बेलायत, इरान र फ्रान्समा किन हारे सत्तारुढ दल ?
काठमाडौँ । गएको हप्ता बेलायत, फ्रान्स, इरान जस्ता ठुला देशमा चुनाव भएका थिए । यी देशमा चुनावी परिणाममा सत्ताधारी दलहरूलाई झट्का लागेको छ । बेलायतमा ऋषि सुनकको कन्जरभेटिभ पार्टी १४ वर्षपछि सत्ताबाट बाहिरिएको छ । फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोँको पार्टी रेनेसान्स वामपन्थी गठबन्धनबाट पराजित भयो । इरानमा सुधारवादी नेता मसूद पेजेस्कियानले कट्टरपन्थी सइद जलिलीलाई पराजित गर्दै राष्ट्रपतिको चुनाव जिते ।
यी तीनवटा चुनावमा मात्रै सत्ताधारी दलहरूलाई झट्का लागेको भने होइनन् । यस वर्ष धेरै देशमा भएको आम निर्वाचनको नतिजाले विश्वलाई चकित बनाएको छ । यो वर्ष कुन–कुन ठुला देशमा चुनाव भयो अनि यहाँको नतिजा कस्तो रह्यो ? यी परिणामहरूले के बताउँछन् ? यसैबारे कुराकानी गरौँ ।
यो वर्ष कुन कुन ठुला देशमा चुनाव भयो ?
२०२४ चुनावी वर्ष भएको छ । टाइम्स म्यागजिनको रिपोर्टका अनुसार यस वर्ष इतिहासमा पहिलेभन्दा धेरै मतदाताहरूले विश्वव्यापी रूपमा चुनावमा भाग लिँदैछन् । युरोपका कम्तीमा ६४ देशमा राष्ट्रिय चुनावहरू भइसकेको वा हुन लागेका छन् । यो भनेको विश्वको कुल जनसङ्ख्याको लगभग ४९ प्रतिशत हो । विश्वका १० धेरै जनसङ्ख्या भएका देशमध्ये ८ वटामा सन् २०२४ मा चुनाव भएको वा भइसकेका छन् । बङ्गलादेश, ब्राजिल, भारत, इन्डोनेसिया, मेक्सिको, पाकिस्तान, रुस र अमेरिका आदिमा निर्वाचन भइसकेको छ । यसबाहेक फ्रान्स, बेलायत, इरान र युरोपेली सङ्घ (ईयू)मा पनि चुनाव भइसकेको छ ।
कहाँ कस्तो रह्यो नतिजा ?
फ्रान्सः
फ्रान्सेली मतदाताहरूले ३० जुन र ७ जुलाईमा दुई चरणमा राष्ट्रिय सभाका सांसदहरू चयन गर्न मतदान गरेका थिए । यहाँ संसदको तल्लो सदन राष्ट्रिय सभाका कुल ५७७ सिटका लागि निर्वाचन भएको थियो, जसमध्ये बहुमतका लागि २८९ सिट आवश्यक थियो । फ्रान्सको यस निर्वाचनमा सबै ठुला दलहरू गठबन्धनमा उत्रिएका थिए । फ्रान्सको संसदमा आइतबार भएको दोस्रो चरणको मतदानपछि वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टले सबैभन्दा बढी सिट जितेको छ । यसले दक्षिणपन्थी गठबन्धनलाई पराजित गर्यो ।
वामपन्थी न्यू पपुलर फ्रन्टले १८२ सिट जितेको छ भने राष्ट्रपति इमानुएल म्याक्रोँको मध्यमार्गी एन्सेम्बल गठबन्धनले १६३ सिट जितेको छ । पहिलो चरणमा विजयी भएका अति दक्षिणपन्थी पार्टी नेशनल र्याली र उनका सहयोगीहरू १४३ सिट जितेर तेस्रो स्थानमा सीमित भए । नेशनल र्याली पार्टीको नेतृत्व चरम दक्षिणपन्थी नेता मारिन ले पेनले गरेकी छिन् । यी नतिजाहरू पछि फ्रान्समा त्रिशङ्कु संसद् भएको छ । कुनै पनि गठबन्धन पूर्ण बहुमत हासिल नगरेपछि पूरै देश राजनीतिक अनिश्चयमा फसेको छ ।
इरानः
गत हप्ता इरानका जनताले पनि आफ्नो जनादेश दिए । २८ जुन र ५ जुलाईमा देशमा राष्ट्रपतिको निर्वाचनका लागि मतदान भएको थियो, जसमा सुधारवादी नेता मसूद पेजेस्कियान विजयी भए । मे १९ मा तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि इरानमा प्रारम्भिक निर्वाचन भएको थियो । चार उम्मेदवारहरूले चुनावको पहिलो चरणमा प्रतिस्पर्धा गरे । ६ जुलाईमा भएको दोस्रो चरणको निर्वाचनमा सुधारवादी मसूद पेजेस्कियानले चुनाव जिते । उनले कट्टरपन्थी नेता सइद जलिलीलाई पराजित गरे । यो जितसँगै पेजेस्कियानले इरानको नयाँ राष्ट्रपतिको पदभार ग्रहण गरेका छन् ।
बेलायतः
बेलायतमा ४ जुलाईमा ६५० संसदीय सिटका लागि मतदान भयो । यी चुनावहरू बेलायत, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स लगायत सबै भागहरूमा भएका थिए । बेलायतको चुनावको अन्तिम नतिजा जुलाई ६ मा घोषणा भयो । यी निर्वाचनमा कुल ३९२ दल दर्ता भए पनि मुख्य प्रतिस्पर्धा ऋषि सुनकको कन्जरभेटिभ र प्रमुख विपक्षी नेता केयर स्टारमरको लेबर पार्टीबीच भयो । विपक्षी लेबर पार्टीले ६५० सिटमध्ये ४१२ सिट जित्यो । वर्तमान सत्तारुढ दल कन्जरभेटिभले मात्र १२१ सिट जित्न सक्यो । सन् २००५ पछिको बेलायती चुनावमा प्रमुख विपक्षी दल लेबरले ठुलो जित दर्ता गरेको थियो । लेबर पार्टीलाई ठुलो जित दिएपछि कीर स्टार्मर देशको नयाँ प्रधानमन्त्री बनेका छन् ।
युरोपेली संघः
कुल २७ देश सदस्य रहेको यूरोपेली संघका मानिसहरूले जुन ६ देखि ९ सम्म मतदान गरे । ४४ करोडभन्दा बढी जनसङ्ख्या भएको युरोपेली संघमा कुल ७२० सदस्य युरोपेली संसद् (एमईपी) निर्वाचित छन् । ९ जुनमा उर्सुला भोन डर लेनको नेतृत्वमा रहेको युरोपेली पीपुल्स पार्टीले युरोपेली संसदमा सबैभन्दा बढी सिट जितेकी छिन् । यो चुनावमा मध्यमार्गी, उदारवादी र वातावरणवादी पार्टीहरूले हार बेहोरेका छन् भने दक्षिणपन्थी दलहरूले फाइदा उठाएका छन् । दक्षिणपन्थी युरोपेली कन्जरभेटिभ र सुधारवादी समूहले केन्द्रवादी नवीकरण युरोप समूहलाई पराजित गरेको छ ।
पाकिस्तानः
छिमेकी देश पाकिस्तानमा राष्ट्रिय सभाका लागि फेब्रुअरी ८ मा मतदान भयो । राष्ट्रिय सभा पाकिस्तानको संसदको तल्लो सदन हो जुन सरकारप्रति उत्तरदायी हुन्छ । २४ करोड जनसङ्ख्या भएको पाकिस्तानमा चुनावअघि कामचलाउ सरकार चलिरहेको थियो । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का प्रधानमन्त्री इमरान खानलाई अविश्वास प्रस्तावमार्फत पदबाट हटाइएपछि दुई वर्षपछि यी निर्वाचन भएका हुन् । त्यसपछि इमरान खानलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरियो र पाँच वर्षको लागि राजनीतिमा प्रतिबन्ध लगाइएको थियो । चुनावअघि सर्वोच्च अदालतको फैसलाले पीटीआईको चुनाव चिन्ह पनि खोस्यो ।
यी सबै घटनाक्रमका बाबजुद चुनावी नतिजा आउँदा वर्तमान सरकारविरुद्ध लडिरहेका पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी ९३ सिट जितेका छन् । यसपछि पाकिस्तान मुस्लिम लिग (एन) (पीएमएल–एन)ले ७५ सिट र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले ५४ सिट प्राप्त गरेको छ । राष्ट्रिय सभामा कुनै पनि दलले बहुमत नपाएपछि शहबाज सरिफ पीपीपी, पीएमएल–एन र अन्य साना दलहरूको समर्थनमा प्रधानमन्त्री बने ।
बंगलादेशः
यस वर्षको सुरुमा जनवरी ७ मा बङ्गलादेशमा आम चुनाव भयो । १७ करोडभन्दा बढी जनसङ्ख्या भएको बङ्गलादेशका जनताले राष्ट्रिय संसदको पक्षमा मतदान गरेका छन् । यस निर्वाचनमा प्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले लगातार चौथो पटक चुनाव जितेको छ । हसिनाको अवामी लिगलाई मध्य वामपन्थी दल मानिन्छ । प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टीले राजनीतिक असहमतिमाथिको क्र्याकडाउनको विरोधमा चुनाव बहिष्कार गरेको छ । वर्तमान सरकारको कार्यकालमा निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न नसक्ने केन्द्र दक्षिणपन्थी दलको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म