१२ वर्षे संयोग र ‘लाइटनिङ बोल्ट’ को नाममा लेखिएको दुर्लभ कीर्तिमान
माथिको एउटा तथ्याङ्कले पनि पेरिस ओलम्पिकअघि बोल्टलाई फेरि चर्चामा ल्याएको छ । तपाईँले विचार गर्नु भयो ? खासमा, क्यानडाका डोनोभान बेलीले सन् १९९६ को एटलान्टा ओलम्पिकमा बनाएको कीर्तिमान त्यसको १२ वर्षपछि बोल्टले तोडेका थिए । बोल्टले सन् २०१२ को लन्डन ओलम्पिकमा कीर्तिमान बनाएको पनि ठिक १२ वर्ष पुगेको छ । के फेरि एक पटक ओलम्पिकमा अनौठो संयोग जुर्ला त ? के कुनै युवा धावकले १२ वर्षदेखि बोल्टको नाममा लेखिँदै आएको कीर्तिमान पेरिस ओलम्पिकमा भङ्ग गर्ने क्षमता राख्ला ? प्रश्न अझै अनुत्तरित छ ।
काठमाडौँ । ओलम्पिक खेलकुदको ३३औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुँदै छ । जुलाई २६ तारिखमा भव्य समारोहबिच उद्घाटन हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिक अगस्त ११ तारिखसम्म चल्नेछ ।
यसपटक ओलम्पिकमा १० हजार ६ सयभन्दा बढी खेलाडीले सहभागिता जनाउँदै छन् । पेरिस ओलम्पिकमा विभिन्न ३२ खेलका तीन सय २९ स्पर्धा समावेश गरिएको छ । ओलम्पिक खेलकुदमा सबैभन्दा बढी चर्चा हुने खेलमध्ये एक हो, एथलेटिक्स ।
एथलेटिक्समा पनि ‘ट्र्याक इभेन्ट’ ले सबैभन्दा बढी खेलप्रेमीको ध्यान तान्ने गर्छ । त्यसमा पनि छोटो दुरीको दौडमा खेलाडीको प्रदर्शन र उनीहरूले बनाउने कीर्तिमान धेरैका खेलप्रेमीको चासोको विषय बन्ने गरेको छ ।
पेरिस ओलम्पिकमा पनि ‘ट्रयाक इभेन्ट’ ले धेरैको ध्यान तान्ने पक्का छ । पेरिस ओलम्पिक सुरु हुनुअघि जमैकन धावक उसेन बोल्ट फेरि चर्चामा छन् । बोल्टले १२ वर्षअघि ओलम्पिकमा बनाएको कीर्तिमान कसैले भंगा गला कि नगर्ला ? धेरैले अधैर्यतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।
समकालीन विश्व एथलेटिक्समा बोल्ट विश्वकै सबैभन्दा तेज गतिका धावक हुन् । अर्थात, बोल्टभन्दा छिटो दौडने व्यक्ति विश्वमा अर्को छैन । बोल्टले ओलम्पिक खेलकुदमा आठ वटा स्वर्ण पदक जितेका छन् । विश्व एथलेटिक्स र ओलम्पिकमा उनको नाममा कीर्तिमानको चाङ् छ ।
एक सय र दुई सय मिटर दौडका महारथी बोल्टका अगाडि जस्टिन गेट्लिन र टाइसन गेजस्ता विश्व चर्चित धावक पनि निरिह देखिन्छन् । सन् २०१२ मा सम्पन्न लन्डन ओलम्पिकमा त बोल्टको प्रदर्शनले विश्व खेल जगतलाई नै आश्चर्यमा पारिदियो ।
त्यो ओलम्पिकमा उनले एक सय मिटर दौड केवल ९.६३ सेकेन्डमा पुरा गरेका थिए । त्यसपछि धेरैको मनमा एउटा प्रश्नले जन्म लियो, के भविष्यमा कुनै धावकले बोल्टको नाममा लेखिएको यो कीर्तिमान तोड्ला त ? त्यसयता दुईवटा ओलम्पिक सम्पन्न भइसकेका छन् । तर, प्रश्न अझै अनुत्तरित छ ।
त्यसैले पेरिस ओलम्पिकअघि फेरि एक पटक त्यही पुरानो प्रश्न दोहोरिएको छ, ‘के पेरिस ओलम्पिकमा बोल्टको कीर्तिमान भङ्ग होला त ?’ एक सय मिटर दौडमा ओलम्पिकमात्र होइन, विश्व एथलेटिक्सको कीर्तिमान पनि बोल्टकै नाममा छ ।
अझ विश्व एथलेटिक्समा त बोल्टले ओलम्पिकभन्दा पनि कम समयमा एक सय मिटर दौड पुरा गरेका छन् । सन् २००९ मा जर्मनीको बर्लिनमा सम्पन्न विश्व च्याम्पियनसिपमा बोल्टले एक सय मिटर दौड पुरा गर्न केवल ९.५८ सेकेन्ड समय खर्चिएका थिए । ‘जमैकन चितुवा’, ‘लाइटनिङ बोल्ट’ जस्ता उपनाम पाएका बोल्टको दौडको गति ३७.५८ किलोमिटर प्रतिघण्टा देखिन्छ जुन, आफैमा अविश्वसनीय लाग्छ ।
यसका अतिरिक्त दुई सय मिटर दौडको ओलम्पिक र विश्व कीर्तिमान पनि यी जमैकन धावककै नाममा कुँदिएको छ । उनले सन् २००८ मा चीनको बेइजिङमा सम्पन्न ओलम्पिकमा दुई सय मिटर दुरी १९.३० सेकेन्डमा पुरा गरेका थिए ।
सन् २००९ मा जर्मनीको बर्लिनमा सम्पन्न विश्व च्याम्पियनसिपमा बोल्टले दुई सय मिटर दौड १९.१९ सेकेन्डमा पुरा गरेका थिए । सुन्दा रमाइलो लाग्न सक्छ । सुरुआती चरणमा भने बोल्टको ओलम्पिक सहभागिता निकै निराशाजनक थियो ।
हाल उमेरले ३७ वर्ष पुगिसकेका बोल्टले सन् २००४ मा ग्रिसको एथेन्समा सम्पन्न ओलम्पिकमा उनको प्रदर्शन बिर्सनलायक थियो । खासमा त्यो ओलम्पिकमा खुट्टामा लागेको चोटका कारण उनले स्वभाविक प्रदर्शन गर्न सकेका थिएनन् । त्यो ओलम्पिकमा उनले केवल दुई सय मिटर दौडमा भाग लिएका थिए ।
बोल्टले निर्धारित दुरी पार गर्न २१.०५ सेकेन्ड समय खर्चिएका थिए । ओलम्पिक खेलकुदजस्तो वृहत प्रतियोगितामा यो निकै निराशाजनक प्रदर्शन थियो । त्यतिबेला बोल्ट आफैले पनि सायदै सोचेका थिए होलान, ‘एउटा सुनौलो भविष्य मेरो प्रतीक्षामा छ ।’
ग्रिस ओलम्पिकपछि उनले सन् २००८ मा बेइजिङ ओलम्पिकमा सहभागिता जनाए । बेइजिङ ओलम्पिकअघि एक सय मिटर दौडको कीर्तिमान क्यानडाका धावक डोनोभान बेलीको नाममा थियो । सन् १९९६ को एटलान्टा ओलम्पिकमा निर्धारित दुरी ९.८४ सेकेन्डमा पुरा गर्दै क्यानडाका बेलीले उक्त कीर्तिमान आफ्नो नाममा पारेका थिए ।
त्यसको १२ वर्षपछि बेइजिङ ओलम्पिकमा बोल्टले बेलीको कीर्तिमान भङ्ग गरे । बेइजिङ ओलम्पिकमा उनले एक सय मिटर दौड ९.६९ सेकेन्डमा पुरा गरेका थिए । जबकि त्यो ओलम्पिकमा दोस्रो हुने धावक रिचर्ड थम्पसनले निर्धारित दुरी पुरा गर्न ९.८९ सेकेन्ड समय खर्चिएका थिए । ओलम्पिक खेलकुदको इतिहासमा एक सय मिटर दौडमा यो अन्तरलाई निकै ठुलो मानिन्छ ।
त्यसको चार वर्षपछि सन् २०१२ को लन्डन ओलम्पिकमा त बोल्टले कमाल नै गरेर देखाए । लन्डन ओलम्पिकमा उनले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गर्दै एक सय मिटर दुरी ९.६३ सेकेन्डमा पुरा गरेका थिए । १२ वर्ष बितिसकेको छ तर, बोल्टको नाममा लेखिएको त्यो कीर्तिमान अझै कसैले तोड्न सकेको छैन ।
ओलम्पिकमा एक सय मिटर दौड सबैभन्दा छिटो पुरा गर्ने सूचिमा पहिलो र दोस्रो स्थानमा बोल्ट छन् भने तेस्रो स्थानमा जमैकाकै योहान ब्लेक रहेका छन् । योहान ब्लेकले सन् २०१२ को लन्डन ओलम्पिकमा ९.७५ सेकेन्डमा एक सय मिटर दौड पुरा गरेका थिए ।
माथिको एउटा तथ्याङ्कले पनि पेरिस ओलम्पिकअघि बोल्टलाई फेरि चर्चामा ल्याएको छ । तपाईँले विचार गर्नु भयो ? खासमा क्यानडाका डोनोभान बेलीले सन् १९९६ को एटलान्टा ओलम्पिकमा बनाएको कीर्तिमान त्यसको १२ वर्षपछि बोल्टले तोडेका थिए ।
बोल्टले सन् २०१२ को लन्डन ओलम्पिकमा कीर्तिमान बनाएको पनि ठिक १२ वर्ष पुगेको छ । के फेरि एक पटक ओलम्पिकमा अनौठो संयोग जुर्ला त ? के कुनै युवा धावकले १२ वर्षदेखि बोल्टको नाममा लेखिँदै आएको कीर्तिमान पेरिस ओलम्पिकमा भङ्ग गर्ने क्षमता राख्ला ? प्रश्न अझै अनुत्तरित छ ।
क्रिस्टियन कोलम्यान
आखिर पेरिस ओलम्पिकमा बोल्टको कीर्तिमान भङ्ग गर्ने क्षमता बोकेका धावक को–को छन् त ? यस्तै क्षमता बोकेका एक हुन्, अमेरिकी धावक क्रिस्टियन कोलम्यान । कोलम्यान भन्छन्, ‘बोल्टको कीर्तिमान तोड्न अत्यन्तै कठिन छ तर, असम्भव होइन ।’
तर, उनी आफै पनि यो सम्भावना बोकेका खेलाडी हुन् । त्यसैले घुमााउरो पाराले उनी यो तथ्य स्विकार्छन् पनि । उनी भन्छन्, ‘९.५८ सेकेन्ड, निकै गाहृो छ । तर, यो कीर्तिमान लामो समय कायम रहने छैन । समकालीन विश्व एथलेटिक्समा धेरै क्षमतावान युवा धावकको जन्म भइसकेको छ । मेरो विचारमा छिट्टै नै बोल्टको कीर्तिमान तोडिन सक्छ ।’
२८ वर्षीय कोलम्यान बोल्टको कीर्तिमान नजिक पुग्ने समकालीन विश्व एथलेटिक्सका तीन धावकमध्ये एक हुन् । उनले सन् २०१९ मा सम्पन्न विश्व एथलेटिक्स च्याम्पियनसिपमा ९.७६ सेकेन्डमा एक सय मिटर दौड पुरा गर्दै स्वर्ण पदक जितेका थिए ।
तर, उनले सन् २०२० को टोकियो ओलम्पिकमा भने सहभागिता जनाउने अवसर पाएनन् । प्रतिबन्धित औषधि सेवन गरेको पुष्टि भएपछि उनी निलम्बनमा परेका थिए । अहिले उनको निलम्बन फुकुवा भइसकेको छ । उनी बोल्टको कीर्तिमान तोड्ने लक्ष्यसहित पेरिस ओलम्पिकमा सहभागी हुनेछन् ।
फ्रेड केर्ली
उसेन बोल्टको कीर्तिमान नजिक पुग्न सफल अर्का धावक हुन्, अमेरिकाका फ्रेड केर्ली । २९ वर्षीय केर्लीले एक सय मिटर दौड ९.७६ सेकेन्डमा पुरा गरेका छन् । उनले यसअघि टोकियो ओलम्पिकमा पनि सहभागिता जनाएका थिए ।
टोकियो ओलम्पिकमा उनले रजत पदक जितेका थिए । त्यो ओलम्पिकमा उनले एक सय मिटर दौड ९.८४ सेकेन्डमा पुरा गरेका थिए । त्यसपछि उनले सन् २०२२ मा सम्पन्न विश्व एथलेटिक्स च्याम्पियनसिपमा उनले निर्धारित दुरी ९.७६ सेकेन्डमा पार गर्दै स्वर्ण पदक चुमेका थिए ।
‘सम्भव छ । बोल्टले पनि अरु कसैको कीर्तिमान तोडेका हुन् । उनको कीर्तिमान पनि तोडिन सक्छ । यो असम्भव होइन । मेरो विचारमा अमेरिकी धावकले नै बोल्टको नाममा लेखिएको कीर्तिमान तोडेर देखाउने छन्,’ केर्ली भन्छन् ।
ट्रायभोन ब्रोमेल
बोल्टको कीर्तिमान तोड्ने सम्भावना बोकेका अर्का धावक पनि अमेरिकाकै हुन् । २९ वर्षीय अमेरिकी धावक ट्रायभोन ब्रोमलले पछिल्लो समय विश्व एथलेटिक्समा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
ब्रोमेलले ९.७६ सेकेन्डमा एक सय मिटर दौड पुरा गरेका छन् । उनले सन् २०२१ मा केन्याको नैरोबीमा सम्पन्न किप किनो क्लासिक च्याम्पियनसिपमा उक्त समय निकालेका हुन् । टोकियो ओलम्पिकमा भने उनको प्रदर्शन निराशाजनक थियो ।
‘मेरो विचारमा बोल्टको कीर्तिमान तोड्नु निकै गाह्रो काम हो । १२ वर्षसम्म कुनै पनि धावक उनको कीर्तिमान छेउछाउ पुग्न सकेको छैन । तर, अहिले धेरै युवा धावकले बोल्टको कीर्तिमानमाथि आँखा लगाएका छन् । बलियो इच्छा शक्ति चाहिन्छ । पक्कै एक दिन बोल्टको कीर्तिमान पनि तोडिने छ,’ उनी भन्छन् ।
मार्सेल जेकब्स
प्रभावशाली इटालियन धावक हुन्, मार्सेल जेकब्स । एक सय मिटर दौडमा उनको प्रदर्शन ९.८० सेकेन्ड रहेको छ । उनले सन् २०२० मा सम्पन्न टोकियो ओलम्पिकमा एक सय मिटर दौडको उपाधि जितेका थिए ।
सोही ओलम्पिकमा उनले ९.८० सेकेन्डको समय निकालेका हुन् । त्यतिबेला उनले अमेरिकी धावक फ्रेड केर्लीलाई पछि पारेका थिए । पछिल्लो समय पनि उनी निरन्तर आफ्नो प्रदर्शनमा सुधार ल्याउन प्रयासरत छन् ।
बोल्टको कीर्तिमान तोड्न सक्ने सम्भावना बोकेका धावकको सूचिमा उनको नाम पनि पर्छ । ‘बोल्टको मात्र होइन, कुनै पनि खेलाडीको कीर्तिमान एक दिन तोडिन्छ । बोल्टमात्र अपवाद हुन सक्दैनन् । मेरो विचारमा छिट्टै नै बोल्टको कीर्तिमान पनि तोडिने छ,’ उनी भन्छन् ।
नोह लिल्स
उसेन बोल्टको नाममा १२ वर्षअघि खेलिएको कीर्तिमान तोड्ने होडमा रहेका धावकको सूचिमा नोह लिल्सको नाम पनि आउँछ । २६ वर्षीय लिल्स अमेरिकन धावक हुन् । उनले एक सय र दुई सय मिटर दौडमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
लिल्स एक सय र दुई सय मिटर दौडका विश्व च्याम्पियन पनि हुन् । बोल्टको कीर्तिमान तोड्ने होडमा रहेका धावकमध्ये उनी सबैभन्दा युवा खेलाडी हुन् । उनले खासगरी बोल्टले दुई सय मिटर दौडमा बनाएको कीर्तिमान तोड्न सक्ने सम्भावना देखिन्छ । लिल्सले एक सय मिटर दौड ९.८३ सेकेन्डमा पुरा गरेका छन् ।
तर, पछिल्लो समय उनले आफ्नो बढी ध्यान एक सय मिटर दौडमा केन्द्रित गरेका छन् । ‘बोल्ट विश्व एथलेटिक्सका आदर्श खेलाडी हुन् । उनी मेरा पनि आदर्श हुन् । बोल्टको कीर्तिमान भङ्ग गर्ने खेलाडी निकै भाग्यमानी हुनेछ । सम्भवतः म सन् २०२८ मा आयोजना हुने लसएन्जल्स ओलम्पिकमा सहभागी हुने छैन । त्यसैले त्यसअघि नै मैले केही फरक गरेर देखाउनु छ,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस