बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
विपत्ति

पछिल्लो १ महिनामा धेरै मानवीय क्षति गण्डकी प्रदेशमा

देशभर ३ हजार ४७३ परिवार विस्थापित
शुक्रबार, २८ असार २०८१, १४ : १०
शुक्रबार, २८ असार २०८१

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोमा परेर शुक्रवार कास्कीको पोखरा महानगरपालिका–१९ स्थित पुरनचौरमा एकै परिवारको ६ जनाले ज्यान गुमाए ।

मध्यराति कुल बहादुर परियारको घरमा पहिरो खस्दा उनको परिवारका ६ जना र एक जना छिमेकीले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा ४६ वर्षीय कुल बहादुर परियार, ४३ वर्षीय मनु कुमारी परियार, ८५ वर्षीया लक्षिमा परियार, १५ वर्षीया प्रसना परियार छन् ।

माइत गएकी कुल बहादुरकी छोरी २० वर्षीया प्रभा परियार, ज्वाइँ २५ वर्षका अस्मित परियारको पनि मृत्यु भएको गण्डकी प्रदेशका डीआईजी दुर्गा सिंहले रातोपाटीलाई बताइन् । घटनास्थलमा पोखरा–१९ तल्लाकोट टारी बस्ने वर्ष ५६ कि राधिका परियारको पनि मृत्यु भएको छ ।

पहिरोमा परेर ३१ वर्षीय कुमार परियार र १७ वर्षका पवन परियार घाइते भएका छन् । पवन कुल बहादुरका छोरा हुन । उनी भागेर बाँच्न सफल भए ।

 पोखरा महानगरपालिका–३२ स्थित चैनपुरमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अनिता ओझा,  ११ वर्षीया अनुष्का ओझा र ९ वर्षीय प्रतीक सुवेदी छन् । मादी गाउँपालिका वडा नम्बर–११ मा पहिरोका कारण एक जनाको मृत्यु भएको छ । गएराति १ बजेतिर तल्लो ताप्लेमा खसेको पहिरोका कारण माइती कुमारी गुरुङको मृत्यु भएको कास्कीका डीएसपी बसन्त शर्माले रातोपाटीलाई बताए । उनका छोरा  ५५ वर्षीय ओम बहादुर गुरुङ घाइते भएका छन् ।

गण्डकी प्रदेशमा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित आरखोलामा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया तुल प्रसाद न्यौपाने र उनकी पत्नी ४८ वर्षीया बालकुमारी न्यौपाने छन् ।

घर पुरिँदा उनको घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । शुक्रवार बिहान मात्रै कास्की र म्याग्दीमा १३ जनाले ज्यान गुमाए ।

२८ जेठमा मनसुन सुरु भएयता सबैभन्दा धेरै मानवीय क्षति गण्डकी प्रदेशमा भएको छ । पछिल्लो १ महिनामा गण्डकीमा बाढी, पहिरो र चट्याङका कारण ३६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकबाट देखिन्छ ।

मनसुन सक्रिय भएपछि कोशी प्रदेशमा १९ जना र लुम्बिनीमा २३ जनाले ज्यान गुमाएका छन् । काठमाडौँ उपत्यकामा मनसुनको कारण एक जनाको मृत्यु भएको छ । मधेस प्रदेशमा ५ जना, बागमतीमा ६ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा ७ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकबाट देखिन्छ ।

२८ जेठपछि हालसम्मको देशभरको तथ्यांक

Capture

झन्डै ३५ सय परिवार विस्थापित

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ३ हजार ४७३ परिवार सङ्ख्या विस्थापित भएका छन् । ९ सय ६९ घरका ३ हजार ४७३ परिवार सङ्ख्या विस्थापित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुदूरपश्चिममा सबैभन्दा धेरै विस्थापित भएका छन् ।

वर्षासँगै आएको बाढीका कारण सुदूरपश्चिमका ५ जिल्लाको जनजीवन प्रभावित भएको छ । कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र अछामका दुई हजार स्थानीय विस्थापित भएका हुन् । कैलालीमा ५७८ जना, कञ्चनपुरमा ५११ परिवारका १ हजार ७३८ जना, दार्चुलामा ९९ जना र बैतडीमा १८० जना विस्थापित भएका हुन् । उनीहरूलाई विद्यालय, सामुदायिक भवन र अस्थायी टेन्टबाट पुरानै थातथलोमा पुनर्स्थापित गर्ने प्रयास भइरहेको सरकारी अधिकारीहरू बताउँछन् । 

त्रिशूलीमा दुई वटा बस खस्दा ५५ यात्रुको अवस्था अज्ञात

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका छन् । नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन् ।

एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र  गणपति काठमाडौँबाट रौतहटको गौर तर्फ जाँदै गरेको अवस्थामा शुक्रवार बिहान दुर्घटना भएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले रातोपाटीलाई बताए ।

एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ ।

गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए । सुरक्षा अधिकारीहरुहरुले अहिलेसम्म सो विवरणको आधिकारिकता पुष्टि गर्न सकेका छैनन् । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ जना प्रहरीको सम्पर्कमा छन् । उनीहरू हुन्, रौतहटको देवाही गोनाहि नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपालिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता ।

दुई वटा बस त्रिशूलीमा खस्दा कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप