आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
चितवन घटना

भेटिएनन् यात्रुसहितका बस, खोज तथा उद्धार कार्य स्थगित

शुक्रबार, २८ असार २०८१, १८ : ५४
शुक्रबार, २८ असार २०८१

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गएको पहिरोमा परेको यात्रुसहितका दुई बसको अवस्था अज्ञात छ । सडकमा गुडिरहेको यात्रुबाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको प्रहरीको भनाइ छ । तर, दिनभर खोजतलास गर्दा पनि बस फेला पार्न नसकिएको नेपाल प्रहरीको बागमती प्रदेशका प्रमुख डीआईजी विष्णु केसीले जानकारी दिए । 

नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन् ।

एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा शुक्रवार बिहान सो बस घटनामा परेको केसीको भनाइ छ । 

एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको थियो । 

गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार रहेको बताइएको छ । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ जना प्रहरीको सम्पर्कमा छन् । उनीहरू हुन्, रौतहटको देवाही गोनाहि नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपालिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता ।

दुई वटा बस त्रिशूलीमा खस्दा कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । प्रहरीले आज रात परेकाले खोज तथा उद्धार कार्य स्थगित भएको र भोलि बिहानैदेखि खोजीलाई निरन्तरता दिने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप