आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सिमलताल बस दुर्घटना : खोजीकार्य प्रभावकारी बनाउन पीडित परिवारजनको माग

शनिबार, २९ असार २०८१, १० : ०४
शनिबार, २९ असार २०८१

भरतपुर । चितवनमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन् । उनीहरुले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन् । 

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए । हजुरबुबा दुर्घटनामा परेपछि शुक्रबार चितवन आउनुभएका रौतहटको गौरका विकेशकुमार पटेलले दुर्घटनापछि परिवार र गाउँनै शोकमा डुबेको बताए । 

“बिहानै दुर्घटनाको खबर पायौँ, खोजी गर्न भोकभोकै नदी किनारमा बसेका छौँ”, उनले भने ।  आफ्ना भिनाजु दुर्घटनामा परेपछि रौतहटका रमेशकुमार पटेल पनि शुक्रबारनै चितवन आएका छन् । आफन्तसहित एम्बुलेन्स रिजर्भ गरेर आएको उनले बताए । शुक्रबार रातिसम्म कोही पनि फेला नपर्दा जीवितै भेट्टाउने आश मारिसकेको उनको भनाइ छ । पटेलले भने, “शव फेला परे लैजान्थ्यौँ । अरु त केही आश छैन ।”

बाराको परसौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले बेपत्ताको खोजी गर्न ढिलाइ भएको गुनासो गरे । आफ्ना दुई छिमेकी बसमा रहेको थाहा पाएपछि घटनास्थलमा आएका उाले हेलिकप्टर र जहाज दुर्घटना हुँदा सबै संयन्त्र प्रयोग गर्ने राज्यले बस दुर्घटना हुँदा खासै वास्ता नगरेको गुनासो गरे । पचासभन्दा बढी परिवार पीडामा रहेको भन्दै उनले राज्यका सबै संयन्त्र परिचालन गर्न अनुरोध गरे। 

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खटिएको बताए । “नदीमा पानीको बहाव घटेको छैन । राति जोखिम हुने भएकाले खोजीकार्य स्थगन गरेका हौँ, आज बिहानैदेखि पुनः खोजीकार्य अघि बढाएका छौँ”, उनले भने । 

यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ ।  शुक्रबार भेटिएका कपडालाई आधार बनाएर आज खोजबिन गरिने प्रजिअ यादवले बताए । 

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । बसमा सवार तीन जना पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप