शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

भानुभक्तका लागि राज्यले सब थोक गरेको छ: डा.नवराज लम्साल

शनिबार, २९ असार २०८१, ०७ : ४५
शनिबार, २९ असार २०८१

डा.नवराज लम्साल नेपाली साहित्य र सञ्चार क्षेत्रका एक प्रख्यात स्रष्टा हुन् । उनी मूलधारका कवि तथा गीतकार पनि हुन् । ‘कर्ण’ र ‘धरा’ दुई महाकाव्य प्रकाशित गरेर नेपाली साहित्यमा उच्च योगदान दिएका उनी हाल भानु प्रतिष्ठानका अध्यक्ष छन् । भानु जयन्तीका अवसरमा भानुले नेपाली भाषा र साहित्य गरेको योगदानबारे डा.लम्सालसँग गरिएकाे कुराकानी :

भानुभक्त आचार्यलाई हजुरले कसरी बुझ्नुभएको छ ?

भानुभक्त आचार्यलाई स्वदेश तथा विदेशमा रहेका नेपालीभाषीले आदिकविका रूपमा सम्मान गर्दै आइरहेका छन् । उनी नेपालका राष्ट्रिय विभूति हुन् । जातीय चेतनाका प्रतीक हुन् । संस्कृतको दबदबा चलेको बेला संस्कृतमै बोलिने, लेखिने र पढिने बेला नेपाली भाषामा कविता लेखेर भाषाको श्रीवृद्धि गर्ने एक स्रष्टा हुन् । कविताको सानो रुप लघु कवितादेखि कविताको उच्चतम साधना महाकाव्यसम्मलाई जन–जनमा पु¥याउने काम उनले गरेका छन् । उनले नेपाली आमाहरुले गुनगुनाउने रामायणलाई नेपाली अनुवाद गरेका थिए । नेपाल बहुधार्मिक, बहु सांस्कृतिक, बहुजातीय अर्थात बहुलताको देशमा सबै नेपालीलाई जोड्ने एउटा सम्पर्क सुत्र र नेपाल बाहिर पनि नेपालीहरुलाई जोड्ने एउटा माध्यम थिए भानु । नेपाली भाषाका आदिकवि भएका हिसाबले पनि सबैले भानुभक्त आचार्यलाई बडो गम्भीरतापूर्वक र सशक्त हिसाबले सम्झने गर्दछन् । 

भानुले विश्वभर छरिएका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने काम गर्नुभयो भनिन्छ । एकसुत्रमा बाँध्न उहाँले कस्तो भूमिका निर्वाह गर्नुभएको छ ?

विश्वभरका नेपालीहरू फरक फरक भाषा बोल्छौँ । जस्तै पूर्वमा किरात–लिम्बुहरुको आफ्नै भाषा छ । तराईमा झर्यो भने मैथली, भोजपुरी, अझ पश्चिम तराई पुगियो भने थारु, राजवंशी, राना थारु, यता मगरातमा आयोभने गुरुङ–मगरको आफ्नै भाषा छ । काठमाडौँ उपत्यकामा नेवारी बोल्ने प्रचलन छ । हामी नेपालीहरू फरक फरक भाषा बोल्छौँ । भाषा बोल्ने मान्छेहरूबिचको सम्पर्क भाषा नेपाली हो । नेपाली भाषालाई सबैको बनाउनमा भानुको योगदान उच्च छ । साथै सरकारी कामकाजको भाषाका रूपमा स्थापित गराउनका उनले खेलेको भूमिकाका कारण पनि भानुलाई आजका दिनमा स्मरण गरिन्छ । अर्को कुरा, संस्कृतिको आदानप्रदानका कारण पनि भानु भाषाका सुत्रधार हुन् । जस्तो रामायण चाहिँ काव्य हो, कविता हो । रामायणको एउटा मूल्य होला, राम कथाको आफ्नै महत्व होला । तर त्यो रामायण गायनको जुन छन्द परम्परा छ, लोकलयबाट आएको छ । त्यो लोकलयले पनि सबैलाई बाँधेको छ । आज आधुनिक कविता लेख्नेहरुले त्यसलाई फरक ढंगले गाउँछन् भने राम कथाको धर्म आफ्नो ठाउँमा छ । तर, समाजले के भन्दै आएको थियो भने छोरा कस्तो होस राम जस्तो, बाउले जे भन्छ त्यही मान्छ । बाउले राजा बनाउँछु भन्दा नि हुन्छ । होइन, तँ राजा बन्न पाउदैनस् वनवास जा भन्दा पनि हस् भन्छ । भाइ चाहिँ राम वनवास जाँदा पछि पछि लागेर जाने लक्ष्मण जस्तो होस् । पति–पत्नी राम र सिता जस्तो हुन् । नेपाली समाजले लिएको यो दृष्टिकोणमा केही फेरबदल होला भन्ने मान्यता छ । संस्कृतिको दबदबा भएको बेला रामायणलाई नेपालीमा लेखिदिएको हुनाले भानुभक्त आचार्य स्थापित भएका हुन् । भानुभक्तभन्दा पहिले पनि धेरै कविहरू थिए, आज पनि छन् । साहित्य र लोकप्रियतामा भिजेका कारण भानु बढी लोकप्रिय भएका हुन् । 

अहिलेको नयाँ पुस्ताले भानुभक्त र उहाँको साहित्यलाई कसरी ग्रहण गरिरहेको छ ? भानुभक्तलाई पछ्याइरहेको छ त ?

साहित्यमा दुईवटा कुरा हुन्छन् । पानी बग्दै गएपछि शुद्ध हुन्छ भनेजस्तै भाषा पनि प्रयोग हुँदै गएपछि परिवर्तन हुँदै जान्छ । अहिले उहाँले प्रयोग गर्ने भाषाको पनि परिवर्तन भएको छ । कविताका संरचनाहरुमा पनि परिवर्तन भएको छ । कविताको कथ्यमा पनि परिवर्तन आएको छ । आज कविता लेख्ने म मजस्तै धेरै कविहरूले भानुभक्तले जस्तै राम आदर्श हुन् भन्दैनौँ । हामी रामको आदर्शमाथि पनि प्रश्न उठाइरहेका छौँ । रामले सितालाई किन हेपेको ? किन अग्नि परीक्षा लिएको ? सिताले रामको चाहिँ अग्नि परीक्षा लिनुपर्दैन ?भन्ने खालका दर्शनहरू हामीले कवितामा उतारेका हुन्छौँ । तर, कविता लेख्नुको अन्तरचेतना, व्यक्तिको वैयक्तिक स्वतन्त्रता र आफूलाई लागेको निजी अनुभुतिको भोगाइको अभिव्यक्ति हो कविता । यो चाहिँ भानुबाट अहिलेका कविहरूले पछ्याइरहेको पाइन्छ । हामीले कविता लेख्दाखेरि उहाँकै जग टेकेर लेख्दै आएका छौँ । उहाँकै शिल्पमा लेखिन्छन् । भानुभक्तकै जस्तो लय र छन्दमा कविता नहोला समय र परिस्थितिहरूमा केही बद्लाबहरु पनि आउँछन् । जस्तै हिजो गाउँमा मानिसहरूले चिठी पढ्न सक्यो भने भयंकर शिक्षित भएको मानिन्थ्यो । तर अहिले समय बदलियो। कसैको मोबाइल साइलेन्टमा रह्यो र त्यसमा आवाज आउने बनाइदियो भने त्यो विद्धता भयो । समय अनुसार ज्ञानको दायरा आफैँमा परिवर्तन हुन्छन् बाहिरी रूपमा । तर सार, अन्तर चेतना, वैयक्तिक स्वतन्त्रता र अन्तर हृदयकोअभिव्यक्तिको कुशलता आजका कविहरूले पनि पछ्याइ रहेका छन् । 

भानुको परिवारलाई एउटा आदर्श परिवार भनिएको छ । वास्तवमा भानुको आफ्नो र पारिवारिक जीवन कस्तो थियो ? तपाईँले कसरी बुझ्नुभएको छ ?

भानुभक्त आचार्य एउटा परम्परा विधिवत् घरानाका व्यक्ति हुन् । हजुरबुबासँग उनले कविता लेख्न सिके र पढे । त्यति बेला पूर्वीय दर्शन, वेद, पुराणहरू पढ्ने चलन थियो । बौद्धिक र पूर्वीय दर्शनको ज्ञान गरेको परम्पराको घरपरिवार थियो । खान, लाउन, बस्न पुग्ने एउटा सम्पन्न परिवारकै छोरा थिए भानु । त्यसकारण पहिलादेखि नै ज्ञानको परम्परा, सम्पन्न घर परिवारको प्रभाव उनमा परेको हो । आफ्नो समयको चल्तापूर्जा, आफ्नो समयको अध्ययनशीलता र अगुवाइ गर्नसक्ने भएर नै उनले कविता लेख्दै हिँड्ने समय पाएका हुन् । 

उहाँको पारिवारिक पृष्ठभूमि र उनको जीवनको भोगाईले साहित्यमा के प्रभाव पारेको छ ?

उनलाई जीवनमा धेरै दुःख भएन । बस्न–खान दुःख भएन । धेरै सङ्घर्ष र पीडाको अनुभूत हुन पाएन । तर सिर्जनाको कुरामा भने उनले दुःख गरेका छन् । तर जीवन निर्वाहको सवालमा भने दुःख भएन । सहज जीवनयापन नै गरेको पाइन्छ । 

भानुसँग घाँसीको प्रसङ्ग जोडिन्छ । यसले धनी र गरिबबिचको खाडल दर्साउन खोजेको हो ?

हो । धनी र गरिबबिचको खाडल हिजो पनि थियो, आज पनि छ । तर भानुभक्तसँग घाँसी जोडिएको प्रसङ्ग एउटा कथाकै रूप होला । घाँस किन्ने र बेच्ने परिभाषा जुन छ त्यसमा मेरो फरक दृष्टिकोण के हो भने त्यो बेला साहुका घरमा गरिब घरको मान्छेले दिनभरि घाँस काटेर भारीका भारी साहुको घरमा लाने चलन थियो । त्यसबापत अन्न अनाज दिने चलन थियो । भानुभक्तले देखेको बेलाको समाज पनि दुईवटा रहेछ । एउटा, अरुलाई घाँस कटाउन सक्ने र भारी बोकाउन सक्ने । अर्को, घाँस काटेर भारी बोकेर जीवन निर्वाह गर्ने । शासित र शोषितहरुकोबीचको फरक हिजो पनि रहेछ । 

दार्शनिक र मानवीय दृष्टिले भानुको साहित्य सिर्जनालाई कसरी बुझ्ने ? तपाईँले विधागत रूपमा भानुलाई कसरी बुझ्नुहुन्छ ?

विधागत रूपमा त उनी काव्य विधाका हुन् । साहित्यमा कि नाटक, कि काव्य कि निबन्ध अथवा आख्यानहरु हुन्छन् । मूलतः उनी काव्य विधाका हुन् । गद्य कविता, फुटकर कवितादेखि उच्च साधनाको महाकाव्यसम्म लेखेका उनी काव्य विधाका मान्छे हुन् । उनको कृतिमा विशेष रूपमा रामभक्तिको कुरा धेरै छ । रामभक्तिसँगै पूर्वीय दर्शनका विभिन्न दर्शनमध्ये वेदान्तलगायतका दर्शनहरुको गहिरो अध्ययन गरेका छन् । उनको रामायणमा ती कुराहरू पाइन्छ । उनले मूलतः रामभक्तिलाई प्रमुख साधनाको सूत्र बनाए र समग्र नेपाली कविता विधामा भक्ति धाराभित्र राम भक्ति धारा अँगाले । त्यसैले उनी मूल कवि र समग्र नेपाली साहित्यका मूल प्रतिभा पनि हुन् । उनलाई राष्ट्रिय विभूति, जातीय चेतनाका प्रतीक आदि उपनामहरूले पनि चिनिन्छ । हरेक वर्ष भानु जयन्ती भव्यताका साथ मनाउने चलन छ । यस वर्ष २११ औँ भानु जयन्तीको अवसरमा पनि विभिन्न कार्यक्रमहरू हुँदैछन् । मधेस, बागमती, गण्डकी, कोशीलगायतका प्रदेशहरुमा विभिन्न कार्यक्रमहरू हुँदै छन् । यसरी सबैले साझा सम्पत्तिको रूपमा भानुभक्तलाई स्वीकार गरेका छन् । 

भानुभक्त आजभन्दा २११ वर्ष पहिलाका मान्छे हुन् । उनका कविता दुईसय बर्षका भए । आज हामी बाँचेको समाज कस्तो छ विचार गरौं न, हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आएका छौँ । विश्वलाई एउटा मोबाइलमा हेर्नसक्ने अवस्था छ । आजको समयको कविता होइनन् भानुभक्तका । उनको कविता र लेखनको मूल्याङ्कन हुँदा दुईसय वर्ष पहिलाको नेपाली समाज, चेतनाको स्तर, शिक्षाको अवस्थालाई दुईसय वर्ष पहिलाको सापेक्षतामा अहिलेको अवस्थालाई हेरिनुपर्छ । 

तपाई भानुको के कुराबाट बढी प्रभावित हुनुहुन्छ ?

भानुको त्यो सहज अभिव्यक्ति, नेपाली भाषाको कविता भनेपछि कसैले पनि मन नपराउने बेलामा पनि उनले नेपाली भाषामा सरर बगेको नेपाली भाषामा कविताहरू लेखिदिएको हुनाले उनी मलाई मनपर्छ । अर्को, समसामयिक चेतना मनपर्छ । हरेक कविले लेख्ने भनेको इतिहास, भूगोल र संस्कृतिको जग टेकेर आफू बाँचेको समय संवेदना लेख्ने हो । 

उनले त्यो बेलाको अड्डा, अदालत र न्यायप्रतिको ढिला सुस्तीको समयबोध लेखेका छन् । दुईसय वर्ष पहिला त्यस्तो लेखेको कुरा आज दुईसय वर्षपछि पनि अड्डा, अदालतको बारेमा एउटा कविले कविता लेख्ने हो भने त्यही लेख्नसक्छ । भानुले साश्वत र मानवीय प्रवृत्तिको जुन कुरा लेखे त्यो मलाई असाध्यै मनपर्छ । 

भानुको योगदान नेपाली भाषा साहित्यमा अतुलनीय त छँदैछ तर आजका दिनमा भानुप्रति राज्यको भूमिका कस्तो पाइरहनुभएको छ ?

राज्यले भानुलाई केही गरेन भनेर भन्नु हुदैँन । कसैले त्यसो भन्यो भने उसले केही बुझेको छैन भन्ने लाग्छ । राज्यको परिभाषा नै बुझेन भन्ने लाग्छ । राज्य भनेको हामी सबै हो । तपाईँले नै अहिलेको राजनीतिक कुरामाथि फिचर लेखेको भए, बहस गरेको भए पनि त हुन्थ्यो होला नि । तर तपाई उत्सुकता र प्रेमले मसँग संवाद गरिराख्नु भएको छ । तपाई पनि राज्य हो, म पनि राज्य हो । हामीले २०३२–३३ सालदेखि प्रधानमन्त्रीको उपस्थितिमा भानु जयन्ती मनाउँदै आएका छौँ । हाम्रो सबै पाठ्यक्रमहरूमा भानुभक्त पढाई हुन्छ । भानुका सालिकहरू निर्माण भएका छन् । यही नै हो भानुभक्तको लागि गरिने काम । भानुभक्त जन्मिएको अवसरमा करोडौं पैसा खर्च गरेर साहित्यकारहरूलाई पुरस्कार दिने गरिन्छ । त्यो पैसा कहाँबाट आयो र कसरी खर्च भयो भन्ने विषयमा अलग्गै बहस होला । तर करोडौं पैसा खर्चेर भानुभक्तको नाममा केही गर्नु भनेको आफैँमा सम्मान हो । त्यसैले राज्यले केही गरेन भन्ने मलाई लाग्दैन । तर त्यो गरेको कुरालाई भानुसँग जोडिएका सङ्घ संस्थाले वा व्यक्तिहरूले कति गरे भन्नेचाहिँ मूल्याङ्कन हुनुपर्छ ।

हुन त तुइन तरेर स्कुल जाने, झोलुङ्गे पुलबाट मान्छेहरू झरेर मर्ने क्रम चलिरहेको छ  । स्कुलको छाना छाउन बाँकी छ, सिटामोल नभएका अस्पताल आज पनि छन् । देशको अवस्था यस्तै छ । दिनदिनै साहित्यकारको नाममा राज्यले पैसा खर्च गर्ने होइन । 

भाषा साहित्यका अन्य संस्थाहरू छन्, विश्वविद्यालयहरू छन्, पाठ्यक्रमहरू छन्, पढाइ हुन्छ, बहस भइरहेको छ । एउटा कविका लागि राज्यले गर्ने काम नै यस्तै हो । भानुका लागि राज्यले धेरै काम गरेकै छ भन्ने लाग्छ । बरु भानुले जति राज्यबाट पाए अरूले पाएनन् कि । 

हामी बहुदलीय व्यवस्थामा छौ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौ । चेतनामा छौ । हामीले विद्यापतिलाई त्यति न्याय गरेका छौ कि छैनौ । विभिन्न भाषाभाषीका आदिकविहरु होलान्, अब हामीले ती मान्छेहरूलाई न्याय पुगेको छ कि छैन, त्यतातर्फ खोज्नुपर्छ । मुलुक त साझा फूलबारी हो । यहाँ धेरै भाषा, संस्कृति, जाति छन् । प्रत्येक भाषाको आफ्नो लिपी छ । त्यहाँ पनि आदिकवि होलान्, साहित्यकार होलान् । तीनलाई पनि खोजेर उठाउनुपर्छ । अब हाम्रो ध्यान त्यतातर्फ जानुपर्छ । 

भानु प्रतिष्ठानले चाहिँ के गरिरहेको छ ?

म भर्खरै अध्यक्ष भएको हुँ । भानुभक्तलाई सबैको साझा संस्कृतिको बीचमा राखेर अघि बढाउनुपर्छ भन्ने काममा जुटेका छौँ । अरू भाषामा भानुभक्तलाई लाने, अरू भाषालाई नेपाली भाषामा ल्याउने त्यो अभियानका रूपमा चलाउनुपर्छ । यस्ता आदर्श कामका लागि युवाहरूमा लाग्नुपर्छ जस्तो लाग्छ । 

अहिले समस्या दुई वटा छन् । मान्छेहरू कि डिप्रेशनमा जान थाले कि आत्मदाह गर्न थाले । मान्छेसँग सबैभन्दा ठूलो सम्पत्ति जीवन हो । मान्छे जीवन नै फाल्न थाले । साहित्य, सिर्जनाले मानिस आत्महत्यासम्म पुर्‍याउने जुन निराशा छ त्यो निराशा चिर्नेगरी आशाको साहित्य कसरी सञ्चार गर्न सकिन्छ त्यतातिर सोच्नेबेला आएको छ । युवाहरूलाई उत्प्रेरित गर्न र जगाउनको लागि अभियान चलाउनुपर्छ कि जस्तो लाग्छ । पुरानो पुस्ताको ज्ञान र नयाँ पुस्ताको आवश्यकताको संवेदनालाई लिएर अघि बढ्नुपर्छ । म यतिबेला साहित्यकै एउटा महाकाव्यका लागि साधना गरिरहेको छु । पछिल्लो दिनमा म देशभर दौडिरहेको छु ।  

नेपाल न्यूज बैंकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप