सरकारले फिर्ता बोलाएपछि बेलायतको राजदूतबाट बिदा भए आचार्य
लन्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य यही जुलाई १३ तारिख कतार एअरवेजमार्फत नेपाल फर्कँदै छन् । नेपाल सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेपछि सन् २०२२ मा राजदूत नियुक्त भएका आचार्य आफ्नो कार्यकाल पूरा नहुँदै करिब अढाई वर्षमा नै नेपाल फर्कन लागेका हुन् ।
लन्डनस्थित दूतावास भवनमा बिहीबार साँझ आयोजित बिदाइ समारोहमा सम्बोधन गर्दै छोटो समयमा पनि आफूले आफ्नो जिम्मेवारी पूरा गरेको बताउँदै आचार्यले आफूले गरेका विभिन्न उपलब्धिहरूबारे स्मरण गरे ।
बेलायत र नेपालबिचको सम्बन्धलाई प्रगाढ र थप मजबुत बनाउन आफूले सक्दो प्रयास गरेको बताउँदै बेलायतवासी नेपाली समुदाय, बुद्धिजीवी, सामाजिक अभियन्ता सबैको प्रशंसा गर्दै धन्यवाद दिए । उनले आगामी दिनमा पनि बेलायत र नेपालबिचको सम्बन्ध थप मजबुत र प्रगाढ बन्ने विश्वास व्यक्त गरे । सन् १८१६ बाट सुरु भएको बेलायत नेपाल सम्बन्धमा त्रिपक्षीय सन्धि र गोर्खा भर्ती नै सम्बन्धको बलियो जग रहेको बताए । ‘पारस्परिक सम्मान, समझदारी, सहयोग र सहकार्य दुई देशबिचको प्रगाढ सम्बन्धका आधारभूत सिद्धान्तहरू हुन्’ आचार्यले भने ।
यस्तै भूतपूर्व गोर्खाहरूका समस्या समाधानका लागि विभिन्न चरणमा मन्त्रिस्तरीय वार्ता भैसकेको उल्लेख गर्दै गोर्खा वार्ताको निरन्तरता र दीर्घकालीन समाधानको पहल हुने धारणा व्यक्त गरे ।
दुई देशबिच सहकार्य र सहयोग एवं सामाजिक आर्थिक रूपान्तरणका लागि पटक पटक राजनीतिक तथा कूटनीतिक भेटघाट तथा संवाद भएका पनि उनले स्मरण गरे । बेलायत नेपाल मैत्री सन्धिको एक सय वर्ष पुगेको अवसरमा बेलायती विदेश मन्त्रालयसहित अन्य संघसंस्थाको सहकार्यमा भएका कार्यक्रम, बेलायती प्रधानमन्त्रीको कार्यालयमा नेपाली समुदायका लागि गरिएको विशेष कार्यक्रमलगायत विभिन्न कार्यक्रमहरूको आयोजनाले दुई देशबिच सहकार्य र सहयोगमा थप बल पुगेको उनले बताए । आफ्नो कार्यकालमा गरिएका महत्त्वपूर्ण कार्यक्रमहरू, पर्यटन प्रवर्धन कार्यक्रम, लगानी(आइटी सम्मेलन तथा सगरमाथा आरोहणको ७० औँ वार्षिकोत्सव जस्ता महत्त्वपूर्ण कार्यक्रमको पनि उनले स्मरण गरे ।
जलवायु परिवर्तन, भौतिक पूर्वाधार जस्ता क्षेत्रमा बेलायतले सहयोग बढाइरहेको र आउँदो दश वर्षभित्र ४०० मिलियन पाउन्ड लगानीको प्रतिबद्धता भएको पनि उल्लेख गरे ।
बिदाइ कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, व्यवसायी, समाजसेवी, पत्रकारलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा दूतावासकी नियोग उपप्रमुख रोशन खनालले सबैलाई स्वागत गरेकी थिइन् ।