यती एयरलाइन्स दुर्घटना प्रकरण : लामो विवादपछि कम्पनीले तिर्यो ‘नो क्लेम डिस्काउन्ट’
काठमाडौँ । यती एयरलाइन्सको पोखरामा भएको दुर्घटनाको भयावह दृश्य अझै ताजै छ । २०७९ माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२–५०० विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा अकस्मात सेती नदीको खोचमा झर्न पुगेको थियो ।
उक्त विमानमा सवार ७२ जना यात्रु (चालक दलसहित) सबैको मृत्यु भएको थियो । सो दुर्घटनामा ४ जना रसियनसहित ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियन, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी गरी १५ जना विदेशी नागरिक र बाँकी ५३ जना नेपालीको मृत्यु भएको थियो ।
पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा गठित विमान दुर्घटना जाँचबुझ आयोगले तयार पारेको प्रारम्भिक प्रतिवेदनले विमान प्राविधिक कारणले नभइ मानवीय त्रुटिका कारणले दुर्घटना परेको निष्कर्ष तत्काल निकालेको थियो ।
आयोगले २०७९ फागुन ३ मा (दुर्घटनाको एक महिनापछि) सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा विमान अवतरणका क्रममा पाइलटबाट भएको त्रुटिका कारण दुवै इन्जिनका प्रोपेलर फेदरमा गएर पुनः नखुल्दा जहाज दुर्घटनामा परेको उल्लेख थियो ।
पछि आयोगले सार्वजनिक गरेको पूर्ण प्रतिवेदनमा पनि सोही कुरा उल्लेख गरियो । तथापि, विमान दुर्घटनाको वास्तविक कारण के थियो भन्ने अझै रहस्यमय नै छ ।
तर, ७२ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनाको बीमा दाबी भुक्तानीको पाटो भने करिब डेढ वर्षपछि हालैमात्र टुङ्गिएको छ । लामो रस्साकसी र विवादका बिच बीमक हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी र बीमित यती एयरलाइन्सबिच सहमतिमा बीमा दाबी भुक्तानीको हिसाबकिताब राफसाफ भएको हो ।
‘नो क्लेम डिस्काउन्ट’ रकम तिर्न कम्पनी बाध्य
दुर्घटनामा परेको यती एयरलाइन्सको बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गरेको थियो । कम्पनीले बीमा जोखिमको न्यून अंश आफूमा राखेर बाँकी जोखिम दायित्व विभिन्न विदेशी पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गरेको थियो ।
नेपाल बीमा प्राधिकरणका अनुसार यती एयरलाइन्सले दुर्घटनामा परेको जहाजको मात्र ५० लाख अमेरिकी डलर बराबरको दुर्घटना जोखिम बीमा गरेको थियो । यस्तै उडानका क्रममा रहने पाइलट र को–पाइलटको एक/एक लाख अमेरिकी डलर, एयर होस्टेसहरूको प्रतिव्यक्ति ४० हजार डलर र यात्रुहरूको प्रतिव्यक्ति २० हजार अमेरिकी डलरका दरले बीमालेख करार (सम्झौता) गरेको थियो ।
तर, बीमक र बीमित दुई पक्षको सम्झौता अनुसार यती एयरलाइन्सले उक्त दुर्घटनामा परेको विमानको प्रिमियम भुक्तानीमा अग्रिम नो–क्लेम डिस्काउन्ट (एनसीडी) सुविधा उपभोग गरेको थियो । बीमितले बीमालेखा (पोलिसी) खरिद गरेको एक वर्षसम्म पनि कुनै दाबी भुक्तानी माग नगरेमा अर्को वर्ष प्रिमियममा छुट माग्न सक्ने र यस्तो छुट दुई पक्षको सहमतिमा बीमा कम्पनीले दिन सक्ने व्यवस्था ऐनमै छ ।
सोही व्यवस्था बमोजिम यती एयरलाइन्सले करिब ३ करोड ५६ लाख रुपैयाँ नो क्लेम डिस्काउन्ट प्रिमियम छुट लिएको थियो । तर, दुर्भाग्यवस छुट लिएकै सोही वर्ष जहाज दुर्घटना प-यो । यती एयरलाइन्सले बीमा पोलिसी अनुसार कम्पनीसँग बीमा दाबी भुक्तानी माग ग-यो । तर यता बीमक हिमालयन एभरेष्ट इन्स्योरेन्सले पहिला छुट दिएको एनसीडी तिर्न अनिमात्र भुक्तानी दिने अड्को थाप्यो । तर, कम्पनीले छुट लिइसकेको प्रिमियम नतिर्ने बतायो ।
बीमा लेखको पुनर्बीमा विदेशी कम्पनीहरुसँग गरिएकाले उतैबाट एनसीडीको भुक्तानी माग भएकाले जसरी पनि तिर्नुपर्ने दबाब हिमालय एभरेष्ट इन्स्योरेन्सले दिइरह्यो । अन्ततः यो मुद्दा नियामक बीमा प्राधिकरणसम्म पुग्यो ।
बीमक र बीमित दुई पक्षबिचको लामो विवादपछि हालैमात्र समस्या सल्टिएको बीमा प्राधिकरणको गुनासो व्यवस्था विभागका उपनिर्देशक विरोध भट्टले रातोपाटीलाई जानकारी दिए ।
‘दुई पक्ष बिचको सम्झौता बीमालेख खरिदबिक्रीका क्रममा नो–क्लेम डिस्काउन्ट लिनेदिने भएको रहेछ । दुर्भाग्यबस सोही वर्ष जहाज दुर्घटनामा प-यो । बीमा कम्पनीले डिस्काउन्ट प्रिमियम तिर्न ताकेता गर्ने र यता बीमित कम्पनीले डिस्काउन्ट प्रिमियम तिर्न पर्दैन भन्ने विवादकै बिच यो मुद्दा प्राधिकरणमा आयो । लामो प्रयासपछि प्राधिकरणले दुवै पक्षलाई सहमति गराएर मुद्दा सल्टाएको छ,’ भट्टले रातोपाटीसँग भने, ‘यती एयरलाइन्सले एनसीडी बापतको रकम तिर्ने भएपछि मात्र सहमति जुटेको हो ।’
उपनिर्देशक भट्टका अनुसार यती एयरलाइन्सले ३ करोड ५६ लाख रुपैयाँ बराबरको एनसीडी तिर्न तयार भएपछि समस्याको समाधान भएको हो ।
तर,सोही दाबी भुक्तानीको मुद्दामा बीमक हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा सीईओ बर्खास्तसम्मको घटना घट्न पुगेको चर्चा चलेको छ । इन्स्योरेन्सका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहले यती एयरलाइन्स दुर्घटना प्रकरणमा बीमा दाबी भुक्तानी दिन नमानेको भन्दै उनलाई पदावधि रहेकै अवस्थामा सञ्चालक समितिले बर्खास्त गरेको चर्चा चुलिएको छ ।
बीमा दाबी भुक्तानीका लागि निरन्तर दबाब आइरहेपछि सञ्चालक समितिले भुक्तानी दिन शाहलाई पहिले नै निर्देशन गरेको थियो । तर शाहले सञ्चालक समितिको निर्देशनसमेत नमानेपछि विदेश भ्रमणमा रहेकै अवस्थामा उनलाई पदमुक्त गरेको बुझिएको छ । यस विषयमा हिमालयन एभरेष्ट कम्पनीले दाबी भुक्तानीको मुद्दामा सीईओ शाहलाई बर्खास्त नगरिएको दाबी गरेको छ ।
यता यती एयरलाइन्सले पनि बीमा दाबी भुक्तानीको सन्दर्भमा बीमा कम्पनी र एयरलाइन्सबिच त्यस्तो कुनै विवाद नरहेको र दाबी भुक्तानी समेत पूर्ण रूपमा भइसकेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने
-
‘सार्क नेपालका लागि अपरिहार्य संगठन हो’
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही