बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

किनारमा राखिएका निर्माण सामग्रीले असुरक्षित बन्दै सडक

शनिबार, २९ असार २०८१, १० : ५५
शनिबार, २९ असार २०८१

मकवानपुर । किनारमा असरल्ल छाडिएका निर्माण सामग्रीले सडकलाई असुरक्षित बनाइरहेको छ । निर्माण कार्यका लागि थुपारिएका सामग्रीहरूको व्यवस्थापन सही ढङ्गबाट नहुँदा सडक यात्रा जोखिम पूर्ण बन्दै गएको छ ।

सार्वजनिक, निजी निर्माणका लागि सडक छेउमा निर्माण सामग्री राख्दा सवारी आवागमनमा समस्या हुनुको साथै दुर्घटनाको जोखिम समेत बढेको छ । हेटौँडा बजार क्षेत्रमा साँघुरा सडक र राजमार्गका किनारमा निर्माण सामग्री राख्दा दुर्घटना जोखिम निम्तिने गरेको हो । सडकलाई सुरक्षित बनाउन न राज्यका निकायले ध्यान दिएको छ न नै निर्माण कम्पनीले चासो दिने गरेको छ ।

राज्यका निकायहरूको उदासीनता र निर्माण कम्पनीको लापरबाहीका कारण सडक यात्रा जोखिम पूर्ण बनिरहेको छ । सडक पेटी, नाला तथा अन्य निर्माण कार्य गर्दा ठेकेदारले जथाभाबी निर्माण सामग्री सडक किनारमा राख्दा दुर्घटना बढेको हेटौँडा ६ की लक्ष्मी श्रेष्ठले बताइन् । सडकमा असरल्ल रूपमा गिट्टी बालुवा, ढंगा राख्दा सडकमा आवतजावत गर्न कठिन भइरहेको र साँघुरा सडकमा स्कुल बस, दैनिक उपभोग्य सामग्री ल्याउन समस्या हुने गरेको उनको भनाई छ ।

विषेशगरी दुई पाङ्ग्रे सवारीसाधन निर्माण सामग्रीमा चिप्लेर लड्ने गरेको हेटौँडा ६ का रोशन सापकोटाले बताए । सार्वजनिक तथा निजी निर्माण कार्यका लागि ल्याइने सामग्रीहरू व्यवस्थापनमा सरोकारवाला निकायले बेवास्ता गर्दा समस्या भएको उनले बताए ।

शुक्रबार मात्र सडक छेउमा थुपारिएको निर्माण सामग्रीमा मोटरसाइकल चिप्लिँदा २ जना गम्भीर घाइते भएका छन् । शुक्रबार राती ९ः३० बजेको समयमा सडक छेउमा थुपारिएको निर्माण सामग्रीमा चिप्लिएर हेटौँडाबाट हर्नामाडी जाँदै गरेका २ वटा मोटरसाइकल मदन भण्डारी राजमार्ग (धरान चतारा सडक खण्ड) अन्तर्गतको हेटौँडा–६ पुतलीबजार भुलभुले भन्ने स्थानमा दुर्घटनामा परेका थिए ।

sadak 1

दुर्घटनामा २ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडकको ढलको ढकन बनाउनका लागि सडक किनारमा राखेको ग्राभेल र बालुवामा चिप्लिएर बागमती प्रदेश ०३–००३ प ७१२६ नम्बरको मोटरसाइकल चालक हेटौँडा–१८ का सुमन दुलाल र सोही स्थानका बागमती प्रदेश ०३–००५ प ६३०९ नम्बरका चालक विनायक दुलाल घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । हेटौँडा अस्पतालमा उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार निर्माण सामग्रीको व्यवस्थापन सडक क्षेत्रको निर्माण कार्य गराउने र गर्ने व्यवसायीको पहिलो दायित्व हुने हो । दुवै पक्षले उचित व्यवस्थापन गर्न नसक्दा दुर्घटना भएको र त्यस विषयमा सरोकारवाला निकायको रूपमा प्रहरी प्रशासनको ध्यानाकर्षण भएको उनले बताए ।

यता निर्माण कार्य सञ्चालनको अनुमति दिएको सडक डिभिजन कार्यालय हेटौँडाले भने थोरै अवधिको काम भएकाले सुरक्षाको विषयमा प्राथमिकताका साथ हेर्न नभ्याएको जनाएको छ । सम्बन्धित वडा कार्यालयको सिफारिसमा अत्यावश्यक भएकाले असारमा मात्रै कोटेसनको आधारमा निर्माण कार्य गरिएको कार्यालय प्रमुख राजेश कुमार यादवले जानकारी दिए । सडक क्षेत्रको निर्माण कार्यमा प्रयोग हुने सामग्रीको व्यवस्थापन सडक सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित निर्माण व्यवसायीले गर्नुपर्ने उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप