‘एक्सन फिल्ममा अफर आए अभिनयका लागि तयार छु’
पछिल्लो समय सबैभन्दा व्यस्त अभिनेताको सूचीमा पर्छन् दयाहाङ राई । उनको एउटै महिना दुई फिल्ममात्र होइन, एकै मितिमा दुई फिल्मसमेत आएको अवस्था छ । धेरै फिल्म गर्ने चक्करमा गुणस्तरमा ध्यान दिन छोडेको आरोपसमेत उनलाई लाग्दै आएको छ । तर उनी त्यो मान्न तयार छैनन् ।
वैशाखदेखि अहिलेसम्म उनका ‘मन्सरा’ र ‘गाउँ आएको बाटो’ रिलिज भइसके । शुक्रबारबाट नयाँ फिल्म ‘घरज्वाइँ’ प्रदर्शन हुँदैछ । फिल्मले फरक कथा र फरक परिवेश पेस गर्ने उनी बताउँछन् ।
प्रस्तुत छ, अभिनेता दयाहाङ राईसँग फिल्म घरज्वाइँ’ र अभिनयको विषयमा रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश -
- फिल्म ‘घरज्वाइँ’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । कस्तो फिल्म हो यो ?
– यो प्रेमकथाको फिल्म हो । फिल्ममा रुकुमको मगर युवायुवतीको रोमाञ्चक प्रेमकथा देख्न पाइन्छ ।
- ‘घरज्वाइँ’ मगर समुदायमा रहेको संस्कृति र परम्पराको कथा पनि भनिएको छ । के हो कथा ?
– ‘घरज्वाइँ’ छोरीको श्रीमान्लाई आफ्नो घरमा राख्ने कथा हो । आदिवासी समुदायमा पहिलेदेखि नै छोरीलाई उच्च स्थानमा राखिँदै आएको छ । उनीहरूलाई आत्मनिर्णयको अधिकार दिँदै आएको छ । विवाह भनेको दुई व्यक्ति, परिवार र समाजको सम्बन्धको कुरो हो ।
मगरलगायत कुनैकुनै समुदायमा छोरी दिनुभन्दा अगाडि ज्वाइँ कति परिपक्व छन् भनेर हेर्ने र सिकाउने एउटा अभ्यास रहेछ । त्यही अभ्यासको कथा पनि फिल्ममा छ । त्यसको अलावा ‘घरज्वाइँ’ किन राख्ने त भन्ने विषयसमेत यसले देखाएको छ ।
- फिल्ममा तपाईंलाई कस्तो भूमिकामा देख्न सकिन्छ ?
–फिल्ममा ‘घरज्वाइँ’को शीर्ष भूमिका मेरो छ । म मगर समुदायको एउटा युवा हुन्छु, जो आफ्नो गाउँभन्दा टाढा बसेको छ । फिल्मको पृष्ठभूमि २०६३ पछाडिको हो । देशमा शान्ति प्रक्रियापछि युवाहरू गाउँ फर्किएका थिए । एउटा युवा गाउँ फर्किएपछि गाउँलाई आफू अनुकूल बनाउने कि आफैँ परिवर्तन हुने भन्ने खालको एउटा युवाको चरित्र मैले निर्वाह गरेको छु ।
- ‘घरज्वाइँ’ अभिनय अनुभव कस्तो रह्यो ?
– हामी जुन ठाउँमा पुग्छौँ, आफ्नो दृष्टिकोण बोकेर जाने गर्छाैं । त्यो ठाउँमा आफू भिन्न हुने कि कसरी घुलमिल हुने र कसरी भिज्ने हुँदोरहेछ । त्यो मनोविज्ञान मैले पनि अनुभव गरेँ । अभिनय मार्फत फरक जीवन बाँच्न पाएँ ।
- दर्शकले किन हेर्ने ‘घरज्वाइँ’ ?
–यो एउटा सुन्दर प्रेमकथा र सुन्दर सम्बन्धको कथामा निर्माण भएको फिल्म हो । हाम्रो समाज विविधताले भरिएको छ । फिल्म अहिले बजारमा आएकोभन्दा भिन्न संस्कृति र कथाले समेत भरिएको छ । रोल्पाको सुन्दर लोकेसनमा छायाङ्कन भएको फिल्म भएकाले रोल्पा घुम्न, त्यहाँको समाज बुझ्न र रमाउन दर्शकले यो फिल्म हेर्नुपर्छ ।
- फिल्म अभिनय अघि र पछाडि ‘घरज्वाइँ’को बुझाइमा फरक रह्यो कि रहेन ?
– त्यो रहन्छ । हाम्रो समाजमा पितृ सतात्मक सोच छ । ‘घरज्वाइँ’ भन्ने बित्तिक्कै हामी विवाह गरेर श्रीमतीसँग उनको माइतमा सधैँका लागि बस्ने ज्वाइँ भन्ने बुझ्छौँ । यो फिल्मको अभ्यास अलि फरक छ । त्यसले पनि फरक बुझाइ र सिकाइ रह्यो । फिल्म अभिनयपछि ‘घरज्वाइँ’को विषयमा भिन्न जानकारी पाएँ ।
- केही वर्षयता तपाईं निकै व्यस्त हुनुहुन्छ । तनाव त पक्कै हुन्छ होला ?
– के को तनाव ? मैले त यो व्यस्ततामा रमाइलो अनुभूति गरिरहेको छु । एउटा कलाकार निकै व्यस्त हुनु भनेको राम्रो कुरो हो । यही कुरोका लागि म धेरै वर्षदेखि मेहनत गर्दै आएको थिएँ ।
- धेरै फिल्म खेलेको आरोप लागेको छ नि ?
–मैले गर्न जानेको भनेको अभिनय हो । समय अनुकूल मिलेको र मन परेको कथामा अभिनय गरिरहेको छु । कोही कलाकारले अभिनय गरेको फिल्मको सङ्ख्यामा तुलना गरेर धेरै भनिएको भए म जान्दिनँ । मैले सक्नेजति काम गरेको हो । धेरै गरेजस्तो लाग्दैन ।
- तपाईंलाई आफ्नो फिल्मले विदेशी मञ्चमा प्रतिनिधित्व गर्दा खुसी लाग्छ कि स्वदेशी व्यवसाय राम्रो हुँदा ?
– यो दुवै कुरो महत्त्वपूर्ण हो । विदेशी मञ्चमा फिल्ममार्फत हाम्रो कलासंस्कृति, मूल्यमान्यता प्रस्तुत हुनु भनेको एउटा गर्विलो कुरो हो । यसले अन्तर्राष्ट्रिय क्षेत्र, समुदायसँग नेपाली कलासंस्कृति लगायत विभिन्न पक्षको प्रचार गरिरहेको हुन्छ । व्यवसायमार्फत पनि फिल्म धेरैले हेरेको, मनपराएको अनुभव गर्न सकिन्छ । त्यसैले दुवै कुरा मेरालागि महत्त्वपूर्ण र आनन्ददायी हो ।
- कोहीले अर्गानिक कथाको खोजीले फिल्ममा भेराइटी भित्रियो भनिरहेका छन् । केही यो मान्न तयार छैनन् । तपाईंलाई के लाग्छ ?
–कथा भनेको एउटा पात्रको हुन्छ । पात्रको एउटा पृष्ठभूमि हुन्छ । त्यो कुनै भूगोल, समुदायबाट आएको हुन्छ । अर्गानिक कथाको खोजीले फरकफरक पृष्ठभूमिका पात्रहरू फिल्ममा देख्न पाइएको छ । यसले फिल्मको दायरासमेत फराकिलो बनाएको जस्तो लाग्छ ।
हिजोको दिन उस्तै कथा, उस्तै पात्र र पात्रको पृष्ठभूमि पनि हुँदैन थियो । काल्पनिक चरित्र आउँथ्यो । जसले नेपालीपनको प्रतिनिधित्व गर्दैन थियो ।
- विदेशी फिल्ममा देख्न सकिने जस्ता राजनीतिक मुद्दा नेपाली फिल्मले किन उठाउन सकेन ?
–नेपाली फिल्ममा राजनीतिक मुद्दा नसमिटिएको त होइन । तर नेपाली राजनीतिले हरेक क्षेत्र चलायमान भएको हामीले त्यति महसुस गर्न पाएका छैनौँ । त्यसमा शिक्षाले पनि ध्यान दिन्छ । देशमा जति पनि राजनीतिक परिवर्तन भयो । त्यसलाई हामीले गहन तरिकाले महसुस गर्न सकेका छौँ कि छैनाँै भन्ने कुराले यसलाई निर्धारण गर्छ । हाम्रो देशको राजनीति जहिले पनि चलायमान छ । त्यो हुँदा हामीलाई राजनीतिप्रति एक किसिमको वितृष्णा छ । कुनै पनि कन्टेन्ट समेट्न एउटा छेउमा टेक्नुपर्ने हुन्छ । त्यो ठाउँ नभेटिको पनि हो ।
- तपाईंलाई एक्सन फिल्ममा हेर्न पनि कतिपयले चाहेका छन् । के यो सम्भव छ ?
– असम्भव कुरो पनि होइन । हाम्रो नेपाली परम्परा अनुसारको एक्सन रहने फिल्ममा अफर आयो भने म तयार छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक दुर्घटना : धनुषामा ६ महिनामा २६ जनाको मृत्यु
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ
-
महाभारत जङ्गलको आगलागी अझै नियन्त्रणमा आएन
-
हिमोफिलिया रोगको महँगो औषधी अब निःशुल्क
-
‘एक्टर : टेक वन’ को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले फिल्म खेल्न पाउने
-
सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता