तर व्यक्तिको नाम लिएर गजाधरकी घरबूढी लेखेकाले अहिले आएर उनको रचना आक्षेपात्मक हुन गयो । यति हुँदाहुँदै पनि भानुभक्तको झोँकीपनाले रोचक व्यङ्ग्यको कविता पनि बनायो :
गजाधर्सोतीका घर बुढि अलच्छिन्कि रहिछन्
नरक् जानालाई सबसित बिदाबारि भइछन्
पुग्यौं साँझ्मा तिन्का घर पिढिमहाँ बास गरियो
निकालिन् साँझैमा अलिक पर गुजरान गरियो ।
भानुभक्त १९१९ सालमा काठमाडौँबाट तनहुँको चुँदी रम्घा जाँदै थिए । मोतीराम भट्टले भानुभक्तको जीवनचरित्रमा बताएअनुसार उनका मित्र तारापति उपाध्याय ब्राह्मणसित बाटामा भेट हुँदा ‘आज मेरा घरमा बास बस्नुहोस्’ भनी भन्दा साथीको आग्रहले भानुभक्त तारापतिका घरमा बास बसे । तारापति पनि धनी, सज्जन र विद्वान् थिए । साथै उनले भानुभक्तलाई निकै रुचाउँथे पनि ।
भानुभक्तले सो पुर्जीका तीन श्लोकबाहेक ३३ श्लोकमा ‘वधूशिक्षा’ लेखे । यो लेख्ने अन्तर्निहित प्रेरणा उनलाई आफ्नी पत्नी चन्द्रकलादेवी, गजाधर सोतीकी पत्नी र तारापति उपाध्यायका पत्नी तथा बुहारीले दिएका थिए ।
भानुभक्त आफ्ना साथी तारापति उपाध्यायको घर बसेको रात त्यहाँ उनले अत्यन्तै दयालाग्दो र भयङ्कर क्रान्तिको स्थिति देखे । त्यो दृश्यले उनी साह्रै दुखित बने । अनि त्यस बेलाको त्यो दुःखद् घटना पनि उनले लेखे । कुरा के भने— ‘भानुभक्त तारापतिको घरमा बास बसेको रात सासुबुहारीको बाझाबाझमै बितेको थियो । रातभरिको जाग्रामपछि बिहानपख भानुभक्तले ‘वधूशिक्षा’ लेख्न आरम्भ गरेका थिए र बिहानै लेखिसके पनि । मोतीराम भट्टको भनाइअनुसार सो ‘भोलिपल्ट भात खाई बाटा लाग्ने बेलामा निज तारापतिसित बिदाबारी भई कवि भानुभक्ताचार्य जान लाग्दा यो ‘वधूशिक्षा’ नामको ग्रन्थ दिए । पछिबाट तारापतिलाई उपदेशका तीन श्लोकको एक पुर्जी दीकन बाटा लागे ।’ त्यस बखत भानुभक्तले लेखेको तीन श्लोक :
एक् थोक् भन्छु नमान्नु दुःख मनमा हे मित्र तारापति
तिम्रा ई जति छन् जहानहरू ता जुझ्न्या रह्याछन् अती ।।
सून्याँ दन्तबझान आज घरको कर्कर् गर्याको उसै
भर्रात् जाग्रम झैं भयो मकन ता लागेन आँखा कसै ।।१।।
धन् इज्जत् घरबार देख्छु बढिया छैनन् कुनै चिज् कमी
बूहारी यदि कर्कशा हुन गया क्या घर् गरौंला तिमी ।।
साह्रै झोक उठ्यो मलाइ र वधूशिक्षा बनाञाँ पनी
यस्ले पत्नि, बुहारि, छोरिहरूको तालिम् गरौला भनी ।।२।।
हुन त म अतिथी हूँ यस् बिनू क्या छ खांचो ।
तर पनि त म भन्छु मित्र ह्वौ जानि सांचो ।।
घर चतुरइँ गर्छन् बुद्धिमान्ले अगाडी ।
बखत चुकि दिंदामा हुंछ काहां पछाडी ।।३।।
भानुभक्तले सो पुर्जीका तीन श्लोकबाहेक ३३ श्लोकमा ‘वधूशिक्षा’ लेखे । यो लेख्ने अन्तर्निहित प्रेरणा उनलाई आफ्नी पत्नी चन्द्रकलादेवी, गजाधर सोतीकी पत्नी र तारापति उपाध्यायका पत्नी तथा बुहारीले दिएका थिए । ‘वधूशिक्षा’ उनको मौलिक काव्य हो र यसलाई उनले त्यस बेलाका परम्परागत मान्यताका घरगृहस्थीका नारीहरूका सफलताका लागि नीतिकाव्यका रूपमा प्रस्तुत गरे । ३३ श्लोकको उनको मूल कृतिले तत्कालीन नेपाली समाजमा ख्याति पनि पायो । यो कृति अहिलेसम्म चर्चाको घेरामा रहेको छ ।
भानुभक्तले ‘वधूशिक्षा’मा उपदेश दिएरै कविता लेखे । नारीहरूलाई सती पठाउने समाजमा भानुभक्तले नारीहरू अनुशासित र आदर्श हुनुपर्छ भनेर लेख्नु कुन आपत्तिजनक कुरा थियो र ! वास्तवमा अहिलेको समयमा पनि थुप्रै ठाउँमा नेपाली परम्परा र संस्कृतिमा भानुभक्तीय ‘वधूशिक्षा’ नै गाँसिएको भेटिन्छ :
प्रातःकाल महाँ उठेर पहिले ध्यान् ईश्वरैको गरुन् ।
सो ईश्वर् पति हुन् भनेर पछि त्यो भक्ती पतिमा धरुन् ।।
भक्तीले पति ईश्वरै भनि बुझून् पाऊ–तलैमा परुन् ।
पूजा हो पतिको भनेर घरका काम्मा अगाडी सरुन् ।।
भानुभक्तले नारी जातिलाई तत्कालीन परिवेशमा सामान्यतः घरको सँघार काटेर पाखा जानुहुँदैन भन्ने मान्यता राखी ‘वधूशिक्षा’ लेखे । ‘वधूशिक्षा’को लेखोट, पाठ र छपाइमा ‘वेश्या’ शब्दका सट्टा ‘वैश्या’ र ‘वैश्यै’ भनी सच्याइयो । वैश्य जातिकी स्त्री वैश्या हुन्नन् । यहाँ भानुभक्तलाई नारीविरोधी चेतनाबाट जोगाउने अभिप्राय होला सायद ! यसबाट त भानुभक्त वैश्य जातिका विरोधी थिए कि भन्ने प्रश्न उठ्ने ठाउँ देखियो । ‘वेश्या’ र ‘वैश्य’को यस प्रसङ्गमा भानुभक्तकी नातिनी विष्णुमाया (रमानाथकी छोरी)ले ‘भानुभक्त मणिमाला’ (१९९८) कृतिमा भानुभक्तद्वारा ‘वेश्या’ नै लेखेको पाठ प्रस्तुत गरेकी नै छिन् ।