१० बजे, १० समाचार
आज मिति २०८१ साल असार महिनाको २८ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. प्रधानमन्त्री पदमुक्त
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।
असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् ।
२. सांसदहरुको सवालजवाफ
प्रधानमन्त्रीले विश्वासको मतको प्रस्तावमाथि छलफलमा नेताहरुबीच सवाल जवाफ चलेको थियो । सो क्रममा कांग्रेस र एमालेसहितका दलहरुले असार १७ को सहमतिको बचाउ गर्दै नयाँ सरकारले सुशासन दिने बताए । तर प्रचण्ड नेतृत्वको सत्ता पक्षधरले भने सुशासनमा चालिएको कदमकै कारण सरकार ढाल्ने खेल भएको दाबी गरे ।
३. नयाँ सरकार गठनको आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार राति संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेपछि ओलीले कांग्रेसकाे समर्थनमा दाबी पेस गरेका हुन् ।
४. प्राकृतिक विपत्ति
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रवार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा दुई वटा डिलक्स बस खसेका थिए । काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् । तर, १५ घण्टा खोजी गर्दा पनि बस र यात्रुको अवस्था पत्ता लागेको छैन ।
५. खुमलटारमा प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासबाट सिधै निजी निवास खुमलटार गएका छन् । प्रचण्ड खुमलटार पुग्दा स्थानीयले उनलाई स्वागत गरे ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत प्राप्त नगरेपछि प्रचण्ड त्यसबारे जानकारी दिन शीतल निवास पुगेका थिए । उनी शीतल निवासबाट सिधै खुमलटार गएका हुन् ।
६. माओवादी र रास्वपाको धारणा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिपक्षको भूमिका तगडाकासाथ निर्वाह गर्नका लागि तयार रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै उनले ठूलो पार्टीहरु एक ठाउँमा आइसकेपछि प्रतिपक्षमा झन् बढि जिम्मेवारी थपिएको भन्दै इमान्दारिताकासाथ प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
नेकपा माओवादी केन्द्रले संविधान संशोधन भए सदन र सडकबाट सशक्त प्रतिरोध गर्ने बताएको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले संविधान संशोधनको काम भए सदन र सडकबाट सशक्त प्रतिरोध गरिने बताए ।
७. अपराध
क्यास एप नामक अनलाइन एप्लिकेसनमार्फत सट्टेबाजीका लागि अवैधरुपमा आर्थिक कारोबारमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त एप प्रयोग गरी अवैध रूपमा आर्थिक कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।
८. इराकमा बेचिएका चेलीको कथा
२० वर्ष अघि इराकमा १२ जना नेपाली मारिएको घटना सबैको मन मस्तिष्कमा जगजाहेरै छ । विश्व नै स्तब्ध हुनेगरी भएको त्यो घटना हरेक नेपालीका लागि कहिल्यै नमेटिने घाउ बनेको छ ।
सो घटना यता इराकमा रोजगारीका लागि जान नेपालीलाई जान रोक लागेको छ । यद्यपि अहिले पनि अवैध रूपमा हजारौँ नेपाली इराक पुगेर काम गर्दै आएका छन् ।
धादिङकी सविता (परिवर्तित नाम) र गोरखाकी सम्झना (परिवर्तित नाम) दिदीबहिनी हुन् । दुवै जना वैदेशिक रोजगारीका लागि इराक पुगे । तर त्यहाँ चरम यातना तथा दुःख पाएपछि चार महिनामै उनीहरू नेपाल फर्किन बाध्य भए ।
९. नाफा घट्यो
चालु आर्थिक वर्षमा बैंक तथा वित्त कम्पनीहरुको नाफामा तीव्र गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको जेठ मसान्तसम्म सबै बैंक तथा वित्त कम्पनीहरूले एकमुष्ट ६१ अर्ब ९५ करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले कम हो ।
१०. घरज्वाइँ प्रदर्शनमा
आज शुक्रबारबाट फिल्म ‘घरज्वाँइ’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको यो फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस