बिहीबार, १५ कात्तिक २०८१
ताजा लोकप्रिय

पहिलो पटक उपेन्द्रको साथविना प्रचण्डको विश्वासको मत

शुक्रबार, २८ असार २०८१, १७ : ००
शुक्रबार, २८ असार २०८१

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पहिलो पटक जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको साथविना संसदमा विश्वासको मत लिएका छन् ।

संसदमा विश्वासको मतमात्र होइन, देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि संसदीय राजनीतिमा आएका दुवै जनाले एक अर्काको साथ कहिल्यै छाडेका थिएनन् ।

सरकार गठनमा होस् या आन्दोलन, दुवै जनाले एक अर्कालाई साथ दिँदै आएका थिए । कुनैबेला माओवादीमा सँगै काम गरेका प्रचण्ड र उपेन्द्रबिच २०६३ मा भएको गौर घटनाले केही दुरी बढाएको थियो । २०६५ मा भएको संविधान सभा चुनावपछि उनीहरू फेरि सँगै हिँडे ।

दोस्रो संविधान सभा चुनावपछि २०७२ जेठमा भएको १६ बुँदे सम्झौतापछि केही समयका लागि दुवै जना अलग भएका थिए । संविधान संशोधनका लागि आन्दोलन हुँदा फेरि प्रचण्ड र उपेन्द्र एक ठाउँमा आएका थिए ।

त्यसपछि कहिल्यै उनीहरूले एक अर्काले साथ छाडेनन् । प्रचण्ड नेतृत्वको हरेक सरकारलाई जसपाका अध्यक्ष उपेन्द्र यादवको साथ हुन्थ्यो । प्रचण्डसँग कोही नउभिए पनि छेउमा उपेन्द्र यादव देखिन्थे । त्यसले उपेन्द्रलाई वापमन्थी भनेर आरोप पनि लाग्ने गर्थ्यो । तैपनि एक अर्काको साथ उनीहरूले छाडेका थिएनन् । २०७९ को चुनावमा उपेन्द्र यादवले कांग्रेस–माओवादी गठबन्धन छाडेर एमालेसँग सहकार्य गरी चुनावमा भाग लिएका थिए ।

चुनावपछि उपेन्द्र पुनः प्रचण्डतिर फर्केका थिए । त्यसपछि दुवै जनाले एक अर्कालाई साथ दिएका थिए । प्रधानमन्त्री प्रचण्डले आफ्नो भागको उपराष्ट्रपति दिएर उपेन्द्रलाई बाराबाट उपनिर्वाचन जिताएका थिए ।

प्रचण्डले उपेन्द्रलाई चुनावमात्र जिताएका थिएनन्, उनलाई उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालय दिएर सरकारमा पनि ल्याएका थिए । तर पछिल्लो घटनाले दुवैबिचको सम्बन्धमा नराम्रो चिरा परेको छ । जसले गर्दा आज प्रधानमन्त्री प्रचण्डले लिइरहेको विश्वासको मतमा उपेन्द्रको साथ हुनेछैन ।

आफ्नो पार्टी प्रधानमन्त्री प्रचण्डले नै विभाजन गराएको जसपाका अध्यक्ष उपेन्द्र यादवको आरोप छ । त्यही कारणले साथ छाडेका उपेन्द्र यादव आज संसदमा प्रचण्डको साथ होइन, उनको विपक्षमा खडा भए । यस्तै प्रचण्डपनि विश्वासको मत पाउनबाट असफल भए ।

संसदमा रहेका हरेक दलले प्रचण्डलाई कहिले साथ दिए, कहिले दिएनन् । तर उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमदेखि हालको जसपा नेपालले निरन्तर साथ दिँदै आएको थियो ।


जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने बताएका छन् । उनले भने, ‘हाम्रो पार्टी प्रधानमन्त्री प्रचण्डको विपक्षमा उभिन्छ ।’ विगतदेखि माओवादीका अध्यक्ष प्रचण्डलाई आफू र आफ्नो पार्टीले साथ दिँदै आएको तर उनले नै आफ्नो पार्टी विभाजनमा भूमिका खेलेको अध्यक्ष यादवले गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप