प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कसले के भने ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत गुमाएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत, विपक्षमा १९४ मत र १ मत तटस्थमा परेको थियो ।
विश्वासको मत लिनुअघि प्रचण्डले आफ्नो कार्यकालमा सुशासन, समृद्धि र विकासका लागि आफू नेतृत्वको सरकारले पहल गरेको उल्लेख गरेका थिए ।
प्राकृतिक विपदमा खोज उद्धारमा लाग्नुपर्ने बेला सरकार परिवर्तनको खेल विडम्बनापूर्ण : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले विपदको बेला खोज उद्धारमा लाग्नुपर्ने बेला विश्वासको मत लिने, सरकार परिवर्तन विडम्बनापूर्ण रहेको बताए । विश्वासको मत लिने क्रममा उनले अविरल वर्षा बाढी पहिरोका कारण चितवन नाराघाटको बिचमा, कास्की, म्याग्दी लगायतका क्षेत्रमा ठुलो क्षति भएको बताए ।
आफूले घाइतेको उद्धार, उपचार र राहतका लागि निर्देशन दिएको बताए । मौसम विभागबाट विपद्को घटना बढ्न सक्छ भन्ने प्रक्षेपण गरेपछि सरकारले आवश्यक तयारी गरेको उनले बताए ।
विपक्षीहरूले राजीनामा मागिरहेको अवस्थामा पनि नेपाली सेना, सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको बैठक राखेर सतर्क रहेको उल्लेख गरे । यस्तै आफू र गृहमन्त्रीसहितको विपद् व्यवस्थापन समितिको बैठक राखेर कहाँ –कहाँ बाढी पहिरोको खतरा छ र त्यसलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेर तयारी गरेको उनले बताए । यो पटक मनसुन कडा रूपमा आएको अर्को हप्तासम्म पनि मनसुन आक्रामक हुने भएकोले तयारीका लागि सुरक्षा निकायलाई निर्देशन दिएको उनले उल्लेख गरे । उनले चितवनमा बाढी पहिरोले बस बगाएकोमा बिहानै सुरक्षा निकायलाई तदारुकताका साथ उद्धारको काम गर्न निर्देशन दिएको बताए ।
उनले भने,‘विपद्को बेलामा हामी एक ढिक्का भएर त्यसको प्रतिवाद गर्ने, त्यसबाट सतर्कता अपनाउनुपर्ने, खोज उद्धारका लागि लागिपर्नुपर्ने बेलामा हामी अहिले सरकार परिवर्तन, विश्वासको मत लिने, नलिने भन्नेतिर केन्द्रित हुनुपर्ने बढो विडम्बनाको अवस्थामा छौँ ।’
कास्कीमा मानिसहरुको मृत्यु भएको, दुई वटा बस बगेको बेलामा आफूले विश्वासको मत माग्नु उचित हुन्छ कि हुँदैन होला भनेर सोचेको तर ठुला दलहरूले सरकार बनाउन हतार गरेकोले आफूले यसबारेमा सभामुखसँग कुरा नगरेको उल्लेख गरे ।
दुई दल आफै मिलेको हैन, अरूले मिलाएको हो
प्रधानमन्त्री प्रचण्डले दुई दलबिचमात्र लुकेर गरिएको सहमति राष्ट्रिय सहमति नहुने बताए । प्रचण्डले कांग्रेस एमाले दुई दल आफै मिलेको सत्य नभएको बताए । उनले भने,‘दुई दल आफै मिलेको हैन, तपाईँहरूलाई कसैले मिलाएको हो । किन मिलाएको हो, घाम जतिकै छर्लङ छ । सिधै कांग्रेस एमाले मिल्न लागेको भनेर राष्ट्रिय सहमतिको झुटको बर्को ओढी राख्नुभएको छ । आफ्नो पङ्क्ति र जनतालाई गुमराह गर्ने कोसिस भइरहेको छ । राष्ट्रिय सहमति लुकेर हुँदैन । राष्ट्रिय सहमति सदनमा भएका सबै दलहरूलाई राखेर बिचार विमर्श गरेर मात्र हुन सक्छ ।’
उनले कांग्रेस एमालेबिच असार १७ गते राती सहमति भएर हस्ताक्षर भएपनि १८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति भएकै छैन भनेर झुट बोलेको बताए । त्यसबारे आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सोध्दा देउवाले आफू झुट बोल्दिन भन्दै सहमति भएको बताएको उल्लेख गरे । उनले ओलीमा ढाँटछलको सीमा नभएका टिप्पणी गरे ।
कुनै यती, ओम्नीको कलंक नबोकी पनि प्रधानमन्त्री बन्न सकिन्छ भन्ने रेकर्ड बन्यो
प्रधानमन्त्री प्रचण्डले कुनै यती, ओम्नीको कलंक नबोकी पनि प्रधानमन्त्री बन्न सकिन्छ भन्ने रेकर्ड बनेको बताए ।
उनले सरकारले विश्वविद्यालयमा मेरिटोक्रेशीको अभ्यास गरेको, सुशासनको ठोस अनुभूति दिने प्रयास गरेको कारण संसद्ले विश्वासको मत दिन हकदार रहेको दाबी गरेका थिए ।
भुटानी शरणार्थी प्रकरण लगायतका माफिया शक्तिले दुई दल मिलाए
प्रधानमन्त्री प्रचण्डले देशका माफिया शक्तिले एमाले र कांग्रेसलाई मिलाउन सफल भएको बताए । उनले सरकारको सुशासनबाट आत्तिएको समूहले दुई दल मिलाएको दाबी गरे ।
उनले भने,‘हिजो कानुनमाथि नै शासन गरिरहेको वर्ग सरकारसँग डरायो । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरु भयो अर्को समूह डरायो, भुटानी शरणार्थीको निष्पक्ष अनुसन्धान सुरु भयो अर्को ठुलै समूह डरायो । बाँसबारीदेखि बालमन्दिरसम्मका जग्गा खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खल्बिलिन थाल्यो । त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलायो । तपाईँहरूलाई अनौठो लाग्ला त्यो समूहले आफ्नो शक्ति देखायो ।’
सरकारको सफलता नै सरकार ढाल्ने पूर्ण आधार बन्न गएको बताउँदै उनले समाजवाद उन्मुख राष्ट्र निर्माणको संकल्प गरेपनि व्यवहारमा त्यो नभएको बताए ।
उनले भने,‘देशमा भीआइपी वर्ग सुरु भयो । एउटा वर्गले सरकारी जग्गा लुटेपनि हुने भयो । तस्करी गरेपनि हुने भयो । कानुन मिचेपनि हुने भयो । यसले आम जनतामा घृणा र आक्रोश बढाएर लोकतन्त्रमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना हुँदै गयो । त्यो वर्ग यति शक्तिशाली भइसकेको थियो कि त्यसलाई दण्डित गर्ने त परको कुरा प्रश्न गर्ने हैसियत पनि धेरै राजनीतिज्ञहरूले गुमाएको स्थिति देशमा देखा पर्ने अवस्था बन्न गयो । म नेपाली जनतालाई बुझिनेगरी भन्न चाहन्छु, सरकार नै ढल्ने आज जुन परिस्थिति बन्दैछ, त्यो सरकारले कानुनको पालना गराउने, विधिको शासन सुरु गर्ने, सुशासनमा सम्झौता नगर्ने अठोट र कारणले बन्न गयो ।’
प्रधानमन्त्री प्रचण्डले अब जनता जाग्नुपर्ने र आफ्नो शक्ति देखाउने बेला आएको बताए । जनता नजागे अब देश माफियाको हातमा जाने अवस्था रहेको बताए ।
संविधान संशोधनको खेलाँची नगर्न चेतावनी
प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको खेलाँची नगर्न कांग्रेस र एमालेलाई चुनौती दिए । उनले दुई दल २०४७ सालतिरै फर्कन खोजेको बताए ।
उनले भने,‘निराधार आरोप लगाएर दुई प्रतिस्पर्धी पार्टी बढो रहस्यमय तरिकाले आज भएका ठाउँमा उभिनुभएको छ । कतै स्थायित्वको नारा दिनुभएको छ, कतै संविधान संशोधनको छिर्के हान्नुभएको छ, गर्नु के भएको हो ? आधिकारिक हस्ताक्षर बाहिर ल्याउनु भएकै छैन । साथीहरूलाई मेरो प्रश्न छ, संविधान संशोधन जस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्नुहोला । तपाईँहरूको जस्तै तरिकाले जनताको स्वीकार्यता पाउँछ ? राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल हो माओवादी केन्द्र । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ? कतै स्थिरताको नाममा तपाईँहरूले समावेशी, समानुपातिक प्रणाली समाप्त पार्न खोजेको गन्ध आएको छ । तपाईँहरूको इच्छा २०४७ सालतिरै फर्किने होला भन्ने लाग्छ मलाई ।’
उनले अस्थिरताको कारण देखाएर समानुपातिक र समावेशी प्रतिनिधित्व हटाउन खोजेको र साना दलहरूलाई निषेध गर्न खोजेको बताए । उनले साना दलहरू आज कांग्रेस एमालेतिर गएपनि भोलि थाहा पाउने उल्लेख गरे । उनले संविधान संशोधन गरेर कांग्रेस र एमालेले दलित, महिलालगायतले पाइरहेका अधिकार खोस्न खोजेको दाबी गरे ।
संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष प्रधानमन्त्रीमा जाऔँ
प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेले केही पश्चिमी देशहरूको नक्कल गरेर दुई दलीय व्यवस्था गर्न खोजेको ओपन सेक्रेट जस्तै भएको बताए । उनले स्थिरताको नाममा संविधान संशोधन गर्न खोजेपनि त्यो सम्भव नभएको बताए । उनले २०४७ सालदेखि २०६० सालसम्म १७ वटा सरकार बनाउने एमाले र कांग्रेस नै होइन भन्दै प्रश्न गरे । उनले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा सहमत रहे माओवादी तयार रहेको बताए ।
भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कांग्रेस र एमाले गठबन्धन बन्यो : रमेश लेखक
नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न एमाले कांग्रेस गठबन्धन बनेको बताए । प्रधानमन्त्रीले विश्वासको मत लिने अवसरमा बोल्दै एमाले र कांग्रेसको सहमतिको ठोस आधार रहेको बताए । सो सहमतिले मुलुकलाई ठिक ढंगले अगाडि लैजान सकिन्छ भन्ने व्यवहारिक र सैद्धान्तिक आधार रहेको भन्दै सरकारलाई स्थिर बनाउन सकिने उनले बताए । १८ महिनामा प्रधानमन्त्रीले ६ पटक विश्वास लिनु सरकार स्थिर हुनु हो त भन्दै उनले प्रश्न गरे । आउँदा दिनमा एउटा प्रधानमन्त्रीले ३ महिनामा विश्वासको मत लिने अवस्था नहोस् भनेर सहमति भएको उनले बताए । भ्रष्टाचार नियन्त्रण सुशासन कायम गर्न कांग्रेस र एमाले गठबन्धन बनेको उनले उल्लेख गरे । कानुन बमोजिम सुशासन कायम गर्न, विकासका काम गर्न सहमति भएको उनले बताए ।
संविधान छुनै नहुने, पाठ गरेर मात्रै राख्ने हो र ?
सांसद लेखकले कतिपयले संविधान संशोधनमा पश्चगमन देखेको बताउँदै अग्रगमन रहेको उल्लेख गरे । १० वर्षे युद्धलाई शान्ति प्रक्रियामा र लोकतान्त्रिक गणतन्त्र कांग्रेसले ल्याएको बताउँदै उनले जबसम्म कांग्रेस रहन्छ तबसम्म शंका नगर्न आग्रह गरे ।
उनले संविधान गतिशील भएकोले आवश्यक अनुसार संशोधन हुन सक्ने बताए । उनले सोधे,‘के संविधान छुनै नहुने हो ? पाठ गर्नका लागि लेखिएको पुस्तक हो ?’
समावेशिता, संघीयता, गणतन्त्र, समानुपातिक कमजोर बनाइन्छ कि भन्ने भाष्य सिर्जना नगर्न उनले आग्रह गरे । संविधानको धारा २६५ ले यस भागमा लेखिएको विषयहरूका बारेमा १० वर्षपछि पुनरावलोकन गर्नु भन्ने व्यवस्था रहेको उनले उल्लेख गरे । उनले संविधानका विषय लागू गर्दै जाँदा कहाँ सहज, कहाँ जटिल रह्यो भनेर मूल्याङ्कन गर्नु कहाँ बेठीक हुन्छ भन्दै प्रश्न गरे । संविधान सर्वस्वीकार्य भएन भने संविधान कमजोर हुने र दुई पार्टी मिलेर मात्र संशोधन गर्ने नभनेको उनले उल्लेख गरे ।
प्रचण्डको १ घण्टा २२ मिनेट भाषण प्रधानमन्त्रीको रूपमा अन्तिम हो कि जस्तो लाग्यो : योगेश भट्टराई
नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसदमा गरेको १ घण्टा २२ मिनेट भाषण प्रधानमन्त्रीको रूपमा अन्तिम हो कि जस्तो लागेको बताए । सांसद भट्टराईले प्रधानमन्त्रीले केही गलत सूचना दिएको बताउँदै त्यसको जबाफदेही भोलिका दिनमा हुनुपर्ने बताए ।
स्थायी सरकार, देशमा रोजगारी सिर्जना, नेपाली विदेश जान नपर्ने अवस्था सिर्जना गर्न दुई पार्टीको गठबन्धन आवश्यक रहेको उनले उल्लेख गरे । उनले संसदका दुई ठुला दलमध्ये एउटा सरकारमा र एउटा प्रतिपक्षमा रहने चलन भएपनि कांग्रेस र एमालेको सहकार्यबाट नै देशमा ठुला परिवर्तन भएको दाबी गरे । उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन पनि कांग्रेस र एमाले दुई दलको भूमिका रहेको दाबी गरे ।
तपाईँका लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ?
सांसद भट्टराईले प्रचण्डले महिला, दलितका नाममा फेरि आगो बाल्न खोजेको भन्दै त्यो सम्भव नभएको बताए । उनलाई युद्धमा सहयोग गर्ने रोल्पाका मगरहरु कहाँ गए भनेर समेत उनले प्रश्न गरे । उनले संसदमा महिला र दलितको प्रतिनिधित्व एमालेको रहेको बताए ।
उनले संविधानको पुनरावलोकन र संशोधन २०७२ सालको संविधानको अग्रगमनको लागि भएको बताए ।
उनले भने,‘जाती, भाषा, धर्म, मधेस, दलित, महिला आज प्रधानमन्त्रीजीलाई झलझली याद भयो । तपाईँका लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? तपाईँका लागि हतियार बोकेका तमाम दलित युवाहरू आज कहाँ छन् ? खोज्नुभयो ? आज कसरी आयो एकाएक ? म भन्न चाहन्छु, यो संसदमा सख्या कम होला प्रत्यक्षबाट निर्वाचित भएर आउने दलित सांसद कोहीसँग छ भने एमालेसँग छ ।’
सांसद भट्टराईले प्रत्यक्षबाट जितेर आउने महिला सांसद एमालेबाट रहेको बताए । अब महिला, मधेसका आधारमा आगो बाल्न सम्भव नभएको उनले उल्लेख गरे ।
माओवादीले सोध्यो : ‘के हो मध्यरातमा भएको छलछामको सहमति ?’
माओवादी केन्द्रका सांसद हितराज पाण्डेले एमाले र कांग्रेसबिच भएको सहमति सार्वजनिक गर्न माग गरेका छन् । उनले दुई दलबिच छलछामको सहमति भएको बताए ।
सांसद पाण्डेले भने,‘मध्यरातको छलछामपूर्ण सहमति थियो भन्ने देखिएको छ । त्यो आजसम्म पनि सार्वजनिक गरिएको छैन । के थियो त्यो सहमति ? कहाँ गयो त्यो ? छलछाम गरेर राष्ट्रिय सहमति हुन सक्दैन । सहमतिमा के भएको छ, त्यो जनताले हेर्न नपाउने ? सांसदले सुन्न पनि नपाउने ?’ उनले सहमति पछि भन्दा अगाडि थाहा पाउनु पर्ने बताए ।
रविको प्रश्न : जब अनुसन्धानको सुई कसैको ढोका ढकढक्याउन पुग्यो तब संविधानको याद आयो ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुनै एउटा व्यापारीको घरमा बसेर गरिएको सहमति कसरी राष्ट्रिय सहमति हुन्छ भन्दै प्रश्न गरे । लामिछानेले आफ्नै दलका नेता, सांसद र जनतालाई थाहा नदिई मध्यरातमा भएको कस्तो सहमति हो भन्दै प्रश्न गरे ।
उनले आफ्नो दल सरकारमा गएर के गर्यो भन्नेलाई केही काम गर्न खोज्दैमा दुई ठुला दल रातारात मिल्ने अवस्था आएको उल्लेख गरे । जब अनुसन्धानको सुई कसैको ढोका ढकढक्याउन पुग्यो तब कांग्रेस एमालेलाई रातारात कसरी संविधानको याद आयो भन्दै प्रश्न गरे ।
लामिछानेले जनताले प्रतिपक्षमा बस्न मत दिएपनि जनतामा आशा दिनका लागि सरकारमा गएको बताए । प्रधानमन्त्री प्रचण्डसँग देशलाई सुशासन दिन छलफल गरेर चेकलिष्ट सहित काम गर्न आएको र ४ महिनामा गरेको काममा आफै सन्तुष्ट नरहेको उल्लेख गरे ।
संसदमा २ महिनामा अवरोध, अदालतमा मुद्दै मुद्दा, विरोधै विरोधका बिच विभिन्न काम गरेको बताए ।
उनले भन,‘आधार प्रमाण, मुद्दा, उजुरी केहीपनि नभएको केशमा म सडक र सदनमा सहकारी ठग भनेर चिनिएँ । प्रमाणै प्रमाण बजारभरि छताछुल्ल भएको केशमा थाहा छैन, अब बन्ने सरकारले कसरी मुद्दा अगाडि बढाउँछ हेर्न बाँकी छ । हामी यहीँ संसदमा बसेर हेरिरहने छौँ ।’
रमेश लेखक सम्भावित गृहमन्त्री बन्ने सुनेको बताउँदै उनले बाँसबारीको जग्गा ल्याउने स्टन्ट गरेको आरोप लगाएपनि त्यस्तै स्टन्ट गर्न आग्रह गरे । बालमन्दिरको जग्गा फिर्ता ल्याएजस्तै अरू जग्गाहरु फिर्ता ल्याएर स्टन्ट गर्न आग्रह गरे ।
साथै उनले नक्कली शरणार्थी प्रकरणको फाइल खोलेको २४ घण्टामा सरकार ढालिएको दाबी गरे ।
ज्ञानेन्द्र शाहीको प्रश्न : निर्मलाका हत्यारा र जीबी राई खोइ पक्राउ गरेको ?
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तका हत्यारा र जीबी राईलाई पक्राउ गर्न नसकेको तर बेचेन झाको ब्रान्डिङ गरेको बताए । शाहीले लामिछानेको कार्यकालमा सुन तस्कर, भुटानी शरणार्थी प्रकरणका आरोपी, सहकारी ठग कोहीपनि जेल नगएको बताए ।
उनले भन,‘ठुला ठुला नेताहरूबिच कुर्सीको झगडाले सरकार ढल्यो भनौँ, फाइल खोलेर सरकार ढल्यो भन्ने झुटो कुरा नगरौँ ।’
सांसद शाहीले प्रधानमन्त्री प्रचण्डले फेरी जातीय राजनीति गर्न खोजेको भन्दै फेरी जातीय द्वन्द्व नगर्न चेतावनी दिए ।
मेटमणीको सान्त्वना : देउवासँग समदुरी राख्नु, ४ महिनामा परिस्थिति अनुकूल भई हाल्छ
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणी चौधरीले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवासँग समदुरी राख्न आग्रह गरे । उनले ४ महिनापछि परिस्थिति अनुकूल हुने दावी गरे ।
उनले भने,‘हामी सम्झन्छौँ तपाईँले २०५२ सालदेखि २०६२ सालसम्म तपाईँले नेपाली समाजमा जागरण ल्याउने नेतृत्व गर्नुभयो । यहाँकै भूमिकाका कारण लोकतान्त्रिक गणतन्त्र आएको हो । अस्थिर र चञ्चल स्वभाव भएपनि तपाईँको मन सफा छ, नियतमा खोट छैन । भ्रष्टाचार नियन्त्रण गर्न अगाडि पनि बढ्नुभयो तर तपाईँले मान्छे चिन्नु हुने रहेनछ । कत्ति पनि मान्छे नचिन्ने । अब त चिन्नुभयो होला नि । हामी त तपाईकनै साथमा छौँ । सधैँ तपाईकनै साथमा रहन्छौँ । थियौँ । तर तपाईँले पटक पटक हामीलाई छोड्नुभयो । आज परिस्थिति जस्तो भएपनि नेपाली कांग्रेसको सभापतिलाई दोषी कत्तिपनि नदेख्नुहोला । उहाँसँगको सम्बन्धलाई सन्तुलन राख्नुहोला । ४ महिनामै परिस्थिति अनुकूल भई त हाल्छ । हन्ड्रेड पर्सेन्ट, दिन गनेरै बसौं ४ महिनामा तपाईँको दिन अनुकूल नै हुन्छ ।’
उनले बराबर सन्तुलनमा रहेर व्यवहार गर्न आग्रह गरे । उनले कांग्रेस सभापति देउवालाई पनि संसद विगठन गर्ने साक्षी नबस्न अनुरोध गरे ।
मुलुकलाई निकास दिन कांग्रेस–एमाले सहकार्यलाई साथ दिने निर्णय गरेका हौँ : अब्दुल खान
जनमत पार्टीका सांसद अब्दुल खानले वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताए । सांसद खानले वर्तमान सरकारले मुलुकलाई निकास दिने गरी शल्यक्रिया गर्न नसक्ने भएकाले दुई ठुला दलको सहकार्य गरेर अघि बढ्ने निर्णयको पक्षमा उभिनु परेको स्पष्ट पारे ।
उनले दुई ठुला दल कांग्रेस र एमालेलाई मिलेर अघि बढ्न पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले केही समयअघि नै गरेको अपिल आजको दिनमा आएर मिलेकाले पनि आफूहरूले नयाँ सत्ता समीकरणलाई स्वागत गरेको बताए ।
सांसद खानले नेपाली जनताले चाहे अनुसारको काम वर्तमान सरकार गर्न नसकेको पनि बताए ।
नयाँ सरकारले जनताका सबै अप्ठ्यारो सल्टाउनु पर्छ : प्रेम सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताए ।
उनले विगतका सरकारहरूले भ्रष्टाचारलाई बढवा दिएको, जनताको पक्षमा काम नगरेको उल्लेख गर्दै उनले नयाँ सरकारले बाढी, डुबान पीडित जनतालाई राहत दिन ढिलाइ गर्न नहुने पनि बताए ।
सांसद सुवालले पटक पटक सरकार बन्ने परिपार्टीको अन्त्य गर्नुपर्ने पनि बताए । सांसद सुवालले नयाँ सरकारले संसद्लाई प्राज्ञिक थलोको रूपमा विकास गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस