यस वर्ष पनि किसानले रासायनिक मलको अभाव झेल्नु परेन
काठमाडौँ । धान रोपाइँ करिब आधा सकिँदासम्म यो वर्ष किसानले रासायनिक मलको अभाव झेल्नु परेको छैन । गत वर्ष पनि देशभर रासायनिक मलको उपलब्धता पर्याप्त नै थियो ।
मुख्यगरी मल खरिदका लागि अग्रिम रकम सुनिश्चित भएकै कारण लगातार दुई वर्ष किसानले रासायनिक मलको अभाव झेल्नु नपरेको हो । रासायनिक मल खरिदका लागि समयमै रकम सुनिश्चित भएदेखि मलको अभाव हटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताए ।
‘यो वर्ष पनि मलको अभाव हँुदैन, गत दुई–तीन वर्षझैँ हामीसँग बजेट पर्याप्त भयो,’ उनले भने, ‘पहिलापहिला अर्थ मन्त्रालयबाट बजेट निकास गर्न समय लाग्थ्यो । यो वर्ष र गत वर्ष बजेत पर्याप्त भयो । बजेट भएपछि समयमै मलको ठेक्का लाग्यो, यसले समयमै मल आयो । त्यसैले यो वर्ष पनि मलको अभाव हुँदैन ।’
प्रवक्ता केसीले धान रोपाइँ देशभर आधा सकिएको भन्दै यो बेलासम्म अधिकांश किसानले आफूलाई आवश्यक पर्ने मलको जोहो गरिसकेकाले अब अभाव नदेखिने दाबीसमेत गरे । ‘धान रोपाइँको समयमा तत्काल आवश्यक पर्ने रासायनिक मल भनेको डीएपी र पोटास हो,’ उनले भने, ‘करिब आधा रोपाइँ हुँदा हामीसँग अझै पनि ७५ हजार मेट्रिक टन मल मौज्दात छ ।’
कति छ मल मौज्दात ?
कृषि मन्त्रालयको पछिल्लो विवरण (असार २६ गते) अनुसार युरिया, डीएपी र पोटास गरी देशभर ७५ हजार ५० मेट्रिक टन रासायनिक मल मौज्दात छ । युरिया ३८ हजार १३० मेट्रिक टन, डीएपी २८ हजार १४६ मेट्रिक टन र पोटास ८ हजार ७७४ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयको तथ्याङ्क छ ।
यसमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग ४३ हजार ५०८ मेट्रिक टन मल मौज्दात छ । जसमा युरिया २३ हजार ३९५ मेट्रिक टन, डीएपी १३ हजार ५५७ मेट्रिक टन र पोटास ६ हजार ५५६ मेट्रिक टन छ ।
यस्तै, साल्ट ट्रेडिङ कम्पनी लिमिटेडसँग ३१ हजार ५४२ मेट्रिक टन मल मौज्दात छ । यसमध्ये युरिया १४ हजार ७३५ मेट्रिक टन, डीएपी १४ हजार ५८८ मेट्रिक टन र पोटास २ हजार २१८ मेट्रिक टन छ ।
सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले रासायनिक मल आयात गरी देशभर बिक्री–वितरण गर्दै आएका छन् ।
धान रोपाइँ कति भयो ?
कृषि विभागका अनुसार देशभर ४२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । सोमध्ये ५ लाख ९५ हजार १२९ हेक्टर (४२.६ प्रतिशत) मा रोपाइँ सम्पन्न भएको विभागका प्रवक्ता तथा उपमहानिर्देशक डा. अरुण काफ्लेले बताए ।
सुदूरपश्चिममा १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनेमा अहिलेसम्म १ लाख ५० हजार ६२ हेक्टरमा (८६.२ प्रतिशत) रोपाइँ भइसकेको छ । प्रतिशतका हिसाबले हालसम्म सर्वाधिक रोपाइँ भएको प्रदेश सुदूरपश्चिम हो ।
यस्तै, सबैभन्दा कम मधेस प्रदेशमा धान रोपाइँ भएको विभागको तथ्याङ्क छ । मधेसमा ३ लाख ८३ हजार १५० हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिए पनि हालसम्म जम्मा २५.५ प्रतिशत अर्थात् ९७ हजार ८५१ हेक्टरमा रोपाइँ हुन सकेको छ ।
यस्तै, कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म ९५ हजार १७० हेक्टर (३४.४ प्रतिशत) क्षेत्रफलमा मात्रै रोपाइँ हुन सकेको छ ।
बागमती प्रदेशमा १ लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म प्रदेशमा ४६ हजार ४४ हेक्टर (४०.२) मा रोपाइँ भएको छ भने गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म ४७ हजार ७३३ हेक्टर (४९.७ प्रतिशत) क्षेत्रफलमा रोपाइँ भएको छ ।
यसैगरी लुम्बिनी प्रदेशमा ३ लाख ११ लाख ६४३ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएको छ । हालसम्म यो प्रदेशमा १ लाख ३८ हजार ३६४ हेक्टर (४४.४ प्रतिशत) क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
यस्तै, कर्णाली प्रदेशमा ४१ हजार ९०४ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म १९ हजार ९०४ हेक्टर (४७.५ प्रतिशत) क्षेत्रफलमा रोपाइँ भएको विभागको तथ्याङ्क छ ।
गत वर्षको असार २४ सम्ममा देशभर ४२ प्रतिशत रोपाइँ भएको थियो । गत वर्ष १४ लाख ९६ हजार ८३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा यो समयमा ६ लाख ४२ हजार २८४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो ।
देशभर १३ देखि १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । सोबाट करिब ५४ देखि ५७ लाख मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।
कृषिको आधा बजेट रासायनिक मललाई
सरकारले कृषि बजेटमध्ये आधा रकम रासायनिक मलका लागि विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्ष (२०८१÷०८२) का लागि कृषि तथा पशुपन्छी मन्त्रालयमा ५७ अर्ब २९ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । यसबाट रासायनिक मलका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै, चालु आर्थिक वर्षमा ५८ अर्ब ९८ करोड बजेटमध्ये ३० अर्ब रासायनिक मलको लागि विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओस्कारको मनोनयनमा पर्ने पहिलो ट्रान्सजेन्डर बनिन् कार्ला सोफिया
-
वृज एडिटिभ्सद्वारा अत्याधुनिक निर्माण सामग्रीको नयाँ श्रृङ्खलाको घोषणा
-
एमालेले बोलायो संसदीय दलको बैठक
-
दुई मुख्य दलबीचको सहकार्य मजबुत छ : महासचिव पोखरेल
-
म्याग्दीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
-
अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँ : अर्थमन्त्री पौडेल